खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर्ने अभियान
जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाले कोरोना महामारीका कारण खाद्य संकट उत्पन्न हुन सक्ने भन्दै बढी अन्न उब्जाउने कृषकलाई पुरस्कार दिने घोषणा गरेको छ । गाउँ कार्यपालिका बैठकले पालिकाभित्रका कृषकले आउँदो वर्षदेखि ४० मुरी धान र ४ फिट उचाइ एवं २० फिट लम्बाइ पुग्ने मकैको थाक्रो बनाउने कृषकलाई एक/एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।
यसैगरी ३० मन (प्रति १ मन ४० केजी) भन्दा बढी बर्खे, हिउँदे आलु उत्पादन गर्ने कृषकलाई प्रतिकेजी २० रुपैयाँ दरले पुरस्कार दिइने गाउँपालिका अध्यक्ष अमरराज माखिम बताउँछन् । भन्छन्, “महामारीका कारण खाद्य संकट हुन सक्ने सम्भावना छ । अब खाडी मुलुकमा पनि रोजगारीको अवसर कम छ । गाउँ फर्किने तिनै युवाहरूलाई लक्षित गरेर यो निर्णय गरिएको हो ।”
यसले कृषि पेसालाई मर्यादित मात्र होइन, व्यावसायिकसमेत बनाउन सहयोग पुर्याउने अध्यक्ष माखिमको तर्क छ ।
उत्पादित खाद्यान्नले पालिकालाई थेग्न सक्ने गरी आत्मनिर्भर बनाउन यो कदम चालिएको गाउँपालिका उपाध्यक्ष उर्मिला राई सुनाउँछिन् । भन्छिन्, “हामीले कृषिलाई प्राथमिकतामै राखेर एक गाउँ एक कृषि प्राविधिक राखेका छौँ । तर अहिले गाउँघरका जमिन प्राय: खालि छन् । तिनै जमिनमा खेती गरेर पालिकाको खाद्य संकटलाई पूर्ति गर्न यो निर्णयले सहयोग पुग्ने विश्वास छ ।”
गाउँपालिकाको यो निर्णयले कृषकलाई र कृषि पेसालाई सम्मान गरेको स्थानीय बताउँछन् । मिक्लाजुङ– ३ का कृषक धनबहादुर लिम्बू भन्छन्, “अब कृषि पेसा मर्यादित बन्ने हाम्रो ठहर छ । तीन प्रकारको बालीमा मात्र होइन, अन्य खाद्यान्नमा समेत यो निर्णय लागू गर्नुपर्यो ।”
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउँदै कृषि क्षेत्रलाई पनि समृद्धिको सूचक बनाउने प्रयासस्वरूप यो निर्णय गरिएको हो । खासगरी वैदेशिक रोजगारी गुमाएर स्वदेश फिरेका युवाहरूलाई समेट्ने उद्देश्यले यो योजना ल्याइएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राई बताउँछन् । भन्छन्, “यो पुरस्कार आर्थिक वर्ष ०७७/७८ देखि कृषकलाई प्रदान गरिनेछ ।”
गाउँपालिकाले गरेको निर्णय स्वागतयोग्य भएकाले यसबाट खाद्यान्नको परनिर्भता हटाउन सहयोग पुग्ने पाँचथर उद्योग वाणिज्य संघ अध्यक्ष दीपक नेपालको तर्क छ । भन्छन्, “अझ उत्पादनलाई श्रेणी विभाजन गरेर अनुदान व्यवस्थित गर्न सके राम्रो हुने थियो । उत्पादनअनुसार अनुदान घोषणा गरेको भए झनै उपयुक्त हुन्थ्यो ।”
मिक्लाजुङ गाउँपालिकाले गत ३ वैशाखमा पालिकाभित्र धान, मकै, कोदो, गहुँलगायतका खाद्यबाट कुनै पनि जाँडरक्सी बनाउन प्रतिबन्ध लगाएको थियो ।
अधिकृत राई भन्छन्, “गाउँपालिकाको सूचनाअनुसार उक्त अन्न उल्लिखित प्रयोजनका लागि बिक्री वितरण गर्नसमेत हामीले प्रतिबन्ध लगाएका थियौँ ।”
कृषिकर्मबारे नेपालका विशेष रिपोर्ट तथा विश्लेषणहरू
- लकडाउनले जीविकोपार्जन खोसेपछि थातथलो फर्किनेहरूको अठोटः अब गाउँमै कृषि इलम
- कोरोना भयले गाउँ पसेकाहरूलाई कृषिमै अड्याउने रणनीति
- कृषिमन्त्रीलाई खुला पत्र
- मनसुनी क्यालेन्डर : कृषिका लागि किन छ शुभ संकेत ?
- लकडाउनमा गाउँ फिरेकाहरूलाई हिउँदे बाली स्याहार्ने चटारो
- कोरोना, बाली स्वास्थ्य र अनिकाल
- कोरोनाले ब्युँताएको कृषिको साख
- ५० करोडको कृषि अनुदानमा स्थानीय सरकारलाई ‘बाइपास’
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...