रेड जोनमा सुदूरपश्चिम, प्रदेश ५ र २, कोरोना भाइरसविरुद्ध बन्दोबस्तीका १० तथ्य #Explainer
नेपालको कुन क्षेत्र कोरोनाको रेड जोन ? विदेशबाट कति आए ? स्वास्थ्यकर्मीका लागि कति छ पीपीई ? स्वास्थ्य परीक्षणका लागि कति छ किट ? कोरोना संक्रमणबारे बुझ्नैपर्ने १० तथ्य

‘जुलाई अन्त्यसम्म ३० देखि ५० करोड भारतीय कोरोना भाइरसबाट संक्रमित हुनेछन् र ती १० प्रतिशत अर्थात् करिब ५ करोडमा गम्भीर असर देखिनेछ । अध्ययनबाट प्राप्त प्रक्षेपणमा संक्रमितको संख्या निकै कम अनुमान लगाउँदा पनि भारतमा एक करोड कोरोना भाइरसका सिकिस्त बिरामी हुन्छन् ।’
भारतीय मूलका अमेरिकी अर्थशास्त्री तथा महामारीविज्ञ रामानन लक्ष्मीनारायणले द न्युयोर्क टाइम्समा आलेख लेखेर सचेत गराएको धेरै भएको छैन । सेन्टर अफ डिजिज डाइनामिकका निर्देशकसमेत रहेका लक्ष्मीनारायणको टोलीले भारतको स्वास्थ्य संरचना पनि उदांगो पारिदिएका छन् ।
जस्तो, कोरोनाका कारण भारतमा १ करोड मानिस अस्पताल भर्ना हुनुपर्ने हुन सक्छ तर त्यहाँ १ लाखभन्दा कम इन्टेन्सिभ सेवाका लागि उपयुक्त शैय्या र २० हजार भेन्टिलेटर छन् । भएका पनि सहरकेन्द्रित छन् । त्यस कारण इटालीमा जस्तो महामारी फैलिए चिकित्सकले छानेर मात्रै बिरामीलाई सेवा दिनुपर्ने अवस्था आउने प्रक्षेपण लक्ष्मीनारायणको टोलीले गर्दै गर्दा भारतमा जोखिमको घन्टी बजिसकेको छ ।
यसको संकेत मुम्बईको १० लाखभन्दा बढी बस्ने एक सुकुम्बासी टोल, जहाँ कोरोना संक्रमण देखिएको छ । त्यसको नियन्त्रण भारतका लागि अहिले निकै चुनौतीपूर्ण छ ।
सानोतिनो बेवास्ता र हेलचेक्र्याइँले मात्रै पनि सिंगो देश आक्रान्त बन्नेछ । उनीहरूले भनेका छन्– अहिलेको लकडाउन कडाइपूर्वक लागू भए ७० देखि ८० प्रतिशत संक्रमण रोकिन सक्छ । यद्यपि, अप्रिल अन्तिम साता र मे महिनाको सुरु समय प्रकोपले विकराल रूप लिने प्रक्षेपण गरेको छ ।
महामारी प्रकोपको प्रक्षेपण जेजस्तो भए पनि सतर्क र सचेतना, पूर्वतयारी भने अनिवार्य हुन्छ, जुन भारतले २१ दिने लकडाउनबाट गरिरहेको छ । त्यसबाट हुने आर्थिक क्षतिको पूर्वानुमान गरेर प्रधानमन्त्री, मन्त्री र सांसदको तलब ३० प्रतिशतले कटौती गरेको छ । सांसद विकास कोष निलम्बन गरेको छ ।
भारतको बाछिटाले भिज्ने नेपालको परिस्थिति कस्तो छ त ? अहिलेसम्म गम्भीर अध्ययन भएको छैन तर भारतीय प्रभावले यो अछुतो हुने छैन ।
कामभन्दा हल्ला बढी गर्ने नेपाल सरकारसँग अहिले पनि पर्याप्त स्वास्थ्य सामग्री छैन । अस्पतालमा शैय्याको भर छैन । आईसीयू र भेन्टिलेटर भगवान भरोसामा छन् । चिकित्सकहरूको मनोबल कमजोर छ, उत्प्रेरित गर्ने सरकारी हाकिम उल्टै गाली गरिरहेका हुन्छन् । संक्रमण जोखिममा रहेकाहरूमा सचेतना कमी छ ।
सरकारले मास टेस्ट अर्थात् आम परीक्षणलाई तीव्र पारेको छ, न त कन्ट्याक्ट ट्रेसिङलाई जोड दिएको छ । संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि नै तयारीभन्दा बढ्ता तर्कमा जोडिएका छन् । एकछिन सोचौँ, १ लाख नेपाली मात्रै संक्रमित भए के हालत होला ? सौभाग्य नै ठान्नुपर्छ, नेपाल महामारीको पहिलो, दोस्रो वा तेस्रो देश भएन, जसले हामीलाई पूर्वतयारीका लागि पर्याप्त समय दिएको छ । सोच्नुपर्यो– हामी कम्तीमा अन्तिम हुन नपरोस् ।
नेपालको बन्दोबस्तीका १० तथ्य यस्ता छन् :
१) कुन क्षेत्र कोरोनाको रेड जोन ?
लकडाउनको आज १५ औँ दिन हो । यसबीच जम्माजम्मी ९ जना कोरोना संक्रमित बिरामी पहिचान भए, जसमध्ये १ जना उपचारपछि घर गइसकेका छन् भने बाँकी ८ जना अस्पतालमा उपचाररत छन् । संक्रमित ९ जनालाई आधार मान्दा दुई क्षेत्रमा संक्रमणको संख्या देखिन्छ । पहिलो– कोरोना संक्रमित देशबाट भर्खर नेपाल आएकाहरू । दोस्रो– सुदूरपश्चिम प्रदेश ।
कैलालीमा विदेशबाट आएका व्यक्तिबाट आफन्त पनि संक्रमित भए । त्यसबाहेक यो क्षेत्रमा अन्य ३ जना पनि संक्रमित देखिए । अर्थात्, अहिले सुदूरपश्चिम प्रदेशमा ४ जना संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्कीका अनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र प्रदेश २ उच्च जोखिम क्षेत्रमा पर्छन् । जिल्लागत रूपमा अहिले सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ मात्र होइन, अछाम, डोटी र जुल्ला पनि जोखिम क्षेत्रमा राखेको छ, जहाँ नेपाली सेनाले स्वाब संकलन तयारी गरेको छ ।
२) विदेशबाट कति आए ?

खाडी मुलुक, भारत र अन्य तेस्रो विश्वबाट नेपाल आउनेको यकिन संख्या छैन । यद्यपि त्यसरी नेपाल आउनेको संख्या ४ लाखभन्दा बढी अनुमान छ । १८ फागुनदेखि १० चैत ०७६ सम्म हवाई मार्गबाट करिब १ लाख नेपाल प्रवेश गरेका छन् । तीमध्ये ३४ हजार विदेशी नागरिक छन् । चैत पहिलो साता मात्रै २० हजारभन्दा बढी नेपाल प्रवेश गरेका छन् ।
सडक मार्गबाट चैत पहिलो साता अर्थात् लकडाउन सुरु भएको दिनसम्म सुदूरपश्चिम प्रदेशको गौरीफन्टा, गड्डाचौकी नाकाबाट मात्रै १ लाख ३२ हजार प्रवेश गरेको तथ्यांक छ । तर ससाना नाकाबाट छिरेका तथा र स्थानीय तहको तथ्यांकमा नआएकाको संख्यासमेत थपिँदा कम्तीमा डेढ लाख नाघ्ने अनुमान छ ।
प्रदेश २ को वीरगन्ज, प्रदेश ५ को सुनौली अनि प्रदेश १ को काँकडभिट्टा, जोगवनीलगायतका पूर्वी नाकाबाट आउनेको संख्या पनि प्रशस्त छ । तर स्थानीय तहले अहिलेसम्म करिब ६५ हजार मात्रै पहिचान गरेका छन् । त्यसमध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५८ हजार ८ सयको तथ्यांक आइपुगेको छ, जुन स्थानीय तहको निगरानीमा छन् ।
३) स्वास्थ्यकर्मीका लागि कति छ पीपीई ?

पीपीई अर्थात् पर्सनल प्रोटेक्टेड इक्युपमेन्ट । बिरामीको उपचार क्रममा स्वास्थ्यकर्मीले लगाउने कपडालाई पीपीई भनिन्छ, जुन सरुवा रोग उपचारका क्रममा चिकित्सकका लागि अनिवार्य हुन्छ । कोरोना संक्रमणका बेला त झनै अनिवार्य भयो ।
चीनबाट खरिद गरेको १० हजार थान र अन्य १० हजार गरी २० हजार थान पीपीई ७ वटै प्रदेशका अस्पताललाई वितरण गरिएको छ । त्यसबाहेक स्वास्थ्य मन्त्रालयसँग ३ हजार थान मौज्दात छ । ती आकस्मिक प्रयोगका लागि राखिएको मन्त्रालयका विज्ञ सल्लाहकार खेम कार्की बताउँछन् । २४ चैतमा वसन्त चौधरीले १ हजार पीपीई स्वास्थ्य मन्त्रालयलाई दिएपछि मौज्दातको संख्या ४ हजार पुगेको छ । तर सरकारले चीनबाट खरिद गरेका पीपीईको सेटमा भने समस्या छ । ती पीपीई सेटमा चस्मा र पन्जालगायत सामग्री छैनन् ।
नेपालगन्ज मेडिकल कलेज सञ्चालक सुरेशकुमार कनौडिया स्वास्थ्य मन्त्रालयले दिएका पीपीईको धेरै सेटमा चस्मा र पन्जा नभएकाले स्थानीय सामग्री प्रयोग गरेको बताउँछन् । हरेक प्रदेशमा पठाएको सरकारले ठूला अस्पतालमा २० सेट पनि पुगेको छैन । तर विडम्बना के भने पीपीईसमेत सरकारसँग माग गर्ने निजी अस्पतालको सामाजिक दायित्वमाथि गम्भीर प्रश्न उठ्छ । अहिले महावीर पुनको राष्ट्रिय अनुसन्धान केन्द्रले पीपीई बनाउन सुरु त गरेको छ तर विश्वसनीयता कायम भइसकेको छैन ।
४) कति छ किट ?

कोरोनाका शंकास्पद बिरामीको स्वाब परीक्षण गर्न प्रयोग गरिने पोलिमर चेन रियाक्सन (पीसीआर) अहिले १० हजार जनालाई पुग्ने परिणाममा छ । तर ७५ हजारलाई पुग्ने र्यापिड टेस्ट किटको गुणस्तरमाथि प्रश्न छ । यस्तो टेस्टले धेरै पोजेटिभ र धेरै नेगेटिभ पनि देखाउन सक्छ ।
र्यापिड टेस्टपछि अनिवार्य पीसीआर टेस्ट गरिन्छ, जसले संक्रमित पहिचान गर्न सहज होस् । यस्तो टेस्टले करिब १२ मिनेटमै नतिजा दिन्छ । कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापिड टेस्ट गरिँदै छ ।
५) क्वारेनटाइनमा कति छन् ?

अनुमानित ४ लाख व्यक्ति हवाई र स्थलमार्गबाट नेपाल प्रवेश गरे पनि ९ हजार १ सय ६८ जना मात्रै क्वारेन्टाइनमा छन् । स्थानीय तहको बेवास्ता र स्वयं व्यक्तिको चेतना अभावले क्वारेन्टाइनमा बस्नेको संख्या न्यून छ । बरु उल्टै नाचगान, मेलापात मात्र होइन, खेलकुद कार्यक्रमसमेत आयोजना गरेर भीड बटुल्न उनीहरू नै लागेका छन् । सोही कारण संक्रमणलाई मलजल गरिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण आशंकामा आइसोलेसनमा रहेका १ सय ७ जनाको रिपोर्ट आइसकेको छैन ।
६) अस्पतालमा कति शैय्या छन् ?
सरकारी र निजी अस्पताल तथा मेडिकल कलेजमा करिब २५ हजार शैय्या छन् । त्यसमध्ये काठमाडौँ उपत्यकामा ६ हजार ९ सय ३६ शैय्या छन् । निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालक एसोसिएसनका पूर्वअध्यक्ष सुरेशकुमार कनौडियाका अनुसार करिब ६० प्रतिशत शैय्या निजी अस्पतालका हुन् । तर कोरोना बिरामीको संख्या बढेको अवस्थामा अस्पतालमा शैय्याको समस्या हुन नदिने कनौडिया दाबी गर्छन् ।
७) आईसीयु कति छन् ?
देशभर आईसीयुको संख्या यकिन छैन । हालै स्वास्थ्य मन्त्रालयले बटुलेको संख्याअनुसार काठमाडौँ उपत्यकामा २ सय ९८ वटा छन् । मन्त्रालयका विज्ञ सल्लाहकार कार्की काठमाडौँमा २ सय ६० वटा थप्न सकिने अवस्था रहेको बताउँछन् । तर उपत्यकाबाहिरको संख्या मन्त्रालयमा आइसकेको छैन ।
अस्पतालसँग जम्मा शैय्या संख्याको ५ प्रतिशत आईसीयु शैय्या हुनुपर्छ । बिर्तामोड, विराटनगर, धरान, जनकपुर, चितवन, हेटौँडा, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीमा पनि आईसीयूको व्यवस्था छ । थोरै संख्यामा भएकाले देशभर करिब ४ सय आईसीयू शैय्या रहेको अनुमान छ । कार्की भन्छन्, “आवश्यक परेको अवस्थामा आईसीयूको संख्या सहजै थप्न सकिन्छ, जुन ठूलो समस्या होइन ।”
८) भेन्टिलेटर कति छन् ?
अस्पतालमा दुइटा आईसीयू शैय्या भए एउटा भेन्टिलेटर सुविधासहितको शैय्या हुनुपर्छ । सोही आधारमा देशभर करिब २ सय भेन्टिलेटर छन् । काठमाडौँ उपत्यकामा भने २ सय ५७ वटा भेन्टिलेटर सुविधासहितका शैय्या छन् । कोरोना संक्रमितमध्ये २० प्रतिशत बिरामी अस्पताल भर्ना गर्नुपर्ने अवस्थाका हुन्छन् । त्यसमध्ये ५ प्रतिशतलाई भेन्टिलेटर सुविधासहितको शैय्याबाट उपचार गर्नुपर्ने हुन्छ ।
निजी अस्पताल सञ्चालक कनौडिया साधारण शैय्या, आईसीयू शैय्याभन्दा पनि समस्या भेन्टिलेटर सुविधासहितको शैय्याको ठान्छन् । अहिले भेन्टिलेटर खरिद गर्न सहज पनि छैन, जसले त्यसमा राखेर उपचार गर्नुपर्ने बिरामीको संख्या थपिँदा झन् जटिल बन्छ ।
त्यसै पनि फोक्सो, मुटु तथा टाउकोको समस्यासहित विभिन्न रोगले थलिएका बिरामीमध्ये केहीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । कनौडिया भन्छन्, “त्यस्ता बिरामीले करिब २ सयजति भेन्टिलेटर ओगट्न सक्छन् ।”
९) जनशक्ति कति छन् ?

निजी अस्पतालहरूले कोरोना आशंकित बिरामीको उपचार गर्न छाडेको एक महिना हुन लाग्यो । ती अस्पतालमा सरकारको कारबाही त परको कुरा, निगरानीसमेत छैन । त्यस कारण निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कोरोना संक्रमणको बेला प्रभावकारी हुन सक्छन् भन्ने ग्यारेन्टी छैन । यसरी हेर्दा सरकारसँग पर्याप्त स्वास्थ्यकर्मी छन् त ?
अहिले सरकारले ५१ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ, जसको काम क्वारेन्टाइनमा बसेका छन् कि छैनन् भन्ने र कोरोनाबाट बच्न सन्देश प्रवाहित गर्ने भूमिकामा सीमित छ । देशभरका स्वास्थ्य चौकीमा भएका अहेव र एचएहरू पनि कोरोना उपचारमा संलग्न हुन सक्दैनन् ।
दन्त चिकित्सकसहित २६ हजार ३ सय २४ चिकित्सक नेपाल मेडिकल परिषद्मा दर्ता छन् । त्यसमध्ये एमबीबीएस २३ हजार १ सय ४६ जना । एमडी गरेका चिकित्सक ७ हजार १ सय ८५ जना छन् तर यीमध्ये नेपालमा कार्यरत चिकित्सकको संख्या भने यकिन छैन । स्वास्थ्य मन्त्रालयअन्तर्गत सरकारसँग चिकित्सकको दरबन्दी करिब १२ सय हो । त्यसमध्ये ८ सय चिकित्सक मात्रै कार्यरत छन् । करिब ४ सयजति दरबन्दी अध्ययन बिदा वा अन्य कारणले रिक्त छ ।
सरकारी अस्पताल सञ्चालक समिति अर्थात् विकास समितिले आफ्नो स्रोतमा समेत चिकित्सकहरू नियुक्त गर्ने गरेका कारण देशभर सरकारी अस्पतालमा करिब २५ सय चिकित्सक कार्यरत रहेको विज्ञ कार्की बताउँछन् । कोरोना संक्रमण विस्तार भएको अवस्थामा यो जनशक्ति निकै कम हो ।
अहिलेसम्मको संकेत हेर्दा कोरोना सुदूरपश्चिम प्रदेशमा विस्तार हुन सक्ने सम्भावना छ । त्यो क्षेत्रमा अझ सरकारी चिकित्सकको संख्या न्यून छ, जसले सरकारको पूर्वतयारीसहित जनशक्ति व्यवस्थापनमा ध्यान नपुगेको प्रस्टै देखिन्छ ।
नेपाल मेडिकल परिषद्का रजिस्ट्रार कृष्ण अधिकारी भने पर्याप्त जनशक्ति रहेको दाबी गर्छन् । अधिकारीको दाबी निजी अस्पतालमा कार्यरत डाक्टरको समेत संख्यासँग जोडिन्छ । तर निजी अस्पताल अहिले दायित्वबाट पन्छिन थालेका छन्, जसले गर्दा अहिले उपचारको भार सरकारी अस्पतालमा परेको छ । त्यस कारण अहिले सरकारी अस्पतालमा कार्यरत जम्माजम्मी २ हजार ५ सय चिकित्सकले सुविधा पुर्याउन कठिन छ ।
१०) प्रयोगशाला कति, एम्बुलेन्स कति ?

धरान, जनकपुर, काठमाडौँ, हेटौँडा, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा प्रयोगशाला स्थापना गरियो । तर ती प्रयोगशालाले पर्याप्त परीक्षण गर्न सकेका छैनन् । त्यसबाहेक स्वास्थ्य मन्त्रालयले १० वटा एम्बुलेन्स आकस्मिक सेवाका लागि तयारी हालतमा राखेको बताएको छ । तर ती बढीजसो काठमाडौँकेन्द्रित छन् ।