दाताको चन्दाले चलिरहेका वृद्धाश्रममा आश्रितलाई खाना जुटाउनै सकस
कोरोना भाइरसबाट ज्येष्ठ नागरिक सबैभन्दा असुरक्षित छन् । काठमाडौंका वृद्धाश्रममा सुरक्षा प्रबन्ध के छ ?

आँखामा मोतियाबिन्दु भएपछि उपचारका लागि चन्द्रकुमारी उप्रेती, ७७, नुवाकोटको खरानीटारबाट तीलगंगामा उपचार गर्न आइन् । दुवै आँखाको उपचार र फलोअपमा डाक्टरलाई भेटेपछि घर फर्कने समय हुँदा कोभिड–१९ का कारण देश पूरै लकडाउनमा परिसकेको थियो । नाति प्रवीण लकडाउनका कारण हजुरआमा घर जान नपाएको सुनाउँछन् । भन्छन्, “घर जान पास चाहिन्छ, पासको व्यवस्था गर्न सकेको छैन । गाउँ जान पाएको भए सुरक्षित रहनुहोला कि जस्तो लाग्छ ।”
चन्द्रकुमारीका छोरा–बुहारी गाउँमै बस्छन् तर काठमाडौँ बस्ने ठाउँ पनि छ । नातिनी बुहारी अस्पतालमा काम गर्ने हुँदा ज्येष्ठ नागरिकमा कोरोना भाइरसबाट बढी प्रभावित भएकाले अहिले उनी आफन्तकहाँ बसिरहेकी छन् । पारिवारिकबाहेक राज्यका तर्फबाट कुनै सहयोग नआएको प्रवीण सुनाउँछन् । भन्छन्, “एम्बुलेन्समा लैजान ८– १० हजार माग्छन् । यस्तो संकटमा त्यत्रो पैसा कहाँ हुनु ?” आँखाले देखिन्जेल लकडाउनको पालना, त्यसपछि मनलाग्दी मानिसको चहलपहल देख्दा प्रवीण हजुरआमाको स्वास्थ्यलाई लिएर चिन्तित छन् ।
०६८ को जनगणनाअनुसार देशैभर ६० वर्ष नाघेका नागरिकको संख्या २१ लाख हाराहारी छ । सबै ज्येष्ठ नागरिकले घरपरिवारसँग बस्न पाएका छैनन् । कैयौँ ज्येष्ठ नागरिक वृद्धाश्रम र केन्द्रहरूमा बस्दै आएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार देशभर १ सयभन्दा बढी संस्था छन्, जसमा हजारौँ ज्येष्ठ नागरिक आश्रित छन् । सशुल्क र नि:शुल्क दुवै किसिमका यी आश्रम प्राय: दाताहरूबाट सञ्चालित छन् ।
आश्रममा हलचल बन्द
मानवसेवा आश्रम ७ वटै प्रदेशको १८ ठाउँमा स्थापित छ । आश्रममा बालबालिकादेखि ज्येष्ठ नागरिकसहित ११ सय आश्रित छन् । सडक, पाटी–पौवा र मन्दिरबाट उद्धार गरिएका यी नागरिकलाई आश्रमले पालिरहेको छ । विषम परिस्थितिमा सरकारबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको आश्रमका प्रमुख संरक्षक एवं संस्कृतिविद् गोविन्द टन्डन बताउँछन् । यस्तै गुनासो छ– मातातीर्थ वृद्धाश्रमका कार्यालय प्रमुख रामबहादुर थापाको । भन्छन्, “सामानको लिस्ट दिएर कति पटक ताकेता गरेपछि २० चैतमा मात्र ५–५ लिटर स्यानिटाइजर र हात धुने डिटोल पाइयो ।”
मातातीर्थ आश्रममा डेढ महिनाका लागि रासनको जोहो भइसकेको छ । तर खाना पकाउने इन्धन करिब १५ दिनलाई मात्र पुग्ने हुँदा उनी चिन्तित छन् । मासिक ३ वटा ग्यास खपत हुन्छ, आश्रममा । कोरोनाबारे अन्योल बढेका कारण ग्यास नपाइएला कि भन्ने चिन्ताले उनलाई खाएको छ । सरकारले एकद्वार प्रणालीबाट सामान दिने भनिरहेको छ । थापा भन्छन्, “स्थानीय तह, प्रदेश र संघ मिलेर काम गरे मात्रै आपूर्ति सहज हुनेछ ।”
सरकारले ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्योपचारको व्यवस्था गरेको छ । तर आश्रममा बस्ने आमाहरू लावारिस, सडकबाट उद्धार गरिएकाले उनीहरूसँग नागरिकता छैन । समाज कल्याणसँग यसबारे सहयोग गर्न पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सहयोग नपाएको थापा सुनाउँछन् ।
एक मात्र सरकारी वृद्धाश्रमको रूपमा रहेको पशुपति वृद्धाश्रममा १ सय ४० वृद्धवृद्धा बस्छन् । लकडाउन भएपछि वृद्धाश्रममा मानिसको चहलपहल नियन्त्रण गर्न रोक लगाइएको आश्रमका कर्मचारी निरन तामाङ जानकारी दिन्छन् । भन्छन्, “चहलपहल कम गर्न १७ जना स्टाफ पनि यही बस्छन् । बुबाआमालाई पनि बाहिर निस्कन दिएका छैनौँ । ठाउँ–ठाउँमा साबुनपानी राखिदिएका छौँ, हात धुन ।”
मानवसेवा आश्रमले पनि सुरक्षाका लागि आवतजावतमा रोक लगाएको छ । आवश्यक पर्ने मास्क, डिटोल, स्यानिटाइजर, पन्जा व्यवस्था गरेको संरक्षक प्रमुख टन्डनले बताउँछन् । भन्छन्, “आश्रममा ज्येष्ठ नागरिकलाई कोरोनाबारे सुसूचित गराउने काम भइरहेको छ । कतिले जहाँतहीँ थुक्नुहुन्न भनी बुझेका छन् । हात सफा गरिरहन्छन् । कतिचाहिँ यस्तै हो, चल्दै छ, भगवान् भरोसा भनी हेलचेक्र्याइँ गरिरहेका छन् ।”
मातातीर्थ वृद्धाश्रममा २० जना आमाहरू बस्छन् । ५ वर्षदेखि आश्रममा बस्दै आएकी ६६ वर्षीया विन्दु साहको परिवार र आफन्त कोही छैन । कोरोनाबारे सुन्दा डर लागेको उनले टेलिफोनमा बताइन् । भन्छिन्, “अब कस्तो रोग हो, थाहा छैन । यहाँ फोहोरी भएर नबस्नू भन्छन् । हातमुख धोइरहेछौँ ।”
छैन छुट्टै रणनीति
कोरोना भाइरसबाट विश्वमै सबैभन्दा बढी ज्येष्ठ नागरिक असुरक्षित भइरहेका छन् । भाइरसबाट संक्रमित भएकाहरूको तथ्यांक हेर्दा त्यही देखाउँछ । एक तथ्यांकअनुसार कोरोनाबाट ८० भन्दा माथि उमेरका १४.८ प्रतिशत, ७० देखि ७९ मा ८ प्रतिशत, ६० देखि ६९ मा ३.६ प्रतिशत र ५० देखि ५९ मा १.३ प्रतिशतको मृत्यु भएको छ ।
विश्वमै ज्येष्ठ नागरिकको जनसंख्या बढी भएको देश जापान हो भने दोस्रोमा इटाली । इटालीमा कोरोना भाइरसबाट सबैभन्दा पहिले ज्येष्ठ नागरिक संक्रमित भएका थिए । इटालीमा अहिले १ लाख १० हजार ५ सय ७४ संक्रमित भइरहेका छन् भने १३ हजार १ सय ५५ को मृत्यु भइसक्यो । उमेर बढ्दै गएपछि आत्मप्रतिरक्षा पनि कम हुने हुँदा संसारभर नै ज्येष्ठ नागरिकको स्वास्थ्य जोखिममा परेको विज्ञहरूको बुझाइ छ । तसर्थ ज्येष्ठ नागरिकलाई लिएर छुट्टै प्रकारको रणनीति अपनाउनुपर्ने देखिन्छ ।
महिला, बालबालिका र ज्येष्ठ नागरिक हेर्ने समाज कल्याण परिषद्का प्रवक्ता शिवकुमार बस्नेत ज्येष्ठ नागरिकको अवस्थाबारे जानकारी लिइरहेको बताउँछन् । विषम परिस्थितिमा चुस्त काम गर्न परिषद्सँग रणनीति देखिँदैन । राहत वितरण गर्न मन्त्रालयका सबै अधिकृत स्तरका कर्मचारीको समूह बनाएको उनी सुनाउँछन् ।
बस्नेतका अनुसार गैरसरकारी संस्थाहरू वन हार्ट वल्र्डबाट २६ करोड बराबरका औषधी उपकरण र एआईएनबाट २ अर्ब ५० करोडका सामान स्वास्थ्य मन्त्रालयलाई आउँदै छ । भन्छन्, “राहत वितरण एकद्वार नीतिबाटै गर्दै छौँ । नागरिकता, यो वा त्योको बहानामा कसैलाई राहतबाट वञ्चित गर्दैनौँ ।”
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल लकडाउनयता ज्येष्ठ नागरिक मिलन केन्द्रमा भेटघाट कार्यक्रम बन्द गरेको जानकारी दिन्छन् । पौडेलका अनुसार मन्त्रालयले राहत बाँड्ने भन्दा पनि आएको राहत वितरणमा सहजीकरण र समन्वय गरिरहेको छ ।
१७ चैतमा स्वास्थ्य मन्त्रालयले दिएको निर्देशनअनुसार बालबालिका, अपांगता भएका व्यक्ति, महिला र ज्येष्ठ नागरिकको सुरक्षाका लागि विशेष ध्यान दिन पहल भएको सहसचिव पौडेल सुनाउँछन् । भन्छन्, “यी व्यक्तिहरूले न्यूनतम सेवा–सुविधा खाद्यान्न, इन्धन, औषधोपचार, मास्क तथा स्यानिटाइजर पाउनुपर्छ । यसका लागि स्थानीय प्रशासन र आश्रम सञ्चालकबीच समन्वय गरिरहेका छौँ ।” गैरसरकारी संस्थाले सहयोग गरे सामान ढुवानी गर्न भन्सार छुटदेखि मूल्यवृद्धि करमा पनि सहयोग गर्ने उनको भनाइ छ ।
विगतमा पनि विपद्का बेला सरकारले एकद्वार नीति अपनाएको थियो । यसले राहतको सन्तुलनभन्दा पनि भ्रष्टाचार बढी भएपछि सरकारकै बेइज्जत भएको थियो । हेरौँ, यसपालि सरकारले ज्येष्ठ नागरिकका नाममा आएका राहतलाई कसरी परिचालित गर्छ ?