मनसुनी क्यालेन्डर : कृषिका लागि किन छ शुभ संकेत ?
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन
गत वर्ष मनसुनी वर्षा अनुकूल नहुँदा धान उत्पादनमा ५९ हजार मेट्रिक टनले गिरावट आयो । जबकि ०७५ मा मनसुन दाहिना हुँदा ५६ लाख १० हजार मेट्रिक टन धान फलेको थियो ।
यो वर्ष कोरोना भाइरसको कहरका बीच कृषिका लागि मनसुनी वर्षा शुभ हुने संकेत देखिएको छ । १९ जेठदेखि १४ असोजसम्म नेपाली आकाशमा कायम रहने दक्षिण एसियाली मनसुनले अनुकूल वर्षा गराउने आकलन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, हावापानी महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार यो वर्ष कृषिका लागि अनुकूल वर्षा हुने देखिन्छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उत्तरी भूभागमा औसतमा वर्षा हुने सम्भावना ५० प्रतिशत भन्दा बढी छ । अन्य भूभागमा औसतको हाराहारी वर्षा हुने सम्भावना छ । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप) ले सार्वजनिक गरेको दक्षिण एसियाको आगामी मनसुनी वर्षाको आकलन र जलवायु प्रारूपमा रहेर विभागले गरेको प्रक्षेपण नक्सामा पश्चिम नेपालको दार्चुला क्षेत्रमा औसत वर्षा हुने सम्भावना बढी छ । जबकि गत वर्ष प्रदेश १, २ र बाग्मतीको अधिकांश भूभागसहित प्रदेश ५ को पश्चिमी भूभागमा औसतभन्दा कम वर्षा भएको थियो । पढ्नुस्ः वर्षा हाम्रो कृषि प्रणालीको आधार हो, जसको वरिपरि कृषितन्त्र घुम्छ
जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ भन्छन्, “यो वर्ष मनसुन अनुकूल देखिन्छ, गण्डकी प्रदेशको उत्तरी भूभाग हुँदै पूर्वी नेपालको इलाम (उत्तरतिर) राम्रो पानी पर्ने देखिन्छ ।” उनका अनुसार माइनस वा प्लस १० सम्म तलमाथि हुनुलाई सामान्य मानिन्छ । औसत वर्षा ९६ प्रतिशत भनेको राम्रो हो ।
मनसुन अवधिमा औसत वर्षा हुने सम्भावना ९६ प्रतिशत छ । ९० देखि १ सय १० प्रतिशतसम्मको अवस्थालाई औसत र ९० प्रतिशतभन्दा कमलाई औसतभन्दा कम वर्षा र १ सय १० प्रतिशतभन्दा बढीलाई औसतभन्दा बढी वर्षा भन्ने गरिन्छ । यो ३० वर्षको औसत वर्षालाई लिएर मापन गरिन्छ । “अनावृष्टि, अतिवृष्टि भएन भने यो वर्ष नेपालको मनसुन अनुकूल देखिन्छ”, मौसमविद् कँडेल भन्छिन् ।
बाफ बोकेको जलवाष्पयुक्त हावा पूर्वबाट जुन १० आसपासमा प्रवेश गरेमा समयमै रोपाइँ हुने देखिन्छ । मलखाद अभाव अर्को पाटो छँदै छ ।
बर्खे झरीले कृषिसँग सीधा सम्बन्ध राख्छ । नेपालमा कृषिका लागि कम्तीमा ६५ प्रतिशत पानी वर्षाबाट प्राप्त हुन्छ । ०७५/७६ को आर्थिक सर्वेक्षणअनुसार कुल कृषियोग्य २६ लाख ४१ हजार हेक्टर जमिनमध्ये ८० प्रतिशतमा धान खेती हुन्छ । जबकि १४ लाख ७५ हजार हेक्टरमा मात्र सिँचाइ उपलब्ध छ ।
आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘स्रोतमा पानीको उपलब्धताको कमी, जल स्थानान्तरण तथा जलाशययुक्त बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा ढिलाइले सिञ्चित क्षेत्रफलको ३३ प्रतिशत जमिनमा मात्र बाह्रै महिना सिँचाइ हुन्छ ।’ तर समयमै पानी नपर्ने तथा चाहिनेभन्दा कम वा बढी पानी पर्दा पनि धानलगायत बर्खे बालीको उत्पादन घट्न सक्ने सम्भावना हुन्छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् कँडेलका अनुसार मनसुन कहिले भित्रिन्छ भनेर अहिले नै प्रक्षेपण गरिहाल्ने बेला त भएको छैन । तर जलवायु प्रारूप र सास्कोपको आकलन हेर्दा मनसुन समयै भित्रिन सक्ने सम्भावना छ । मनसुन १० जुनमा नेपाल प्रवेश गरेर १२ जुनमा काठमाडौँ र १५ जुनसम्म पश्चिम नेपालसम्म पुग्ने गर्छ ।
कतिपय देशले क्षेत्रगत रूपमा मनसुनको आकलन गर्ने गरेका छन् । तर नेपालमा सिंगो देशमा आधारित रहेर प्रक्षेपण गर्ने गरिन्छ । मौसमविद् शान्ति भन्छिन्, “मनसुन अवधि (चार महिना) को प्रक्षेपण गरिन्छ । तर अब हरेक महिनामा मनसुन कस्तो हुन्छ भनेर जानुपर्ने आवश्यकता रहे पनि प्रविधि र जनशक्तिको कमी छ ।”
मनसुनको अवधिमा नेपालमा हुने कुल वर्षाको झन्डै ८०.५ प्रतिशत वर्षा हुने गर्छ । यस्तो अवधि कहिलेकाहीँ लम्बिएको पनि देखिन्छ । भारतमा पनि यो वर्ष १ जुनमा मनसुन सुरु हुने आकलन गरिएको छ ।
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...