आर्थिक मन्दीसँग कसरी जुध्ने ?
आर्थिक क्षति नियन्त्रणका लागि कृषि, उद्योग र प्रधानमन्त्री रोजगार कार्यक्रम सहायक बन्न सक्छन्
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखे पनि स्रोत व्यवस्थापनको चुनौती
अर्थमन्त्री युवराज खतिवडा तेस्रो पटक बजेट ल्याउने तयारीमा छन् । पहिलो बजेट यथार्थपरक बनाउन खोजे पनि नेकपाभित्रैबाट तीव्र आलोचना खेपेका उनले गत आर्थिक वर्ष ०७६/७७ मा भने लोकरिझ्याइँ बजेट ल्याए ।
तर आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट कोरोना भाइरसबाट सिर्जित समस्यालाई हल गर्दै अर्थतन्त्र चलायमान बनाउने, स्वास्थ्य क्षेत्र पूर्वाधार विस्तार र स्तरोन्नति, रोजगारी सिर्जना, कृषिसँगै उत्पादनमूलक उद्योगको विस्तारमा केन्द्रित हुने देखिन्छ ।
२८ वैशाखको प्रतिनिधिसभा बैठकमा ‘बजेट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) को विधेयक’ प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य संकट न्यूनीकरण गर्न चालिएका कदमबाट विश्व अर्थतन्त्र नै प्रभावित हुन पुगेको छ । मानव जीवनमाथिको यो संकटले विश्वव्यापी मान्यता र प्राथमिकताहरू पुन: परिभाषित हुन थालेका छन् ।’
खतिवडाले भनेझैँ कोरोनाको जोखिम न्यूनीकरण गर्न अवलम्बन गरिएका लकडाउन, हवाई उडानमा रोकलगायतका कारण नेपालले पनि आर्थिक समस्याको सामना गर्नु परेको छ । लकडाउनका कारण मात्रै २ खर्ब रुपैयाँभन्दा बढीको क्षति भएको आकलन गरिएको छ ।
यसअघि पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आएकामा अर्थमन्त्री खतिवडाले आगामी बजेटमा आयोजनाहरूको पुन: प्राथमिकीकरणको घोषणा गरेका छन् भने सामाजिक पूर्वाधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ ।
‘हाम्रो बाहिरी क्षेत्रसँगको श्रम, पर्यटन, व्यापार एवं लगानीमा कायम भएको अन्तरआबद्धताका कारण श्रम बजार, निर्माण, उत्पादन, पर्यटक आवागमन र आपूर्ति शृंखलामा गहिरो प्रभाव परेको छ,’ खतिवडाले भनेका छन् । सरकारले कोरोना भाइरसबाट सिर्जित संकटको असरलाई न्यूनीकरण गर्न ध्यान दिने देखिन्छ ।
यो पनि पढ्नुस
आर्थिक क्षति नियन्त्रणका लागि कृषि, उद्योग र प्रधानमन्त्री रोजगार कार्यक्रम सहायक बन्न सक्छन्
सरकारले प्रि–बजेटमा पहिलो प्राथमिकतामा गुणस्तरीय एवं सर्वसुलभ स्वास्थ्यलाई राखेको छ । खतिवडाले तत्काल कोरोना महामारीसँग जुध्न तथा भविष्यमा आउन सक्ने यस्तै किसिमका प्रकोप सामना गर्न आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता भएको बताए । स्वास्थ्य पूर्वाधार, जनशक्ति उत्पादन तथा उपकरण व्यवस्थापनका लागि तीन वटै तहका सरकारबीच समन्वय गर्ने गरी बजेट तथा कार्यक्रम तर्जुमा हुने विधेयकमा उल्लेख छ ।
वैदेशिक सहायता परिचालनको रणनीति पनि फेरेर स्वास्थ्य तथा दिगो विकास आयोजनामा परिचालन गर्ने रणनीति लिइने खतिवडाले जनाए ।
कोरोनाका कारण वैदेशिक रोजगारीमा गएकाहरूको काम खोसिने जोखिम बढेको आकलन गरिँदै छ । यदि वैदेशिक रोजगारीमा गएकाहरू बेरोजगार हुने स्थिति आयो भने तिनका परिवारको जीविकोपार्जनमा असर पर्ने नै छ, बेरोजगारी र गरिबीको दर पनि बढ्न सक्छ ।
यो अवस्थामा सरकारले आगामी बजेटमा रोजगारीलाई प्राथमिकता दिने गरी प्रि–बजेट सदनमा प्रस्तुत गरेको छ । अब सदनमा सांसदहरूले सुझाव दिनेछन् ।
खतिवडाले सदनमा जनाएअनुसार कोरोनाका कारण गुमेको रोजगारीलाई पुनर्स्थापित गर्न, वैदेशिक रोजगारीबाट फर्केका एवं फर्कन सक्नेका लागि रोजगारी उपलब्ध गराउन र स्वरोजगार दर बढाउने गरी बजेट तर्जुमा गरिनेछ । त्यसका लागि कृषि, साना, घरेलु तथा मझौला उद्योग र सेवालाई प्राथमिकता दिएर त्यसमा संलग्न हुन उत्प्रेरित गरिनेछ ।
‘रोजगारीका कारण प्रदेश र स्थानीय तहको समन्वयमा एकीकृत रूपमा कार्यक्रम सञ्चालन गरिनेछ । सीपमूलक तालिमलाई प्राथमिकतामा राखेर उत्पादनसँग जोडिनेछ,’ अर्थमन्त्रीले भने ।
मुलुक ११ चैतदेखि लकडाउनमा रहेका कारण सबभन्दा बढी प्रताडित ज्यालादारीमा काम गर्ने श्रमिक छन् । अहिले उनीहरूलाई सरकारले राहत वितरण गरिरहेको छ भने पछिल्लो पटक सार्वजनिक काममा लगाएर ज्याला दिने रणनीति अघि सारिएको छ । कोरोना संकट अन्त्य हुने यकिन नभएको र यो क्षेत्र बढी जोखिममा रहने देखिएकाले अब अनौपचारिक क्षेत्रमा श्रम गर्नेलाई श्रममूलक प्रविधिमार्फत रोजगारीमा आबद्ध गरिने गरी बजेट तर्जुमा गरिने भएको छ ।
यो पनि पढ्नुस
कोरोनाका कारण विश्व अर्थव्यवस्था नै मन्दीमा रहेका बेला नेपालले अर्थतन्त्र जोगाउन समयमै उचित कदम चाल्नुको विकल्प छैन
आगामी बजेटमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम प्राथमिकतामा पर्ने संकेत देखिएको छ । योसँगै सामाजिक सुरक्षाका कार्यक्रम एकीकृत ढंगबाट अगाडि लैजाने अर्थमन्त्रीले घोषणा गरेका छन् । श्रम एवं उत्पादनमूलक उद्योगमा स्वदेशी र बाह्य लगानी बढाउन प्रोत्साहन गरिने गरी बजेट तर्जुमा हुने देखिन्छ ।
सरकारले आगामी बजेटमा प्राथमिकतामा राखेको अर्काे क्षेत्र हो, कृषि । अहिले कृषिको उत्पादन शृंखला टुटेको छ । लकडाउनमा कृषिजन्य उत्पादनको ढुवानी निरन्तर भनिए पनि नेपाली उपज बारीमै सड्न पुगेको छ भने भारतबाट आयात कायमै छ ।
यो अवस्थालाई दृष्टिगत गर्दै सरकारले कोरोना महामारीबाट प्राप्त सम्भावनालाई पुनर्स्थापित हुने अवसरको रूपमा लिने स्रोत–साधन कृषि क्रान्तितर्फ परिचालन गर्ने बताएको छ । ‘कृषिलाई व्यवसायिकीकरण एवं यान्त्रिकीकरण गरेर खाद्य सुरक्षा, कृषकको आयस्तरमा सुधार र आयात प्रतिस्थापन गरिनेछ । सिँचाइ, प्रविधि र बजार सुनिश्चित हुने गरी बजेट तर्जुमा हुनेछ,’ खतिवडाले भने । यसका लागि सामूहिक खेती, भूमि बैंक र सबैमा भूमिको पहुँचका लागि सरकारले नीति बनाउने देखिन्छ ।
सरकारले आगामी बजेटमा विकासका नयाँ योजना अगाडि नसार्ने मनसाय बनाएको छ । बरु सञ्चालित र १५ औँ योजनाबाट स्वीकृत आयोजनालाई नै प्राथमिकताका आधारमा अगाडि बढाइनेछ । आयोजनालाई स्रोत–साधन अभाव हुन नदिने गरी अगाडि बढाइने उल्लेख छ ।
कोरोनाका कारण निजी क्षेत्रलाई परेको असर न्यूनीकरण गर्न कर सहुलियत र मौद्रिक उपकरणमार्फत सहुलियत दिने गरी प्याकेज आउन सक्ने देखिएको छ । तर करको दर नभई दायरा विस्तार गरिनेछ । योसँगै नवप्रवद्र्धक उद्यमलाई प्रवद्र्धन गरिनेछ । पर्यटन क्षेत्रलाई विशेष प्याकेज आउने खतिवडाले उल्लेख गरे ।
यो पनि पढ्नुस
विपद्ले संकटमात्र निम्ता गर्दैन, सपना पनि रेखांकित गरिदिन्छ । त्यसै भनिएको होइन– समस्या नै आविष्कारको जननी । कोरोना महाव्याधिपछिको नयाँ वर्षमा नेपालसँग कस्ता अवसर छन् त ?
स्रोतमा चाप
सरकारलाई आगामी १५ जेठमा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छ । तर कार्यक्रमका लागि स्रोत व्यवस्थापनको ठूलो चुनौती छ ।
आगामी वर्ष महत्त्वाकांक्षी योजना आउने छाँट त छैन । तर कोरोनाका कारण आर्थिक संकट गहिरिँदै गएका बेला चालू आवमै राजस्वमा खाडल छ । यसको असर आगामी आवमा पनि पर्नेछ । बजेटमा करको दर बढ्ने अवस्था देखिँदैन ।
आन्तरिक एवं बाह्य ऋण उठाउने आफ्नै सीमा हुन्छ । द्विपक्षीय लगानी र सहयोग भित्रिने छाँट छैन ।
खतिवडाले अन्तर्राष्ट्रिय सहायता परिचालनमा विशेष ध्यान दिने बताएका छन् भने कर प्रणालीमा सहजीकरण तथा चुहावट नियन्त्रण र दायरा विस्तार गरिने उल्लेख गरेका छन् ।
पूर्वअर्थसचिव शान्तराज सुवेदी बजेट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका आधारमा बजेट बनाएर कार्यान्वयनमा जाँदा समस्या नपर्ने बताउँछन् । तर त्यसका लागि धरातल हेरेर बजेटको आकार बनाउनुपर्ने उनको सुझाव छ ।
कोरोना संकटले पर्यटन र रेमिटेन्समा कस्तो असर पर्ला ? सुजीव शाक्यको विचारको विचार पोडकास्टमा :
लकडाउनका कारण सबैभन्दा संकटमा त्यस्ता आर्थिक इकाई परेका छन्, जसले न आफ्नो उत्पादन सञ्चय गर्न सक्छन्, न त पुनः व्यवसायलाई चाहिने पुँजीको सञ्चय । यस्तो अवस्थामा अर्थतन्त्रमा कस्तो असर पर्ला ? रामेश्वर खनालको पोडकास्ट ।
कोभिड १९ को आर्थिक झड्का कस्तो पर्ला ? अर्थशास्त्री रेशम थापाको विचार पोडकास्टमा :
कोरोना संकटले गरिबी र बेरोजगारी दुबै बढाउन सक्छ । सरकारले कस्तो नीति लिनुपर्छ ? अर्थशास्त्री चन्दन सापकोटाको विचार पोडकास्टमा :
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...