गैरजिम्मेवार र अपारदर्शी
जलविद्युत् विकासकर्ता कम्पनीहरूले असल व्यावसायिक अभ्यास नगर्दा लगानीकर्ताहरू जोखिममा
नेपाल धितोपत्र बोर्डले ५ असार ०७४ मा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार रोक्न निर्देशन दियो । कम्पनी सञ्चालकबीच विवाद भएपछि बोर्ड यो निर्णयमा पुगेको थियो । १ अर्ब ३८ करोड चुक्ता पुँजी भएको यो कम्पनीका कार्यकारी प्रमुख र सञ्चालकहरूबीच एक अर्कालाई निषेध गर्ने परिस्थिति सिर्जना भएको छ ।
नेसनल हाइड्रोपावर कम्पनीमा आन्तरिक सुशासनको अभावका कारण विवाद सिर्जना भएको यो पहिलो पटक भने होइन । पाँच वर्षअघि पनि समयमै वार्षिक साधारणसभा नगरेको भन्दै लगानीकर्ताहरूले धितोपत्र बोर्डमै उजुरी दिएका थिए । बारम्बार यस्ता घटना दोहोरिँदा राम्रो प्रतिफल दिने आसमा पुँजी लगाएका लगानीकर्ताहरू जोखिममा परेका छन् । तर, पछिल्लो विवादले प्रवद्र्धक मात्र होइन, प्राथमिक र दोस्रो बजारमा लगानी गरेका आमनागरिकको लगानीसमेत जोखिममा परेको छ ।
हाल नेप्सेमा नेशनल जस्तै १५ वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । यी कम्पनीको सेयरको कुल मूल्य अर्थात् बजार पुँजीकरण ८८ अर्ब रुपियाँभन्दा बढी छ । यसबाहेक थप दुई दर्जनभन्दा बढी कम्पनी सूचीकृत हुने प्रक्रियामा छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले मात्र जलविद्युत् क्षेत्रमा करिब ५४ अर्ब रुपियाँभन्दा बढीको कर्जा लगानी गरेका छन् । जुन अघिल्लो वर्षको त्यही अवधिको तुलनामा करिब १५ अर्ब रुपियाँले बढी हो । हाल निजी क्षेत्रले करिब तीन हजार मेगावाटभन्दा बढीको परियोजना निर्माण गरिरहेको छ ।
जलविद्युत् क्षेत्रमा बढिरहेको लगानीले सेयर बजारमा यो क्षेत्रको हिस्सा क्रमशः बढ्दै जाने देखाउँछ । तर बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रका लागि जस्तो जलविद्युत् क्षेत्रका लागि छुट्टै नियमक निकाय छैन । त्यसको अभावमा जलविद्युत् कम्पनीहरूको आन्तरिक सुशासनदेखि वित्तीय अवस्था र त्यसको सेयर बजारमा परिरहेको प्रत्यक्ष प्रभावको विश्लेषण र अध्ययन हुँदैन । त्यसको परिणाम कुनै आधारबिना हल्लाकै भरमा यी कम्पनीको सेयर बजारमा हुने उछाल र गिरावट आउने गरेका छन् ।
बैंक तथा वित्तीय संस्था र बीमाका सञ्चालकहरूले आफ्नो आयस्रोत देखाउनुपर्ने अनिवार्य व्यवस्था छ । तर, जलविद्युत् कम्पनीका प्रवद्र्धकहरूका लागि विवरण खुलाउनुपर्ने बाध्यता छैन । यसले पनि जलविद्युत् क्षेत्रमा भएको लगानी शंकाको घेरामा ल्याएको छ । र, यसमा हुने लगानीको स्रोत पारदर्शी छैन । अझ प्रवद्र्धक कम्पनीका सञ्चालकको सम्पर्क भएका ठेकेदार कम्पनीले काम पाउँछन् र अरू सबै खाले ठेक्कापट्टा र कारोबारमा पनि सञ्चालकहरूसँगको सम्पर्क नै प्रमुख आधार भइरहेको छ । यसले अनावश्यक रूपमा परियोजनाको लागत बढाएको त छ नै, आर्थिक चलखेल पनि उत्तिकै छ ।
यस्ता ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’लाई समयमै परीक्षण नगर्दा घटना भएपछि मात्र लगानीकर्ताले थाहा पाउने गरेको एक पुरानो कम्पनीका प्रवद्र्धकको भनाइ छ । तर, स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईं भने सूचीकृत मात्र होइन, सूचीकृत नभएका संस्था पनि पारदर्शी हुनुपर्ने बताउँछन् । तर, नियमन गर्ने नाममा जलविद्युत् क्षेत्रमा थप जटिलता नआओस् भन्नेतर्फ पनि सतर्क रहनुपर्ने उनी बताउँछन् ।
लगानीकर्ताप्रति यी कम्पनीहरू जिम्मेवार छैनन् भन्ने यिनले सार्वजनिक गर्ने विवरण र प्रतिवेदनहरूबाट प्रस्ट हुन्छ । एकाधलाई छोड्ने हो भने आमनागरिकको समेत लगानी रहेका कम्पनीमध्ये अधिकांशले सामान्य जानकारीसमेत सार्वजनिक गर्ने न त जाँगर देखाएका छन्, न त त्यस किसिमको प्रणाली नै विकास गरेका छन् । तिनका आधिकारिक वेबसाइटहरूमा सीमित विवरण र सूचनाहरू मात्र उपलब्ध छन् । भएका विवरण पनि निकै पुराना छन् । यसले लगानीकर्ताहरूलाई कम्पनीको पछिल्लो अवस्था थाहा पाउनसमेत वञ्चित गर्ने गरेको छ ।
हुन त जलविद्युत् विकास कम्पनीलाई नियमन गर्न धितोपत्र बोर्डले नीतिगत पहल नगरेको भने होइन । दुई वर्षअघिसम्म सञ्चालनमा आउनासाथ आईपीओ निष्काशन गर्न पाउने व्यवस्थालाई परिवर्तन गर्दै त्यसका लागि परियोजना सञ्चालन भएको कम्तीमा एक वर्ष हुनुपर्ने बनाएको छ । त्यसैगरी आईपीओ निष्काशनको दुई वर्षपछि मात्र राइट सेयर (हकप्रद) निष्काशन गर्न पाउने व्यवस्था गरेको छ । सूचीकृत कम्पनीहरूमा सुशासन कसरी ल्याउने भन्ने सम्बन्धमा अध्ययन गर्न एउटा समिति नै गठन गरिएको छ । उक्त समितिले दिएको प्रतिवेदनलाई आधार बनाएर असारभित्रै निर्देशन ल्याउने तयारी छ । बोर्डका अध्यक्ष रेवतबहादुर कार्की भन्छन्, “हामी चाँडै नै आचारसंहिता जारी गर्दैछौँ । त्यसमा जलविद्युत् कम्पनीहरू पनि पर्छन् । प्रत्यक्ष नियमन नभएको क्षेत्र भएकाले केही संवेदनशील चाहिँ पक्कै हो । ”
अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि सूचीकृत कम्पनीहरूलाई पारदर्शी र जिम्मेवार बनाएर लगानीकर्तालाई आश्वस्त पार्ने पहिलो जिम्मेवारी नेपाल स्टक एक्स्चेन्ज (नेप्से) हो । तर, नेप्सेले यसतर्फ खासै ध्यान दिएको छैन । नेप्सेको आधिकारिक वेबसाइटमा जलविद्युत् कम्पनीका लगानीकर्तादेखि पुँजी संरचनाका कुनै पनि विवरण भेटिँदैनन् । जबकि नेप्सेलाई लगानीकर्तालार्ई आश्वत पार्नेगरी कम्पनीहरूको सूचना र विवरण लिन कानुनले नै अधिकार दिएको छ । नियमनकारी निकाय नभएका जलविद्युत् र होटललगायतका क्षेत्रमा सुशासनको समस्या रहेको नेप्सेका अधिकारीहरू समेत स्वीकार्छन् ।
आवश्यक सूचना र विवरणका लागि बारम्बार ताकेता गर्दा समेत अटेर गर्ने गरेको नेप्सेका महाप्रबन्धक सीताराम थपलिया बताउँछन् । त्यसरी अटेर गर्ने कम्पनीहरूलाई नेप्सेले गर्न सक्ने अधिकतम कारबाही भनेको कारोबारको सूचीबाट हटाउने हो । त्यसो गर्दा लगानीकर्तालाई मर्का पर्छ भन्ने पनि विचार पु¥याउनुपर्ने थपलियाको भनाइ छ । यस प्रवृत्तिलाई निरुत्साहित गर्न नियमनकारी निकाय नभएका क्षेत्रमा धितोपत्र बोर्डले निगरानी बढाउनुपर्ने उनको तर्क छ ।
नेप्सेले कम्पनीको सूचना तथा विवरण उपलब्ध गराउन ‘इन्फर्मेसन अपलोड सिस्टम’ नै बनाएको छ । जसको मद्दतले कम्पनीहरू आफैँले आवश्यक सूचना तथा विवरण नेप्सेलाई उपलब्ध गराउन सक्छन् । तर, बंैक तथा बीमाबाहेकका कम्पनीहरूले त्यसमा चासो देखाएका छैनन् । यसले पनि जलविद्युत् कम्पनीहरू लगानीकर्ताप्रति गम्भीर छैनन् भन्ने देखाउँछ । नेप्सेमा सूचीकृत कम्पनीहरूको त यो अवस्था छ भने नभएकाहरूको त के होला ? थपलिया भन्छन्, “सूचीकृत नभएकाहरूको त हरहिसाबदेखि साधारणसभा भए–नभएको कुनै ठेगान हुँदैन ।”
कम्पनीको स्वास्थ्य जाँचका लागि प्रयोग गरिने ‘रेटिङ’हरूले पनि धेरैजसो जलविद्युत् कम्पनीहरूको अवस्था उत्साहजनक रहेको देखाउँदैन । नेपाल धितोपत्र बोर्डले इक्रा नेपाललाई सर्वसाधारणबाट पुँजी उठाउन चाहने कम्पनीहरूको रेटिङ गर्ने जिम्मेवारी दिएको छ । कुनै पनि कम्पनीले तीन करोडभन्दा बढीको साधारण सेयर जारी गर्दा इक्रा रेटिङ गराउनुपर्छ । यो रेटिङबाट कम्पनीको वास्तविक स्वास्थ्य कस्तो छ भन्ने थाहा हुन्छ । इक्राले कम्पनीले निष्काशन गर्ने साधारण सेयर (आईपीओ) लाई ग्रेडिङ गर्छ । जलविद्युत् कम्पनीहरूको हकमा परियोजनाको प्रतिफल, विद्युत् खरिद सम्झौता (पीपीए) दर, ऋण र स्वपुँजीको हिस्सा तथा आन्तरिक सुशासनलगायतका पक्षलाई मिहिन ढंगले केलाएर आईपीओको ग्रेडिङ हुन्छ । हालसम्म निष्काशन भएका जलविद्युत् कम्पनीहरूमध्ये अधिकांशको ग्रेडिङ निकै कमजोर छ । यसको अर्थ हो, यी कम्पनीको स्वास्थ्य औसत मात्र छ ।
बहुराष्ट्रिय कम्पनीहरूले लगानीकर्तादेखि आम उपभोक्तासम्मलाई विश्वासमा लिन असल व्यावसायिक अभ्यास अवलम्बन गर्छन् । त्यो अभ्यासमा कम्पनीको पारदर्शिता, सूचनाको सम्प्रेषण र उपभोक्ताप्रति जिम्मेवारीबोध लगायतका विषय समाविष्ट हुन्छन् । नेपालमा निजी क्षेत्रका तर्फबाट राष्ट्रिय व्यावसायिक पहल वा नेसनल बिजनेस इनिसिएटिभ (एनबीआई) ले त्यसका लागि प्रयास गर्दै आएको छ । तीन वर्षअघि काठमाडौँमा एनबीआईले जिम्मेवार व्यावसायिक अभ्याससम्बन्धी सम्मेलन नै आयोजना गरेको थियो । त्यस दौरान जारी गरिएको आचारसंहितामा हस्ताक्षर गर्ने एक सयभन्दा बढी कम्पनीमा जलविद्युत् कम्पनी पनि थिए । त्यो आचांरसहिता मूलतः व्यवसायको दिगोपन र सरोकारवालहरूबीचको सम्बन्धमा हार्दिकता ल्याउन लक्षित थियो ।
तर, त्यसलाई पालना गर्ने सवालमा भने केही कम्पनी मात्र गम्भीर देखिएका छन् । एनबीआईका कार्यक्रम अधिकृत मनीष बज्राचार्य ठूला र विदेशी लगानी चाहिने जलविद्युत् क्षेत्रका लागि असल व्यावसायिक अभ्यासप्रति थप गम्भीर हुनुपर्ने बताउँछन् । तर, यस्ता विषयमा साधारण लगानीकर्ताहरुलाई चासो छैन । धितोपत्र बोर्डले नेसनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का गरेकै साता हिमालयन पावर पार्टनर लिमिटेडको २१ लाख ३० हजार ८ सय ३४ कित्ता प्राथमिक सेयर निष्काशनका लागि करिब ४० गुणा बढी आवेदन पर्नुले पनि त्यसलाई पुष्टि गर्छ ।
वित्तीय क्षेत्र र लगानीकर्ताको जलविद्युत् क्षेत्रप्रति रहेको यो विश्वास टुट्न नदिन धितोपत्र बोर्ड, नेप्से र स्वयं जलविद्युत् कम्पनीहरू पनि लगानीकर्ताप्रति जिम्मेवार बन्न÷बनाउनैपर्छ । पारदर्शी हुँदा स्वदेशी मात्र नभई विदेशी लगानीकर्ताको पनि विश्वास बढ्ने र ऊर्जा संकटबाट मुलुकले सधैँका लागि मुक्ति पाउने अवस्था रहन्छ । यसमध्ये कुनचाहिँ विकल्प छान्ने, त्यो नेपाली प्रवद्र्धकहरूमै निहित छ ।
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...