अप्रिल फूल एक सपना
मनै त हो, सपना देख्न किन छोड्थ्यो र ? कविता-

एक त्यान्द्रो सपनाको भरमा
संसार मुठ्ठीमा कैद गर्न
थातथलो छाड्नेहरू
भाइरसको एकै झट्कामा
यथार्थको धरातलमा
पाहा पछारिए सरी बज्रिएका छन्
र
जरासम्म पुग्ने उत्कट अभिलाषा
राजमार्गको कालोपत्रे नाप्दै बढेका
पैतालाका फोकाहरुझैं
बेला कुबेला प्याट्ट फुट्दैछन्
प्रदूषण र आत्मकेन्द्रित मानसिकताले गिजोले पनि
आफैंले देखेका र पूरा नभएका सपनाको भारीले थिचे पनि
ऊ
आफन्त छोड्न सक्छ
उनीहरुको सामीप्य त्याग्न सक्छ
बालापन बिर्सन सक्छ
घर परिवेशलाई काँडेतार लाउन सक्छ
तर,
काठमाडौं खाल्डो छोड्न सक्दैन
घर फिर्ने सपनालाई आकार दिन पनि
उसलाई कि त चाडबाड
या
कुनै उल्का उत्पात
अथवा
विपत् र महामारी नै कुर्नपर्छ
बुढापाका भन्थे, ‘पशु धपाउन पछि लाग्नु मान्छे धपाउन अघि’
तर,
मानिस आफ्नै सपनाको गोठालो रैछ
नियतिको कमारो
भाग्यले नै ठगेपछि
विश्वासै नलागेपनि
लुरुलुरु सपना पछ्याउनुको बिकल्प
उसँग नहुँदो रैछ
रेल र पानी जहाजमा चढेको उसको सपना
यतिखेर घर फर्किन दिने र नदिने
निर्णयजस्तै बिलखबन्दमा परेको छ
कसले भन्छ हँ ? यो मुलुकमा सरकार छैन ?
र, राज्यले जनतालाई हेर्दैन ?
आसेपासेहरूले चुक्ली लाउन नपाएको दिन
सल्लाहकारहरूले कान फुक्न बिर्सेको दिन
अनि किचेन क्याबिनेटले आँखामा पट्टी बाँध्न नभ्याएको दिन
उसले मानेको सरकार पक्कै उठ्नेछ
अनि पूरा गर्नेछ
उसको थालथलो फिर्ने सपना
कागको हूलबाट फूत्किएर
आफन्त कोइलीको बथानमा मिसिने अभिलाषा
तर, फेरि
उसलाई यो पनि थाहा छ कि
देखिएका सबै सपना पूरा हुन्नन्
मनै त हो
सपना देख्न किन छोड्थ्यो र
जेलनेल गरेकाहरूले
पानी जहाज र रेलको सपना देखाएर
घरीघरी अप्रिल फूल मनाएजस्तै
ऊ आफ्नै मनलाई
घर फिर्ने सपना देखाउँदै
अप्रिल फूल मनाउँदै छ ।