कोरोनाले ब्युँताएको कृषिको साख
कोरोना संक्रमणपछि आउन सक्ने खाद्य संकटलाई सम्बोधन गर्न कृषिमा के-के गर्नुपर्छ ?
लकडाउनले जीविकोपार्जन खोसेपछि थातथलो फर्किनेहरूको अठोट
उकाली ओराली गर्दै
आँखाभरि रहर भर्दै
आँधीबेहरीसँग लड्दै
खोलानाला सागर तर्दै
दु:ख पीडा बिर्संदै म आएँ
आफ्नै गाउँ फर्की आएँ
नयाँ नयाँ सपना ल्याएँ...
रत्नशमशेर थापाको रचनामा सोनु निमगले गाएको सिमाना चलचित्रको यो गीतमा भनेझैँ अधिकांश मान्छेहरू अहिले नयाँ–नयाँ सपना बुनेर आफ्नै गाउँ फर्किएका छन् । लामो समय कामको खोजी गर्दै देश–विदेश चहारेका धेरै मानिसले अब गाउँमै विभिन्न उद्यम गर्ने सपना पालेका छन् ।
विश्वभर कोरोना संक्रमण फैलिएर लकडाउन भएपछि धेरै मानिसले आफ्नै गाउँघर सम्झेका हुन् । अनेक दु:ख–कष्ट झेल्दै, आँधीबेहरीसँग लड्दै उनीहरू हप्तौँसम्म हिँडेरै गाउँ फर्किएका छन् ।
जीवनका दुई/तीन दशक घरबाहिर काम खोज्दै बिताएकाहरू पनि अब गाउँमै इलम गर्ने योजनामा पुगेका छन् । घरबाहिर कुनै पनि बेला भोकै मर्न सक्ने अवस्था उनीहरूले पहिलो पटक देखेका छन् ।
सबभन्दा भरपर्दो आफ्नै गाउँघर र त्यहीँको खेतीपाती हुने निष्कर्षमा धेरै मानिस पुगेका छन् । यिनैमध्येका एक हुन्, रोल्पा माडी गाउँपालिका– १ पेदीखोलाका ४१ वर्षीय कर्णवीर बुढा मगर । उनले २६ वर्षसम्म काठमाडौँस्थित कालीमाटी तरकारी बजारमा भारी बोक्ने काम गरे । “दैनिक भारी बोक्ने काम खोज्दै हिँड्थेँ । काम भेटाएपछि तत्कालै नगद पाइन्थ्यो । ज्यान पाल्न केही समस्या थिएन,” कर्णवीर भन्छन्, “लकडाउनले हप्तौँसम्म काम नपाएपछि धेरै दिन त सुतीसुती खाइयो । कमाएको पैसा सकिएपछि मात्र गाउँको यादले सतायो ।”
काठमाडौँबाट पैदलै घोराही पुगेपछि उनले बल्ल घरनजिक आएको महसुस गरे । घर पुग्न एक साताभन्दा बढी पैदल हिँडेपछि उनले जीवनमा कहिल्यै नसिकेको पाठ पनि पहिलोचोटि भोगे । “खेतीपाती नै ठूलो रहेछ । मेरो त बल्ल चेत खुल्यो,” भन्छन्, “यत्रो वर्ष कालीमाटीमा तरकारी बोकियो, ज्यान पाल्नेबाहेक अरू केही भएन । आपद् पर्दा त झन्डै भोकै मरिएन ।”
दिनदिनै नगद पाउने र किनेर खाने काम भरपर्दो नभएको उनले सुनाए । “बिरानो थलोमा केही दिन बन्द भए भोकै मर्ने अवस्था आउने रहेछ । घरमा त वर्षैभर पुग्ने अन्न पहिले नै जोहो गरिएको हुन्छ,” कर्णवीर भन्छन्, “खेतीभन्दा ठूलो केही होइन रहेछ ।”
उनले गाउँ फर्केर आफ्नै पाखो बारीमा इलम गर्ने सोच बनाएका छन् । आफ्नै पाखामा सुन्तला घारी छ । त्यही खेती गर्ने सपना बुनेका छन् ।
भन्छन्, “अलैँची, कागती, तरकारी जे खेती गरे पनि भयो । नजिकै दहवन र होलेरी बजार छ । जति पनि बिक्री हुन्छ ।”
यो पनि पढ्नुस
कोरोना संक्रमणपछि आउन सक्ने खाद्य संकटलाई सम्बोधन गर्न कृषिमा के-के गर्नुपर्छ ?
अब कालीमाटीको होइन, आफ्नै पाखाको तरकारी बोक्ने योजनासहित घर फर्केको उनले सुनाए । घर गएर खेती नगरे आफू मात्र नभई सबै परिवार भोकले मर्ने अवस्था आउने चिन्ता उनको छ । कर्णवीर भन्छन्, “५ छोराछोरीसहित १० जनाको परिवार छ । सबैले काम गर्ने हो भने कृषिबाट धेरै उब्जनी लिन सकिन्छ ।”
रोल्पाकै माडी– १ अरल्नेटाका ४६ वर्षीय खिमबहादुर डाँगीले कालीमाटी तरकारी बजारमै भारी बोकेर ३२ वर्ष बिताए । लकडाउनले उठीबास लगाएपछि पहिलो पटक उनी घरमै काम गर्ने सोचले गाउँ फर्केका छन् । “योभन्दा पहिले चाडपर्वमा घर आइन्थ्यो । चाड सकिएपछि फेरि काठमाडौँ जान हतार हुन्थ्यो,” डाँगी भन्छन्, “अब त लकडाउन खुले पनि फर्किने मन छैन । आफ्नै खेतबारीमा उब्जनी गरेर खाने हो ।”
डाँगी अर्काको भारी बोकेर जुनी बिताए पनि प्रगति केही नभएको गुनासो पोख्छन् । भन्छन्, “ज्यान पाल्न मात्रै ठिक्क भयो । यत्तिको ज्यान त घरमै काम गरेर पनि पाल्न सकिन्छ । भारी बोक्ने बल हुँदासम्मको काम हो । अब तागत सकिएपछि फेरि भोकै मर्ने बेला आउँछ ।”
अरल्नेटाकै ५२ वर्षीय देवीराम डाँगीले पनि २२ वर्षसम्म कालीमाटी तरकारी बजारमै भारी बोके । उनी पनि पहिलोपल्क गाउँ सम्झेर फर्केका छन् । भन्छन्, “म त अब नफर्किने गरी आएको छु । गाउँमै भएको जग्गा जोत्ने हो । आफ्नो जग्गा बाँझो राख्ने, अर्काको भारी बोक्ने । यो त गलत काम भएछ । लकडाउनले बल्ल बुद्धि आएको छ ।” दिनदिनै भारी बोकेर हिँडे पनि आपद्तविपद्मा यो कामले बचाउन सक्ने नसक्ने निष्कर्षमा उनी पुगेका छन् ।
अरल्नेटाकै ४३ वर्षीय लालबहादुर डाँगीले पनि कालीमाटी तरकारी बजारमै २० वर्ष बिताए । उनलाई पनि लकडाउनले घर फर्काएको छ । “आजभोलि भन्दाभन्दै लकडाउन खुलेन । भएको कमाइ पनि सकिन थालेपछि अन्तमा घर हिँडियो,” एक सातापछि घोराही पुगेका डाँगी भन्छन्, “बाटोभरि नपाउनु दु:ख पाइयो नि । गाउँघरको खुब याद आयो ।”
बाटोमा कतै ट्रकमा चढेर आए, कतै हिँड्दै । घोराही पुगेपछि बल्ल उनले होलेरीसम्म जाने बसमा चढ्न पाए । “लामो समय हिँडेपछि बल्ल बस चढियो । बाटोमा कतै कोइला, कतै बालुवा, कतै भुसका ट्रकमा चढियो,” लालबहादुर सुनाउँछन्, “अब घर पुगेपछि बल्ल मनले शान्ति पाउँछ । मन आत्तिएर हैरान भयो । उता घरकालाई चिन्ता, यता आफूलाई । अब त घरमा परिवारसँगै बसेर काम गर्ने हो ।”
अरल्नेटा गाउँका अधिकांश पुरुष यसैगरी काठमाडौँलगायत विभिन्न ठाउँमा काम खोज्दै हिँड्ने गरेको सोही गाउँका ३० वर्षीय विशाल वलीले सुनाए । “मैले नै कालीमाटी तरकारी बजारमा १२ वर्ष बिताइसकेँ । गाउँका साना काम पनि नगर्ने, बाहिर जे पनि गर्ने हाम्रो चलन छ,” उनी भन्छन्, “अब धेरैको बुद्धि पलाएको छ । गाउँघरमा त्यत्तिकै दु:ख गर्ने हो भने धेरै उब्जनी लिन सकिन्छ ।”
कालीमाटीमा एक पटकको भारीमा १ सय ८० किलोसम्म बोक्ने गरेको उनले सुनाए । अब गाउँमै मिहिनेतका साथ कृषि कर्ममै लाग्ने सोच बनाएको वली बताउँछन् ।
त्रिवेणी गाउँपालिका– २ दहवन रोल्पाका ५२ वर्षीय सुशीलकुमार विकले पनि मजदुरी गरेरै जीवन बिताए । उनले आफू मात्रै होइन, परिवारका सबै सन्तानलाई समेत यसैगरी घरबाहिरको काममा लगाए ।
पर्साको चैनपुरस्थित इँटाभट्टा उद्योगमा काम गरिरहेका बेला लकडाउन भयो । केही दिन आफूसँग भएको खाएर उतै बसे तर धेरै दिनसम्म नखुलेपछि भोकले मर्ने डरले उनी पनि हिँडे ।
“यो बुढेसकालमा बाटोमा भोकभोकै हिँड्दा घर पुगिँदैनजस्तो लागेको थियो । घर छाड्दा साह्रै दु:ख पाइयो,” उनी भन्छन्, “गरिबलाई बाँच्न पनि यति गाह्रो छ हजुर । खान नपुगेर काम गर्न गइयो । अहिले खानै नपाएर घर फर्कनुपर्यो । अब त गाउँमै काम गर्ने हो । बाहिर गएर केही भएन ।” मजदुरी गरेरै जीवन बिते पनि अन्तमा आफ्नै गाउँघर नै सुरक्षित लागेको उनी सुनाउँछन् ।
रोल्पाकै रुन्टीगढी गाउँपालिका– ७ सतिनकी २५ वर्षीया गीता नेपालीले पनि पर्साकै चैनपुरस्थित इँटा उद्योगमा काम गर्थिन् । बुबा सुशीलकुमारको पछि लागेर काममा गएकी गीता भोकभोकै हुने अवस्था आएपछि ६ वर्षीया छोरी करिश्मालाई बोकेर पर्साबाट हिँड्न सुरु गरिन् । उनी पनि अरूजस्तै लामै समय घर जाने दिन पर्खेर बसिन् । केही उपाय लागेन । अन्तमा पैदल यात्राको विकल्प रहेन ।
“दुई दिन, दुई रात कतै ट्रक, कतै पैदल गर्दै आइयो,” ७ वैशाखमा घोराही पुगेकी गीताले भनिन्, “छोरी बोक्नु कि सामान ।” उनले पनि अब गाउँमै बसेर खेतीपाती गर्ने सोच बनाएकी छिन् ।
रुन्टीगढी गाउँपालिका– ७ कोबाङ रोल्पाका २३ वर्षीय भीम रसाइलीले लामो समय चितवनमा घर बनाउने काममा मजदुरी गरे । श्रीमती रूपा र अढाई वर्षकी छोरी शोभालाई पनि साथमै लिएर गए । जसोतसो ज्यान पालिरहेका थिए । लकडाउन भएपछि उनको परिवार पनि विचल्लीमा पर्यो ।
अन्तमा उनको परिवार पनि हिँड्दै घरतिर लाग्यो । उनी पनि अब गाउँमै खेतीपाती गर्ने योजनामा पुगेका छन् । “अब मजदुरी गर्न फर्केर पनि गइँदैन । गाउँमै खेतीपाती गर्ने हो,” भीम भन्छन्, “अर्काको घरमा काम खोज्दै हिँडेर साध्य हुँदो रहेनछ । घरमै खेती गरेपछि जसरी पनि ज्यान पालिन्छ । राम्रोसँग गरे त्यही बेचेर पैसा आइहाल्छ ।”
कृषिमा सम्भावनै सम्भावना
राप्तीका पहाडी जिल्लाबाट विभिन्न ठाउँमा मजदुरी गर्न गएका मानिस अब गाउँमै खेतीपाती गर्ने भन्दै फर्किनुलाई कृषिविज्ञहरूले निकै सकारात्मक रूपमा लिएका छन् । आजसम्म आफ्नै खेतबारी नचिनेका कारण धेरै मानिसले दु:ख पाएको उनीहरूको निष्कर्ष छ ।
मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लामा कृषि अनुसन्धानकर्ताका रूपमा लामो समय काम गरेका कृषिविज्ञ गोविन्द केसी कृषिमा अनेक सम्भावना भएको बताउँछन् । “कृषिमा अहिले नै नाफा हुँदैन । केही समय पर्खनुपर्छ । मानिसहरू धैर्य गर्न सक्दैनन्,” उनी भन्छन्, “अहिले धेरै मानिस कृषिमा काम गर्ने सोचका साथ गाउँ फर्कनु सकारात्मक हो । यहाँ धेरै सम्भावना छन् ।”
केसीका अनुसार पहाडमा बाख्रापालनको राम्रो सम्भावना छ । घाँसपाखा प्रशस्त भएकाले बाख्रापालनबाट राम्रो आम्दानी गर्न लिन सकिने केसीको तर्क छ । यसैगरी धेरै जमिन बाँझो भएकाले कुनै पनि जमिन खाली नराखेर काम गर्ने सोचका साथ गाउँ पस्न जरुरी रहेको उनले सुनाए ।
“अब जग्गा खाली नछाडेर काम गर्नुपर्छ । धान, गहुँ, मकै, जहाँ जुन बाली हुन्छ, त्यसकै खेती गर्नुपर्छ,” उनी भन्छन्, “जुन क्षेत्रमा जे उत्पादन हुन्छ, त्यसमै ध्यान दिनुपर्यो । धेरै अन्न बाहिरबाट आउँछ, यहाँ उत्पादन गरिएको छैन । अब उत्पादन गरेर निर्यात गर्ने अवस्थामा पुर्याउन सकिन्छ ।”
किसानले परिवार पाल्ने उद्देश्यले मात्र नभई व्यावसायिक तरिकाले खेती गर्न आवश्यक रहेको उनी बताउँछन् । “आजसम्म अधिकांशको घरपरिवारले खाने मात्रै उब्जनी गर्ने चलन छ । यस्तो परम्परागत तरिकाले हुँदैन,” केसी भन्छन्, “कृषिको उत्पादन बिक्री र बचत गर्ने चलन बढाउनुपर्यो ।”
धेरै किसानले खेतीपातीलाई गम्भीर पेसाका रुपमा नलिएको उनको ठहर छ । “बिउ छर्ने त हो भन्ने मात्रै सोचाइ छ । जस्तो, मकै छरिदियो अनि एकै पटक घोगा टिप्न गयो,” उनी भन्छन्, “यसरी त उब्जनी राम्रो हुँदैन नि । मध्यपश्चिम क्षेत्रमा धेरैजसो बारीमा २५/३० प्रतिशत बोट घटेको हुन्छ । प्रतिरोपनी ३ हजार मकै बोट हुनुपर्नेमा २ हजारजति मात्र हुुन्छ । यसले त घाटा हुन्छ ।”
राम्रो उत्पादनका लागि बीचबीचमा गोडमेल, मलपानी, काँटछाँट, हेरदेख र स्याहारमा पनि ध्यान दिन आवश्यक रहेको उनी सुनाउँछन् ।
केसीका अनुसार बजार नजिक हुनेले तरकारी, च्याउजस्ता खेती पनि गर्न सक्छन् । फलफूल र कागतीको पनि धेरै माग छ तर उत्पादन छैन । यसमा पनि ध्यान दिन सकिने उनी बताउँछन् । केसी भन्छन्, “एक–दुई किसानले मात्रै गरेर हुँदैन । ठूलो संख्याले गरे यसको बजार विस्तारमा सजिलो हुन्छ । प्रविधि अपनाएर खेती गर्नुपर्छ । पुरानो तरिकाले हुँदैन ।” साथै, पशुपालनमा पनि राम्रो सम्भावना रहेको केसी सुनाउँछन् ।
यो पनि पढ्नुस
कोभिड १९ को चिन्ताका बीच मानिसहरू बाली भित्र्याउँदै छन् । तर संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका उपायतर्फ त्यति ध्यान पुर्याउन सकेका छैनन् ।
किसानलाई प्रोत्साहन जरुरी
गाउँ फर्केका मानिसलाई कृषिमा प्रोत्साहन गर्न जरुरी रहेको कृषिविज्ञ केसी बताउँछन् । “अहिले हाम्रा आवश्यकता बढेका छन् । पैसा बढी चाहिएको छ । तत्काल पैसा हुने कामको खोजी गरेर दौडने चलन छ,” उनी भन्छन्, “लागत हिसाब गर्दा कृषिमा तत्काल धेरै फाइदा नदेखिने हुँदा किसान जाँगर गर्दैनन् । सरकारले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममा जोड दिनुपर्छ ।”
तीन दशकको अवस्था हेर्दा कर्मचारीको २०/२२ र अन्य श्रमिकको ३५ गुणा बढी तलब बढ्दा कृषि उत्पादनको ६/७ प्रतिशत मात्रै मूल्य बढेको केसीले जानकारी दिए । “यसरी कृषि पेसालाई माथि उठाउन सकिँदैन । अन्य व्यवसायमा हिसाब गरेर मात्रै मूल्य तोक्छन् तर किसानले मूल्य बढाएर बिक्री गर्न सक्दैनन्,” उनी भन्छन्, “त्यसकारण पनि किसान पीडित नै छन् । सरकारले कृषि प्रोत्साहनका कार्यक्रम ल्याउनैपर्छ । किसानले पनि अरू उपायभन्दा भएको कृषिमा सम्भावना खोज्नुपर्छ ।”
अब गाउँमा ठूलो संख्यामा युवाहरू पसिरहेकाले तिनलाई कृषिमा लगाउने योजना ल्याउनैपर्ने सुझाव केसीको छ । “सरकारले नगद, उपकरण या मल, बिउमा सहयोग गरेर युवालाई कृषिमा प्रोत्साहन गर्नैपर्छ,” केसी भन्छन्, “मल, बिउ आपूर्ति, बिउ उत्पादनमा प्रोत्साहन, बाली संरक्षण, विषादी व्यवस्थापन, सिञ्चित क्षेत्र बढाउने हो भने कृषि उत्पादकत्व वृद्धि गर्न सकिन्छ ।”
पश्चिम नेपालमा हिउँदमा ६० प्रतिशत जमिन बाँझो रहनुको मुख्य कारण सिँचाइ अभाव नै रहेको उनको दाबी छ । “सिँचाइ हुनेबित्तिकै धेरै खाले खेती गर्न सकिन्छ । सिँचाइ नभएका कारण गरिएका खेतीले पनि बढी फाइदा दिन सक्दैनन्,” केसी भन्छन्, “जस्तो, सिँचाइ नहुँदा धानको बिउ समयमा राख्न सकिँदैन । त्यसले गर्दा बिउ बिग्रन्छ, ढिलो रोपिएको धानमा झार उम्रन्छ, ढिलो रोप्दा गाँज धेरै हाल्न सक्दैन । पछि पाक्न ढिलो भए चिसोले भेटेर फल राम्रो हुन सक्दैन ।”
कृषिमा लगानी बढाउने तयारी
लकडाउनसँगै सबैको ध्यान कृषि उत्पादनमा जान थालेपछि प्रदेश ५ सरकारले यस क्षेत्रमा बजेट बढाउने तयारी गरिरहेको छ । गत वर्ष १३ प्रतिशत रहेको कृषिको बजेट अहिले २० प्रतिशत पुर्याउने तयारी भइरहेको प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि महाशाखाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले जानकारी दिए ।
“अहिले कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सोच सबैलाई आएको छ, जुन सकारात्मक हो । हामी पनि कृषिमा बजेट बढाउने तयारीमा छौँ,” उनी भन्छन्, “कोरोनाले स्वास्थ्य क्षेत्रमा समस्या ल्याए पनि कृषिका लागि धेरै पाठ सिकाएको छ । खाद्यान्न उत्पादन महत्त्वपूर्ण कुरा हो भन्ने महसुस सबैलाई भएको छ ।”
अब गाउँको जनशक्तिलाई त्यही अड्याउन कृषिमा विभिन्न राहत र अनुदानका कार्यक्रममा जोड दिन थालेको उनले जनाए । “अर्को वर्षका लागि नीति तथा कार्यक्रम बनाउने क्रममा भएकाले हामीले किसानलाई सहुलियत दिने योजनामा जोड दिइरहेका छौँ”, ज्ञवाली भन्छन्, “बाली नोक्सानी हुँदा क्षतिपूर्ति र राहत दिने, मल, बिउ, विषादी उपलब्ध गराउने, प्राविधिक सेवा आबश्यक पर्दा पुर्याउने र सहुलियतमा ऋण दिनेमा हाम्रो जोड हुँदै छ ।”
किसानलाई कसरी व्यावसायिक बनाउने भन्नेमा मन्त्रालय गम्भीर छलफलमा रहेको ज्ञवाली सुनाउँछन् । भन्छन्, “कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने हाम्रो मुख्य जोड छ । यसका लागि अहिले गाउँ पसेको जनशक्तिलाई कसरी यस पेसामा आकर्षित गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ । हामीले यसैलाई मुख्य प्राथमिकता दिएका छौँ । अब किसानले कृषिमा सम्भावना देख्ने अवस्था सिर्जना हुन्छ ।”
गाउँका कतिपय परम्परागत कृषिका तरिका निकै वैज्ञानिक र दीर्घकालीन सोचाइका रहेकाले त्यसको महत्त्व अहिले बढेको ज्ञवालीको तर्क छ । “खाद्यान्न सञ्चित गरिराख्ने पुरानो तरिका अवलम्बन गर्नुपर्ने देखिन्छ । साग सुकाएर राख्ने, लामो समयपछि खाने चलन वैज्ञानिक छ,” उनी भन्छन्, “अहिले अभाव हुँदा त्यसको महत्त्व थाहा भएको छ । यस्ता परम्परागत सीपलाई घरमा र व्यावसायिक रूपमा प्रयोग गर्न सकिन्छ । फेरि पहिलेको काम नै महत्त्वपूर्ण भन्ने अवस्था आएको छ ।”
यो पनि पढ्नुस
कोरोनाले थिलथिलो बनाएको हामीलाई भोकमरीले पनि सताउन सक्ने देखिन्छ । विपत्तिका बेला खाद्य वितरण प्रणाली कसरी सबल बनाउने ?
मन्त्रालयले यसअघि नै कृषि उत्पादनलाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाई किसानको आयस्तर बढाउन ‘स्मार्ट कृषि गाउँ’ कार्यक्रम सञ्चालन गरिराखेको र त्यसबाट पनि तिनले फाइदा लिन सक्ने उनले जनाए । यसका लागि किसानलाई उपयुक्त कृषि सूचना र नवीनतम प्रविधिको जानकारी दिन प्रदेशका ५२ निर्वाचन क्षेत्रमा कृषि गाउँ कार्यक्रम सुरु गरी एक/एक सूचना केन्द्र स्थापना गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत तरकारी, धान, मकै, दलहन, तेलहन, मसला बाली, सुन्तला, अलैँची, तोरीलगायत खेती भइरहेको मन्त्रालयले बताएको छ । यसैगरी भैंसी, गाई, बाख्रा, भेडालगायत पशुपालनका साथै माछापालनमा पनि धेरै किसान संलग्न रहेको मन्त्रालयको भनाइ छ ।
अब कृषि कर्म गर्न चाहनेहरू यीमध्ये कुनै पनि क्षेत्रमा सहभागी हुन सक्ने ज्ञवाली बताउँछन् ।
मन्त्रालयका अनुसार प्रदेश ५ मा ६५५.८२ हजार हेक्टर अर्थात् २९ प्रतिशत जमिन कृषियोग्य छ । त्यसमध्ये सानाठूला गरी ५ सय ४१ वटा सिँचाइ प्रणालीमार्फत ३ सय १६ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ ।
आर्थिक वर्ष ०७५/७६ मा १७ हजार कृषक लाभान्वित हुने गरी २ हजार ३ सय १५ वटा सानाठूला कृषि यन्त्र तथा उपकरण उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । दुई वर्षमा स्थानीय तहसँगको समन्वयमा १३ करोड ५६ लाख अनुदान सहयोगका कृषितर्फ ५७ र पशुपक्षीतर्फ ४४ गरी १ सय १ आयोजना सम्पन्न गरेको मन्त्रालयले जानकारी दिएको छ ।
लकडाउनको समय कृषि उत्पादनको बजारीकरणमा सहयोग गर्न प्रदेश ५ सरकारले १२ जिल्लामा ४४ वटा कृषि एम्बुलेन्स सञ्चालन गरी किसानका बारीबाटै तरकारी उठाउने कामसमेत गरिरहेको मन्त्रालयले बताएको छ ।
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...