मालदिभ्सबाट आउनेहरूमाथि यो कस्तो विभेद
मृतकको पीसीआर रिपोर्ट देखाउने परिवारलाई होम क्वारेन्टाइन, रिपोर्ट नभएकाहरूलाई होटलमै बस्नुपर्ने बाध्यता

कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै मालदिभ्समा मार्च १९ बाट लकडाउन सुरु भयो । रोजगारीका लागि मालदिभ्स पुगेका नेपालीहरू लकडाउनकै कारण नेपाल फर्किन सकेनन् ।
मालदिभ्समा हाल १० हजारभन्दा बढी नेपाली होटल, इन्जिनियरिङ, चिकित्सालगायत क्षेत्रमा कार्यरत छन् ।
पोखराबाट मालदिभ्समा रोजगारीका लागि पुगेका सिभिल इञ्जिनियर गोविन्द रेग्मी अन्य विदेशी नागरिकसँगै त्यही अड्किए । मालेस्थित कन्स्ट्रक्सन कम्पनीमा काम गरिरहेका उनी ३ महिनासम्म त्यहीको होम क्वारेन्टाइनमै बसे । अन्तत: नेपाल सरकारले विदेशमा अलपत्र कामदारलाई काठमाडौँ ल्याउने निर्णय गर्यो ।
२ असारमा रेग्मी अन्य १ सय ५४ यात्रुसहित मालदिभ्सबाट काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए । हिमालयन एयरलाइन्सको विमानबाट आएका उनीहरू सुरुमा नेपाल एयरलाइन्सबाटै काठमाडौँ आउने भनिएको थियो । तर सरकार र नेवानिबीच भाडादरमा कुरा नमिलेपछि महँगो शुल्क ४ सय ८० डलर तिरेरै हिमालयनको जहाजबाट नेपाल आउन बाध्य भए । दिउँसो २:२५ को फ्लाइटमा बिहानै एयरपोर्ट पुग्न श्रीलंकास्थित नेपाली दूतावासको संयोजनमा उनीहरूलाई जानकारी गराइएको थियो ।
मालदिभ्समा आवासीय नेपाली दूतावास नहुँदा त्यसको संयोजन श्रीलंकामा रहेको दूतावासले गर्छ ।

मालदिभ्सको एयरपोर्टमा स्क्रिनिङ टेस्ट गरेर उनीहरू सबै जहाजमा बसेका थिए । पोखरा घर भए पनि परिवार काठमाडौँमै बस्ने भएकाले रेग्मी आफन्तसँग लामो समयपछि भेट हुने आशाले मख्ख थिए । नेपाल सरकारले क्वारेन्टाइनको व्यवस्था गरेको घर, सरकारी क्वारेन्टाइन र होटलमध्ये जुनमा पनि बस्न पाउने प्रावधान थियो । मालदिभ्स छँदा हतारहतारमा घर फर्किन पाउने निर्णय हुँदा उनीलगायत धेरै नेपालीहरूले पीसीआर र आरडीटी टेस्ट गर्न पाएनन् । श्रीलंकास्थित नेपाली दूतावासले यी दुवै टेस्ट नभए पनि मालदिभ्सको क्वारेन्टाइनमै बसेका र स्वस्थ देखिएकालाई घर जान नरोक्नू भन्ने कागजात बनाइदिएको थियो ।
काठमाडौँ ओर्लनेबित्तिकै पीसीआर र आरडीटी टेस्ट रिपोर्ट नभएकाले नेपाल छिर्न नपाउने सेनाले भनेपछि रेग्मी केही बेर आत्तिए । सबै यात्रुले अनुरोध गरेपछि सेनाले गृह मन्त्रालयसँगको समन्वयमा सहमति दिएसँगै आधा घन्टापछि उनीहरूलाई फारम भर्न लगाइयो ।
फारम भर्न लगाएपछि अब त घर जान र परिवार भेट्न पाइने भयो भन्दै रेग्मी खुसी थिए । तर उनको खुसी क्षणभरमै खोसियो, जब होम क्वारेन्टाइनमा बस्न नपाउने खबर दिइयो ।
जहाजमा क्यान्सरबाट मरेका एक नेपाली डाक्टरको लाश र उनकी पत्नी एवं दुई छोरी पनि थिए । डाक्टर पत्नीले कोरोना भाइरस नभएको पीसीआर रिपोर्ट देखाउनेबित्तिकै उनलाई घर जान दिइयो ।
रेग्मी भन्छन्, “यस्तो दु:खद घडीमा उहाँलाई घर जान दियो, त्यसमा आपत्ति होइन तर जहाजमा सँगै आएको मान्छेलाई पीसीआर रिपोर्ट देखाउनेबित्तिकै घर जान पाउने अनि हामीचाहिँ नपाउने ? जहाजमा सँगै बस्दा त उहाँलाई पनि सर्यो होला नि । उताको साताअघिको रिपोर्टले अहिले कोरोना नहुने हो र ?”
रेग्मीसितै आएका पियूष मैनालीको गुनासो पनि उस्तै छ । १७ वर्षदेखि मालदिभ्सको होटलमा काम गर्दै आएका मैनाली क्वारेन्टाइनमा राख्दा यात्रुहरूबीच भेदभाव गरेको बताउँछन् । भन्छन्, “पीसीआर रिपोर्ट पुरानो देखाएर पनि घर जान पाए । हामीलाई भने जम्मा २ दुई अप्सन दिइयो– होटल वा सरकारी क्वारेन्टाइन ।”
यस्तै, मालदिभ्समा काम गर्ने दुई नेपाली डाक्टरले अनलाइनबाट कोरोना भाइरस नभएको पुरानो पीसीआर रिपोर्ट देखाएरै घर जान सेनाले दिएको रेग्मी र मैनालीको दाबी छ ।
गोठाटार बस्ने मैनाली होम क्वारेन्टाइनको व्यवस्था छ भन्ने थाहा पाएपछि मात्र पत्नीबाट वडामा कुरा गरेर व्यवस्था मिलाएको सुनाउँछन् । भन्छन्, “एयरपोर्टमा फारम भर्दासम्म दिएको त्यो अप्सन पछि सेनाले छैन भन्यो । होटल पनि ४५ वटा छ भन्थे तर अहिले २ वटा मात्रै रहेछन् ।”

मालदिभ्सबाट आएका यात्रुहरूका अनुसार एयरपोर्टबाट सबैलाई सुरुमा बसुन्धराको पार्टी प्यालेसमा लगिएको थियो । त्यसपछि सबैलाई एक–एक वटा सीमकार्ड बाँडिएको थियो । होम, होटल र प्रदेशअनुसार क्वारेन्टाइनमा राख्ने भनिए पनि सबैलाई एयरपोर्ट नजिक रहेको रिडर्स इन र पकनाजोलको रिभरसाइड होलिडेमा बस्न भनियो । यी होटलमा प्रतिदिन एक कोठा लिनेलाई ३ हजार र कोठा सेयर गर्नेलाई २ हजार रुपैयाँ भाडादर कायम गरिएको छ ।
होटल खर्च तिर्न नसक्नेलाई सामाखुसीस्थित राधास्वामी आश्रम या पशुपति आश्रममा बस्ने व्यवस्था मिलाएको सेनाले जानकारी दिएको थियो ।
कता बस्ने, के गर्ने अन्योलकै बीच अन्तत: राती साढे १ बजे खाना खान पाएको रेग्मी गुनासो पोख्छन् । भन्छन्, “भात, फर्सीको तरकारी, पुदिनाको अचार र अन्डा । सुक्खा तरकारी खायौँ । बिहानैदेखि मालदिभ्सको एयरपोर्ट पुगेका हामी साह्रै भोकाएका थियौँ । सरकारले विदेशमा रहेकाबाट रेमिट्यान्स लिने तर सुविधा भने केही दिएन ।”
मालदिभ्सबाट आएका केही यात्रु रिभरसाइड होटलमा, ३० जना सिनामंगलको रिडर्स इन होटलमा र केही सरकारी क्वारेन्टाइनमा पनि बसिरहेका छन् । यात्रुहरूका अनुसार उनीहरूलाई अहिलेसम्म कुनै स्वास्थ्यकर्मीले आएर ज्वरो नापेका छैनन् । तर सुरक्षाकर्मीले भने बाहिरबाटै निगरानी गरिरहेका छन् ।
मैनाली भन्छन्, “होटलमा चिसो पानी मात्र आउँछ । शौचालय पनि सफा छैन । डसना, ब्लान्केटमा ढुसीको गन्ध आउँछ । तन्नाबिनै रात बितायौँ ।”
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार होटलमा राखिने भनिए पनि त्यसको पालना नभएको यात्रुहरूको गुनासो छ ।
होटलमा काठमा प्लास्टिकले छोपेर खाना खुवाउने गरेका तिनले बताएका छन् । होटलले बिहान ९ बजे पाउरोटी, अन्डा र चिया दिन्छ । दिउँसो १ बजे खाना एवं साढे ४ बजेतिर चिया र राती ९ बजे खाना । होटलले चार पटक खाना खुवाउने बताएको मैनाली सुनाउँछन् । भन्छन्, “अहिलेसम्म त खासै केही सुविधा पाएका छैनौँ । १४ दिनपछि केही लक्षण नदेखिए छिट्टै घर जान पाइएला कि ?”