कोरोनालयको दु:खगान
सहरका हर कुनाका पार्कहरू, सडकहरू, खाली खाली, मानिसहरू घाटमा थुप्रिन थालेका छन् ।
बिहान उठेपछि
यो घर ठडिएको धर्ती
राम्रो लाग्न छोड्यो
यी फूल, तिनलाई उचाल्ने बोट, बिरुवा
यी फल, तिनलाई बोक्ने बोटहरू
सुन्दर लाग्न छोड्यो
बिहान उठेपछि
देखिने घाम
राम्रो लाग्न छोड्यो
घर घरका झ्याल उघ्रन छोडे
आँखाले
उज्यालो र अँध्यारोको भिन्नता बिर्स्यो
हर बिहानको उच्चारण हुन्छ,
यो विपतबाट
घरका बालकहरू
जोगाउने कसरी ?
तरल आँखाहरू बगेर
बिग्रिएका पिचका खाडलहरू
कुवा बन्दै छन्
म्यापल, ओक, पाइनका
यी वृक्षहरू र
तिनका हाँगामा
खेल्ने चराहरू
घर, घरका बन्द ढोका, झ्यालहरू हेर्दै
जिल्ल
उदास छन्
टाढाबाट
एउटा दुर्लभ जीव
अचानक सुन्य लनमा आउँछ र
जोडले
कोरोना, कोरोना कराएर भाग्छ
घरहरू
मुर्दा पाटी लाग्दै छन्
शान्त सुन्दर मानिएको
मिस्टिक रिभर
चार्ल्स रिभरका प्रवाहहरू
आँसुमा चले झैँ लाग्छ
काममा हिँड्न बाध्य
मानिसहरूका ब्याकप्याकभित्र
लन्च बक्समा राखेको
पास्तासँगै
कोरोना मिस्सिएको शंका छ
को निगेटिभ
को पोजिटिभ
त्रस्त आँखाहरू
छिमेकका
अनुहार हेर्न डराइरहेछन्
कुनै समय
कसैको हाच्छ्युँमा
ब्लेस यु
भन्ने बिनम्र मुख
फक यु भन्न थालेको छ
क्षणहरू
क्रूर
अश्लील व्यवहार गर्दै छन्
यो न्युयोर्क
गौरव मानिएका
यसका अल्ट्रा उचाइका भवनहरू
इम्पाएर स्टेट बिल्डिङ र
चम्किला अपार्टमेन्ट टावरहरूको
वैभव
झुकेको छ
भीडको ताँती नसकिने
म्यानहाटनका सडकहरू
ब्रोडवेमा लस्कर लागेका
थिएटरहरू सब
भयानक शान्त छन्
सहरका हर कुनाका पार्कहरू
सडकहरू
खाली खाली
मानिसहरू घाटमा थुप्रिन थालेका छन्
सबतिर सुन्दरता खाने
भयानक
त्रास छ
हर सहर
हर अस्पतालका
पिपिइ भिरेका डाक्टरहरू, नर्सहरू ,
ग्रोसरी मार्केटका कामदारहरूको
मुहार
मास्कले छोपिएको छ
तर ती अत्यन्त सुन्दर
प्रिय देखिन्छन्
जीवन जोगाउने प्रयत्नभन्दा
सुन्दर
संसारमा के नै छ र ?
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...