गुलियो चकलेटभित्रको नमीठो खेल
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग साँठगाँठ
दुई वर्षअघि । जेठकै महिना थियो । ठूलाठूला परियोजनामा पैसा जुटाउन स्थापित पूर्वाधार विकास बैंक (निफ्रा) ले सञ्चालन अनुमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दियो । तर राष्ट्र बैंकले लामो समय निर्णय नगरी अल्झाइरह्यो ।
यो उल्झनको केन्द्रमा थिए, अर्थमन्त्री युवराज खतिवडा । बैंकका अध्यक्ष विमल कोइरालालाई नहटाएसम्म अनुमति दिन नसकिने भन्दै खतिवडाले राष्ट्र बैंकमार्फत दबाब र अडान तेर्स्याए ।
अर्थमन्त्री खतिवडा कोइरालाको ठाउँमा आफू निकटका व्यक्तिलाई अध्यक्ष बनाउन चाहन्थे । नभन्दै ३ माघ ०७५ मा बैंक सञ्चालक समितिको ३६ औँ बैठकबाट खतिवडाले रुचाएका पात्र अनुज अग्रवाल कोइरालालाई विस्थापित गर्दै अध्यक्ष छानिए ।
अग्रवाल अध्यक्ष बनेको २५ दिनपछि २८ माघमा सात महिनादेखि रोकिएको बैंकको सञ्चालन अनुमति फटाफट फुकुवा भयो । पूर्वाधार विकास बैंकमा सरकारको १० प्रतिशत सेयर हिस्सा छ । “मलाई नहटाई अनुमति दिन्नँ भनेर अर्थमन्त्रीले राष्ट्र बैंकलाई कसे,” मुख्यसचिवसमेत बनिसकेका कोइराला भन्छन्, “सेयर हिस्सा कम भए पनि सञ्चालन अनुमति दिने विषयमा सरकारको हात माथि थियो । त्यसलाई नमानी सुखै भएन ।”
ठूलो व्यापारिक घरानामा पर्ने विशाल ग्रुपका लगानीकर्ता हुन्, अनुज । अग्रवाललाई २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकको नेतृत्व सुम्पिएर विशाल ग्रुपप्रति प्रकटित अर्थमन्त्री खतिवडाको माया दुई वर्षपछि झनै गाढा भएको छ । यसको प्रकटीकरण १५ जेठमा अर्थमन्त्रीद्वारा संसद्मा प्रस्तुत बजेटमै झल्कियो ।
अर्थमन्त्रीले चकलेटमा यसअघि लाग्दै आएको ४० प्रतिशत भन्सारमा १० प्रतिशत घटाएर ३० प्रतिशतमा झारे । नेपालमा आयात हुने चकलेटमध्ये ठूलो हिस्सा विशाल ग्रुपको छ । उसले युनाइटेड डिस्ट्रिब्युसन नेपाल, लाइफ केयर डिस्ट्रिब्युसन नामक ट्रेडिङ कम्पनीबाट चकलेट आयात गर्छ । युनाइटेड डिस्ट्रिब्युसन पूर्वाधार विकास बैंकको सेयर सदस्यसमेत हो ।
विशाल ग्रुपको वेबसाइटमा उल्लेख भएअनुसार उसले गिलियन, क्याफरेल, लिन्ट एन्ड स्प्रंग्ली, फरेरो चकलेट नेपालमा आयात गर्छ । यसबाहेक स्निकर, मार्स चकलेटको बिक्रेता समेत हो, विशाल ग्रुप ।
स्निकर र मार्स नेपाली बजारमा बढी बिक्री हुने चकलेटमध्येमा पर्छन् । प्रिमियर ब्रान्डका चकलेट आयातमा विशाल ग्रुपको पकड बलियो छ । यसबाहेक अर्को व्यापारिक घराना खेतान समूह क्याडबरी, डेरी मिल्क चकलेटको आयातकर्ता हो ।
नेपालमा एक दशकको अवधिमा आयातीत चकलेटको बजार निकै फैलिएको तथ्यांक छ । भन्सार विभागको आँकडाअनुसार आर्थिक वर्ष ०६४/६५ सम्म ४२ करोड रुपैयाँ बराबरको मात्र चकलेट नेपाल भित्रिन्थ्यो । तर अहिले आयात दर ह्वात्तै बढेको छ । अघिल्लो आर्थिक वर्षमा चकलेट आयात झन्डै ३ अर्ब रुपैयाँमा उक्लिएको छ । आर्थिक वर्ष ०७५/७६ मा चकलेटबाट मात्रै राजस्व ढुकुटीमा १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ जम्मा भएको थियो । यो आर्थिक वर्ष वैशाखसम्मको १० महिनामा डेढ अर्ब रुपैयाँ बराबरको चकलेट आयात भएको छ ।
तर सरकारले भने चकलेटको भन्सार दर नै व्यवसायीलाई लाभ मिल्ने गरी परिमार्जन गरिदिएको छ । अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार निश्चित व्यापारिक समूहलाई फाइदा दिलाउन अर्थमन्त्रीले चकलेटको करका दरमा परिवर्तन गराएका हुन् । चकलेट आयातमा विशाल समूहको हिस्सा अन्यको भन्दा उच्च भएको एक स्वदेशी चकलेट उत्पादक कम्पनीका सञ्चालकले दाबी गरे ।
विशाल ग्रुपसँग अर्थमन्त्रीको पारिवारिक तहको सम्बन्ध रहेको नेपालले सम्पर्क गरेका अधिकांश व्यवसायी र उच्च सरकारी अधिकारीले बताए ।
विशाल ग्रुपका सञ्चालक एवं पूर्वाधार विकास बैंक अध्यक्ष अनुज अग्रवालले भने विशाल ग्रुपले चकलेट आयातमा १५ प्रतिशत हिस्सा मात्रै ओगट्ने दाबी गरे । “यो एकदमै छरिएको बजार छ । नेपालमा कसैसँग पनि तथ्यांक छैन,” उनले भने । तर भन्सार विभागका एक अधिकारीले जनाएअनुसार विशाल ग्रुपको चकलेट आयातमा आधाभन्दा बढी हिस्सा छ ।
पूर्वअर्थसचिव शान्तराज सुवेदीको अनुभवमा संसारभर करको दर आफू अनुकूल परिवर्तन गर्न व्यापारीहरू लागिपर्छन् । “त्यो त व्यापारीको विशेषतै हो,” उनी भन्छन्, “करका दरहरू तलमाथि हुन सक्छन् । तर समय र परिस्थिति हेर्नुपर्छ ।”
कोभिड– १९ कारण खर्च जुटाउन दबाब भएकाले सरकारले आर्थिक परिचालनको मुख्य स्रोत नै राजस्वलाई मानेको छ । सायद त्यही भएर सरकारले विद्युतीय सवारी साधनलाई समेत विलासी वस्तु मानेर करको दर ह्वात्तै बढाएको छ ।
अत्यावश्यक खाद्यपदार्थ नभई विलासी सामानमै पर्ने भए पनि चकलेटको भन्सार घटाउन अर्थमन्त्री अग्रसर हुनुलाई धेरैले व्यापारी पोस्ने रणनीतिकै रूपमा बुझेका छन् । “राजस्व दरका १५, २०, ३०, ४०, ८० प्रतिशतका विभिन्न तह हुन्छन् । ती तहमा वस्तुको प्राथमिकीकरण गरेर भन्सार दर परिवर्तन गरिन्छ,” सुवेदी भन्छन्, “अहिलेसम्मको जानकारीअनुसार ४० का अन्य सबैलाई छाडेर चकलेटको मात्रै घटाइएको छ, त्यो अहिलेको समय बेठीक हो ।”
विशाल ग्रुप र अर्थमन्त्रीबीचको उठबसको फाइदा चकलेटमा मात्रै सकिँदैन । बजेट वक्तव्यको ठीक अगाडि वीरगन्ज भन्सार कार्यालयबाट रातारात ठूलो संख्यामा विद्युतीय गाडी भित्रिए । रोचक के भने विद्युतीय सवारी साधन धमाधम भित्रिँदा पेट्रोल र डिजेलबाट चल्ने एउटै गाडी भित्रिएनन् । १५ वैशाखदेखि १४ जेठसम्म १ सय २२ थान विद्युतीय गाडीको भन्सार जाँचपास हुँदा पेट्रोल र डिजेलबाट चल्ने ८० भन्दा बढी सवारी साधन भन्सारबिन्दुमै छन् ।
रातारात आयात हुने विद्युतीय गाडीमा एमजी ब्रान्डका १ सय २० छन् भने दुइटा किया मोटर्सका । एमजी गाडीको नेपालस्थित बिक्रेता प्यारामाउन्ट मोटर्स हो, जसमा मुरारका समूहसँग विशाल ग्रुपको साझेदारी छ । सरकारले १० प्रतिशत रहेको भन्सार महशुल बजेटपछि ८० प्रतिशत पुर्याइएको छ । यसबाहेक थप अन्त:शुल्कसमेत तिर्नुपर्छ ।
बजेटपछि भारी मात्रामा भन्सार बढाउने सूचना पाएलगत्तै सीमित व्यवसायीले भन्सार बिन्दुमा थन्किएका विद्युतीय गाडी अपर्झट ल्याएको हुन सक्ने भन्सार कर्मचारीको आशंका छ । यस्तो आशंकालाई व्यापारी पोस्ने अर्थमन्त्रीको व्यवहारले समेत झनै बल पुर्याएको छ ।
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...