फ्रान्समा नेपालीको कोरोना अनुभव
कोरोना संक्रमणको ‘पिक आवर’ काटिसकेको फ्रान्समा नेपालीहरूको अवस्था कस्तो छ ?

फ्रान्समा पहिलो पटक कोरोना भाइरस १० माघमा देखिएको हो । राजधानी पेरिसमा वुहानबाट आएका एक चिनियाँ दम्पती र बोर्दो सहरमा अर्का एक चिनियाँ मूलका फ्रान्सेली नागरिकमा पहिलो पटक कोरोना भाइरस देखिएको हो ।
जाडो याममा फ्रान्सेली अस्पतालका आकस्मिक तथा सघन उपचार कक्षहरू मौसमी रुघाखोकीका कारण भरिभराउ हुन्छन् र बर्सेनि करिब ५ हजारभन्दा बढीको ज्यान जान्छ । चीनमा कोरोना देखिएपछि भने फ्रान्सका अस्पतालहरूले यो वर्षको जाडो मौसम अरू बेलाजस्तो नहुने आकलन गरिसकेका थिए । कारण थियो, संक्रमणको केन्द्रबिन्दु मानिएको वुहान र पेरिसबीच हवाई उडान र कार्गो सेवा नियमित हुनु ।
फ्रान्समा कोरोना देखिएको केही दिनभित्रै जर्मनी, इटाली, स्पेन, बेल्जियम र बेलायतले पनि कोरोना सक्रमणको पहिलो मामिला दर्ता गरे । त्यसयता जर्मनीले मात्र कोरोना संक्रमणलाई आफ्नो नियन्त्रणमा पार्न सफल भएको छ ।
युरोपमा इटाली र स्पेनपछि फ्रान्सले आफ्ना नागरिकहरू गुमाएका छन् ।
सुरुमा कोरोना देखिँदा ‘आत्तिनु पर्दैन, यो कडा खालको रुघाखोकी हो’ भनेर प्रचार भयो । यसले गर्दा नागरिकले निश्चिन्त भएर आफ्ना दैनिकी गुजारे । पहिलो मामिला फेला परेपछिको एक महिनासम्म फ्रान्स साँच्चै नै शान्त देखियो । सरकारी स्तरमा कोरोना संक्रमण फैलिए के गर्ने भन्ने तयारीका कुनै पनि समाचार प्रकाशित भएनन् । बरु ऊ बेला स्वास्थ्यमन्त्री पद सम्हालिरहेकी अनेज बुजाँले पत्रकारहरूसँग फ्रान्स कोरोना संक्रमणविरुद्ध लड्न तयारी अवस्थामा रहेको भनेर ढाँटिन् ।
कोरोनाको पहिलो मामिला देखिँदा एकातिर फ्रान्समा अवकास र निवृत्तिभरण भत्ताका विषयमा आन्दोलन चर्किरहेको थियो । कुनै पनि हालतमा सरकार नयाँ नियम ल्याउने तयारीमा थियो भने अर्कोतिर २ चैतमा स्थानीय निकायको चुनाव गर्नमा केन्द्रित थियो ।
यत्तिको तयारी हुँदै गर्दा भने १४ फागुनमा सरकारका दाँतमा ढुंगा लाग्यो । यो दिनदेखि कोरोना संक्रमणको ब्रेक–रेखा साँच्चै उकालो लाग्यो, जसले आजसम्म पनि रोक्ने छाँट देखाएको छैन ।
फ्रान्सको पूर्वमा जर्मनी पर्छ । जर्मनीसँग सीमा जोडिएको मुलुज सहरमा फ्रान्सेली प्रोटेस्टेन्टहरूको एक गिर्जाघर छ । यसको बन्द सभाहलमा २ फागुनदेखि एक सातासम्म लामो इसाई धार्मिक पर्व चल्यो । यो धार्मिक जमघटमा फ्रान्सभित्रका वृद्धाश्रममा काम गर्ने कर्मचारी र केही स्वास्थ्यकर्मीहरू सहभागी थिए नै । त्यसबाहेक टाढाका फ्रान्सेली द्वीपदेखि जर्मनी र स्वीट्जरल्यान्डका धर्मभीरुहरूसमेत सहभागी थिए । यो बन्द हलमा कसैले पनि कोरोना फैलिएको पत्तो पाएनन् । जब मानिसहरू घरघर फर्के, तब तिनले नजानेरै कोरोनालाई फ्रान्सभर मात्र होइन, वृद्धाश्रममा समेत पुर्याए । केही दिनपछि यो सहर र यो वरपरको क्षेत्र कोरोना संक्रमणको सबैभन्दा प्रभावित र मृतकहरूको सहर बन्यो । सरकारी अस्पतालले नपुगेर फ्रान्सेली सेनाले समेत यहाँ एक अस्थायी अस्पताल निर्माण गर्नुपर्यो भने बिरामीको चाप अझ थेगिसाध्य नभएपछि सीमावर्ती देश जर्मनी र स्वीट्जरल्यान्डसम्म पठाउनुपर्यो ।
ठीक यही बेलै, राजधानीको सीमा जोडिएको फ्रान्सको उत्तरमा पर्ने पिकार्दी प्रदेशमा पनि अचानक कोरोना फैलिएको देखियो । यो क्षेत्रको कोरोना पछि पेरिस र आसपासका सहरभित्र छिर्यो । पेरिस आसपासमा कोरोना फैलिँदा फ्रान्सेली सरकारले ठूला–ठूला खेलहरू सञ्चालनमा प्रतिबन्ध लगाए पनि छिमेकी देश इटालीले प्रतिबन्ध लगाइसकेको थिएन । फलस्वरूप यही समयमै इटालीको चुरा सहरमा आयोजना भएको फ्रान्सको दक्षिणमा अवस्थित एक फुटबल क्लब र इटालीको क्लबबीच खेल भयो । लम्बार्डी क्षेत्रको यो सहरमा फ्रान्सेलीहरू पनि सहभागी भएका थिए, जसले पछि फ्रान्सको दक्षिणी भूभाग पनि संक्रमित भयो ।
यसरी फ्रान्स एकाएक पूर्व उत्तर र दक्षिण गरी तीनै दिशाबाट संक्रमित भयो ।
फ्रान्समा संक्रमणको मामिला वृद्धि हुँदै जाँदा चिकित्सकहरूले स्थानीय चुनाव पहिले नै लकडाउनमा जानुपर्छ भनेर दबाब दिए । नागरिकहरूमा पनि एक खालको त्रास फैलिन थाल्यो, जसले गर्दा पसलमा खाद्यान्नदेखि भुइँ सफा गर्न प्रयोग हुने रसायन, पन्जाहरूसहित चर्पी जाँदा प्रयोग हुने कागज रित्तिन थाले । सरकारसँग पर्याप्त मास्क र स्वास्थ्यकर्मीहरूले लगाउने मास्क अभाव हुन थाल्यो । सिटामोल र खोकीको ओखती बिक्री ह्वात्तै बढ्यो ।
एकाएक अवस्था परिवर्तन भएपछि फ्रान्सेली सरकारले वृद्धभत्ता एवं अवकासको कानुन परिवर्तन गर्ने कुरा थाँती राख्यो र स्थानीय निर्वाचन गरायो । तर निर्वाचनमा जम्मा ३० प्रतिशत मतदाताले मात्र भाग लिए र निर्वाचन सकिएको दुई दिनपछि फ्रान्सले अत्यावश्यक सेवाबाहेक अरूलाई रोक्ने निर्णय गरेर लकडाउन घोषणा गर्यो ।
४ चैतमा लकडाउन घोषणा हुँदा फ्रान्समा ७ हजार ७ सय ३० संक्रमित थिए भने १ सय ७५ जनाको मृत्यु भएको थियो । यो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपतिले भनेका थिए, ‘फ्रान्स युद्धमा छ ।’
यो एक महिना र केही दिनका बीचमा फ्रान्सले शुक्रबार बेलुकासम्म २१ हजार ८ सय ५६ नागरिक गुमाइसकेको छ र अझै गुमाउने क्रममा छ ।
यो अवधिमा फ्रान्सले नचिताएको दु:ख देख्यो । अस्पतालहरूमा भेन्टिलेटर र सघन उपचार कक्षहरूको अभाव भयो । हेलिकोप्टरहरूले संक्रमितलाई अस्ट्रिया र लक्जम्बर्ग मात्र होइन, जर्मनी र स्वीट्जरल्यान्ड पनि पुर्याए । एम्बुलेन्स रेल प्रयोग गरेर बिरामीहरू चार दिशामा छरिएका अस्पताल पठाइयो । बिरामीहरू सबैलाई सेवा दिन नसकेका कारण चिकित्सकहरूले केही वर्ष बचाउन सकिनेहरूको उपचार गरे र बाँकीलाई त्यत्तिकै मर्न दिए । पछि लासहरूको थुप्रो हुन थालेपछि सरकारले तरकारी राख्ने चिस्यान गृहहरूलाई शवगृहमा परिणत गर्यो । उपचार अभावकै कारण या किन हो, फ्रान्समा मृत्यु दर पनि अरू देशको तुलनामा उच्च देखिएको छ । यहाँको तथ्यांक विभागले मृत्यु दरलाई आश्यचर्यजनक भनेको छ ।
फ्रान्सले यतिबेला कोरोना संक्रमणको ‘पिक आवर’ काटिसकेको छ । राष्ट्रपति इमानुयल माख्रेले म्याक्रेले ११ वैशाखबाट १२ कक्षामुनिको पढाइ अनिवार्य सुरु गर्नू भनी सरकारलाई निर्देशन दिएका छन् । स्कुलपछि कुन–कुन क्षेत्रहरू खुल्नेछन् भन्ने कुरा अहिले नै बताइएको छैन ।
राष्ट्रपतिले लकडाउन खुलाउने निर्णय गरेपछि घरभित्र थुनिएर रहेका नागरिकमा अब बाहिर निस्कन पाइन्छ भन्ने आशा पलाएको छ ।
पेरिसमा रहेका नेपालीहरूको अनुभव

अस्मिता शेरचन
म आफ्नै व्यवसाय गर्छु । मेरो अस्मिता ब्युटिपार्लर छ, पेरिस नजिकै । मसहित ६ जना कामदार छौँ, पार्लरमा । ठूलो आमा खसेको वर्ष दिन भएको थियो र म नेपाल गएकी थिएँ । फेबु्रअरीको अन्तिमतिर मात्रै नेपालबाट फ्रान्स फर्केकी हुँ । म आउँदा फ्रान्समा त कोरोना संक्रमण व्यापक फैलिरहेको रहेछ र व्यापारमा मन्दी । सरकारले लकडाउन गरेपछि त सबै बन्द भयो । मैले कम्तीमा महिनाको २५ देखि ३० हजार घाटा खाइरहेकी छु । सरकारले नआत्तेऊ, हामी मद्दत गर्छौं भने पनि के कति मद्दत गर्ने थाहा छैन । लकडाउन खुल्यो भने व्यवसायमा फर्कन पाइएला तर मेरो प्राथमिकता मानिसहरूको स्वास्थ्यतिर गएको छ । व्यवसाय फेरि गरौँला तर मानिस बाँचून् । मेरो कामना छ ।
म मानसिक रूपमा यतिबेला असाध्यै गलेकी छु । फ्रान्स र नेपालमा लकडाउन चलिरहेछ । हवाई उडान बन्द छ । नेपालमा यही बेला मेरा दाजु र पिताको निधन भयो । घरका दुई सदस्य गुमाउनुपर्दा म अचेल रोएर समय कटाइरहेकी छु । खाना र सुत्नको ठेगान छैन । यति साह्रो सहारविहीन र उपायविहीन अवस्था जीवनमा मैले कहिल्यै भोगेकी थिइनँ । उडेर जाउँ पखेँटा छैनन् । बसौँ मनले मान्दै मान्दैन । मलाई सम्हालिन बहुतै मुस्किल भएको छ ।
रन्जित भट्ट
म पेरिसमा इन्जिनियरिङ गरिरहेको छु । इन्जिनियरिङको पाँच वर्षे पढाइका लागि म यता आएको हुँ । लकडाउनमा सबै बन्द छ र क्याम्पस पनि । पढाइ इन्टरेनटबाट भइरहेको छ । कक्षामा बसेर पढ्दा साथीभाइ र शिक्षकसँग छलफल गरेर पढ्न पाइछ । कक्षामा पढ्ने वातावरण हुन्छ । घरमा बसेर पढ्दा उकुसमुकुस हुन्छ । केही परीक्षाहरू हुनुपर्ने थियो यो बन्दबन्दीका बेला । तर सबै परीक्षा पछिका लागि भनेर धकेलिएको छ । जुन महिनामा त यो वर्षको पढाइ सकिनुपर्ने पनि हो । तर के हुन्छ र कसरी यो वर्षको पढाइ सकिन्छ, अहिलेसम्म कुनै जानकारी छैन ।
यतिबेला मजस्तै अरू विद्यार्थीहरूसँग पनि बात मार्ने मौका पाएको छु । धेरै नेपाली विद्यार्थीहरूको नेपालबाट पैसा ल्याएर पढ्न सक्ने अवस्था छैन । लकडाउनले उनीहरूले काम खोज्न पाएका छैनन् । काम पाएकाहरूको पनि तलब आएन रे भन्ने गुनासो सुन्छु । जसलाई फोन गरे पनि घरभेटीलाई पैसा दिनुपर्ने बेला भयो, के गर्ने होला भन्छन् । यहाँ रेडक्रसजस्ता सामाजिक संस्थाहरुले खानका लागि मद्दत गर्दा रहेछन् तर नेपाली विद्यार्थीहरूले फ्रान्सेली भाषा नबोल्ने भएकाले पाउने सुविधा पनि लिन सकेका छैनन् । सार्वजनिक यातायातका साधन चले पनि त्रासले गर्दा उनीहरू घरबाट निस्केका छैनन् ।
म आजसम्म जेल त परेको छैन तर जेल भनेको यस्तै होला भन्ने लागेको छ । झ्यालबाट बाहिर हेर्यो, घाम लागेको, पानी परेको देखिन्छ । रात हुन्छ, दिन हुन्छ । लकडाउन हुँदा रूखहरूमा पालुवा पलाउन थालेका थिए । अहिले त बगैँचाहरू पनि हरिया भए होलान् । लकडाउन खुलेर बाहिर निस्कन पाइने भन्ने सुन्दा पनि आनन्द लाग्न थालेको छ । आहा ! त्यो दिन त म चराजस्तै स्वतन्त्र हुन्छु भन्ने सम्झिँदा पनि मन विभोर हुन्छ ।
उदयराज पाण्डे
म २०१५ देखि पेरिसमा बस्छु । म फ्रान्सको सञ्चार क्षेत्रको एक ठूलो कम्पनी एसएफआरमा नेटवर्क सेक्युरिटी कन्सल्टेन्ट सर्भिसमा काम गर्छु । हाम्रो कम्पनीले विभिन्न क्षेत्रलाई डेडिकेट लाइनहरू दिएको छ । यतिबेला अस्पताल र आकस्मिक सेवाहरू महत्त्वपूर्ण छन् । मैले एकदमै सतर्क भएर काम गरिरहनुपर्ने हुन्छ । कतै कुनै लाइनमा समस्या छ कि भनेर निरीक्षण गरिरहनुपर्छ ।
लकडाउन सुरु भएको केही दिन म नियमित कार्यालय जाउआउ गर्थें तर पछि फेरि घरबाटै काम गर्ने व्यवस्था भयो । घरको एउटा कुनोलाई मैले कार्यालयमा परिणत गरेको छु । टेबल, कुर्सी र दुई– तीन वटा कम्प्युटरले घेरिएको हुन्छु । कुनै कुनै बेला भिडियो मिटिङ गर्नुपर्ने हुन्छ । त्यो बेला भने लुगा फेरीवरि बस्छु नत्र कार्यालय जाने बेलाजस्तो हतार गर्नु नपर्ने भएकाले आनन्दले काम गरिरहेको छु । लुगा फेर्नुपर्ने, बेलैमा खानुपर्ने, सुत्नुपर्ने झन्झट छैन । लकडाउन खुले पनि, नखुले पनि व्यक्तिगत रूपमा मलाई त्यसैले कुनै असर पार्दैन ।
म एनआरएनए फ्रान्सको सदस्य पनि हुँ । बाँकी समय मैले राहत कोषका लागि दिन्छु । हामीहरूले सुरुदेखि नै राहत बाँडेका थियौँ र अहिले पनि अरू संघ–संस्थासँग मिलेर काम गरिरहेका छौँ । म सहयोग लिनेहरूको लिस्ट बनाउँछु । बरु मेरी जहान काम विशेषले नेपाल गएकी थिइन् । लकडाउन सुरु भयो । उनी उतै रोकिएकी छन् । म यता छु ।
काशी कार्की
म पेरिसको स अन्त्वान अस्पतालमा सरुवा रोग वार्डमा स्वास्थ्यकर्मीका हैसियतले काम गर्छु । कोरोनाको संक्रमण बढेपछि हाम्रो वार्डमा पनि बेडहरू थपिए । स्वाभाविक रूपमा कामको चाप बढी नै छ । हाम्रो वार्डमा जटिल अवस्थामा पुग्नुभन्दा पहिलाका बिरामीहरू आइपुग्छन् । जटिल अवस्थामा नपुगेकालाई घरै फर्काएर एकान्तबासमा राखिन्छ र अस्पतालले उनीहरूको निगरानी गरेको हुन्छ । हाम्रो वार्डमा बिरामीहरूको बसाइ बढीमा १० दिनसम्म हो । यतिबेलासम्म कि त बिरामी घर फर्कन्छन्, कि त सघन उपचार कक्षतिर पठाइन्छ ।
कहिलेकाहीँ हाम्रो निगरानीमा रहँदारहँदै बिरामीको मृत्यु वरण हुन्छ । बिरामीको मृत्युको घोषणा डाक्टरहरूले टेलिफोनमार्फत परिवारलाई दिन्छन् । मृत्यु सबैका लागि गहु्रँगो हुन्छ र हामीलाई पनि । तर बिरामीले मृत्युवरण गरेपछि हामीहरूलाई कठै भनेर बस्ने समय नै हुन्न । ऊ सुतेको बेड तुरुन्त अर्को बिरामीका लागि तयार गर्नुपर्छ । कोरोनाका कारण मृत्यु भएका र अरू कारणले मृत्यु भएकाहरूमा के फरक छ भने संक्रमितको शवलाई दुइटा तन्नाले ढाकेर शवगृहतिर पठाइन्छ ।
सरुवा रोग वार्डमा काम गर्ने भएकाले मलाई जहिले पनि अरूको रोग बोकेर घर ल्याउँछु कि भन्ने डर हुन्छ । यो पटक विशेष डर किन छ भने लकडाउनले छोराछोरी र श्रीमान् घरमै छन् । उनीहरू बाहिर निस्केका छैनन् । केही गरी कोरोना संक्रमण भयो भने त मैले नै बोकेर ल्याउने हो । त्यसैले घर छिर्नासाथ सबैभन्दा पहिला नुहाउँछु र परिवारसँग समय बिताउँछु । लकडाउन खुले पनि हाम्रो वार्डमा कोरोना संक्रमितहरू आइरहनेछन् । यसले मेरो दैनिकी खास फरक पार्दैन ।