नाक्चेनाङ्ला सडक — १० वर्षमा १४ किलोमिटर
तिब्बती सीमा नाक्चेनाङ्ला जोड्ने सडक निर्माण सुस्त
मुगुको सदरमुकाम गमगढीदेखि तिब्बती सीमा नाक्चेनाङ्लासम्मको दूरी जम्मा ८५ किलोमिटर छ । राष्ट्रिय योजना आयोगले पूर्वी व्यापारिक नाकाका रूपमा यसलाई प्राथमिकतामा राखेको पनि हो । तर, सडक डिभिजन कार्यालयले विगत १० वर्षमा जम्मा १४ किलोमिटर ट्रयाक मात्र खोलेको छ । सुस्त गति हेर्दा सडक निर्माण सम्पन्न गर्न अझै २० वर्ष लाग्ने अनुमान छ ।
सरकारले मुगुको तिब्बत नाका खोलेर सामान आयातमा सहज बनाउन चीनसँग सम्झौता गरिसके पनि सडक निर्माण कार्यले तीव्रता लिन सकेको छैन । गमगढीदेखि तिब्बत जोड्ने सडक निर्माणका लागि बर्सेनि तीन करोड बजेटको ठेक्का खोलेर निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख नारायणदत्त भण्डारी बताउँछन् । भन्छन्, “चालू आव २०७२/७३ मा नौ करोड रुपियाँको ठेक्का खोल्ने प्रक्रिया अघि बढाइसकिएको छ ।”
कर्णाली अञ्चलका पाँच जिल्ला मुगु, हुम्ला, डोल्पा र कालीकोटमध्ये मुगु र हुम्लामा तिब्बत नाका पर्छन् । दुर्गम क्षेत्र विकास समितिबाट इन्जिनियरको टोली खटाएर विस्तृत सर्वे डिजाइन गरेको १० वर्षपछि कछुवाको गतिमा निर्माण कार्य सुरु भएको छ ।
०४९ सालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कर्णाली स्थानीय विकास कार्यक्रम ( केएलडीपी)ले गमगढीदेखि सीमा मुगु गाउँसम्म फराकिलो घोरेटो बाटो निर्माण गरेपछि त्यहाँ स्थानीयको आवतजावत सहज भए पनि ११औँ शताब्दीदेखि भेडाको ऊन र नुनको व्यापारबाट सुरु भएको मुगु–तिब्बत सम्बन्ध अहिलेसम्म फराकिलो बन्न सकेको छैन ।
मुगुको सीमा गाउँमा राजस्व संकलन र तिब्बततिर अवैध व्यापार रोक्न भन्सार कार्यालय स्थापना गरिए पनि चिसो मौसम र भौगोलिक विकटताले सरकारी कर्मचारी बस्दैनन् । सीमा मुगु गाउँमा भन्सार कार्यालय सुरक्षाका निम्ति प्रहरी चौकीसमेत छ ।
समुद्री सतहदेखि करिव ४ हजार ९ सय ८६ मिटर उचाइमा रहेको तिब्बतको व्यापारिक नाका नाक्चेनाङ्लाको ह्याजिमारमा बर्सेनि १५ देखि ३० साउनसम्म चिनियाँ हाटबजार लाग्छ । मुगुको माग्री, किम्री, डोल्फु, मुगु, पुलु, डोल्फु गाविसका बासिन्दा घोडा, चौरी, झोवा, खच्चर लिएर हाटबजारमा किनमेल गर्न पुग्छन् ।
किनमेलका लागि तिब्बत जाने स्थानीय तिब्बती व्यापारीबाट ठगिने गरेका छन् । उनीहरूकै मूल्यमा सामान किन्नुपर्ने बाध्यता छ । सरकारले मुगुको तिब्बत नाका पहिले नै खोलिदिएको भए अहिले भारतीय नाकाबन्दी खेप्नु नपर्ने स्थिति रहेको उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढा बताउँछन् । भन्छन्, “छिटो नाका खोलियो भने हाम्रो अपेक्षा पूरा हुन्छ ।”
मुगेलीले यताबाट जाँदा उवा, जौ, स्थानीय फल चुलीका बोक्रा, यार्सागुम्बु, चिराइतो, गुच्ची च्याउ, सतुवा आदि लैजाने र तिब्बतबाट चामल, घिउ, मैदा, नुन, लत्ताकपडा, रक्सी ल्याउने गरेका छन् । तिब्बतको ह्याजिमारदेखि गाडी चढेर तीन घन्टाको समयमा कैलाश मानसरोवरको प्रमुख सडक पुग्न सकिन्छ । हुम्लाको तिब्बत नाका हिल्साभन्दा मुगु–तिब्बत नाका छोटो र सहज मानिन्छ ।
गमगढीदेखि पैदल मार्गबाट तिब्बत नाका पुग्न चार दिन लाग्छ । मुगु र तिब्बत सीमासम्म सडक सञ्जालले जोडियो भने समान आयातसँगै रारा हेर्न चिनियाँ पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।
हिमपातका कारण उक्त नाका पुस, माघ, फागुन र चैतसम्म अवरुद्ध भए पनि अन्य आठ महिना खुला रहन्छ । तिब्बतले सीमा क्षेत्र ह्याजिमारमा भन्सार कार्यालय स्थापना गरेको छ । मुगुको पूर्वी तिब्बत सीमा क्षेत्रमा आदिवासी जनजातिका १२ गाउँ छन् । उनीहरूका रहनसहन, भेषभूषा, धर्म–संस्कृतिका आ–आफ्नै विशेषता छन् ।
समुद्री सतहदेखि १२ हजार ५ सय फिट उचाइमा रहेको मुगु गाउँको दृश्य रमणीय छ । यो सुक्खा मरुभूमिमा मानव बस्ती रहेको जिल्लाकै एक मात्र गाउँ हो । गमगढीदेखि सीमा तिब्बतको यात्रा गर्न कठिनाइ छैन । बीच बाटोमा पर्ने लुम्स, छाइल, ढुंगेधारा, पुलु र चितै बगरमा होटलको व्यवस्था छ ।
यहाँ तामाङ जातिको बाहुल्य छ । यहाँका जनजाति बाहै्रमास व्यापार व्यवसायबाट आत्मनिर्भर छन् । घरघरै होमस्टेको अवधारणा ल्याएका छन् । मुगेली जनजाति चौरी, झोवा, घोडा लिएर तिब्बतमा व्यापार गर्न जान्छन् । तिब्बतबाट फर्कंदा नुन, तेल, साबुन, मैदा, घिउ, चिया, रक्सी, कम्मल, मिठाईजस्ता हरेक प्रकारका सामानसहित जुस, भाँडाकुँडा वा खसी, च्याङ्ग्रा ल्याउँछन् । व्यापारको प्रमुख आयस्रोत नै पाटन क्षेत्रको बहुमूल्य जडीबुटी यार्सा हो ।
मुगु–तिब्बत सीमासम्म जोड्ने सडक चाँडो निर्माणका लागि मन्त्रालयमा पहल भइरहेको स्थानीय विकास अधिकारी प्रह्लाद पुडासैनीको भनाइ छ । “मुगुको तिब्बती नाका अत्यन्तै सहज छ । सरकारले प्राथमिकतामा राखेर छिटो खोलिदिनुपर्छ,” पुडासैनी भन्छन्, “यो नाका खोलियो भने समग्र देशलाई सामान आयातमा टेवा पुग्ने अवस्था छ ।”
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...