५२४८ स्वाब परीक्षणका क्रममा, यीमध्ये २३ मा भेटियो संक्रमण
काेभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का स्वास्थ्यकर्मीको टोलीले संकलन गरेका ५ हजार २ सय ४८ जनाको स्वाब अहिले जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।

लकडाउन केही खुकुलो बनेका बेला कपिलवस्तु आगामी ५ जेठसम्मका लागि सिल भएको छ । कारण, यो जिल्लामा २९ वैशाखमा १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुनु । यशोधरा र बुद्धभूमि गाउँपालिकाका ४० वर्ष ननाघेका उनीहरूमध्ये प्राय: भारतको मुम्बईबाट फर्किएका थिए । कपिलवस्तुबाट ६ सय ४३ जनाको स्वाब संकलन गरेर काठमाडौँ ल्याइएको छ ।
कपिलवस्तुमा समुदायस्तरमा कोरोना फैलिएको आशंकामा २९ वैशाखको स्थानीय प्रशासनको बैठकले सिल गर्ने निर्णय गरेको हो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार ५ जेठससम्म मानिसको आवतजावत बन्द गरिएको छ, भने उद्योग कलकारखाना, निर्माणसँगै व्यापार सञ्चालनमा रोक लगाइएको छ ।
२९ वैशाखमा मात्र मुलुकमा २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान १० जनामा कोरोना पुष्टि भएको विवरण सार्वजनिक गरेकोमा दिउँसो थप १ जनामा पोजेटिभ देखिएको विज्ञप्तिमार्फत् जनायो । तर सोही साँझ १३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको विवरण सार्वजनिक भएपछि थप त्रसित बनाएको छ । २९ वैशाखमा फेला परेका सप्तरी १८ वर्षीय पुरुष बाहेक अन्य २३ जना को स्वाब परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो । १८ वर्षीय पुरुषको स्वाब भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको थियो ।
मुलुक ११ चैतदेखि लकडाउनमा रहेको र अब जोखिम कम हुन थालेको आकलन समेत भइरहेका बेला एकै दिन ठूलो संख्यामा संक्रमित फेला परेका हुन् । ती २३ संक्रमित फेला पर्नुको कारण हो, स्वास्थ्यकर्मीको टोली नै परिचालन गरेर स्वाब संकलन गरेर ल्याउनु ।
२६ वैशाखमा 'काेभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर' (सीसीएमसी) को स्वास्थ्यकर्मीको टोली प्रदेश १, २, गण्डकी र प्रदेश ५ का जिल्लामा गएको थियो । जसले ५ हजार २ सय ४८ जनाको स्वाब संकलन गरेर काठमाडौँ ल्याएकोमा अहिले जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।
इपिडिमियोलोजी तथा नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले त्यसलाई पुष्टि गरे । भन्छन्, “जोखिमयुक्त क्षेत्र, कन्ट्याक्ट ट्रेसिङ भएको क्षेत्र, बाह्य आवतजावत बढी भएको क्षेत्रमा टोली परिचालन भएको थियो, टोलीले ल्याएको स्वाब जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ । आज (२९ वैशाख) मा फेला परेका २३ नयाँ संक्रमित पनि तिनैमध्येका हुन् ।” २६ वैशाखमा सेनाको हेलिकोप्टर र गाडीबाट काठमाडौँबाट हिँडेको स्वास्थ्य मन्त्रालय, सेना, सशस्त्र प्रहरी र प्रहरीको मेडिकल टोलीले स्वाब ल्याएको थियो ।
छिमेकी जिल्ला कैलाली र बाँकेमा कोरोना संक्रमित देखिँदा जोगिएको बर्दियामा पनि कोरोना फेला परेको छ । प्रदेश ५ को बर्दिया राजापुरकी ११ वर्षीया बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि २९ वैशाख साँझ भएको हो । बर्दियाबाट ६ सय ५० जनाको स्वाब संकलन गरेर काठमाडौँ ल्याइएको छ । २९ वैशाखमै रुपन्देहीमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, त्यहाँबाट ७ सय ३८ जनाको स्वाब काठमाडौँ ल्याइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ, जसमध्ये ३३ जना उपचारपछि निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सीसीएमसी स्रोतका अनुसार यो टोलीले कपिलवस्तु, रुपन्देही र बर्दियासँगै उदयपुरबाट ३ सय ९७, बाराबाट १ सय १६, पर्साबाट ३ सय ८०, रौतहटबाट ४७, पश्चिम नवलपरासीबाट २ सय ८६, अर्घाखाचीबाट २ सय २४, गुल्मीबाट २ सय, प्युठानबाट ९५, बाँकेबाट १ हजार ३ र बर्दियाबाट ६ सय ५० जनाको स्वाब ल्याएको थियो । ती स्वाबको अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको छ ।