नेकपा सचिवालय बैठक : फुरुंग वामदेवलाई संविधान बाधक
तीन दिनअघि प्रधानमन्त्री ओलीबाट प्रधानमन्त्रीको आश्वासन पाएका वामदेवका लागि सिंहदरबार छिर्न संविधान बाधक

कम्युनिस्टहरू अप्ठेरो परे बैठक राख्छन् । त्यसमा आत्मालोचना हुन्छ । नेकपा शीर्ष नेतृत्वले शनिबार त्यसै गर्यो ।
संविधानको भावना प्रतिकुल हुनेगरी दुई अध्यादेश ल्याएर कोरोना संकटका बेला विवादमा आएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफूबाट कमजोरी भएको भन्दै आत्मालोचना गरेका छन् । अर्का अध्यक्ष प्रचण्डलाई रातो टेबुलमा सँगै बसालेर 'इगो मालिस' गरेका छन् । अनि पार्टीका तर्फबाट भएका कमजोरीका लागि फेरि अर्को चरण आत्मालोचना चल्यो ।
बैठकको माइन्युटमा आत्मालोचना दर्ज गराएको भरमा ओली आफूमाथिको आक्रोशको तापक्रम घटाउन एक हदसम्म सफल देखिएका छन् । तर उनको संकट पूर्णतया टरिसकेको भने छैन ।
प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमको मागबमोजिम स्थायी कमिटी डाक्न ओली बाध्य भएका छन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २५ वैशाखमा स्थायी कमिटी डाकिएको छ । त्यसको तयारीका लागि २४ गते सचिवालय बस्ने निर्णय छ ।
‘स्थायी समिति बोलाउने निर्णय भएको छ, पार्टीमा उठेका विवादका विषयहरू त्यसैमा लगेर छलफल गर्नेछौं,’ श्रेष्ठले भने, ‘आजको बैठकले समग्रमा टुटफुटको विपक्षमा, पार्टी एकताकै पक्षमा उभिने निर्णय गरेको छ ।’
श्रेष्ठले पार्टीको नीति निर्देशनमा सरकार सञ्चालन हुने अर्थपूर्ण अभिव्यक्ति पनि दिएका छन् ।
प्रधानमन्त्री बन्न खुट्टो उचालिरहेका उपाध्यक्ष वामदेव गौतमलाई ‘उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय’ नेकपाले गरेको छ । राष्ट्रियसभाको बाटोबाट प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै ओलीसमेतका नेताहरूले प्रतिनिधिसभामै वामदेवलाई लगिने आश्वासन दिएका हुन् । पार्टीले नै औपचारिक निर्णय गरेपछि वामदेव सत्तारोहण गर्न पाउनेमा आश्वस्त देखिएको बैठक स्रोतले जानकारी दियो ।
तर संविधानले भने त्यसो भन्दैन ।
वामदेवलाई यो प्रतिनिधिसभामा चुनिन संविधानले नै मार्ग अवरुद्ध गरेको छ । संविधानको धारा ७८ को उपधारा ४ बमोजिम तत्काल कायम रहेको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन’ लेखिएको छ ।
यस अर्थमा कि त संविधान नै संशोधन गर्नुपर्ने हुन्छ । नत्र अहिलेकै अवस्थामा वामदेव प्रधानमन्त्री या उपप्रधानमन्त्री, मन्त्री बन्न पाउने छैनन् ।
स्थायी समिति बैठक बोलाउन ओली बाध्य भए पनि भैंसेपाटीमा आफूविरुद्ध खडा भएको गठबन्धनलाई मत्थर बनाउन भने उनी सफल देखिएका छन् । अहिलेकै अवस्था जारी रहे स्थायी समिति बैठकमा त्यसको प्रभाव देखिने छ ।
प्रचण्ड र झलनाल खनाल ओलीलाई सत्ताच्युत गराउन चाहन्छन् । नेपाल ओलीको विकल्प खोज्नुपर्नेमा देखिए पनि प्रष्ट उभिन सकेका छैनन् । वामदेवले भने आफ्नो स्वभाव अनुसार मत र मन दुवै बदल्ने संकेत देखाएका छन् । ओलीले आफ्ना लागि सम्पूर्ण रुपमा प्रतिकुल देखिएको पार्टी शीर्ष पंक्तिलाई ढिलासुस्तीको रणनीतिअन्तर्गत बिस्तारै फुस्ल्याउन सक्ने देखिएको छ ।
आजको बैठकअघि ओलीले राष्ट्रपति विद्या भण्डारीसँग पनि परामर्श गरेका थिए ।
