पाइलट वेद उप्रेतीलाई १० प्रश्न
'अब उत्प्रेरणा र सूचना दिने काम खुल्दै गरेको संग्रहालयले गर्नेछ ।'
विमान चालक वेद उप्रेती, ५०, को विमान–लगाव विचित्रको छ । दुई वर्षअघि धनगढीमा एयरक्राफ्ट संग्रहालय खोलेका उनी अहिले काठमाडौँमै यस्तै अर्काे विमान संग्रहालय खोल्न जुटेका छन् ।
र, यसका लागि प्रयोग हुँदै छ, दुई वर्षअघि काठमाडौँमा दुर्घटनाग्रस्त भएर थन्किएको टर्किस एयरलाइन्सको एयरवस ए–३३० वाइड बडी जहाज ।
लगालग खोलिरहनुभएको छ संग्रहालय, काठमाडौँपछि कहाँ खोल्नुहुन्छ ?
त्यस्तो कुनै योजना छैन । तेस्रो संग्रहालय खोलिँदैन होला ।
संग्रहालय खोल्ने विचार कहाँबाट आयो ?
फोटोग्राफी, भिडियोग्राफीमा रुचि थियो र छ । उडानका क्रममा खिचेका तिनै फोटो देखाउने रहरले संग्रहालय बनाउन मन लाग्यो । ठाउँ कस्तो बनाउने त भनेर सोच्दा अनि संसारका ८० देश घुमी–उडेका आधारमा विमानलाई नै स्थानका रूपमा लिइयो । थन्किएको विमानलाई गज्जबले सदुपयोग गरियो ।
धनगढीमा खोल्न कति खर्च गर्नुभयो ?
डेढ करोड रुपियाँ ।
सबै निजी लगानीमा ?
हो, आफैँ खर्च गरेको हुँ ।
लगानी उठ्यो त ?
लगानी त कहिल्यै उठ्दैन । नाफाका लागि भन्दा पनि केही रहरले, केही सन्देश दिऊँ भन्ने उद्देश्यले खोलेको हुँ । अहिले प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपियाँ र अरूका लागि एक सय रुपियाँ छ । चालू खर्चचाहिँ उठिरहेको छ ।
संग्रहालय खोलेपछि कस्तो पाउनुभयो प्रतिक्रिया ?
निकै नै उत्साहजनक । सुदूरपश्चिम आएपछि यहाँ नघुमी फर्किने कमै हुनुहुन्छ । यहाँ संसारका धेरैथरी पुराना विमानका प्रतीक छन् । सुदूरपश्चिमको समग्र महत्त्व झल्काउने डकुमेन्ट्री देखाइन्छ । तर, यो सानो ठाउँ र जनघनत्व पनि कम भएको स्थान भएको हुँदा धेरै चापाचाप भने हुँदैन ।
अनि, काठमाडौँमा ?
नागरिक उड्डयन प्राधिकरणको सहयोग र सहकार्यमा खोल्दै छौँ सिनामंगलमा । कुल ६ करोड खर्च लाग्ने अनुमान छ ।
कहिलेसम्म सञ्चालनमा आउला त ?
अबको पाँच महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।
धनगढी र काठमाडौँको संग्रहालयमा के फरक हुनेछ ?
काठमाडौँमा धनगढीको भन्दा धेरै ठूलो आकारको हुनेछ । वायुसेवासम्बन्धी इतिहास, आवश्यक सामग्री, सेवाका आवश्यकता र महत्त्वपूर्ण मोड, सूचना आदि सबै झल्किने कुरा यहाँ हुनेछ ।
फरक प्रश्न, धेरै बालबालिकाले पछि गएर पाइलट बन्ने भनेको सुनिन्छ तर कमै मात्र पाइलट हुन्छन् नि ?
पाइलट कोर्स गर्न अहिले पनि धेरै महँगो छ । कम्तीमा ५० लाख रुपियाँ खर्च गर्नुपर्ने अवस्था छ । तर, नेपालमा पाइलटको धेरै नै अभाव छ । हामीले पाइलट बन्नका लागि मोटिभेसन, इन्फर्मेसन केही दिन सकेका छैनौँ । अब उत्प्रेरणा र सूचना दिने काम खुल्दै गरेको संग्रहालयले गर्नेछ ।
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...