नेपालसँग असन्तुष्ट भएको हो चीन ?
कोरोना संकटका बेला नेपाल–चीन सम्बन्धमा कुटनीतिक ‘ग्याप’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच २८ फागुनमा भएको टेलिफोन वार्तामा दुवैले एकअर्काको प्रशंसा गरे । ज्ञवालीले नेपाल सधैँ चीनको साथमा रहेको बताए भने समकक्षी वाङ यीले महामारीका बेला नेपालले सर्जिकल मास्कहरू सहायता गरेको सम्झिए । साथै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपतिलाई शोकपत्र पठाएको स्मरण गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचिआनले नेपाली भाषामै ट्वीट गरेका थिए, ‘यसले हिमालयसम्म फैलिएको चीन र नेपालको पारम्परिक मित्रतालाई पूर्ण रूपमा प्रतिविम्बित गर्दछ । चिनियाँहरूले यसलाई सधैँ सम्झिरहने छन् ।’
1/2 राज्य काउन्सलर तथा विदेश मंत्री वाङ यीले नेपाली विदेश मन्त्री ज्ञवालीसंग टेलिफोन वार्ता गरेका थिए। ज्ञवालीले भने, नेपाल मैत्री छिमेकीको रूपमा चीनको साथ दृढ अडान लिन्छ। वाङ यीले भने, राष्ट्रपति भन्दारी र प्रधानमन्त्री ओलिले राष्ट्रपति सी जिन् पिंगलाई शोक पत्र पठाए। pic.twitter.com/sMuu6A7TqI
— Lijian Zhao 赵立坚 (@zlj517) March 11, 2020
2/2 चीनमा महामारी एकदमै कठोर भएको बेला , नेपाली सरकारले शल्य चिकित्सा सर्जिकल मास्कहरू चीनमा दान गर्यो। यसले हिमालयसम्म फैलिएको चीन र नेपालको पारम्परिक मित्रतालाई पूर्ण रूपमा प्रतिबिम्बित गर्दछ। चिनियाँहरुले यसलाई सधै सम्झिरहने छ। pic.twitter.com/P5rNpOVrOY
— Lijian Zhao 赵立坚 (@zlj517) March 11, 2020
लगत्तै, कोरोनाविरुद्ध नेपाललाई आवश्यक चिकित्सक र स्वास्थ्य सामग्री सहायता पठाउन चीन तयार रहेको भन्दै सूची मागियो । नेपालले ६ चैतमा १ सय पोर्टेबल भेन्टिलेटर, ४० पीआरसी मेसिन, २ हजार मोनिटर, सुविधासम्पन्न एम्बुलेन्स, पीपीई, एन ९५ मास्कसहित लामै सूची पठायो । तर झन्डै एक महिना बितिसक्दा पनि चीन सरकारले उपलब्ध गराउने स्वास्थ्य सामग्री आइपुगेन ।
दुई सरकारी तहबाट (जीटुजी) खरिदमा समेत चीन तयार भएन । संकटको यो बेला विश्वकै एक मात्र आशा बनेको चीनले नेपालका लागि चाहिने सीमित स्वास्थ्य सहायता र निर्यातलाई महत्त्व नदिनुले दुई देशबीच कूटनीतिक ‘ग्याप’ देखिएको छ । भलै, चिनियाँ राजदूत होउ यान्छीले पटक–पटक नेपाललाई आश्वस्त पार्ने कोसिस गरिरहेकी छिन् ।
कोरोना महामारीको संकट टार्न तत्कालै गर्नुपर्ने कूटनीतिक पहलकदमीमा ढिलाइ गरेको चिनियाँ अधिकारीहरूको बुझाइ छ । कूटनीतिक पहल यति ढिलो गरियो कि नेपालभन्दा पहिले अरू देशहरू नै सहयोग लिन बेइजिङ पुगे । नेपालले पठाएको स्वास्थ्य सामग्रीको सूची बेइजिङ पुगुन्जेल युरोप र अमेरिकामा कोरोना महामारीको हाहाकार मच्चिइसकेको थियो । त्यसले चिनियाँ उत्पादक कम्पनीहरूलाई स्वास्थ्य सामग्री उतै निर्यात गर्न भ्याइनभ्याई भयो ।
यस्तोमा चिनियाँ पक्षले आफ्नो ध्यान महामारीबाट धेरै क्षति बेहोरिरहेका मुलुकतर्फ केन्द्रित गर्नु परेको बताउँदै आएको छ । त्यसैले फाट्टफुट्ट मात्र संक्रमण देखिएको नेपाल चीनको प्राथमिकतामा परेन । ठीक त्यसैबेला नेपालले स्वास्थ्य सामग्री जीटुजीमार्फत खरिदका लागि प्रस्ताव गरेको थियो । सामान अभावलाई कारण देखाएर चीनले तत्काल जीटुजी सम्झौता गर्न नसकिने जनाउ दियो । अर्थमन्त्री एवं सरकारका प्रवक्ता युवराज खतिवडाले २० चैतको पत्रकार सम्मेलनमा जीटुजी खरिदका लागि चीन र भारतसँग सहयोग मागेको तर दुवै छिमेकी मुलुक आफैँ समस्यामा भएका कारणले खरिद गर्न नसकिएको बताएका थिए ।
त्यसपछि हो, चिनियाँ व्यापारी र तिनका नेपाली बिचौलियाहरू सिंहदरबार, स्वास्थ्य मन्त्रालय र बालुवाटार धाउन थालेका । स्वास्थ्य विभागलाई स्वास्थ्य सामग्री आपूर्ति गर्दै आएका अधिकांश व्यवसायी भारतमा निर्भर थिए । भारतले निर्यातमा रोक लगाएको र चिनियाँ सहायता पनि अनिश्चित भइरहेका बेला मूल्यमा भन्दा छिटो पाउनुलाई नै सफलता ठानेर रातारात विवादास्पद सम्झौता गरिएको स्वास्थ्य विभागका अधिकारीहरू दाबी गर्छन् ।
१६ चैतमा चीनका केही प्रान्त, सामाजिक संघसंस्था, उद्योगी र नागरिक स्तरबाट पहिलो चरणको सहायता पठाएको छ । सिन्चुवान प्रान्त, अलिबाबा फाउन्डेसन, ज्याकमा फाउन्डेसन, चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी, होङ्सी सिमेन्ट र सिन्चुवान हुसी गु्रपलगायतले पठाएका केही भेन्टिलेटर, पीपीई, पीसीआर टेस्ट किट, मास्क, थर्मोमिटर राजदूत यान्छीले नेपालका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी थिइन् । केन्द्रीय सरकारले उपलब्ध गराउने सहायतामा भने ढिलाइ भएको उनले त्यसैबेला स्वीकारिन् ।
We are praying for Nepal and trying our best to coordinate some medical materials to help our Nepali friends. You will never be alone!🇨🇳🇳🇵
— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 23, 2020
हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरूलाई सहयोग पुर्याउन चिकित्सा सामग्रीहरू ककेसम्म मिलाउँदै छौँ । हामी साथमा छौँ ! pic.twitter.com/cKwTVNBgrt
नेपालका कतिपय व्यवहारले चीनसँगको सम्बन्धमा कूटनीतिक ग्याप सिर्जना गरेको दूतावास स्रोत बताउँछ । वुहानमा कोरोना संक्रमित फैलिइरहँदा युरोप र अमेरिकाले चीनको बदनाम गरिरहेकै बेला त्यहाँबाट नेपाली विद्यार्थी उद्धार गर्नु जरुरी थिएन भन्ने चीन ठान्थ्यो । उनीहरूलाई चिनियाँ नागरिकसरह सुरक्षाको व्यवस्था गरिएको बताइरहँदा पनि नेपाली विद्यार्थीलाई उद्धार गर्नुलाई चीनले नेपालको अनुपयुक्त कदम ठान्यो ।
चीनको छात्रवृत्तिमा सयौँ नेपाली विद्यार्थी अध्ययनरत भए पनि चीन असुरक्षित छ भन्ने सन्देश दिन मात्र १ सय ७५ जनाको उद्धार गरियो भन्ने उसको गुनासो छ । त्यसमाथि, उनीहरूलाई लिन गएको नेपाल एयरलाइन्सको जहाजलाई मानिसलाई झैँ क्वारेन्टाइनमा राखिएको र सो घटनालाई पश्चिमा मिडियाबाट व्यापक कभरेज भएको बेइजिङलाई मन परेन ।
“जहाजलाई डिइन्फेक्सन गर्न अनेक उपाय हुन सक्थे । तर मान्छेलाई झैँ क्वारेन्टाइनमा राख्नु अवैज्ञानिक मात्र होइन, दुनियाँ हँसाउने काम भएकै हो,” चीनस्थित सियान मेडिकल विश्वविद्यालयका प्राध्यापक डा राजीव झा भन्छन्, “यो घटनाले चिनियाँ अधिकारीलाई आश्चर्यचकित बनाएको थियो ।”
स्वास्थ्य सामग्री जीटुजीबाट खरिद गर्न चीनले अनिच्छा जनाएपछि स्वास्थ्य मन्त्रालयले रातारात ओम्नी ग्रुपलाई अघि सार्यो । ऊसँग बजार मूल्यभन्दा धेरै महँगो दरमा सम्झौता गरिएको थियो । उसले १६ चैतमा पहिलो लटको सामग्री काठमाडौँ ओराल्यो ।
बेलैमा रेस्पोन्स गरेको भए अहिलेको स्थिति आउने थिएन् । दुई देशबीच कुनै असमझदारी भए दूर गर्न परराष्ट्रमन्त्रीस्तरकै पहलकदमी आवश्यक छ । - टंक कार्की, पूर्व राजदूत
सरकारले चीनबाट ल्याइएका पीपीई, पीसीआर र र्यापिड टेस्ट किटलगायतका सामग्री प्रयोगमा ल्याइसकेको छ । तर र्यापिड टेस्ट किट चीन सरकारको गुणस्तर मापदण्डअनुरूप भए पनि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको भन्दै आलोचना भयो । चिनियाँ मापदण्डको सामग्रीमा उठेको प्रश्नप्रति पनि ऊ असन्तुष्ट देखियो । कोरोना संकटको पूर्वसन्ध्यामै राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर बेइजिङ मिसनलाई नेतृत्वविहीन बनाउनुको कारण नबुझेको चिनियाँ अधिकारीहरू बताउँछन् । अहिले सुशील लम्सालले निमित्त राजदूतका रूपमा बेइजिङ मिसन नेतृत्व गरिरहेका छन् ।
चीनका पूर्वराजदूत टंक कार्की औषधी खरिद र सहयोग लिन नेपालले पर्याप्त कूटनीतिक पहल गर्न नसकेको बताउँछन् । “नेपाल सधैँ चीनको प्राथमिकतामा छ,” उनी भन्छन्, “तर संकट बढ्नुअघि नै नेपालले जुन स्तरको तत्परता देखाउनुपर्थ्यो, सकेन । उल्टै सक्रिय बनाउनुपर्ने बेला बेइजिङ मिसन नेतृत्वविहीन बनाएर बसेको छ ।” चीनसँग नजिकिनुअघि नेपालले पश्चिमा मुलुकले के भन्लान् भन्ने संकोच त्याग्नुपर्ने उनको राय छ । कुनै असमझदारी भए दूर गर्न परराष्ट्रमन्त्री स्तरकै पहलकदमी हुनुपर्ने तर्क गर्दै कार्की भन्छन्, “बेलैमा रेस्पोन्स गरेको भए अहिलेको स्थिति आउने थिएन ।”
परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौड्याल परराष्ट्रमन्त्री ज्ञवालीको चिनियाँ समकक्षी वाङ यीसँगको संवादलगत्तै मार्च तेस्रो साता स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर आवश्यक सामग्रीको सूचीसहित चीनलाई पत्राचार गरिएको बताउँछन् । यो बीचमा बेइजिङस्थित नेपाली दूतावास र काठमाडौँस्थित चिनियाँ दूतावासमार्फत निरन्तर कूटनीतिक पहल भइरहेको उल्लेख गर्दै सहसचिव पौड्याल भन्छन्, “निरन्तर फलोअप भएको छ । चीन सरकारबाट सहयोगका स्वास्थ्य सामग्री आउने क्रममै रहेको जानकारी पाएका छौँ ।”
परराष्ट्रमन्त्री ज्ञवाली चीन असल छिमेकी भएकाले संकटका बेला नेपाललाई पूर्ण सहयोग गर्ने विश्वास दिलाएको बताउँछन् । भन्छन्, “चीनले सहयोग गर्न सक्ने सामग्रीको सूचीसमेत पाइसकेका छौँ । त्यसबाहेकका र अपुग सामग्री अहिले खरिद गर्न लागिएको हो ।” नेपालमा कोरोना महामारी कुन हदसम्म फैलिन सक्छ भन्ने जोखिम पूर्वानुमानसहित पहिल्यै कूटनीतिक तवरबाट आवश्यक सामग्री खरिद गर्न खोजिए पनि अन्तर्राष्ट्रिय बजारमा अभावका कारण सम्भव नभएको उनी दाबी गर्छन् । भन्छन्, “महामारी फैलिएका देशहरू चीनको प्राथमिकतामा पर्नु स्वाभाविक छ । केन्द्रीय सरकारले पनि छिट्टै नेपाललाई सामग्री पठाउने विश्वास दिलाएको छ ।”
परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनसँग निरन्तर संवाद र सम्पर्कमा रहेको ज्ञवाली बताउँछन् । सामग्री ढिलाइकै कारण दुई देशको सम्बन्धमा कूटनीतिक चिसो आएको रूप बुझ्न नहुने उनको टिप्पणी छ । नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित रहेकाले सानातिना कुराले प्रभावित नहुने दाबी गर्दै ज्ञवाली भन्छन्, “समकक्षी वाङ यीसँग टेलिफोन संवाद गरेँ । उच्च तहबाट समेत सन्देशहरू पठाइएका छन् । नेपाल–चीन सम्बन्ध यस्ता सानातिना कुराले प्रभावित हुने खालको होइन ।”
पछिल्लो पटक २५ चैतमा परराष्ट्रले जीटुजीमार्फत औषधी खरिदका लागि चीनसहित पाँच मुलुकलाई पत्राचार गरेको छ । जीटुजीबाट सेनाले ती स्वास्थ्य सामग्री खरिद गर्नेछ । उसैले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीसहित परराष्ट्रले चीन, भारत, जापान, सिंगापुर र दक्षिण कोरियालाई पत्राचार गरेको हो । भारतले स्वास्थ्य उपकरण र औषधी निर्यातमा प्रतिबन्ध लगाइसकेको छ भने जापानका मुख्य सहरमा तीन महिने संकटकाल लागेको छ । स्वास्थ्य सामग्री खरिदको सम्भावना रहेका मुलुकमध्ये चीन र दक्षिण कोरियामा राजदूत खाली छ भने जापानकी राजदूत प्रतिभा राणा पनि काठमाडौँमै छिन् ।
मेरा समकक्षी वाङ यीसँग मेरो टेलिफोन संवाद भएको छ । उच्च तहबाट समेत सन्देशहरू पठाइएका छन् । नेपाल–चीन सम्बन्ध यस्ता सानातिना कुराले प्रभावित हुने खालको होइन् । - प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री
चीनमा जीटुजी खरिद–बिक्री वाणिज्य मन्त्रालयले गर्छ । चिनियाँ स्वास्थ्य उपकरण र औषधीको गुणस्तरमाथि प्रश्न उठ्न थालेपछि अहिले आधिकारिक पाँच कम्पनीमार्फत मात्र सामग्री निर्यात गर्न सकिने व्यवस्था गरिएको छ ।
नेपालले चीनस्थित दूतावासमार्फत २० चैतमा पनि कूटनीतिक प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि पत्र पठाएको थियो । चीनले वाणिज्य मन्त्रालयले सहकार्य गरेर काम गरिरहेको बताए पनि ठोस नतिजा भने आइसकेको छैन ।
चीनले १ अप्रिलदेखि स्वास्थ्य सामग्रीको मूल्यवृद्धि गरेको छ । त्यस्तै, निर्यात प्रणालीलाई व्यवस्थित गर्न गुणस्तर जाँचलाई कडाइ गर्दै पाँच वटा कम्पनीमार्फत खरिद गर्न सकिने भएको छ । यसले स्वास्थ्य सामग्रीमाथि अब गुणस्तरको प्रश्न नउठ्ने चिनियाँ अधिकारीहरूको दाबी छ । तर कोरोना संकटले भुक्तानीमा थुप्रै व्यावहारिक कठिनाइ छन् । नेपाल–चीन व्यापारलाई भारतझैँ सरल गर्न नसक्दा थुप्रै अप्ठेरा रहेको व्यवसायीहरू बताउँछन् ।
१५ माघदेखि बन्द रसुवागढी र तातोपानी नाका दुई महिनापछि १४ चैतमा खुल्यो । तर विभिन्न व्यावहारिक समस्याका कारण नाकाबाट ढुवानी भने हुन सकेको छैन । नेपालतर्फको नाका सुचारु गर्ने कि नगर्ने भन्नेमा चिनियाँ अधिकारीमा अन्योल देखिन्छ । त्यसमाथि सीमा नाकामा कोरोना जाँचको भरपर्दो डेस्क पनि नरहेकाले समस्या देखिएको छ । चिनियाँ राजदूत यान्छीले २३ चैतको लिखित मिडिया ब्रिफिङमा भन्सारको प्रक्रिया र यातायातबारे सबै पक्षसँग कुरा राख्ने आश्वासन दिएकी छिन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...