‘विश्वविद्यालय वरपर गाइड र गेसपेपर मात्र’
हाम्रा लेखकहरूले मदन पुरस्कारको मात्र होइन, नोबेल पुरस्कार, म्यान बुकर पुरस्कारको पनि सपना देख्नुपर्छ ।
मण्डला बुक प्वाइन्टका सञ्चालक माधव महर्जन (६६) पुस्तक बिक्रेताका साथै स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी (सिन्हास) जर्नलका प्रकाशक पनि हुन् । यस अतिरिक्त उनी कीर्तिपुरमा सञ्चालित जनसेवा सामुदायिक उमाविलाई उत्कृष्ट रुपमा चलाएबापत चर्चित भएका व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनीसँग पुस्तक, जर्नल र पठन संस्कृतिबारे गरिएको कुराकानी :
पुस्तकसँग कहिलेदेखि कसरी जोडिनुभयो ?
मैले महेन्द्र रत्न क्याम्पसमा प्रमाणपत्र र त्रिचन्द्र क्याम्पसमा स्नातक तह पढेँ व्यवस्थापनमा । विद्यार्थी जीवनमै सन् १९६९ तिर प्राध्यापक ईश्वरीलाल श्रेष्ठको नेपाल बुक सेलर्समा काम गरेँ । पुस्तक पढ्ने सोख र व्यवस्थापन पढेका कारण हुन सक्छ, परिवार–पुर्खामा कोही नभए पनि पुस्तकमै जीवन समर्पित हुन गयो ।
त्यसपछि ?
सन् १९८८ मा मण्डला बुक प्वाइन्ट स्थापना गरेँ, जमलमा । त्यतिबेला कीर्तिपुरबाट आउन–जान गाह्रै थियो । विश्वविद्यालय कीर्तिपुरमै भए पनि पुस्तक पसल जमलमै खोलियो ।
कस्ता किताब र कस्ता पाठकलाई केन्द्रित गर्नुभयो ?
सुरुमा नेपाल आएका पर्यटकलाई पढ्ने सामग्री बेच्नेमा ध्यान गयो । बिस्तारै विद्वान्हरू मोहम्मद मोहसिन, ईश्वरीलाल श्रेष्ठ, हर्क गुरुङ, श्रीधर लोहनी, अभि सुवेदीहरूसँगको चिनजान र संगतपछि अनुसन्धानमूलक प्राज्ञिक पुस्तकतर्फ मोडिएँ । गाइड र टेक्स्टबुक बेच्नेतिर कहिल्यै ध्यान गएन, रेफरेन्स बुक बेचेरै सन्तुष्ट छु ।
सिन्हास जर्नल कसरी थाल्नुभयो ?
सन् १९९२ मा बज्र होटलमा समाजशास्त्र–मानवशास्त्र विषयक सम्मेलनमा एक जना उत्साही र जल्दोबल्दो तन्नेरी भेटेँ । ती तन्नेरी हुन्, प्रत्यूष वन्त । म पनि प्राज्ञिक र अनुसन्धानमूलक केही प्रकाशन गर्न पाए हुन्थ्यो भन्ने सोचिरहेको थिएँ, उनको र मेरो रुचि मिल्यो अनि सन् १९९६ मा उनको सम्पादन र मण्डलाको प्रकाशनमा सिन्हासको पहिलो अंक निस्कियो ।
कसरी निरन्तरता दिइरहनुभएको छ ?
प्रत्यूषले भनेका थिए, दुई–तीन वर्ष चलाउँछौँ होला नि ! त्यसरी सुरु गरेको २० वर्ष पूरा भएछ । ४१ अंक निस्किसकेको छ । यसमा आर्थिक रूपले फाइदा छैन । लेख संकलन, सम्पादन, प्रकाशन झन्झटिलो छ । तर, यसको प्रकाशक हुन पाउँदा मलाई गर्व छ ।
जर्नल कति छाप्नुहुन्छ, कसले पढ्छ ?
तीन सयदेखि पाँच सयसम्म छापिन्छ । नेपालबाहिरका १०/१२ जना नियमित ग्राहक हुनुहुन्छ । यहाँ पनि हुनुहुन्छ खोजीखोजी पढ्ने तर एकदम कम । एमफिल, पीएचडी गर्दै गरेकाहरू पहिलो, दोस्रो अंक खोज्दै आउनुहुन्छ, खुसी लाग्छ । अनुसन्धानमूलक लेख बटुल्न, रिभ्यु गर्न–गराउन, सम्पादन गर्न स्वयंसेवी तवरले खट्ने वन्तलगायतका सम्पादकहरूले धेरै दु:ख गर्नुभएको छ ।
हाम्रो पठन संस्कृति कस्तो छ ?
संसारमा कहीँ पनि साहित्यजति प्राज्ञिक लेखन पढिँदैन । तर, यहाँ मनसुन हजार प्रति बिक्ने पसलमा नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन पुस्तक १०–२० प्रति भए पनि बिक्नुपर्ने हो ।
त्यसो भए निराश हुनुहुन्छ ?
जन्मदिनमा पुस्तक उपहार दिने, लामो बिदामा पुस्तक धेरै किन्ने, पढ्ने बानी बसेको छ । साहित्य धेरै बिक्यो भनेर चिन्ता गर्नुहुँदैन । प्राथमिक तह पढ्ने नै माध्यमिक तहमा आउने हो, एकैपटक माध्यमिक तहमा हुँदैन होला कोही ।
के हुनुपर्छ ?
हाम्रा लेखकहरूले मदन पुरस्कारको मात्र होइन, नोबेल पुरस्कार, म्यान बुकर पुरस्कारको पनि सपना देख्नुपर्छ । पुस्तकको क्रस बोर्डर बिजनेस गाह्रो छ यहाँ, सहज बनाउनुपर्छ । विश्वविद्यालय वरपरका पसलमा गाइड र गेसपेसर मात्र बेचिनु, प्रतिलिपि अधिकार उल्लंघन गरिएका पुस्तक बेचिनु, त्यहाँ रेफरेन्स पुस्तक नपढिनु अचम्म हो । यसतर्फ ध्यान दिनुपर्छ ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...