भारतमा चम्केको नेपाली म:म
१ सय ३० करोड भारुको फुडचेन वाउ म:मको अन्तर्कथा
र
कोलकाताको सेन्ट जेभियर्स कलेजमा स्नातक तेस्रो (अन्तिम) वर्षमा अध्ययनरत थिए, विनोद हुमागाईं । उमेर मात्र २३ वर्ष थियो । पढाइ सकेपछि जागिर खोज्ने योजना थियो नै । तर त्यसअघि नै केही फरक किन नसोच्ने र नगर्ने ? सफल भइयो भने ठीकै छ, नभए जागिर त पाइहालिन्छ भन्नेमा ढुक्क थिए ।
यही सोचबीच उनी र अर्का सहपाठी सागर दरियानीबीच कलेजपछिको योजनालाई लिएर छलफल सुरु भयो । व्यवसाय त गर्ने, तर कस्तो र कुन किसिमको भन्नेमा उनीहरू नै प्रस्ट थिएनन् । धेरै दिनको माथापच्चीपछि उनीहरूले ती प्रश्नको छोटो र सरल उत्तर फेला पारे, म:म । अर्थात् म:मको व्यवसाय । किनकि, त्यसताका कोलकातामा म:मको क्रेज बढ्दो थियो ।
पुँजीका नाममा उनीहरूसँग पकेट खर्चबाट जोगाएर राखेको ३० हजार रुपैयाँ मात्र थियो । तर उनीहरूसँग केही गर्नुपर्छ भन्ने आत्मविश्वास भने करोडौँको । सागरकै घरको भुइँतलामा एउटा सानो कोठा भाडामा लिए । म:म बनाउन पार्टटाइम कुक राखे । कुकलाई छनोट गर्नुअघि ट्रायल लिए । आफूहरूले खोजेजस्तो म:म बनाउन सक्ने कुकलाई काममा लगाए । त्यसपछि बनाएको म:मलाई छेउको एउटा चोकमा लगेर बेच्न थाले ।
म:म पकाउने भाँडो पनि सिल्भरकै थियो, काठमाडौँका गल्लीहरूमा देखिनेजस्तै । अनि, खुल्यो अगस्त २९, २००८ मा वाउ म:मको पहिलो आउटलेट । “दुई–चार वर्ष व्यवसाय गरौँ, सफल भइएन भने त्यसपछि बुबाले भनेजस्तो जागिर खान सकिहाल्छु नि भन्ने आत्मविश्वास थियो,” विनोद सम्झिन्छन् ।
त्यसरी ३० हजारको लगानीबाट सुरु भएको वाउ म:मले अहिले वार्षिक १ सय ३० करोड भारु कारोबार गर्छ । भारतका विभिन्न ११ सहरमा कम्पनीका २ सय स्टोर छन् । दिल्लीमा मात्र ३८ स्टोर छन् । अर्को वर्षसम्म यसलाई ७० पुर्याउने लक्ष्य राखेका छन्, विनोदले । र, दुई सहरमा विस्तार गरेर भारतभर अर्को वर्ष थप सय स्टोर खोल्ने लक्ष्य छ । प्रत्येक सहरमा क्षेत्रीय कार्यालय, फ्याक्ट्री अनि स्टोर । मुख्यालयचाहिँ कोलकाता । कम्पनीले २ हजार ४ सयलाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ ।
कम्पनीले करिब दुई दर्जन पुरस्कार जितिसकेको छ । पुरस्कार थाप्न जाने समय मिलाउन पनि उनलाई हम्मे पर्छ । वाउ म:मले सन् ०१६ को राष्ट्रिय उद्यमशीलता पुरस्कार पाएको हो । पाँच लाख नगदसहितको उक्त पुरस्कार भारतमा उद्योग र व्यवसायलाई सरकारको तर्फबाट दिइने सबैभन्दा प्रतिष्ठितमध्येमा पर्छ । विनोद भन्छन्, “हामीले गुमाउने केही थिएन । केही नितान्त फरक र नयाँ गर्नुपर्छ भन्ने थियो । साथै, व्यवसायका हरेक पाटालाई मिहीन ढंगले केलाउँथ्यौँ र केही नयाँ योजना लागू गर्नुअघि पर्याप्त गृहकार्य गथ्र्यौं ।”
कलेज सकेपछि बुबाले जागिर खोज्न सजिलो छ भन्नुभएको थियो । तर म बेग्लै केही गर्न चाहन्थेँ । त्यो छूट उहाँले दिनुभयो ।
विनोद हुमागाईं | तस्बिरहरू : सुरेशराज न्यौपाने
वाउ म:मले एक दशकभित्र हासिल गरेको यो सफलताका पछाडि विनोद र साझेदार राजीवको संघर्ष तथा परिश्रमको लामै यात्रा छ । पछि कलेजकै अर्का सहपाठी मुफ्तर रहमान पनि साझेदारका रूपमा भित्रिन पुगे । कम्पनी खोले पनि सुरुका दिनमा विनोद र सागरलाई कर्मचारीलाई तलब दिन सकिन्न कि भन्ने चिन्ता हुन्थ्यो । त्यसैले नगद अभाव नहोस् भनेर विभिन्न प्रवद्र्धनात्मक योजना ल्याउँथे । जस्तै, दुइटा परिकार अर्डर गर्दा एउटा सित्तैमा । त्यसपछि कारोबार र ग्राहक संख्या पनि वृद्धि हुँदै गयो । दुई महिनाभित्रै दोस्रो स्टोर खुल्यो । त्यसको केही दिनमा तेस्रो । फुलटाइम कुक राखे । कारोबार यति राम्रो भयो कि ४४ वटा स्टोर खोलुन्जेल वार्षिक कारोबार १० देखि १२ करोड पुग्यो ।
त्यतिबेलासम्म ओबिसी बैंकबाट लिएको दस लाखको ऋण मात्र थियो । त्यति थोरै रकम ऋण दिन पनि बैंकले करिब एक वर्ष लगायो । सन् ०१४ मा आइपुग्दा कारोबार २० करोड नाघ्यो । कम्पनीको लोभलाग्दो प्रगति देखेर लगानीकर्ताले चासो देखाउन थाले । त्यसको अर्को वर्ष व्यवसायमा पहिलो पटक थप पुँजी भित्रियो । त्यस क्रममा कम्पनीको पहिलो पटक औपचारिक मूल्यांकन भयो । लेखा परीक्षकले सय करोड भारुको मूल्यांकन गरे । ‘एन्जेल इन्भेस्टर’ को समूहले पहिलो चरणमै दस करोडको लगानी गर्यो । लगानी थपिएसँगै कारोबार रकम बढेर ०१७ मा आइपुग्दा ८७ करोड नाघ्यो ।
सोही वर्ष ५० करोडको थप लगानी भित्रियो । त्यसमध्ये ४० करोड मात्र कम्पनीमा हालियो । पहिलो चरणमा लगानी गरेकालाई दस करोड प्रतिफलसहित फिर्ता गरियो । त्यसरी फिर्ता पाउनेहरू करिब ९० जना लगानीकर्ता थिए । त्यतिबेला एक करोड लगानी गर्नेले दुई करोडसम्म पाए । कुनै पनि व्यवसायमा एक वर्षमै शतप्रतिशत प्रतिफल चानचुने घटना थिएन । त्यसैलै पत्रपत्रिकाहरूले पनि ठूलै समाचार बनाए ।
सामान्यतया कुनै पनि फुड व्यवसायको मूल्यांकन चारदेखि पाँच गुणा बढीले गर्ने प्रचलन छ । यो वर्ष वार्षिक कारोबार १ सय ३० करोड हाराहारी पुग्नेछ । अर्को वर्ष करिब २ सय करोड पुग्ने हुँदा त्यस हिसाबले कम्पनीको मूल्यांकन हजार करोड सजिलै नाघ्ने विनोदको दाबी छ ।
कारोबार विस्तारसँगै म:मका परिकार पनि थपिने क्रम जारी छ । पहिलो पटक म:मका चिकेन, पनिर र प्राउन म:म गरी तीन परिकार थिए । अहिले १४ वटा मुख्य भेराइटी छन् । सामान्य म:मदेखि बर्गर म:म, तन्दुरी म:म, सिज्लर म:म । अनि, तिनैलाई फ्राइ, प्यान फ्राइ गरेर ४० भन्दा बढी स्वादका म:म तयार हुने गरेको छ ।
नयाँ स्वादको म:म कहाँ पाइन्छ भन्नेमा विनोद सधैँ त्यसको खोजीमा रहन्छन् । नयाँ ठाउँ पुग्यो कि उनी सडक–गल्लीदेखि ठूला रेस्टुराँ चहार्छन्, म:मको स्वाद लिन । कुनै पनि नयाँ परिकार ल्याउनुअघि त्यसमा लामै गृहकार्य गरिन्छ । कुनै पनि म:मको नयाँ परिकार बजारमा ल्याउनुअघि विनोद नेतृत्वको एउटा टिमले त्यसको गृहकार्य गर्छ । परिकार टुंगो लागेपछि बनाउने सूत्रलाई कम्प्युटरमा तयार पारिन्छ । अनि त्यसलाई किचेनमा पठाइन्छ । दुई दिनसम्म किचेनमा त्यसको परीक्षण हुन्छ । परीक्षण सफल भएपछि कुकलाई तालिम दिइन्छ । त्यसपछि सबै स्टोरमा त्यही सूत्रका आधारमा म:मको नयाँ परिकार बनाइन्छ ।
नयाँ परिकार ल्याउनासाथ ग्राहकले मन पराउँछन्/पराउँदैनन्, त्यसको परीक्षण हुन्छ । किचेनको, स्टोरको अवस्था कस्तो छ, सरसफाइमा ध्यान दिइएको छ/छैन, भेज र ननभेजलाई छुट्टै राखिएको छ/छैन, त्यो सबै कुराको नियमित परीक्षण हुन्छ, ‘फुड अडिटर’ बाट । उनीहरूले बनाएको रिपोर्टका आधारमा गुरुयोजना बन्छ । कमजोरी पहिचान हुन्छ । अनि, पूरै प्रणालीलाई नियन्त्रण गरिन्छ ।
नियमित रूपमा कर्मचारीलाई म:म बनाउनेदेखि सरसफाइसम्मको तालिम दिइन्छ । दैनिकजसो समूहका समूह तालिम हुन्छ । कुनै कर्मचारीले सफाइमा ध्यान दिएन भने तत्काल तालिममा राखिन्छ । अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकै कारण वाउ म:मले आईएसओ–२००० प्रमाणचिह्नसमेत पाएको छ ।
व्यवसाय विस्तारसँगै विनोदको लक्ष्य पनि अकासिँदै छ । अबको तीन–चार वर्षभित्र कम्पनीलाई विदेशी बजारमा विस्तार गर्ने योजना बुनिसकेका छन्, उनले । एकैपटक हजारौँ आउटलेट । त्यसो त, बंगलादेश र दुबईका ठूला कम्पनीले पनि चासो देखाइसकेका छन् । तर त्यसका लागि कम्पनीको फुड प्रोसेसिङ युनिटलाई पूर्ण रूपमा मेकानाइज्ड (स्वचालित) बनाउनुपर्ने आवश्यकता देख्छन् उनी । “विदेशमा विस्तार गर्न अहिलेको जस्तो प्रणालीबाट सम्भव हुँदैन । प्रतिस्पर्धा र कारोबार दुवै हिसाबले पूर्ण रूपमा स्वचालित हुनुपर्छ,” विनोद भन्छन् ।
स्टोर संख्यामा हुने वृद्धिसँगै म:म बनाउने जनशक्ति थप्नु उत्तिकै चुनौतीपूर्ण छ । अहिले नै दिनमा तीन लाख गोटा म:म तयार हुन्छ । त्यसबाहेक गुणस्तर नियन्त्रणदेखि आकारमा एकरूपता ल्याउनु निकै कठिन छ । त्यसैका लागि मसला तयारीदेखि म:म बनाउनेसम्मका काम मेसिनबाट गर्न गृहकार्य सुरु भइसकेको छ ।
कुनै पनि व्यवसायको सफलता त्यसको व्यवस्थापन क्षमतामा निर्भर हुन्छ भन्ने विनोदलाई राम्ररी हेक्का छ । त्यसैले उनी व्यवस्थापनको आधुनिकीकरणमा पनि त्यत्तिकै गम्भीर छन् । कम्पनीको उच्च व्यवस्थापनमा केएफसी, म्याकडोनाल्ड, डोमिनोजजस्ता अन्तर्राष्ट्रिय ब्रान्डको बजार प्रवद्र्धनमा लामो अनुभव बटुलेकाहरू छन् । “जहिले पनि सफल हुन सक्षम टिम चाहिन्छ । हामीहरू बजारविज्ञ होइनौँ । अन्तिम निर्णय गर्ने बेला मात्र सहभागी हुन्छौँ । त्यसैले हाम्रो बढी ध्यान ‘आर एन्ड डी’ (अनुसन्धान तथा विकास) मा हुन्छ । र, ब्रान्ड तथा नयाँ परिकार हुन्छ । वृद्धि कसरी हासिल गर्ने भन्नेमा हुन्छ । तर, त्यो वृद्धिलाई निरन्तरता दिन अनुभवी हात नै चाहिन्छन् ।”
आफ्नो व्यावसायिक सफलताभन्दा पनि कम्पनीले हजारौँलाई रोजगारी दिन सकेकामा सन्तुष्टि मिलेको छ, विनोदलाई । अहिले उनको कम्पनीमा करिब २ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमध्ये करिब २ सय नेपाली छन् । भोलिका दिनमा कम्पनीसामु कुनै चुनौती वा बाधा आइपरे यिनै २ हजार कामदार र तिनका परिवार आफ्नो पक्षमा उभिनेमा उनी ढुक्क छन् ।
“अहिलेको सबैभन्दा ठूलो समस्या भनेकै बेरोजगारी हो । यस्तो अवस्थामा २ हजारलाई प्रत्यक्ष रोजगारी दिनु ठूलै सफलता हो,” उनी भन्छन्, “भोलि मलाई केही समस्या पर्दा उनीहरूको साथ रहनेमा ढुक्क छु ।”
सफलताको श्रेय पूर्ण रूपमा बुबा नारायण हुमागाईंलाई दिन्छन्, विनोद । हुन पनि, बुबाले दु:खजिलो गरेरै छोरा विनोद, दिनेश र लालकृष्णलाई कुनै कुराको कमी हुन दिएनन्, लालनपालनदेखि शिक्षादीक्षासम्म ।
काभ्रेको पात्लेखेतमा जन्मिएका विनोदले प्रारम्भिक कक्षा गाउँकै बचलादेवी विद्यालयमा पढे । त्यसपछि नारायणले छोराहरूलाई पनि आफूसँगै कोलकाता लगे । त्यतिबेला नारायण कोलकातामा काम गर्थे । सन् १९९१ मा ७ वर्षको उमेरमा कोलकाता पुगेका विनोदले त्यहीको सेन्ट जेभियर्सबाटै विद्यालय र कलेज अध्यययन गर्ने अवसर पाए । अहिले दिनेश विनोदकै कम्पनीमा काम गर्छन् भने कान्छा लालकृष्ण बिडला कम्पनीमा कार्यरत छन् ।
“कलेज सकेपछि बुबाले जागिर खोज्न सजिलो छ भन्नुभएको थियो । तर म बेग्लै केही गर्न चाहन्थेँ । त्यो छूट उहाँले दिनुभयो । असफल हुन्थेँ भने फर्केर जागिरमा जान्थेँ होला । त्यसैले आज पछाडि फर्केर हेर्दा बुबाले ममाथि गर्नुभएको त्यही विश्वास, भरोसा र अवसरकै कारण यहाँसम्म आइपुगेको हुँ भन्ने लाग्छ,” विनोद भन्छन् ।
हुन त, विनोद नेपालमा अहिले नै स्टोर खोल्न सक्छन् तर हतार गर्ने पक्षमा छैनन् । “नेपालमा जानु विशेष कुरा हो । त्यतिबेला एक–दुई स्टोर होइन, एकैपटक एक–दुई सय स्टोर खोल्नेछौँ,” उनी चार वर्षभित्रको गुरुयोजना सुनाउँछन्, “त्यतिबेला एउटा स्टोरमा पाँच जनाले रोजगारी पाए भने पनि सबैमा पाँच सयले पाउनेछन् ।”
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...