कोरोनाले ब्युँताएको कृषिको साख
कोरोना संक्रमणपछि आउन सक्ने खाद्य संकटलाई सम्बोधन गर्न कृषिमा के-के गर्नुपर्छ ?
कोरोनाले थिलथिलो बनाएको हामीलाई भोकमरीले पनि सताउन सक्ने देखिन्छ । विपत्तिका बेला खाद्य वितरण प्रणाली कसरी सबल बनाउने ?
रोमका चर्चित विचारक सिसेरोले डि ओरेटोरी भन्ने किताबमा इतिहास केवल तारिख र चर्चित मानिसहरूका जितको संकलन मात्रै नभई जीवनको शिक्षक हो भन्ने उल्लेख गरेका छन् । अहिले हामी कोभिडको महामारी झेल्दै छौँ । मानव इतिहासले अनेक महामारीको संकट झेलेको छ । आजभन्दा पाँच हजार वर्षअगाडि चीनको एक गाउँ महामारीले पूर्ण रूपमा समाप्त भयो ।
इसापूर्व ४३० मा एथेन्सको प्लेगले करिब एक लाख मानिसको ज्यान लिएको इतिहास छ । सन् १३५० अर्थात् चौधौँ शताब्दीको आसपास ब्ल्याक डेथ महामारीले पूर्वी एसियादेखि पश्चिम युरोपसम्म करिब बीस करोड (त्यति बेला विश्वको एक तिहाइ जनसंख्या) मानिसको ज्यान लिएको थियो । सन् १५२० ताका विफर महामारीले मध्यअमेरिकाको करिब एक तिहाइ जनसंख्यालाई तहसनहस पारेको थियो, जसले त्यति बेलाको शक्तिशाली शासकहरूको राजकाज समाप्त पारेको थियो ।
सन् १८८९ मा साइबेरियामा सुरु भएको रसियन फ्लु काजकिस्तान, मस्को, फिनल्यान्ड, पोल्यान्ड हुँदै युरोपभर फैलँदै ३ लाख ६० हजार मानिस मारेको थियो । स्प्यानिस फ्लु महामारीले सन् १९१८ मा करिब ५ करोड मानिस मारेको थियो । सन् १९५७ को एसियन फ्लु महामारी हङकङबाट सुरु भई चीन, अमेरिका र बेलायतमा समेत फैलिई करिब ११ लाख मानिस मारेको थियो ।
यस्ता महामारी विश्वमा फरक समयमा आए र सामाजिक, आर्थिक, दार्शनिक, शैक्षिकलगायत क्षेत्रमा नयाँ आयाम सुरुआत गरेर गए । चौधौँ शताब्दीको प्लेग महामारीले युरोपलाई समृद्ध राष्ट्रका रूपमा चिनायो । सन् १५२० को बिफर महामारीले संसारलाई लिटल आइस एजको अवस्थामा पुर्यायो । खाद्यान्न संकट पैदा भयो । उत्तरी चीनमा सन् १६४१ मा फैलिएको प्लेगले शक्तिशाली मिंग राजवंशको समाप्त गरेको थियो । सन् १८८८ मा अफ्रिका मारिन्डर पेष्ट महामारीले गाईवस्तुका साथै कतिपय जंगली जनावरलाई पनि सखाप बनायो, जसले कृषिमा आश्रित अफ्रिकीहरूको अर्थतन्त्र तहसनहन पार्यो र युरोपेली साम्राज्य खडा गरिदियो ।
यो पनि पढ्नुस
कोरोना संक्रमणपछि आउन सक्ने खाद्य संकटलाई सम्बोधन गर्न कृषिमा के-के गर्नुपर्छ ?
सन् २०१९ को अन्तिम दिनमा चीनले वुहान सहरमा नयाँ र नौलो निमोनियाजस्तो देखिने रोग पत्ता लगायो । चीनको यो अन्वेषण अहिले कोरोना भाइरस कोभिड–१९ का रूपले विश्व रंगमञ्चमा रामलीला देखाउन उद्यत छ, अदृश्य शक्तिका रूपमा । यो रामलीलाले समकालीन विश्वलाई त्रासद अवस्थामा बाँच्न बाध्य बनाएको छ । यो अदृश्य शत्रुको शंखनाद कति समय चल्ने हो, सर्वत्र अन्योल छ । भुइँ मानिसहरूमा मौन चिच्याहट छ ।
मानव सभ्यतालाई ढुंगे युगदेखि नै महामारीले मर्माहत पारेको इतिहास सजिलै गुगल गर्न सकिन्छ । महामारी कहिले मानव रोगका रूपमा, कहिले पशु रोगका रूपमा, कहिले खडेरीका रूपमा, कहिले बाली रोगका रूपमा र कहिले कुनै अन्य रूपमा आइरहन्छन् ।
महामारी मानव रोगका रूपमा आउँदा चिन्ता र चासो विश्वकै रहने गर्दछ । मानव जीवनसँग सम्बन्धित भएकाले पनि खास चासो भएको हुनुपर्छ । इतिहासको कालखण्डमा खाद्यजडित महामारी अर्थात् भोकमरी पनि उत्तिकै पीडकका रूपमा अगाडि आउँछ ।
बाली रोग र महामारी
सन् १९४३–४५ मा धानको खैरो थोप्ले रोगले भारतको बंगाल क्षेत्रमा भोकमरी लागेको थियो । यसलाई द ग्रेट बंगाल फेमिनका रूपले चिनिन्छ । अन्य कारणहरू जोडिए पनि खैरो थोप्ले रोगले उत्पादनमा पारेको ह्रासका कारण यो रोग निम्तिएको उल्लेख छ ।
मकैमा लागेको पश्चिमी पात डढुवाका कारण सन् १९७० का ताका अमेरिकामा एक अर्ब डलर बराबरको क्षति भएको थियो । सन् १८४०–५० तिर युरोपमा धुले ढुसी रोगले अंगुरमा ठूलो आर्थिक क्षति गरेको थियो । डाउनी मिल्ड्यु भन्ने अंगुरको रोगले सन् १८७०–८० मा फ्रान्सको वाइन उद्योगलाई क्षति पुर्याएको थियो । सन् १९०४–१९४० मा अमेरिकामा कटुसका बोटहरूमा डढुवाले सखाप पारेको थियो ।
कफीको सिन्दुरेलाई पहिलोपटक ब्रिटिस एक्सप्लोर (अन्वेषक) ले केन्याको भिक्टोरियाबाट सन् १८६१ मा रिपोर्ट गरेका थिए । यहाँबाट नै यो एसिया र अमेरिकामा फैलिएको मानिन्छ । सन् १९६७ मा श्रीलंकाको कफी खेती हुने प्रमुख क्षेत्रहरूबाट पहिलो पटक पहिचान भएको थियो । कसरी अफ्रिकाबाट सेल्योन पुग्यो भन्ने कुरा भने रहस्यमय नै छ । यसरी कफीको खेती सखाप भएपछि श्रीलंकामा चियाको खेती गर्न थालिएको हो ।
सन् १९७० मा सिन्दुरे रोग पश्चिमी गोलार्द्धमा पहिलो पटक ब्राजिलको बहिया राज्यमा देखा परेको थियो । यसपछि छिट्टै दक्षिण र मध्यअमेरिकी देशहरूमा कफी फैलिएको थियो । नेपालमा भने यसलाई सन् २०१५ मा ललितपुर जिल्लाबाट पहिलो पटक पहिचान गरिएको थियो । कफीको सिन्दुरे रोग हेमेलिया भस्टाट्रिक्स भन्ने ढुसीको संक्रमणबाट लाग्ने विनाशकारी रोग हो । यसले गर्दा कफी खेतीमा ठूलो नोक्सानी पुग्छ ।
सन् १९३०–५५ मा मध्यअमेरिकामा ‘पानामा विल्ट’ भन्ने रोगले केरा नै नष्ट पारेको थियो । त्यति बेला केरा पूरै मासिएर बिली जोन्सको ‘एस वि ह्याब नो बननाज’ भन्ने गीत निकै चर्चित बनेको थियो । पानामा विल्टले जब ग्रस माइकेल भन्ने जातको केरा सखाप पार्यो, तब वैज्ञानिकहरूले यो रोग प्रतिरोधी क्याभेन्डिस जात विकास गरे । बनना : द फेट अफ फ्रुट द्याट चेन्ज्ड द वर्ल्ड नामक पुस्तकका लेखक ड्यान कोइपेलले एक दशकअघि नै सम्भावित दुर्घटनाबारे विश्वलाई सचेत गराइसकेका थिए । पानामा विल्टको नयाँ रेसले हामीले खाने केरा नष्ट गर्न सक्छ भनेर । अझै पनि यो रोगको त्रास कायम नै छ ।
साइट्रस क्याङ्करले फ्लोरिडामा, साइट्रस कुइक डिक्लाइन (ह्रास) ले अफ्रिका, अमेरिकामा, पियर डिक्लाइन (ह्रास) ले क्यानडामा लाखौँ बोट मारेको थियो ।
यो पनि पढ्नुस
यही स्थिति रह्यो भने अहिले रोगलाई हामीले सहजै सामना गर्न सके पनि भोलिका दिनमा भोकलाई सामना गर्न सकौँला त ?
आयरल्यान्डमा सन् १८४५–५२ मा इरिस भोकमरी लागेको थियो । यसलाई दि ग्रेट हंगरका नामले चिनिन्छ । फाइटोप्थोरा इफेस्टेन्स भन्ने ढुसीले आलुमा डढुवा रोग (लेट ब्लाइट) लगाउँछ, जसलाई पछौटे डढुवा भनिन्छ । आइरल्यान्डमा त्यति खेर आलु मुख्य खाद्यबाली थियो । लेट ब्लाइटले पूर्ण रूपमा आलुमा क्षति पुर्याएपश्चात त्यहाँ भोकमरी लागेको थियो । यस भोकमरीले करिब १० लाख मानिसको मृत्यु र त्यति नै संख्यामा मानिसहरू आफ्नो ठाउँबाट विस्थापित हुनु परेको इतिहास छ ।
नयाँ चुनौतीका रूपमा आयातित मिचाहा प्रजाति
सन् २०१५ मा दक्षिण अमेरिकाको रैथाने टुटा एब्सोलुटा किरा सात समुन्द्र पार गरी नेपाल आइपुगेको कुरा हाम्रा वैज्ञानिकहरूले पुष्टि गरे । यसले गोलभेँडामा निकै क्षति पुर्यायो । सन् २०१९ मा अमेरिकाको रैथाने फौजी किरा पहिलोपल्ट नेपालमा भेटियो । मकैमा निकै क्षति पुर्यायो । हिउँदे र वर्षे दुवै मकैमा देखियो । यसपाला निकै आक्रामक रूपमा यसले क्षति पुर्याइरहेको छ । कोरोनाले थिलथिलो बनाएको हामीलाई पुन: भोकमरीले सताउन सक्ने देखिन्छ । आलुको बियाँमा लाग्ने पुतली (पीटीएम) पनि भारतबाट सन् १९६६ ताका आलुसँगै आयात भएको हो । स्याउमा लाग्ने लाही र सान जोस स्केल पनि भारतबाट सन् १९६२ सालमा नेपाल प्रवेश गरेको हो ।
अत्यन्तै विषालु अमेरिकी रैथाने पाती झार अर्थात् पार्थेनियमले पनि हाम्रा डाँडाकाँडा ढाकिसकेको छ । गन्धे चरी अमिलो पनि आयातित झार नै हो । मिचाहा प्रजातिका किरा वनस्पतिहरू आज नयाँ समस्याका रूपमा हाम्रो खाद्य प्रणालीसामु खडा भएका छन् । मिचाहा जातका वनस्पति किरा र जीवहरूको उपस्थिति अन्तर्राष्ट्रिय व्यापार, मानिसको यात्रा र आयातमुखी कृषिले निम्ताएका परिवर्तनहरू हुन् । यसै माध्यमबाट नयाँ बाली रोगका सूक्ष्म जीवहरू पनि आयात भइरहेका छन् । यिनीहरू आयात भएभन्दा भिन्नै नयाँ रूप धारण गरी हाम्रा कृषि प्रणालीमा धावा बोलिरहेका छन् ।
महामारीका रूपमा आउन सक्ने शत्रु–जीव
विश्वमा कृषि महामारीका रूपमा आउन सक्ने शत्रु–जीवहरूको सूची लामो छ । बाली रोग र किराले हाम्रा बालीनालीमा निकै क्षति पुर्याइरहेको कुरा छन् । सलह (मरुभूमिको फट्यांग्रा) को आक्रमणका कारण यसै साल सोमालिया र पाकिस्तानले सलहविरुद्ध लड्न राष्ट्रिय आपतकालको घोषणा नै गरेको थियो । अहिले भारतसम्म सलह आइपुगेको छ । सलहसँग जुध्न चीनले पनि उच्च सर्तकता अपनाएको छ । सलहलाई निकै विनाशकारी किरा मानिन्छ । एक औसत झुण्डले करिब २५ सय मानिसलाई पुग्ने बराबरको अन्न दैनिक खाने यस किरा करिब २०० किमि प्रतिदिन यात्रा गर्न सक्छ । विश्व खाद्य संगठनले विश्वमा नै मानवीय संकट उत्पन्न गराउन सक्ने सलहको क्षति न्यूनीकरणका लागि सबै राष्ट्रहरू तयार हुनुपर्ने बताएको छ ।
यो पनि पढ्नुस
कोभिड १९ को चिन्ताका बीच मानिसहरू बाली भित्र्याउँदै छन् । तर संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका उपायतर्फ त्यति ध्यान पुर्याउन सकेका छैनन् ।
ब्राजिलबाट सन् १९८५ बाट सुरु भएको गहुँको ब्लास्ट (मरुवा) रोग आज भारतसम्म आइपुगिसकेको छ । बंगलादेशबाट भारत पसेको यो रोगको फैलावट रोक्न एक हजार हेक्टरभन्दा बढी गहुँ बाली भारतमा बालेर नष्ट गरिएको थियो, यसै साल । बंगलादेशमा सन् २०१६ मा ब्लास्ट प्रथम पल्ट देखिएको थियो । यो नै गहुँको ब्लास्ट एसियामा पहिलो पल्ट देखिएको पहिलो तथ्य थियो । एक वर्ष नबित्दै भारतमा देखिएपछि नेपालमा पनि यो रोग फैलन सक्ने आशंका देखिएको छ ।
उत्पादन र क्षेत्रफलका हिसाबमा गहुँ नेपालमा तेस्रो महत्त्वपूर्ण बाली हो । यो रोगलाई अहिले अत्यन्तै संवेदनशील मानिएको छ । यो रोग म्याग्नार्पोथे ओराइजी नामक ढुसीका कारण लाग्ने गर्छ । खासगरी धानमा लाग्ने ब्लास्ट (मरुवा) रोग एक्कासि आक्रामक रूपमा गहुँमा फैलनुले वैज्ञानिकहरू यसको सामाधानका लागि उद्यत भइरहेका छन् । दक्षिण एसियाका वैज्ञानिकहरू यो रोगबारे अध्ययन गरिरहेका छन् ।
कफीमा ओइलाउने रोग, धानमा कालो पोके, गहुँमा सिन्दुरे रोग अहिले नयाँ चुनौतीका रूपमा हाम्रासामु आइरहेका छन् । नेपालमा केराका बोटहरू पनि मासिइराखेका छन् । सुन्तला जात कुहाउने औंँसा र सुन्तला जातको ह्रास पनि नयाँ चुनौतीका रूपमा हाम्रासामु छन् ।
बाली रोगको विज्ञान
मकै र गहुँको सुधारका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था सिमिटका ग्लोबल व्हिट कार्यक्रमका निर्देशक हान्स ब्राउनका अनुसार कोभिड १९ सँगै समानान्तर धेरै विषयहरू छन्, जुन बाली रोगसँग सम्बन्धित छन् र तिनलाई उच्च महत्त्व र प्राथमिकताका साथ हामीले सुल्झाउनुपर्ने आवश्यकता छ । मानवको रोगजन्य महामारीमा प्रयोग हुने इपिडेमियोलोजी मोडलहरू बाली बिरुवाको सन्दर्भमा पनि मेल खान्छन् र कतिपय त उस्तै छन् । बिरुवामा रोग लगाउने जीवाणुहरू करोडौँको संख्यामा उत्पादन भई हावाको माध्यमबाट निकै टाढासम्म पुग्छ र हाम्रा बाली बिरुवालाई रोगी बनाउँछ ।
जेट स्ट्रीममा पसेपछि यिनीहरूको यात्रा विश्वको कुनै पनि देशमा सजिलै हुन्छ । गहुँमा कालो सिन्दुरे रोग लगाउने युजी–९९ रेसले १४ वटाभन्दा बढी रूप परिवर्तन गरिसकेको अमेरिकी फाइटोप्याथोलोजिकल सोसाइटीले बताएको छ । हाम्रा रोग अवरोधी बालीनालीका जातहरूमा रोग लगाउने जीवाणुहरू उत्परिवर्तन भई बालीको प्रतिरोधी क्षमतालाई निस्तेज पारी रोगग्रस्त पार्दै छन् । नयाँ स्वरूपका जीवाणुहरू विस्तारै लाखौँको संख्यामा उत्पादन भई सानो ठाउँबाट धेरै देशमा प्रकोपको रूपमा देखा पर्न सक्छ । निकै उचाइको हावाको जेट स्ट्रीमबाट यात्रा गर्ने भएको हुँदा हामीले यिनलाई रोक्न सक्दैनौँ ।
निर्देशक हान्स ब्राउनले भनेझैँ कोरोनाजस्तै बिनापासपोर्ट यी डुलिरहन्छन् । हामीले चाहेर पनि क्वारेन्टाइनमा यिनीहरूलाई राख्न सक्दैनौँ । त्यति बेला हामीलाई साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने आइसोलेसन र क्वारेन्टाइन गर्ने सुविधा प्राप्त हुने छैन र भोकमरी निम्तिने खतरा रहन्छ ।
अन्तर्राष्ट्रिय बिरुवा स्वास्थ्य वर्ष
सन् २०१८ को संयुक्त राष्ट्र संघको साधारणसभाले सन् २०२० लाई अन्तर्राष्ट्रिय बिरुवा स्वास्थ्य वर्षको रूपमा मनाउने संकल्प घोषणा गरेको थियो । हामीले खाने अन्न र सास फेर्ने हावाको प्रमुख स्रोत नै बिरुवा हुन् । बाली बिरुवाको स्वास्थ्यले मानिसको स्वास्थ्य स्थितिलाई पनि प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । विश्व खाद्य संगठनले बाली रोग तथा किराका कारण करिब ४० प्रतिशत खाद्य बाली नष्ट गर्ने आँकडा उल्लेख गरेको छ । बढ्दो विश्वव्यापीकरणले बाली तथा बिरुवा स्वास्थ्यलाई चुनौतीहरू थपिरहेको छ ।
अहिले मानव स्वास्थ्यमा विपत्ति आउँदा हामी खाद्य वितरण प्रणाली सबल बनाइरहेका छौँ । कोरोनाको महामारी आउला भनेर कसले पो सोचेको थियो र ? तर सोचौँ त, हामीले खाने अन्नबालीमा रोग किराको महामारी लागे कुन अस्पताल जान्छौँ होला । यसरी अनिकाल नलाग्ला भन्न सक्ला, कसैले ?
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...