न्यायको ढोकामा पनि दलित अछूत ?
छरछिमेक, स्थानीय निकाय, राजनीतिक दल, प्रहरीदेखि अदालतसम्म न्यायिक प्रक्रियाका बाधक
घटनाको निष्पक्ष छानबिन भएर दोषीमाथि कारबाही हुनेमा पीडित पक्ष र नागरिक समाजको आशंका कायमै
तत्कालीन विद्रोही माओवादीले शोषणविरुद्ध मुक्ति र समानताको नारामा सशस्त्र युद्ध थाल्दा रुकुम त्यसको नाँभिस्थल थियो ।
दलित, महिला, जनजाति समुदायबाट रुकुमले धेरै नेता, अगुवाहरू यसबीच जन्मायो पनि ।
तर कोरोना संकटकै बीच गत १० जेठमा रुकुम पश्चिममा जे घटना हुन पुग्यो, यसले समाज र मानवतालाई नै चुनौती दिएको छ । युद्ध र संघर्षको उपलब्धि भनेर तत्कालीन विद्रोही माओवादीले नै व्याख्या गर्दै आएको जातीय समानताको बुँदालाई चुनौती दिएको छ । यो घटनाले समाजसँग गाँसिएर बसेको नेतृत्वको चरम असफलतासमेत चित्रित गरेको छ ।
रुकुमको चौरजहारी नगरपालिका– ८ सोती गाउँमा भएको घटनाका सम्बन्धमा राजनीतिक दल, सरकारी, गैरसरकारी निकाय र संघ–संगठन तथा व्यक्तिसमेतले विभिन्न धारणा व्यक्त गरिरहेका छन् ।
रुकुम र जाजरकोटका पाँच युवाले यस घटनामा परेर ज्यान गुमाइसकेका छन् भने एक जना अहिले पनि बेपत्ता छन् । जाजरकोटका नवराज विक, गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जु विक तथा रुकुमपश्चिमका टीकाराम विक भेरी नदीमै मृत फेला परेका छन् । बेपत्ता रहेका भनिएका जाजरकोटका गोविन्द शाहीको खोजीलाई तीव्रता दिइएको जिल्ला प्रहरीले बताएको छ ।
घटना कसरी घट्यो र यसमा क–कसको संलग्नता थियो भन्ने विषयमा रुकुम पश्चिम र जाजरकोट प्रहरीले संयुक्त रूपमा अनुसन्धानलाई अगाडि बढाएको जनाएका छन् । धेरैजसो जाजरकोटकै भएकाले आफ्नै जिल्लामा घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने पीडित पक्षको माग छ ।
घटनास्थल रुकुम भएकाले जाजरकोट प्रहरीको सहयोगमा घटनाको अध्ययन अनुसन्धान अगाडि बढाएर छिनोफानो हुने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल बताउँछन् ।
आफूले प्रेम गरेकी मल्ल थरकी केटी भगाउन गत १० जेठ दिउँसो जाजरकोटबाट स्थानीय नवराज विक आफ्ना १८ साथी लिएर सोती गाउँ पुगेका थिए । सोही दिन उनीहरूमाथि कुटपिट भएको थियो ।
गाउँलेले चारैतिरबाट घेरा हालेर आफूहरूलाई जबर्जस्ती भेरीमा खसाउन खोजेको र कुटपिट गरी ज्यान लिएको उक्त आक्रमणका परेर ज्यान बचाएका युवाहरूको दाबी छ ।
नवराजसँगै सोती गाउँ गएका भेरी नगरपालिका– ४ जाजरकोटका आशीष विक घर फर्किन लागेकै बेला एक्कासि आक्रमण भएको र आफ्ना साथीहरूलाई मारेरै नदीमा फालेको सुनाउँछन् ।
“दलित भएकै कारण नवराजले ठकुरीकी छोरीलाई खुलेर प्रेम गर्न पाएन,” आशीष भन्छन्, “ऊ र अरू साथीहरूलाई मारेरै भेरीमा फालिदिए । हामी भागेर बाँच्न सफल भयौँ ।”
घटनामा संलग्नताको आरोपमा पीडितका आफन्तले चौरजहारी– ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्ल, केटीसहितका उनका बाआमा र अन्य गरेर २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका छन् ।
उक्त जाहेरीका आधारमा अहिलेसम्म १८ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको रुकुम पश्चिम प्रहरीले बताएको छ ।
घटनाको निष्पक्ष छानबिन भएर दोषीमाथी कारबाही हुनेमा भने धेरैको शंका छ । तत्कालीन माओवादीले विगतदेखि नै रुकुम पश्चिमलाई आफ्नो आधार क्षेत्र भन्दै आएको थियो ।
उक्त क्षेत्रका नेकपामा आबद्ध उक्त क्षेत्रका वडाध्यक्षलगायत व्यक्तिहरू यस घटनामा मुछिएको बताइन्छ । सोही कारण सत्ता र शक्तिको आडमा अनुसन्धान प्रक्रियामा असर पर्न सक्ने नेकपा इतरका धेरैको दाबी छ । तर नेकपा रुकुम पश्चिमका नेताहरू पार्टीले त्यसो नगर्ने दाबी गरिरहेका छन् ।
नेकपा रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्माले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने भन्दै प्रेस नोट प्रकाशित गरिसकेका छन् । शर्माले पार्टीका तर्फबाट सत्यतथ्य बुझ्न र अनुसन्धानमा सहयोग पुर्याउन नेकपा कर्णाली प्रदेश कमिटी सदस्य चन्द्रबहादुर विकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको जानकारी गराएका थिए ।
घटनाबारे नेकपाकै नेता–कार्यकर्ताले फरक–फरक धारणा व्यक्त गरिरहेका छन् । ठकुरीकी छोरीले दलित केटासँग प्रेम गरेकै कारण ज्यान गमाउनु परेको घटनाले सिंगो समाज र स्थानीय नेतृत्वलाई लज्जित तुल्याएको नेकपाकै एउटा पक्षको ठम्याइ छ । अर्को पक्ष घटनालाई राजनीतिक रंग दिन नहुने तर्क त गर्छ तर जातीय भेदभावकै कारण जघन्य अपराध हुन पुगेको तथ्यबारे खुलेर बोल्न चाहँदैन ।
सोती घटनाबारे नेकपाभित्रै पनि फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन् । यसले गर्दा अनुसन्धान प्रक्रिया सत्ताको छायामा पर्न लागेको नागरिक समाज र पीडित पक्षको आशंका छ ।
गत १६ जेठमा नेकपा रुकुम पश्चिमले जिल्लामा उपलब्ध प्रदेश कमिटी सदस्यहरूको उपस्थितिमा जिल्ला कमिटी बैठक बसेर पाँच बुँदे निर्णय सार्वजनिक गरेको छ ।
तत्कालीन माओवादीले परिवर्तनको नारा दिएर जनयुद्ध थालेको ठाउँमै यस्तो अमानवीय घटना भएकाले उक्त पार्टीका नेताहरूले भन्ने गरेको समानता र परिवर्तनको भाषण खोक्रो सावित भएको स्थानीयको आरोप छ । अत: यो घटनापछि राजनीतिक परिवर्तनको स्तरमा सामाजिक र सांस्कृतिक रुपान्तरण अपुग भएको स्वीकार्दै उक्त निर्णयमा सरकारी संयन्त्रमार्फत भइरहेको छानबिन एवं अनुसन्धानलाई पार्टी र स्थानीय सरकारको तर्फबाट पूर्ण रूपले सहयोग गर्ने भनिएको छ ।
यो पनि पढ्नुस
छरछिमेक, स्थानीय निकाय, राजनीतिक दल, प्रहरीदेखि अदालतसम्म न्यायिक प्रक्रियाका बाधक
‘घटनाको पृष्ठभूमिमा अन्तरजातीय प्रेमसम्बन्ध, स्थानीय एवं बाहिरबाट आएका युवाहरूबीचको इगो र लकडाउन परिचालन गर्ने/गराउने मनोविज्ञान देखिए पनि भेरी नदी किनारमा पाँच जनाको शव भेटिएको र एक जना अझै बेपत्ता रहेको अवस्थाले घटना गम्भीर प्रकृतिको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
सोती घटनालाई परिवर्तनकारी पार्टीको प्रभावबाट अत्तालिएकाहरूले नै राजनीतिक रूप दिन खोजेको आरोप नेकपाले विज्ञप्तिमार्फत लगाएको छ ।
नेकपा रुकुम पश्चिमले यसअघि गठन गरेको तीन सदस्यीय समितिको अध्ययन प्रतिवेदन चाँडै सार्वजनिक गरिने दाबीसमेत गरेको छ । सोती घटनाका सन्दर्भमा दलित समुदायबाट व्यक्त प्रतिक्रियालाई सम्मान गर्दै पार्टीका तर्फबाट उत्पीडित वर्ग र समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धतासमेत गरिएको छ ।
नागरिक समाज र सरोकारवालाको आलोचनाका कारण नेकपा उत्पन्न परिस्थितिलाई अनदेखा गर्न सक्ने अवस्थामा भने छैन ।
आफूहरूको पछिल्लो विज्ञप्ति नै पार्टीको आधिकारिक धारणा भएकाले नेता/कार्यकर्तालाई पनि सोहीअनुसार निर्देश गरिएको नेकपा रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्मा सुनाउँछन् ।
“हामीले सबैलाई घटनाबारे सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन भनेका छौँ,” शर्मा भन्छन्, “आरोपका लागि लगाइने आरोपमा कुनै तुक छैन । घटनामा राजनीति गर्न खोजिँदै छ । हामी त्यसो हुन दिँदैनौँ ।’
नेकपा रुकुम पश्चिमको निर्णयपछि पार्टी नेताहरूका मिश्रित प्रतिक्रिया बाहिर आएका छन् । नेकपा कर्णाली प्रदेश सदस्य तथा प्रदेश सांसदसमेत रहेका रातो कामी पार्टी बैठकमा सोती घटनाको विषयमा गम्भीर छलफल भए पनि निर्णयबारे जानकारी नभएको बताउँछन् । व्यस्तताका कारण निर्णयहरू अध्ययन गर्न नपाएको बताउँदै नेता कामी दलित भएकै निहुँमा नवराजलगायतका युवाहरू मारिएको र कुटपिटमा परेको टिप्पणी गर्छन् ।
कम्युनिस्ट आन्दोलनको मूल थलोमै यस्ता घटना हुनु लज्जास्पद रहेको बताउँदै कामीले पार्टीभित्र यस विषयमा गम्भीर समीक्षा हुनैपर्नेमा जोड दिए ।
“मान्छे–मान्छेबीच कुनै पनि प्रकारका विभेद हुनुहुन्न र समानतामा आधारित समाज निर्माण गर्नुपर्छ भनेर लड्यौँ”, कामी भन्छन्, “तर समाजमा अहिले पनि विभेद जीवितै रहेछ । यस घटनाले एक पटक हामी सबैलाई झस्काएको छ ।”
सोती घटनाबाहेक पनि समाजमा कथित जातका आधारमा मान्छेबीचका अन्य विभेद कायमै रहेकाले त्यसलाई निमिट्यान्न पार्न अर्को आन्दोलन आवश्यक रहेको कामीको तर्क छ ।
नेकपा कर्णाली प्रदेश सदस्य तथा सोती घटना छानबिन संयोजक सदस्य चन्द्रबहादुर विक आफूहरूले घटनाबारे जाँचबुझ गरिरहेको दाबी गर्छन् । जातकै कारण कोही मारिनु दु:खद भएको विक सुनाउँछन् ।
“समितिको अध्ययनको निष्कर्ष नै पार्टीको धारणा हुने भएकाले हामीले प्राप्त जिम्मेवारी गम्भीरतासाथ सम्पादन गरिरहेका छौँ”, विक भन्छन्, “यो घटना हुनेबित्तिकै अहिलेसम्मको कम्युनिस्ट आन्दोलन र परिवर्तनका लागि गरिरहेको लगानी खेर गयो भनेर विश्लेषण गर्नु गलत हुन्छ ।”
समानता र परिवर्तनको नारा दिएर भएको १० वर्षे सशस्त्र युद्धको अग्रभूमि मानिएको रुकुममा नै जातीय विभेदको यति ठूलो घटना घट्नुलाई धेरैले दु:खद् भनेका छन् ।