कांग्रेसका दुई किनारा
आगामी महाधिवेशनका सभापति दावेदार रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच सम्बन्ध सुधारको प्रयास
पाँच वर्षअघि अर्थात् ११ वैशाख ०७१ को सन्दर्भ । सुशील कोइराला नेतृत्वको कांग्रेसले संविधान मस्यौदा समितिको सभापतिमा पार्टीका मनोनीत महामन्त्री कृष्ण सिटौलालाई अघि सार्यो । उक्त पदका लागि पार्टीका उपसभापति रामचन्द्र पौडेल नै इच्छुक थिए । सभापतिसँग इच्छा पनि व्यक्त गरेका थिए । तर त्यो पदमा जान पौडेलको बाटो छेक्न सफल भए, सिटौला ।
उक्त पदमा जान सके आफ्नो राजनीतिक हैसियत बढ्ने सोचेका थिए, पौडेलले । तर पद नपाएपछि सभापति कोइरालासँग पौडेलको चित्त दुखाइ रह्यो । सिटौलासँग यसअघि नै बढिसकेको दूरी झनै फराकिलो भयो ।
पौडेल र सिटौलाको जम्काभेट भयो, कांग्रेसको १३ औँ महाधिवेशनमा । दुवैले एकअर्काको अस्तित्व स्वीकारेनन् । सिटौलाले छुट्टै समूह बनाएर आफ्नो गुटलाई तेस्रो धारको नाम दिए । महाधिवेशन हुनु एक महिनाअघि ०७२ माघमा पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि पौडेल कार्यवाहक सभापति बने । कोइराला परिवारसहित संस्थापनको नेता बनेका पौडेललाई स्वीकार नगरेर सिटौलाले आफ्नो समूह निर्माण गरे । सभापति पदका लागि उम्मेदवारी दिए ।
पौडेलले सिटौलालाई संस्थापनमै सहभागी हुन निम्तो नदिएका पनि होइनन् । महाधिवेशनको पूर्वसन्ध्यामा धुम्बाराहीस्थित सिटौला निवास पुगेरै पौडेलले उनलाई फुस्ल्याउने कोसिस पनि गरे । तर सिटौलाले दाबी गरेको महामन्त्री पदका लागि भने पौडेल तयार भएनन् ।
‘साथीहरूसँग सल्लाह गरेर खबर गर्छु’ भनेका पौडेल त्यसपछि सम्पर्कमै आएनन् । शेरबहादुर देउवासहित पौडेल र सिटौला सभापति पदका लागि मैदानमा ओर्लिए । पहिलो चरणमा कुनै नतिजा आएन । दोस्रो चरणमा सिटौलाले संस्थापन पक्षका पौडेललाई मद्दत नगरेपछि देउवा कांग्रेस सभापति बने– त्यो पनि बिनासर्त ।
एक कांग्रेस नेता भन्छन्, “पौडेलले त्यतिबेला सिटौलालाई आफ्नो पक्षमा लिन सकेको भए पार्टीको स्वरूप अर्कै हुन्थ्यो, त्यसमा पौडेल चुक्नु भएकै हो ।”
त्यसो भए के यी दुई घटना मात्र कारक हुन् त, पौडेल र सिटौलाबीच दूरी बढ्नुमा ? झन्डै साढे दुई दशकअघि गिरिजाप्रसाद कोइरालाले झापामा चक्र बास्तोलासँगै सिटौलालाई पनि अघि बढाउन थाले । यसमा भूमिका खेले, त्यतिबेला पार्टीमा प्रभावशाली रहेका गोविन्दराज जोशीले । सिटौला विस्तारै जोशीसँग नजिकिन थाले ।
जोशीसँग सुरुदेखि नै पौडेलको पानी बाराबार छँदै थियो । यसले पनि पौडेल र सिटौला एक ठाउँमा आउने मौका मिलेन । सिटौलाले पनि आफूभन्दा वरिष्ठ नेता पौडेलभन्दा जोशीलाई महत्त्व दिन थाले । यसले दुवैबीचको तिक्तता झनै बढायो । ०६२/६३ को जनआन्दोलनपछि बनेको सरकारमा गृहमन्त्री बने, सिटौला । माओवादीलाई १२ बुँदे सम्झौतामार्फत शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसादले दिएको जिम्मेवारी पूरा गरे । पौडेलले सिटौलाको ‘स्पिड’ लाई रोक्न सकेनन् वा चाहेनन् ।
०६६ मा गिरिजाको निधनपछि सिटौलाले पार्टी नेतृत्व सम्हाल्न आइपुगेका सुशील कोइरालाको कोटरीसँग सम्बन्ध बढाए । परिणाम ०६७ मा भएको १२ औँ महाधिवेशनमा मनोनीत महामन्त्री भए । त्यसपछि निर्वाचित महामन्त्री प्रकाशमान सिंहभन्दा हावी भए, पार्टीमा । संगठन विभाग प्रमुखको जिम्मेवारी पाइसकेका सिटौलाले त्यतिबेलै आफ्नो क्षमता देखाए पनि । राजनीतिक दाउपेच नजानेका र त्यसबेला गुटगत राजनीति गर्न नरुचाएका पौडेलले सिटौलाको सहयोग कहिल्यै पाउन सकेनन् । चाहे पार्टी सभापति बन्न होस् वा ०६७ साउनमा प्रधानमन्त्रीको उम्मेदवारी दिएर १७ पटकसम्म पराजित हुँदा नै ।
गठबन्धनको प्रयास : आगामी फागुनमा कांग्रेसको १४ औँ महाधिवेशन हुँदै छ । ७५ वर्षीय पौडेल र ७० वर्षीय सिटौलाले गत महाधिवेशनमा जस्तै सभापति पदका लागि उम्मेदवारी दिने बताउँदै आएका छन् । देउवाले पनि आफूलाई दोहोर्याउने तयारी थालेका छन् । अर्थात्, १३ औँ महाधिवेशनमा सभापति पदका लागि जुन परिस्थिति थियो, त्यसले आगामी महाधिवेशनमा पनि निरन्तरता पाउनेछ । त्यही परिस्थिति बन्न नदिन पार्टीभित्र अर्जुननरसिंह केसीलगायत केही नेताहरू भने पौडेल–सिटौला गठबन्धनका लागि दौडधूप गरिरहेका छन् ।
सभापति पदमा देउवालाई दोहोरिन नदिन संस्थापनइतर पक्ष एक ठाउँ रहनुको विकल्प नभेटेका केसीलगायतका नेताहरूको सक्रियता बढेको बुझ्न कठिन छैन । सफा चरित्र र राजनीतिक व्यक्तित्व भए पनि पौडेलसँग बलियो समूह छैन । उनको समूहभित्रै रहेका भनिएका महामन्त्री शशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहले समेत सभापति पदमा दाबी गरिरहेका छन् । उनीहरूले पौडेललाई उपयोग गर्छन् कि स्वीकार्छन्, त्यो भने हेर्न बाँकी छ ।
यस्तो स्थितिमा सिटौलालाई पौडेल समूहभित्र ल्याउने केसीलगायत नेताहरूको प्रयास देउवाका लागि खतराको घन्टी हुन सक्छ । सभापति पदका लागि पौडेल र सिटौलाले एकअर्कालाई स्वीकार्न नसक्ने परिस्थिति बने केसीलगायतको समूह प्रकाशमानलाई उक्त पदमा अघि सार्न चाहन्छ ।
जस्तो, कोइराला दाजुभाइको महत्त्वाकांक्षाको व्यवस्थापन कसरी गर्ने ? किनकि सिटौला कोइराला दाजुभाइलाई पनि स्वीकार्न तयार छैनन् । यसैले उनी पौडेलसँगको गठबन्धनमा सहज हुन सकिरहेका छैनन् । तेस्रो धार कायमै राखेर आफ्नो पक्षमा माहोल नबने गगन थापालाई सभापतिमा अघि सारेर देउवालाई टक्कर दिन सकिन्छ कि भन्ने सिटौलाको सोच हुन सक्छ । तर थापाको पक्षमा पनि संस्थापनइतरबाट हरियो झन्डा देखाउने सम्भावना तत्कालका लागि देखिँदैन ।
संस्थापनइतरका नेता तथा काभ्रे कांग्रेस जिल्ला सभापति मधु आचार्य पनि पार्टीभित्र वर्तमान नेतृत्वको विकल्प खोजिरहेका बेला इतर पक्ष एकै ठाउँ आउनुको विकल्प नरहेको बताउँछन् । “आगामी महाधिवेशनदेखि कांग्रेसको नीति र नेता दुवै फेर्ने भन्ने आम बुझाइ माथिदेखि तलसम्मै छ । पार्टीलाई यथास्थितिमा राख्न सकिँदैन,” आचार्य भन्छन्, “परिवर्तनको पक्षमा रहनेहरू एक ठाउँ आउँछन्, यथास्थितिमै रमाउनेहरू बढारिन्छन् । यस पटकको महाधिवेशन यथास्थितिवादविरुद्घ हुनेछ ।”
आचार्यको दाबीअनुसार संस्थापनइतरका नेताहरू एकै ठाउँ रहेकाले आगामी एक दुई महिनाभित्र पार्टी सभापतिका रूपमा सर्वसम्मत नाम सार्वजनिक गरिनेछ । आफूलाई मात्र केन्द्रमा राखेर संस्थापनइतरबाट सर्वसम्मत नभई कसैले सभापति दाबी गरे त्यसले यथास्थितिकै समर्थन गरेको बुझिने बताउँछन्, आचार्य ।
रहला तेस्रो धार ? : महाधिवेशनसम्म आइपुग्दा सिटौलाको तेस्रो धार अस्तित्वमा रहन्छ कि रहँदैन भन्ने प्रश्न पनि उठेको छ । किनभने सिटौलासँग रहेका युवा नेताहरू थापादेखि प्रदीप पौडेलसम्म वर्तमान नेतृत्वको निरन्तरताले पार्टीमा ठूलो क्षति हुने मान्यता राख्छन् । यसैले उनीहरू पार्टीमा नयाँ नेतृत्व ल्याउनका लागि संस्थापनइतरको एउटै मोर्चा बन्नुपर्ने देख्छन् । अर्कोतिर सिटौलासँग रहेका भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईंलगायतका नेताहरू राजनीतिक भविष्य सुनिश्चित गर्नकै लागि भए पनि संस्थापनसँगै मिलेर जानुपर्ने तर्क राख्छन् ।
देउवासँग आफ्ना पक्षमा रहेका केही नेताहरूको उठबस बाक्लिँदै जानु र अर्का प्रतिद्वन्द्वी पौडेलले फागुन तेस्रो साता ‘गगन थापा र प्रदीप पौडेल हामीसँगै हुनुहुन्छ, उहाँहरूको उचित व्यवस्थापन हुन्छ’ भनेर सार्वजनिक मन्तव्य दिएपछि सिटौला झस्किनु अस्वाभाविक थिएन । आफ्नो समूह लाखापाखा लाग्न थालेको सन्देश गएपछि सिटौलाले ३ चैतमा भेला बोलाए । थापा, पौडेल, प्रधान, चौधरी, हुमागाईंलगायत आफ्नो समूहमा रहेका भनिएका नेताहरू एक ढिक्का रहेको र आगामी महाधिवेशनमा पनि साथै रहने सन्देश दिन खोजे । ‘शक्ति बढाउने नेतृत्व आफैँ गर्ने’ बताए पनि सिटौलाका लागि सभापति पद धेरै टाढा छ ।
के आगामी महाधिवेशनसम्म सिटौलाको नेतृत्वमा १३ औँ महाधिवेशनमा जन्मिएको तेस्रो धारले निरन्तरता पाउला ? केन्द्रीय सदस्य तथा सिटौला समूहका नेता गगन थापालाई प्रश्न सोधियो । थापा पार्टी नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने मान्यता राख्छन् । वर्तमान नेतृत्वलाई दोहोरिन नदिनका लागि सिटौला समूहले भूमिका खेल्न सक्नुपर्ने उनको कथन छ । “कांग्रेस जसरी चलेको छ, त्यसरी चल्दै चल्दैन । पार्टीभित्र व्यापक सुधारका लागि नेतृत्व परिवर्तन पहिलो सर्त हो,” थापा कूटनीतिक सुनिन्छन्, “परिवर्तन गर्ने कुरामा यसअघि पनि कोसिस गर्यौँ, यस पटक परिणाममा पुग्नुपर्छ । जे गर्दा परिणाममा पुगिन्छ, हामी त्यही गर्छाैं ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...