परीक्षणमा ढिलाइ हुँदा हैरानी
कोरोनाको आशंका गर्दै उनलाई आइसोलेसन वार्डमा भर्ना गर्यो । उनको गुनासो छ- व्यक्तिसँग कुरा गरेकै भरमा कोरोना आशंका गरियो, दु:ख दिइयो ।

वीर अस्पतालको बेड नं १८ मा छन्, नुवाकोट विदुर नगरपालिकाका भरत दाहाल । बेडको अगाडि पट्टिको सानो झ्यालबाट उनी बारम्बार बाहिर चिहाउँछन् । बाहिरका गतिविधि भित्रैबाट नियाल्न खोज्छन् । तर, देख्दैनन् । भरतलाई बाहिरको संसार कस्तो छ, थाहा छैन । ३२ वर्षीय उनी जन्मजात दृष्टिविहीन छन् ।
१६ चैतमा खोकी र ज्वरो आएपछि गाउँकै खड्का मेडिकल हलमा उपचार गर्न गए, उनी । मेडिकलका स्वास्थ्यकर्मीले चेक नै नगरी टाढाबाटै २० रुपैयाँको सिटामोल फ्याँकिदिए । औषधी लिएर उनी घर फर्किए । त्यो औषधीले निको नभएपछि भरतलाई श्रीमतीले जिल्ला अस्पताल नुवाकोट लगिन् । त्यहाँ एक्सरे गर्दा उनको छातीमा दाग देखियो । निमोनिया भएको भनी औषधी दिएर फर्काइयो ।
औषधीले ठीक नभएपछि जिल्ला अस्पताल पुगे । उनलाई कोरोनाको आशंका गर्दै वीर अस्पताल पठाइदियो । दुई पटक अस्पतालको चक्कर काट्दा उनको ५ हजार रुपैयाँ सकियो । अस्पतालले फिर्ता पठाएपछि कुनै पनि एम्बुलेन्सले उनलाई बोक्न मानेनन्, कारण थियो– कोरोनाको डर–त्रास ।
वडा सदस्यले नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरिदिएपछि २१ चैतमा भरतलाई वीर अस्पताल ल्याइयो । जबकि जिल्ला अस्पतालमा कोरोनाको उपचारका लागि आइसोलेसन कक्षसमेत छुट्टाइएको छ । भएको के थियो भने मुम्बईबाट आएका गाउँका एक साथी उनको पसलमा चिया खान आएका थिए । त्यसको सात दिनपछि उनमा खोकी र ज्वरो देखियो । त्यसपछि गाउँका सबैले उनलाई कोरोना भएको लख काटे । टोलवासी र आफन्त उनको छेउ पर्न डराए । अस्पतालले पनि त्यस्तै लख काट्यो ।
वीर अस्पतालले पनि कोरोनाको आशंका गर्दै आइसोलेसन वार्डमा भर्ना गर्यो । भरत भन्छन्, “व्यक्तिसँग कुरा गरेकै भरमा कोरोना भनी आशंका गरियो, दु:ख दिइयो ।” अस्पतालले पनि कोरोनाको शंकास्पद बिरामी भनेपछि बेवास्ता गर्ने गरेको उनी सुनाउँछन् । भन्छन्, “तातो पानीसमेत खान दिएका छैनन् ।”
भरत बेरोजगार छन् । घरमा एउटा सानो चियापसल छ । बुबा गाउँकै एक बृद्धाश्रममा नोकरी गर्छन् । दुई छोरीसहितको ६ जनाको परिवार छ । पसलको आम्दानी र बुबाको तलबले जसोतसो परिवार पालिएको उनकी पत्नी देवकी दाहाल बताउँछिन् । घरबाट ल्याएको १० हजार रुपैयाँमध्ये जिल्ला अस्पतालमा उपचार गर्दा ५ हजार खर्च भइसकेको छ । उनी सोध्छिन्, “अब बाँकी ५ हजारले अस्पतालमा बस्न र घर जान पुग्छ होला ?”
संक्रमितको संख्या प्रत्येक दिन उकालो लाग्दै छ । विश्वमा कोरोनाले २४ चैतसम्म १२ लाख ७४ हजार ९ सय २३ जनालाई संक्रमित बनाएको छ । मृतकको संख्या ६९ हजार ४ सय ७९ पुगेको छ । कोरोनाको फैलावट जसरी भएको छ, त्यसको तुलनामा थोरै व्यक्ति मृत्यु भएको छ । २ लाख ६० हजार ४ सय ८४ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । कोरोना फैलावटका हिसाबले नेपालमा अन्य देशको तुलनामा एकदमै न्यून छ । अहिलेसम्म ९ जना व्यक्ति मात्रै संक्रमित छन् । रोगको फैलावट कम भएकाले आतंकित हुनुपर्ने अवस्था देखिँदैन । तर सतर्कता जरुरी छ ।
देशमा सामान्य अवस्था हुँदा पनि रुघाखोकी र ज्वरोका बिरामीले उपचार पाएका छैनन् । निजी अस्पतालले सरकारी र सरकारीले टेकु अस्पताल पठाउने गरेको छ । स्वास्थ्यकर्मीमा डर–त्रासले डेरा जमाउँदा रुघाखोकी, ज्वरो र निमोनियाका बिरामीलाई पनि कोरोनाको आशंकामा आइसोलेसनमा राख्ने गरिएको छ । संक्रमण सर्ने डरले बिरामी राम्रोसँग उपचारसमेत गरिँदैन ।
२१ चैत दिउँसो २ बजे उपचारका लागि वीर अस्पताल आएका भरतलाई पनि त्यस्तै गरियो । उनको स्वाब भोलिपल्ट दिउँसो मात्रै परीक्षणका लागि टेकु पठाइयो । कोरोनाको डरले स्वास्थ्यकर्मी तर्किन खोजेकाले बिरामीले राम्रोसँग उपचार नपाउने गरेको एक चिकित्सक बताउँछन् । उनका अनुसार रिपोर्टकै आधारमा बिरामीको उपचार हुने भएकाले अस्पतालले स्वाबको नमुना पठाउन ढिलाइ गर्नु हुँदैन । भन्छन्, “रिपोर्टमा ढिलाइ हुँदा राम्रो उपचार नपाए बिरामीको ज्यान पनि जान सक्छ ।”
वीर अस्पतालमा आइसोलेसन कक्ष बनाइएको भनिए पनि अहिलेसम्म कुनै पनि बिरामीलाई छुट्टै आइसोलेसनमा राखिएको छैन ।
अस्पतालमा आइसोलेसन कक्ष कहाँ छ ? अस्पतालमा काम गर्ने चिकित्सकलाई पनि थाहा छैन । अस्पतालले आकस्मिक कक्षसँग जोडिएको एक कोठामा पर्दा लगाएर कोरोना आशंका गरिएको बिरामीलाई राखेको छ । कोठामा अक्सिजनबाहेक केही पनि छैन । आइसोलेसन कक्ष नै कामचलाउ भएको अस्पतालकै चिकित्सक बताउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार उपचार गराइरहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग फैलिन नदिनका लागि अस्पतालमा छुट्टै आइसोलेसन कक्ष स्थापना गरी उपचार गर्नुपर्छ । छुट्टै जुत्ता, गाउन, पन्जा र मोजाको सुविधा हुनुपर्छ । त्यस्तै बिरामी जाच्नका लागि प्रयोग गरिने स्टेथोस्कोप, थर्माेमिटर, अक्सिजन सिलिन्डर, भेन्टिलेटर, मोनिटरलगायत उपकरण छुट्टै हुनुपर्छ ।
नेपाललगायत विकासोन्मुख मुलुकमा हावा पास ‘हेपाफिल्टर’ सहितको आइसोलेसन कक्ष हुनुपर्छ । तर, हाम्रा अस्पतालहरूमा भने उपकरणबिनाका आइसोलेसन कक्षमा शंकास्पद तथा संक्रमित बिरामीलाई राख्ने गरिएको छ । अस्पतालका निर्देशक डा केदार सेन्चुरी सामान्य अवस्थाका बिरामी भएकाले आकस्मिक कक्षछेउको कोठामा बिरामी राखिएको बताउँछन् । भन्छन्, “पीपीई सीमित भएकाले स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक त्रास बढेको छ, बिरामीको उपचार भने राम्रोसँग गरेका छौँ ।” भरतको कोरोना परीक्षण नेगेटिभ आएको छ ।