आलोचना नरुचाउने ओली किन आत्मालोचित ?
सामूहिक नेतृत्वको अभ्यास छाडेर पार्टी र सरकारमा एकछत्र चलाउने महत्त्वाकांक्षा नै ओली संकटको जड
सत्ता संकटमा परेका प्रधानमन्त्री केपी ओलीले २० वैशाखको नेकपा सचिवालय बैठकसमक्ष आत्मालोचना गरे । पार्टी र सरकार सञ्चालनमा भएका कमी–कमजोरीको जिम्मेवारी लिँदै उनले आफू पनि आत्मालोचना गरे, अरू नेतालाई पनि गर्न लगाए । नेताहरूले आ–आफ्नो भागको आत्मालोचना गरिरहँदा सबभन्दा ठूलो प्रधानमन्त्री एवं अध्यक्ष ओलीकै भागमा परेको थियो ।
“ओली सजिलै आत्मालोचना गर्ने खाले नेता होइनन् । यसअघि कहिल्यै गरेको पनि मलाई याद छैन,” नेकपा नेता प्रदीप नेपाल भन्छन्, “यसपालि अप्ठेरोमै पर्नुभयो । गल्ती स्वीकारेर नेताहरू ‘विन–विन’ मै चल्नुपर्ने स्थिति आयो ।”
एमालेको नवौँ महाधिवेशनमा वरिष्ठ नेता माधव नेपाललाई अध्यक्षमा पराजित गर्दै ओली निर्वाचित भएका थिए । स्थानीय, प्रदेश र संघीय चुनाव सफलतामा ओली सफल देखिए पनि पार्टीलाई विधिबाट सञ्चालन गर्न भने उनी चुक्दै गए । राष्ट्रिय राजनीतिमा अग्लिएको उनको कद देखेर पनि पार्टीपंक्तिले लामो समय प्रश्न उठाउनसमेत सकेन । एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनिसकेपछि पनि ओलीको उही रबैया जारी रहेपछि उनीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपाल पक्षका नेताहरू गठबन्धन बनाएरै एकसाथ खनिए ।
पार्टी र सरकारको एकल नेतृत्व गर्ने मोहमा विधि र प्रक्रिया मिच्दै अघि बढेका ओली अन्तत: आत्मालोचना गर्नुपर्ने तहमा आइपुगे । “ओलीले पार्टी संगठनलाई बुझ्नै सक्नु भएन । एकल नेतृत्व स्थापित गर्न खोज्दा न पार्टी विधिबाट चल्यो, न त संगठन बलियो बन्यो,” नेता नेपाल भन्छन्, ‘सरकार पनि प्रभावकारी हुन सकेन ।’ अहिले नेताहरूबीचको सहमति पनि नाफा–नोक्सान हिसाब गरेरै भएको उल्लेख गर्दै यसले पार्टीको पद्धति सुधार्नेमा आफूलाई विश्वास नलागेको उनी बताउँछन् ।
नेकपाका अध्यक्षद्वय ओली र दाहाल दुवैलाई पार्टी संगठन थाहा नभएको उल्लेख गर्दै नेता नेपाल भन्छन्, “ओली जेलबाट निस्केर सीधै पार्टीको टाउकोमा बस्नुभयो । प्रचण्डलाई त झन् संगठन के हो भन्ने थाहै छैन । दुवैले संगठन सिक्नै पाउनु भएन ।”
तत्कालीन एमालेको सातौँ महाधिवेशनमा बहुपदीय कमिटीको प्रस्ताव गर्ने अध्यक्ष ओली नै हुन् । शक्तिशाली महासचिव र स्थायी कमिटीबाट चलेको पार्टीमा पदाधिकारी कमिटी बनाउने त्यो प्रस्ताव थियो । त्यतिबेला पनि नेता वामदेव गौतमले उनलाई साथ दिएका थिए । स्थिति अनुकूल नभएपछि ओलीले त्यतिबेला महाधिवेशन हलबाट सो प्रस्ताव फिर्ता गर्नुपर्यो । आठौँ महाधिवेशनमा एमाले बहुपदीय कमिटीमा गयो तर अध्यक्षमा भने ओली पराजित भए । नवौँ महाधिवेशनबाट अध्यक्ष जितेदेखि नै ओलीले पार्टीलाई आफू केन्द्रित बनाउन खोजे । तर पार्टी र सरकारको शक्तिमा पुगेपछि उनमा एकल नेतृत्वको महत्त्वांकाक्षा जाग्यो ।
एमाले–माओवादी केन्द्र एकता पनि ती पार्टीका अध्यक्षद्वय ओली र दाहाल दुवैको एकल निर्णयबाटै गरिएको थियो भन्दा फरक पर्दैन । त्यतिबेला समकालीन नेताहरू एकताविरोधी आरोप लाग्ने डरले मात्र दुई नेताको निर्णय स्वीकार्न बाध्य थिए । नेतृत्व र विचार नमिलाएरै दुई नेताको गोप्य सहमतिका आधारमा हठात् पार्टी एकता घोषणा गरिएको थियो । पार्टी एकतापछि पनि त्यो रवैयाले निरन्तरता पाउँदा भने नेताहरूले पचाउन सकेनन् । पार्टी र सरकारमा एक्लै हिँड्न खोज्ने प्रवृत्तिकै कारण ओली विस्तारै एक्लिँदै गए ।
नेकपाका अर्का नेता टंक कार्की ०४६ को परिवर्तनपछि नेपाली राजनीतिमा एकल भर्सेज सामूहिक नेतृत्वको अन्तरविरोध हुर्किएको बताउँछन् । नेकपामा अहिले देखिएको मूल द्वन्द्व त्यसैलाई ठान्छन्, उनी । भन्छन्, “प्रजातान्त्रिक शासनमा पनि पुरानै व्यवस्थाको ह्याङओभर देखियो । समाजले समेत चामत्कारिक नेतृत्वको कल्पना गर्न थाल्यो । पार्टी प्रणालीमा चलेन, नेतृत्व सामन्ती बन्यो ।”
नेकपा मात्र नभई, कांग्रेसलगायत अरू दलमा पनि पार्टी र नीतिभन्दा नेता ठूलो हुने प्रवृत्ति देखिएको कार्कीको बुझाइ छ । “आन्दोलनका बेलाको विधि र प्रणाली ह्रास हुँदै गयो । नेताहरूले म, मैले, मेरो भन्न थाले,” उनी भन्छन्, “राजा ज्ञानेन्द्रको एकल नेतृत्व पतन भइसक्दा पनि हामी पार्टीभित्र जखमले नेता खोजिरहेका छौँ ।”
माले कालमा सीपी मैनाली, झलनाथ खनाल र मदन भण्डारी, एमाले कालमा मनमोहन अधिकारी, मदन भण्डारी र सीपी, पछि माधव नेपाल, केपी ओली र खनालको सामूहिक नेतृत्व थियो । आठौँ महाधिवेशनमा पराजित भएपछि आफ्नो वरीयता नमिलाएको भन्दै झन्डै तीन वर्ष ओलीले अध्यक्ष खनाललाई असहयोग गरे । अध्यक्ष खनाल थिए तर पार्टीमा बहुमत ओलीको थियो । असन्तुष्टिले पार्टी राम्ररी चल्न नसकेपछि उपाध्यक्ष वामदेव गौतमले ओलीलाई तेस्रो वरीयता मिलाउन सघाए र पार्टीको विवाद टुंग्याए ।
ओली पार्टीमा थुप्रैपल्ट विवादमा परेका छन् । पार्टीले दिएका जिम्मेवारी पूरा नगरेको भन्दै कयौँपल्ट आलोचना भएको छ । तर औपचारिक रूपमा आत्मालोचना भने अहिलेसम्म गरेका थिएनन् । स्थायी कमिटी सदस्य रामचन्द्र झा गल्ती गर्नेले आत्मालोचना गरिरहनुपर्ने उल्लेख गर्दै ओली विधि र प्रक्रियामा चल्ने कुरामा पहिलेदेखि नै कमजोर रहेको टिप्पणी गर्छन् । भन्छन्, “बैठकमा ढिलो आउने, अनुपस्थित रहने र तोकिएको जिम्मेवारी पूरा नगर्ने कुरामा सधैँ आलोचना भइरहन्थ्यो । तर आत्मालोचनाचाहिँ पहिलोपल्ट गरेको पाइयो ।”
ओली आत्मालोचनाले विवाद मत्थर पारे पनि स्थायी कमिटीमा कसरी प्रस्तुत हुनेछन् भन्ने कुराले सत्ता संकट टर्ने वा उल्झिने निधो गर्ने झा बताउँछन् । “विचित्रको स्वभाव छ । चारैतिरबाट घेरिएपछि आत्मालोचना त गरे तर पार्टीलाई चित्तबुझ्दो जवाफ दिनै बाँकी छ,” उनी भन्छन् ।
राजनीतिशास्त्री कृष्ण हाछेथु सामूहिक नेतृत्वबाट अघि बढेको पार्टीलाई एकल नेतृत्व दिन खोज्दा ओली आलोचित भएको बताउँछन् । अहिले पनि नेकपाका शीर्ष नेताहरूले सामूहिक नेतृत्व, सत्ता र शक्तिको प्रयोग तथा बाँडफाँट चाहेको उल्लेख गर्दै प्राध्यापक हाछेथु भन्छन्, “त्यही सन्तुलन मिलाउन नसक्दा ओली सहकर्मीबाटै घेरिएका हुन् । राजनीतिक चतुर्याइँले यसपल्ट पनि घेराबन्दी तोड्ने देखिन्छ ।”
ओलीझैँ अर्का अध्यक्ष दाहालले पनि निरन्तर एकल नेतृत्व अभ्यास गर्दै आएका थिए । उनकै नेतृत्वमा दशक लामो सशस्त्र विद्रोहसमेत भयो । एमाले र माओवादी केन्द्र एकतापछि दुई अध्यक्षको व्यवस्था उनको त्यही नेतृत्व मोहको कारण थियो । तर बितेका दुई वर्ष दाहाल लगभग ओलीको छायामा परे । त्यसैले पूर्वएमाले समूहसँग मिलेर उनी ओलीलाई सामूहिक नेतृत्वमा ल्याउन लागिपरेका छन् ।
ओली वा दाहाल दुवै एकल नेतृत्व गर्न सक्ने कोटिका नेता नभएको प्राध्यापक हाछेथु बताउँछन् । पूर्वमाओवादी केन्द्रमा दाहाल, मोहन वैद्य र बाबुराम भट्टराईको सामूहिक नेतृत्व थियो । दाहालले सहज नेतृत्व हस्तान्तरण नगरेपछि वरिष्ठ नेताहरू वैद्य र भट्टराईले नयाँ पार्टी खोले । एकल नेतृत्वमा पनि असफल भएपछि दाहाल एमालेसँग एकता गर्न बाध्य भए भन्ने उनको विश्लेषण छ ।
राजनीतिशास्त्र भन्छ, वैचारिक, आदर्श वा दार्शनिक नेताले मात्र एकल नेतृत्व स्थापित गर्न सक्छ । बीपी कोइराला, महात्मा गान्धी वा नेल्सन मण्डेला त्यस्ता नेता थिए । मदन भण्डारीलाई केही हदसम्म एकल नेतृत्वका लागि योग्य मान्न सकिने भए पनि समकालीन नेपाली राजनीतिमा भने त्यस्तो व्यक्तित्व नदेखिएको उल्लेख गर्दै हाछेथु भन्छन्, “अहिले पार्टीहरूमा देखिएको कलहको मूल कारणै यही हो ।”
०७२ को भारतीय नाकाबन्दी र ०७४ को स्थानीय, प्रदेश तथा संघीय चुनावताकाको लोकप्रियता गुमाएर ओली पार्टीपंक्तिबाटै राजीनामा माग्नुपर्ने तहमा आइपुगे । ओली, दाहाल र नेपालको त्रिपक्षीय शक्ति सन्तुलन रहेको पार्टीमा दाहाल–नेपाल एकातर्फ उभिँदा ओलीले पार्टीका सबै कमिटीमा बहुमत गुमाउने नै भए । चतुर राजनीतिक खेलाडी ओलीले अर्का अध्यक्ष दाहाल र उपाध्यक्ष वामदेव गौतमलाई मनाएर तत्कालका लागि सत्ता संकट टारेजस्तो देखिए पनि एकल नेतृत्वको महत्त्वाकांक्षा नछाडेसम्म अन्तरसंघर्ष दोहोरिइरहने देखिन्छ । प्राध्यापक हाछेथु भन्छन्, “ओली अहिले एक पाइला पछाडि फर्किए पनि शक्ति सन्तुलन र सामूहिक नेतृत्वलाई बेवास्ता गरे संकट झन् गहिरिँदै जानेछ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...