अवसर छोप्दै धनाढ्य
अर्थतन्त्रमा देखिएको सुधारसँगै लगानीकर्ताहरूमा उत्साह
राजधानीमा २६ साउनमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा निकै उत्साहित देखिन्थे । ठूला व्यापारी तथा व्यवसायीहरूको गतिलै जमघट रहेको उक्त कार्यक्रममा शर्माले बारम्बार एउटै कुरा दोहोर्याए, ‘यो मौका खेर जान दिनुहुँदैन । यस्तो अवसर फेरि कहिल्यै आउँदैन ।’ मुलुकको सुध्रँदो राजनीतिक वातावरण र आर्थिक क्षेत्रमा देखिएको सुधारको संकेतप्रति उनको भनाइ लक्षित रहेको सहजै अनुमान लगाउन सकिन्थ्यो ।
गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ७.२ प्रतिशतले विस्तार भयो, जुन पछिल्लो दुई दशककै सबैभन्दा उच्च वृद्धिदर हो । उत्पादनमूलक क्षेत्रमा भएको लगानी, मौसमी अनुकूलता, सहज विद्युत् आपूर्तिलगायतका कारण उक्त वृद्धिदर सम्भव भएको हो । साथै, निजी तथा सार्वजनिक क्षेत्रबाट भएको उत्साहजनक लगानी र सकारात्मक विस्तारको परिणाम पनि यसलाई मानिन्छ । लगानीको वातावरण र ऊर्जा आपूर्तिको अवस्था गत वर्षकै जस्तो रहे चालू आर्थिक वर्षमा पनि वृद्धिदर सात प्रतिशतभन्दा बढी रहने प्रक्षेपण छ । पछिल्लो अवस्थाबाट शर्मा मात्र होइन, निजी क्षेत्रको ठूलो हिस्सा उत्साहित छ । यही मौका छोप्न लगानीकर्ताबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ ।
उद्योग विभागमा विगत तीन वर्षयता दर्ता भएका उद्योगहरूलाई हेर्ने हो भने पनि निजी क्षेत्रमा देखिएको उत्साह केही हदसम्म पुष्टि हुन्छ । त्यस अवधिमा ठूला र साना गरी १ हजार ३ सय ८३ उद्योग दर्ता भएका छन्, जसमध्ये २ सय ६६ उद्योग ठूलो क्षमताका छन् । र, तिनको कुल पुँजी ३ खर्ब ७७ अर्बभन्दा बढी छ । यी उद्योगहरूमध्ये अधिकांशत: कृषि, पर्यटन, सेवा, उत्पादनमूलक र निर्माणलगायतका क्षेत्रसँग सम्बन्धित छन् । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि यिनै क्षेत्रमा अधिक भएको छ । जसबाट ३६ हजारभन्दा बढीको प्रत्यक्ष रोजगारी सिर्जना हुनेछ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार सिमेन्ट, मदिरा, घरजग्गा, छड र होटललगायतका उद्योगमा मात्रै २ सय ६० अर्ब रुपियाँभन्दा बढी कर्जा प्रवाह भएको छ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत मो हन दाहाल नेपालमा अझै पनि लगानी विस्तार को प्रचुर सम्भावना रहेको बताउँछन् । दाहाल भन्छन्, “जनसंख्या र बढ्दो बजारलाई मध्यनजर गर्दा सम्भावनाका क्षेत्र अथाह छन् ।”
सिमेन्ट, छडलगायतका उद्योगको विस्तारमा तीन वर्षअघिको विनाशकारी भूकम्पलाई प्रमुख कारण मान्छन् व्यवसायीहरू । हुन पनि पुन:निर्माणका लागि ठूलो परिमाणमा यी बस्तुहरूको आवश्यकता पर्ने आकलन गर्दै निजी क्षेत्रले लगानी विस्तार गरेको छ । र, यी सामग्रीको बजार पनि ह्वात्तै बढेको छ । पुरानादेखि उदाउँदा व्यापारिक घरानाले समेत यी सामग्रीको उद्योग स्थापनामा ठूलो पुँजी परिचालन गरेको देखिन्छ । मुलुकमा छडको मात्र वार्षिक ४० अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने गरेको अनुमान छ । र, त्यो बर्सेनि २० प्रतिशतभन्दा बढीले बढ्दो छ । पछिल्लो दुई वर्षमा त त्यो वृद्धिदर दुई गुणाले बढेको व्यवसायीहरू दाबी गर्छन् ।
वार्षिक ५० अर्ब रुपियाँभन्दा बढीको सिमेन्ट नेपालमा खपत हुने गरेको व्यवसायीहरूको भनाइ छ । र, सिमेन्टको माग पनि हरेक वर्ष २० प्रतिशतले बढ्ने क्रम छ । आकर्षक कारोबार र बढ्दो बजारकै कारण व्यवसायीहरूले सिमेन्ट र छड उद्योगको क्षमता विस्तारदेखि नयाँ उद्योग स्थापनामा आफ्नो पुँजी खर्चन थालेका छन् । सातवटा छड उत्पादन गर्ने रोलिङ मिल्स उद्योग स्थापनाको क्रममा छन् । एउटा रोलिङ मिल खोल्न कम्तीमा पनि एक अर्ब रुपियाँभन्दा बढी आवश्यक पर्छ । त्यसैगरी सिमेन्टका पनि आठवटा नयाँ उद्योगहरू खुल्ने क्रममा छन् । एउटा सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन कम्तीमा पनि ३ अर्ब रुपियाँभन्दा बढी आवश्यक पर्छ ।
यसअघि वित्तीय क्षेत्रमा पहिचान बनाएका व्यावसायिक समूहहरू पनि सिमेन्ट उद्योगमा लगानी गर्नर्े जमर्कोमा छन् । त्यसको पछिल्लो उदाहरण हो– आईएमई समूह, जसले दाङमा उद्योग स्थापना गर्दैछ । पुराना सिमेन्ट उद्योगहरूले क्षमता विस्तार गर्ने क्रम पनि जारी छ । भैरहवास्थित अर्घाखाँची सिमेन्टले चार अर्ब रुपियाँ थप लगानी गर्दैछ । त्यसबाहेक जगदम्बा, अम्बे, सर्वोत्तम, घोराही सिमेन्टलगायतले आफ्नो क्षमता विस्तार गरिरहेका छन् । यसअघि क्लिंकर पिसेर सिमेन्ट उत्पादन गरेको चौधरी समूह पनि थप ६ अर्ब रुपियाँभन्दा बढीको लगानीमा आफ्नै चुनढुंगा खानीको कच्चा पदार्थबाट सिमेन्ट उत्पादन थाल्ने तयारीमा छ । मध्य र पश्चिम नेपालमा बढी केन्द्रित रहँदै सिमेन्ट उद्योगहरू पूर्वका मेची र कोसी क्षेत्रमा समेत विस्तार हुन थालेका छन्, जुन उद्योगमा करिब पाँच अर्ब रुपियाँभन्दा बढीको लगानी रहनेछ । त्यसैगरी कयाल समूहले वीरगन्जमा जस्तापाताको उद्योगको काम अघि बढाइसकेको छ ।
पछिल्लो समयमा उल्लेख्य लगानी आकर्षित गर्ने मदिरा उद्योगले नेपालमा बर्सेनि करिब ८० अर्ब रुपियाँभन्दा बढीको स्वदेशी मदिराको बजार रहेको अनुमान छ । यसमध्ये चार अर्ब रुपियाँ बराबरको विदेशी मदिरा आयात हुन्छ । र, यो बर्सेनि २० प्रतिशतभन्दा माथि वृद्धि भइरहेको सरकारी दाबी छ । यस बजारमा व्यवसायीहरूको आँखा नपुग्ने भन्ने कुरै भएन । त्यही भएर त स्थापित मदिरा उद्यमीदेखि अन्य व्यवसायमा संलग्न रहेका व्यवसायीहरूले समेत मदिरा उद्योगमा लगानी बढाउँदै छन् । व्यवसायी विजय शाह नेतृत्वको जावलाखेल औद्योगिक समूहले भैरहवामा नयाँ बियर उद्योग स्थापना गर्दै छ । त्यसबाहेक विशाल र शारदा समूहले पनि नयाँ बियर उद्योगमा लगानी गरिरहेका छन् । एउटा बियर उद्योग खोल्न कम्तीमा ६० करोड रुपियाँ लाग्ने व्यवसायीहरू बताउँछन् । त्यसबाहेक दुई दर्जनभन्दा बढी मदिरा उद्योगलाई उत्पादन अनुमति दिइएको सरकारी अभिलेख छ । यस अनुसार, २५ अर्ब रुपियाँभन्दा बढीको लगानी रहेको स्वदेशी मदिरा उद्योगमा उल्लेख्य वृद्धि हुने देखिन्छ ।
विगत केही वर्षयता जलविद्युत् क्षेत्रले पनि निजी क्षेत्रको लगानी आकर्षित गरेको छ । हाल निजी प्रवद्र्धकहरूबाट १ हजार २ सय मेगावाटभन्दा बढी जडित क्षमताका विद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजनाको प्रतिमेगावाट १९ करोडका हिसाबले २ सय २८ अर्ब रुपियाँ लगानी हुने देखिन्छ । यसमा बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत कर्जा प्रवाह भएको मान्दा निजी प्रवद्र्धकहरूले मात्र पनि करिब ७० अर्बको हाराहारीमा लगानी गरेका छन् । पछिल्लो समय ठूला व्यापारी घरानाले समेत जलविद्युत् क्षेत्रमा लगानी गर्न थालेका छन् । मोती दुगड नेतृत्वको समूहले दोलखास्थित १ सय ४० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाको निर्माण गर्ने भएको छ, जसमा ३० अर्ब रुपियाँभन्दा बढीको लगानी रहनेछ । निजी क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो यस परियोजनालाई व्यवसायीहरू निकै आँटिलो दाबी गर्छन् ।
पर्यटन क्षेत्रमा पनि ठूलो परिमाणमा लगानी आकर्षित भएको छ । पोखरा र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारसँगै सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । हालको वार्षिक सात लाख पर्यटकलक्षित होटलहरू त्यतिबेला अपुग हुनेछन् । त्यसलाई ध्यानमा राख्दै व्यवसायीहरूले होटल क्षेत्रमा उल्लेख्य लगानी बढाएका छन् । उद्योग विभागका अनुसार पछिल्लो चार वर्षमा दुई दर्जनको हाराहारीमा तारे होटलको अनुमति लिइएको छ, जसमा करिब ४० अर्ब रुपियाँभन्दा बढीको लगानी हुनेछ । यसमध्ये केहीमा प्रत्यक्ष विदेशी लगानी रहेको छ भने केहीमा स्वदेशी व्यवसायीहरूले नै लगानी गरेका छन् । गत आर्थिक वर्षमा मात्र करिब सात अर्ब रुपियाँ लगानीमा पाँचवटा ठूला होटलको निर्माण सुरु गरिएको छ ।
पछिल्लो चार वर्षमा अनुमति पाएका फेयरफिल्ड मेरियट, होटल मलबेरीलगायतका केही होटल त सञ्चालनमै आइसकेका छन् । त्यसबाहेक स्तरीय पर्यटकलक्षित बुटिक होटल खोल्ने होड पनि चलेको छ । विगत एक वर्षभित्र राजधानीमा आधा दर्जन बुटिक होटल खुलेका छन् । उपत्यकाबाहिर पनि पोखरा, बुटवल, धनगढी, वीरगन्ज, नेपालगन्जस्ता सहरहरूमा तारे होटलको संख्या थपिने क्रममा छ ।
बैंक तथा बिमा क्षेत्रमा पनि ठूलो मात्रामा लगानी विस्तार भएको छ । राष्ट्र बैंकले दुई वर्षअघि बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने योजना ल्याएसँगै नेपालको निजी क्षेत्रको ठूलो रकम त्यसतर्फ सोझियो । केन्द्रीय बैंकले असार ०७४ भित्र वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्ब रुपियाँबाट बढाएर आठ अर्ब पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । सबैजसो बैंंकका प्रमुख सञ्चालकमा ठूला व्यापारिक घराना नै रहेका हुँदा पुँजी बढाउन पनि उनीहरूले नै थप लगानी गर्नुपर्ने बाध्यता थियो ।
बिमा क्षेत्रले पनि उल्लेख्य मात्रामा पुँजी आकर्षित गरेको छ । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले जीवन बिमा कम्पनीको ५० करोड चुक्ता पुँजीलाई दुई अर्ब र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी २५ करोडबाट १ अर्ब रुपियाँ पुर्याउन असार ०७५ को समयसीमा तोकेको छ । यसले पनि निजी क्षेत्रको ठूलो लगानी त्यता सोझिनेछ । त्यसैगरी केही महिनाअघि मात्र सरकारले थप १० वटा नयाँ जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । तीमध्ये केही त सञ्चालनमा आइसकेका छन् । दसवटै कम्पनी सञ्चालनमा आएको खण्डमा २० अर्ब रुपियाँभन्दा बढीको पुँजी आवश्यक पर्ने छ । यसबाहेक टेलिकम, सूचना/प्रविधि अस्पताल, चिनी उद्योगलगायतमा पनि निजी क्षेत्रले आफ्नो लगानी बढाउँदै लगेको छ ।
परम्परागत उद्योगबाहेक पनि केही नवीन प्रविधिमा आधारित उद्योगहरू पनि खुल्ने क्रममा छन् । त्यसको पछिल्लो उदाहरण हो, अटोक्लेभ्ड ऐरेटेड कंक्रिट (एईसी) ब्लक्स उद्योग । अन्य साधारण इँटाभन्दा सस्तो, हलुँगो र बलियो मानिने ब्लक्स उत्पादनका लागि दर्ता भएका पाँचवटा उद्योगमध्ये तीनवटा सञ्चालनमा आइसकेका छन् । यी प्रत्येक उद्योगमा कम्तीमा पनि ५० करोड रुपियाँभन्दा बढी लगानी भएको व्यवसायीहरूको दाबी छ । चितवनमा उद्योग रहेको एरो ब्रिक्स नेपालले त दुई महिनाअघि नै आफ्नो उत्पादन बजारमा ल्याइसकेको छ ।
त्यसैगरी विशाल समूहले विराटनगरमा टायर उद्योग खोल्ने तयारी अन्तिम चरणमा छ । अर्थविद् सुजीव शाक्य अर्थतन्त्रमा देखिएको पछिल्ला संकेतलाई अवसरका रूपमा लिनुपर्ने ठान्छन् । तर, यसलाई निजी क्षेत्रले असल मूल्य–मान्यता स्थापित गर्ने अवसरका रूपमा पनि लिनुपर्ने उनको भनाइ छ । भन्छन्, “लगानी विस्तारसँगै असल संहिता, जिम्मेवारीपन, पारदर्शीतालाई पनि बिर्सन मिल्दैन । त्यसलाई गम्भीर रूपमा नलिएमा नेपालको व्यावसायिक क्षेत्रको स्तर माथि पनि जाँदैन र अहिले देखिएको सकारात्मक वातावरण दिगो हुनेछैन ।”
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...