घना बस्तीमै क्वारेन्टाइन राखिँदा संक्रमणको त्रास
पूर्वी नाकाबाट नेपाल प्रवेश गर्नेहरूलाई राखिएका क्वारेन्टाइनहरूले न्यूनतम मापदण्ड पुर्याएका छैनन् ।
कचनकवल– २ को लक्ष्मीप्रसाद देवकोटा माविमा बनाइएको क्वारेन्टाइन घना बस्ती बीचमा छ । यही क्वारेन्टाइनमा रहेका २३ जनामा एक साताअघि कोरोना पुष्टि भएको थियो । त्यसपछि स्थानीय त्रस्त छन् । समुदायमै संक्रमण फैलने पो हो कि भन्ने भयले यतिबेला स्थानीयलाई सताएको छ ।
अहिले कचनकवलमा मात्रै संक्रमितको संख्या १ सय १५ पुगेको छ । ३० जेठमा मात्रै तीन जना थपिएका थिए । संक्रमित थपिएसँगै गाउँपालिकाले क्वारेन्टाइन संख्या पनि थपेर ५ बनाएको छ । तर सबै बस्ती नजिकै छन् । पछिल्लो समय बनाइएको कचनकवल– ५ बनियानीस्थित लक्ष्मी माविको क्वारेन्टाइन बीच बजारमा छ ।
अधिकांश क्वारेन्टाइन मापदण्डविपरीत घना बस्ती बीचमा छन् । पथरिया मावि, केचना र जानकारी आधारभूत स्कुलका क्वारेन्टाइन पनि बस्तीबाट टाढा छैनन् ।
घना बस्तीमै क्वारेन्टाइन राखिँदा स्थानीय त्रस्त बनेका छन् । “घर अघिल्तिरको स्कुलमा क्वारेन्टाइन बनाइँदा पनि हामीलाई कसैले एक वचन सोधेन,” लक्ष्मी देवकोटा मावि क्वारेन्टाइनसामु घर भएका अशेष गौतमको गुनासो छ, “मापदण्ड मिचेर क्वारेन्टाइन बनाइँदा स्थानीय आतंकित छन् ।”
लक्ष्मी देवकोटा माविमा गत ४ जेठमा क्वारेन्टाइन निर्माण गरिएको थियो । भारतबाट लुकीछिपी नेपाल पसेकाहरू सीमामा पक्राउ परेपछि उनीहरूलाई सोझै यहाँ ल्याइएको थियो । “घरअगाडिको क्वारेन्टाइनमा संक्रमित भेटिएपछि रातभर निद्रै लागेन,” अर्का स्थानीय चित्र थापा भन्छन् ।
करिब ३० घरको साँधसीमा स्कुलको यो क्वारेन्टाइनमै जोडिन्छ । क्वारेन्टाइनसँग घर जोडिएकी स्थानीय खिरो राजवंशी सुनाउँछिन्, “क्वारेन्टाइनमा बसेकाले थुक्दा आँगनमा आइपुग्छ । घर छेउमै क्वारेन्टाइन बनाइँदा परिवार नै संक्रमणको उच्च जोखिममा परेका छौँ ।”
केही दिनअघि स्थानीयले क्वारेन्टाइन हटाउन माग गरेर प्रदर्शन नै गरे । तर गाउँपालिकाले व्यवस्थित गर्ने प्रतिबद्धतापछि बल्ल उनीहरू ढुक्क भए । कचनकवल– ३ स्थित पथरिया माविको क्वारेन्टाइनमा राखिएका १० जनामा कोरोना संक्रमण देखिएको थियो । त्यो घटनापछि स्थानीयले क्वारेन्टाइनमा थप मान्छे राख्न रोक लगाएका छन् ।
गाउँपालिका अध्यक्ष अन्जार आलम आपतकालीन अवस्था आइलागेकाले क्वारेन्टाइन बनाउने क्रममा पूर्ण रूपमा मापदण्ड पूरा गर्न नसकिएको स्वीकार्छन् । उनका अनुसार गाउँपालिकामा सामुदायिक भवन भनेकै स्कुल मात्रै छन् । सबै स्कुल घना बस्तीभन्दा टाढा छैनन् । “स्कुलमै क्वारेन्टाइन बनाउनुपर्ने बाध्यताले मापदण्ड मिचेजस्तो देखिएको छ,” आलम भन्छन्, “अरू विकल्प नभएरै यसो गरिएको हो ।”
गाउँपालिकाले बनियानी बजार क्षेत्रमा पर्ने लक्ष्मी माविलाई समेत क्वारेन्टाइन बनाएको छ । अब थपिएकाहरूलाई यो क्वारेन्टाइनमा राखिने जनाएको छ । कचनकवलमा मात्रै होइन, जिल्लाका अन्य पालिकाका क्वारेन्टाइनहरूले समेत न्यूनतम मापदण्ड पुर्याएका छैनन् । “सबै क्वारेन्टाइन नाम मात्रैका छन्,” जिल्ला समन्वय समिति झापाका प्रमुुख सोमनाथ पोर्तेल सुनाउँछन्, “कतिपय त होल्डिङ सेन्टरहरूभन्दा पनि गएगुज्रेका छन् ।”
मापदण्डको एउटा मात्र
झापामा मापदण्ड पुगेको क्वारेन्टाइन एउटा मात्रै छ । भद्रपुरको कलबलगुडीस्थित तालिम केन्द्र मात्रै मापदण्डअनुसार बनाइएको क्वारेन्टाइन हो । यसले सरकारले तोकेको सबै मापदण्ड पूरा गरेको पाइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक सोमनाथ पोर्तेल नेपाली सेनाको सक्रियतामा निर्माण गरिएको यो मात्रै मापदण्डअनुसार रहेको बताउँछन् ।
भन्छन्, “अरू सबै होल्डिङ सेन्टर मात्रै हुन् । क्वारेन्टाइनका मापदण्ड धेरै छन्, पूरा गर्न हामीलाई कठिन भयो ।”
संक्रमित बढ्दै गएपछि कचनकवल प्रदेश– १ कै कोरोनाको ‘हटस्पट’ बनेको छ । यहाँ पुष्टि भएका सबै क्वारेन्टाइनमा बसेका थिए । भारतबाट अवैध रूपमा प्रवेश गर्न लाग्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर सोझै क्वारेन्टाइन राखेको थियो । क्वारेन्टाइनमा राखेको चार दिनपछि २३ वर्षका एक युवकलाई कोरोना संक्रमण पुष्टि भयो । पहिलो संक्रमित भेटिएको भोलिपल्टै अन्य ९ जना थपिएका थिए । त्यसपछि लगातार संक्रमित थपिएका थपिएै छन् ।
“कोरोना संक्रमण समुदायमा नफैलियोस् भनेरै क्वारेन्टाइनमा राखिन्छ,” जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईं सुनाउँछन्, “कोरोना देखिएका सबै संयोगले क्वारेन्टाइनमै थिए ।”
कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डमा क्वारेन्टाइन कोठा छुट्टै बनाउन नसके पनि कम्तीमा दुई मिटरको दूरी कायम गरेर राख्नुपर्छ । शौचालय अलग चाहिन्छ भने चिकित्सकको निगरानी र स्वस्थ खाना पनि अनिवार्य छ । तर झापामा त्यस्तो छैन । सम्भावित संक्रमितहरू चिसो भुइँमा रात बिताइरहेका छन् । क्वारेन्टाइनमा बसेकाले समयअनुसार खाना र खाजासमेत पाएका छैनन् ।
सेनाको जिम्मा
झापाका दुई सीमावर्ती क्षेत्र र सदरमुकामका दुई क्वारेन्टाइनको व्यवस्थापकीय जिम्मामा नेपाली सेनालाई खटाइएको छ ।
पश्चिम बंगालसँग सीमा जोडिने पूर्वी नाकाको काँकडभिट्टा र बिहारसँग साँधसीमा जोडिने दक्षिण झापाको कचनकवलसहित चार क्वारेन्टाइनको जिम्मेवारी सेनालाई दिइएको हो । सदरमुकाम भद्रपुरको मेची क्याम्पस र कलवलगुडी क्वारेन्टाइनको व्यवस्थापन यसअघि नै सेनालाई दिइएको हो । कलवलगुडीमा जिल्लामै पहिलो पटक सेनाकै अग्रसरतामा क्वारेन्टाइन बनेको थियो ।
प्रमुख जिल्ला अधिकारी संयोजकत्वको ‘जिल्ला कोभिड संकट व्यवस्थापन समिति’ को २९ जेठमा सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प राख्ने निर्णय गरेको थियो । भारतबाट आएकाहरूलाई राख्न झापामा हाल ४५ क्वारेन्टाइन र १६ होल्डिङ सेन्टर छन् ।
कोरोना संक्रमण लगातार बढेपछि कचनकवलमा समेत सेना खटाइएको थियो । कचनकवल सुकुनाडिकीको सामुदायिक भवनमा अस्थायी क्याम्प बनाएर बसेको सेना मूलत: शान्ति सुरक्षामै केन्द्रित हुने नयाँ श्रीनाथ गण चारआलीका कर्णेल अमरजंग थापाले जनाए । “कोरोना संक्रमित बढेका कारण स्थानीय त्रस्त नहोऊन् भनेरै हामीले अस्थायी क्याम्प राखेका हौँ,” थापा भन्छन्, “क्वारेन्टाइनको व्यवस्थापनमा समेत सघाइरहेका छौँ ।”
जिल्ला कोभिड संकट व्यवस्थापन समिति संयोजक प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर खासगरी भारतबाट स्वदेश फर्किने नेपालीहरूको कोरोना जाँचका साथै सहजीकरणका लागि सेना खटाइएको बताउँछन् । उनका अनुसार सेनाले क्वारेन्टाइनसमेत व्यवस्थापन गर्नेछ ।
सेनाको ‘स्क्रिनिङ क्याम्प’ मा भारतबाट आउने नेपालीको आरडीटी जाँच गरिनेछ । झापा घर भएकालाई सम्बन्धित पालिकाहरूमा पठाउन सिफारिस गर्नेछ । जिल्ला बाहिरकालाई सम्बन्धित जिल्ला पठाइनेछ । सेनालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय संघसंस्थाका प्रतिनिधिहरूले सहयोग गर्नेछन् । “सीमा नाकाबाट आएका नेपालीलाई काँकडभिट्टा माविको मैदानमा बनाइएको स्क्रिनिङ क्याम्प लगिनेछ,” मेचीनगरका मेयर विमल आचार्य भन्छन्, “उनीहरूको स्वास्थ्य अवस्था बुझेर थप उपचार या घर पठाउने काम हुनेछ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...