लकडाउनमा रगत संकलन गर्न घरघरै
रगतको कमी हुन नदिन ‘एक घर एक रक्तदाता’ अभियान

के तपाईं दिनभरि घरमै बसेर दिक्क हुनुभएको छ ? कोरोना भाइरसबाट बच्न घरभित्र बसे पनि कसैको ज्यान बचाउन इच्छुक हुनुहुन्छ ? यस्तो बेला कसैलाई सहयोग गर्ने भावना आएको छ ? त्यसो हो भने अवसर तपाईंको घरदैलोमै छ । लकडाउनलाई दृष्टिगत गरेर रगतको कमी हुन नदिन टोल–टोलमा ‘एक घर एक रक्तदाता’ अभियान सुरु भएको छ । अभियानले रगत आवश्यकता भएकाहरूलाई ठूलो राहत दिएको छ ।
कोभिड–१९ को संक्रमण रोक्न ११ चैतदेखिको लकडाउनले देशको जनजीवन पूरै ठप्प छ । अस्पतालमा शिशु जन्माउन लागेकी आमा र दीर्घरोगीलाई निरन्तर रगत आवश्यक परिरहन्छ । लकडाउन सुरु भएपछि नै ब्लड बैंकमा रगतको कमी हुँदै गएको समाचार आइरहेका थिए ।
शुभेच्छा प्रधानकी आमाका लागि एबी पोजिटिभ रगत चाहियो । १२ माघदेखि नै उनकी आमा ट्रमा सेन्टरमा शरीर जलेपछि उपचाररत थिइन् । शरीरमा हेमोग्लोबिन (रगतमा हुने एक तत्त्व, जसले अक्सिजन अणु वहन गर्छ) को कमी भएकाले उनलाई शीघ्र रगत चाहिएको थियो । एक्लै भएको र ब्लड बैंकसम्म लगिदिने कोही नभएकाले सेन्टरमै आएर रगत दिन फेसबुक पेजमा स्ट्याट्स लेखिन् । उनको स्ट्याट्स रुटिन अफ नेपाल बन्दको पोस्टमा सेयर भयो । त्यसपछि महाबौद्धस्थित रेडक्रस सोसाइटीले उनलाई सघायो ।
शुभेच्छाले ‘एक घर एक रक्तदाता अभियान’ अन्तर्गत संकलित भएकैबाट रगत पाएकी थिइन् । महाबौद्धस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाका सचिव प्रकाश अमात्य टोल–टोलमा रगत दिन चाहने सम्भावित दाताले फेसबुकमा पोस्ट गरेपछि टोलमै रगत झिक्ने व्यवस्था गरेको बताउँछन् । भौतिक दूरी कायम गरी टोल–टोलमा रगत संकलन गरिरहेको उनको कथन छ ।
“दातालाई बाहिर निस्कन सहज होस् भनेर दाताकै टोलमा कार्यक्रम गरिरहेका छौँ । यसका लागि महाबौद्धको रेडक्रस उपशाखा र भक्तपुर रक्तसञ्चार केन्द्र (ब्लड बैंक) बीच समन्वय भइरहेको छ,” अमात्य भन्छन्, “पहिले संस्थाको वार्षिकोत्सव या अन्य विशेष दिनमा मात्र बढीजसो रक्तदान गर्ने प्रचलन थियो । म त्यो प्रचलन तोड्न चाहन्छु । प्राय: यस्ता कार्यक्रममा फजुल खर्च हुन्छ । रक्तदान सेवाको काम हो । आवश्यक परेका मानिसको ज्यान बचाउन हो, न कि देखावटीका लागि ।”
महाबौद्ध रेडक्रस उपशाखाको हकमा २१ चैतबाट सुरु भएको अभियानमा हालसम्म सयभन्दा बढी दाताबाट रगत संकलन भइसकेको छ । अमात्य भन्छन्, “अहिलेसम्म दाताले चाहे मात्र रगत संकलन भइरहेको छ । ३ महिनामै पुन: रगत दिन सकिने भएकाले हामी यो कामलाई दिगो रूपमा अगाडि बढाउन चाहन्छौँ ।”
सामाजिक कार्यका लागि जरोकिलो महाअभियानले आगामी २९ चैतमा रक्त संकलन गर्दै छ । अहिलेसम्म चार पटक रक्त संकलन गरिसकेको महाअभियानले यस पटक कागेश्वरी मनोहरा नगरपालिका वडा–५ थलीमा गर्दै छ । बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा करिब ३५ जना रक्तदाता सहभागी हुने अभियन्ता लक्ष्मण पोखरेल बताउँछन् । भन्छन्, “मास्क, स्यानिटाइजर र पीपीईको प्रयोग गरी सुरक्षित तवरले रगत संकलन गर्नेछौँ ।”
कोरोनााभाइरस रगतबाट सर्छ कि सर्दैन भन्ने अहिलेसम्म पुष्टि भएको छैन । यस अवस्थामा दाताको सम्पूर्ण विवरण भरेर, विदेश भ्रमणबारे उल्लेख गरी कुनै दीर्घकालीन रोग लागे/नलागेको बारे सोधपुछ गरेर मात्र संकलन गरिने पोखरेल स्पष्ट पार्छन् । अमात्य थप्छन्, “टोल–टोलमा गरिने हुँदा एकले अर्काेलाई चिनेको हुन्छ । फेरि दाताको विवरण पनि भर्न लगाएकै छौँ । एक पटकमा ३ जनाको मात्र रगत लिन्छौँ, पीपीई लगाएर ।”
काठमाडौँ, विराटनगर, चितवन र पोखरामा रगतको बढीजसो खपत हुने गर्छ । अरू बेला काठमाडौँमा मात्रै दिनको साढे ५ सय पिन्ट रगत खपत हुने गर्छ । अहिले लकडाउनले गर्दा साढे २ सय पिन्ट रगत माग भएको नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला च्याप्टरका सचिव श्यामकाजी डोटेल बताउँछन् । लकडाउन हुँदै छ भन्ने पूर्वाभास हुनेबित्तिकै नख्खु कारागारमा एकै दिन २ सय ९४ कैदीबाट रगत संकलन गरेको उनको कथन छ । भन्छन्, “जेलबाट रगत संकलन गरेको सम्भवत: यो नै पहिलो पटक हो ।”
भक्तपुर रेडक्रस सोसाइटीले ११ देखि २६ चैतसम्म १ हजार २ सय १२ युनिट रगत संकलन गरेको छ भने १ हजार ५ सय २९ युनिट रगत वितरण गरेको छ । काठमाडौँ ब्लोदान र नेपाल रेडक्रस सोसाइटी उपशाखाको सहयोगमा ‘एक घर एक रक्तदाता अभियान’ सञ्चालन गरिएको छ ।
रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकार लकडाउन भएको तेस्रो दिनदेखि रगत संकलन गर्न घुम्ती अभियान चलाएको बताउँछिन् । उक्त अभियानमा १४ चैतदेखि २६ सम्म ४ सय ६१ युनिट संकलन भएको छ । यस्तै, ११ चैतदेखि २४ चैतसम्म ब्लड बैंकमा आएका रक्तदाताबाट १ सय ७९ युनिट रगत संकलन भएको छ । डा राजकर्णिकार भन्छिन्, “इच्छुक दाताले अहिले पनि ब्लड बैंकमा आएर रगत दान गर्न सक्नुहुन्छ । देशभर पनि ७३ जिल्लामा रेडक्रसका शाखा छन् । आफू अनुकूल शाखामा गएर रगत दिन सकिन्छ ।”