लकडाउनमा मगही र रमाशंकरका कथा
उनीहरूलाई घर फिर्ने मन नभएको होइन तर सहर छाडेर दुःख खाँदै भागेर घर जाने मन बनाउन सकेका छैनन् ।
रमाशंकर काठमाडौं पसेको दुई दशक नाघेको छ । सहर बन्द भएपनि उनी घर जाने मुडमा छैनन् । नत्र उनी पनि हिडिंरहेका हुन्थे मकवानपुरका जंगल जंगल बारा पुग्न । लकडाउन पछि रमाको दैनिकी फेरिएको छ । पहिले पहिले उनी बिहान पाँचै बजे तरकारी बजार पुग्थे, निकै मोलमोलाई गरेर तरकारी साइकलमा लाद्थे अनि दिनभरि डुल्थे, काठमाडौं सहरका गल्लीहरूमा । उनी अहिले पनि बिहान पाँच बजे तरकारी बजार पुग्छन् । तरकारी किन्छन् तर सरासर डेरा फर्किन्छन् । लकडाउनले दिउँसो घुम्न नपाएपछि उनी कमलपोखरी छेवैको डेरामा बसेरै टोल छिमेकलाई तरकारी बेच्छन् । आम्दानी घटेको छ । तर दुःखी छैनन् ।
तीन दशक देखि मगही काठमाडौंमा फलफुल बेचिरहेका छन् । साइकलमा फलफुल लिएर सहर डुल्छन् उनी । पर्साबाट काठमाडौं आएर साथीभाइको लहैलहैमा साहुको साइकिलमा फलफुल बेच्न सुरु गरेका मगहीको अहिले आफ्नै तीनवटा साइकल छ । बाँकी दुई साइकिलमा भतिजहरू फलफुल बेच्छन् । लकडाउन मगहीका लागि महँगो बन्दै गएको छ । कालीमाटिमा उठाएको फलफुल क्षेत्रपाटि डेरामा थन्काएर के गर्नु ? भन्छन् मगही । दिउँसो बेच्न पाईंदैन । बिहानभरिमा कति व्यापार हुन्छ ? गाह्रो छ हजुर, गाह्रो छ मगही दुःख पोख्दै थिए ।
काठमाडौंका गल्ली गल्लीमा तरकारी र फलफुल बेचेर गुजारा चलाउने रमाशंकर, मगही जस्ता हजारौं मानिसहरू छन् । यि दुई प्रतिनिधि नाम मात्रै हुन् । दैनिक खर्पनमा, ठेलामा, साइकिलमा, डोकोमा घरघरै तरकारी बेच्न डुल्नेहरू सहरी सभ्यताका अंग हुन् । वर्षौं देखि सेवा दिइरहेका छन् उनीहरूले । सुविधाभोगी सहरमा उनीहरूको व्यवसाय सेवा पनि हो ढेवा पनि । त्यसो त आजभोलि सहरमा घरघरै सेवा दिनेको लर्को लागेको छ ।
प्रविधिले मानिसलाई बजार सम्म जानु नपर्ने बनाएको छ । मोबाइलमा थिचेको भरमा खोजेको सामान घरमा आइपुग्ने भएको छ । लकडाउनको अप्ठ्यारो परिस्थितिमा यि सेवा निकै उपयोगी बन्दै गएका छन् । प्रविधिमैत्री यि सेवालाई सरकारले पनि छुट दिएको छ । व्यवसाय गर्न । सरकार पनि प्रविधिमैत्री जो बन्दै गएको छ ।
मगही र रमाशंकर साइकिलमा तरकारी र फलफुल बेच्ने सामान्य नागरिक हुन् । राज्य सम्म उनीहरूको पहुँच भनेको नगर प्रहरीसँगको दोष्ती हो । नत्र यो विरानो सहरमा जतिसुकै दशक बिताए पनि उनीहरूले न मान पाएका छन्, न समानता । उनीहरू प्रश्न गर्छन्– एप्स र मलवालाहरूलाई सामान बेच्न र ढुवानी गर्न अनुमति दिने, हामीलाई नदिने ? उनीहरू भन्दा त हामी प्रभावकारी हौं नि, होइन र ? हजारौंको संख्यामा रहेका हामी जस्तालाई राज्यले प्रयोग नै गर्न चाहेन अहिलेको अवस्थामा ।
मगही र रमाशंकरको प्रश्न जायज छ । परिस्थिति अप्ठ्यारो छ । मानिसहरू बाहिर निस्केर भीड नगरुन भनेर सरकारले लकडाउन घोषणा गरेको हो । यस्तो अवस्थामा बजार नै बोकेर गल्ली गल्ली पुग्ने यि साइकिल व्यापारीहरूको उपयोग गर्न सके तरकारी बजारको भीड घट्ने थियो । तर अवस्था त्यस्तो छैन । रमाशंकर मूल सडकमा तरकारी बेच्न डराएर गल्लीतिर छिरेको थियो । ऊ भन्दै थियो– पुलिसले बाटोमा तरकारी बेचेको देख्यो भने लठ्ठि हान्छ । त्यसैले तराजु पनि लुकाएर राखेको छु ।
गल्लीमा पनि कहाँ छाड्छन् र ? रमा र मगही जस्ता साइकिल व्यापारीले लुकाई लुकाई आफ्नो व्यवसाय गर्नु पर्ने कारण के होला ? बरु उनीहरूलाई मास्क लगाउन, पञ्जा लगाउन, स्यानिटाइजर साथै राख्न अनिवार्य गरे बेस हो नि, होइन र ? रमा भन्छन्– हजुर ज्यानको माया हामीलाई पनि त छ । यि मास्क लगाएकै छु, स्यानिटाइजर खल्तीमै छ ।
वर्तमान लकडाउनको असामान्य अवस्थामा घर–घर डुलेर तरकारी, फलफुल बेच्नाले संक्रमण फैलन सक्दछ । सामाजिक दुरी कायम गर्नु पर्ने वर्तमान अवस्थामा के घरघरै तरकारी बेच्नु उपयुक्त होला त ? मगही प्रश्न गर्छन्– के एप्स वालाहरूले सामान ल्याउँदा चैं पूर्ण सुरक्षित हुन्छ त ? संक्रमण उनीहरूबाट फैलन सक्दैन त ? राज्यको काम रोक्ने हो र ? व्यवस्थित गर्ने पो हो त ? यति बोल्न तीन दशक काठमाडौंमा संघर्षपूर्ण जीवन बिताएको छ मगहीले । नत्र कहाँ बोल्थ्यो उ यसरी पहिले ।
नागरिक, त्यसमाथि मधेसको । टोपीमा राष्ट्रियता देख्ने समाजमा धोती बेरेर छिरेको मगहीले संघर्षपूर्ण जीवन बिताएको छ । सहरको भीडमा कहिले यता भाग्दै कहिले उता भाग्दै । नगर प्रहरीका आँखा छल्दै, सहरका गल्लीहरूमा कराउँदै बिताएको छ उसले आफ्नो जीवनको सम्पूर्ण युवा उमेर । संघर्ष जारी छ । किनभने उसलाई थाहा छ सहरको अर्को नाम हो संघर्ष । तर भीडभाड र दौडादौड भइरहने सहर अहिले सुनसान छ । तीन हप्ता देखि सहर लकडाउनमा छ ।
कोरोना महामारी संक्रमण फैलिन नदिन सरकारले आफ्ना नागरिकलाई घर भित्रै लकडाउनमा राखेको छ । कति दिन ? यसको जवाफ सरकार बाहेक कसैले दिन सक्दैन अहिले । लकडाउन जीवन सहज छैन । सास फेर्न बाहेक जेका लागि पनि पैसा लाग्ने सहरमा घर भित्रै बन्द भएर बाँच्नु सजिलो छैन । हुनेखानेहरूलाई घर बस्दा बस्दा अत्यास लाग्न थालेको छ । तर दैनिक कमाएर खानुपर्ने वर्गलाई लकडाउन अत्यास लाग्दो होइन अत्याचार साबित भएको छ ।
उनीहरू भन्छन्– भएको सकियो, कमाउन जाउँ सहर बन्द छ, राहत कसले कहाँ दिइरहेको छ थाहा पत्तो छैन । यहि ताल हो भने हामी रोगले नमरे भोकले अवश्य मर्छौं । भोकले मर्नु भन्दा गाउँ फर्किनु जाति । पैसा कमाउन सहर पसेका थुप्रै श्रमजीविहरू यस्तै सोचेर सयौं किलोमिटर हिँडेरै गाउँ फर्किएका दृष्य हृदय विदारक छन् । रमाशंकर र मगही जस्ता केही मानिस छन् जसले सहरलाई आफ्नो ठानेको छ । घर फिर्ने मन नभएको होइन तर सहर छाडेर दुःख खाँदै भागेर घर जाने मन बनाउन सकेका छैनन् । मगही हाँस्दै भन्छ– अब तपाईंको मात्रै सहर कहाँ हो काठमाण्डु, मेरो पनि ठाउँ भइसक्यो ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...