चिफ साहेब मोहनशमशेरको सचिवालय
राणाजीको सवारी भएपछि स्वस्ति गरेर फर्किने चाकडीबाजहरूको दैनिक कार्यतालिकाजस्तै थियो ।

श्री ३ महाराजको सिंहासनमा पद्मशमशेर विराजमान थिए । चाकडी प्रथा एक किसिमको नियम–कानुनजस्तै थियो । महाराजभन्दा एक तह तल भए पनि चिफ साहेब मोहनशमशेरको महाराजगन्जस्थित लक्ष्मी निवासमा कति बेला उनको सवारी हुन्छ भनेर कुरेर बस्नेहरू अनगिन्ती हुन्थे । ओहदाधारी सबै राणाजीकहाँ त्यसरी चाकडीमा जानेहरू उल्लेख्य संख्यामा हुन्थे । राणाजीको सवारी भएपछि स्वस्ति गरेर फर्किने चाकडीबाजहरूको दैनिक कार्यतालिकाजस्तै थियो ।
त्यस्तै चाकडीमा जाने क्रममा मेरा अनन्य मित्र प्रमोदप्रसाद धितालले चिफ साहेब मोहनशमशेरको सचिवालयमा कारिन्दाको खोजी भइरहेको थाहा पाएछन् । उनले मलाई आएर त्यो कुरा बताए । मलाई पनि जागिर खाने इच्छाले कुतकुतायो । त्यतिबेला म त्रिचन्द्र कलेजमा बीए दोस्रो वर्षमा पढ्दै थिएँ ।
माघ, ००२ सालको एउटा शुक्रबार चिफ साहेबको निवासमा बुबा देवीप्रसादको साथ लागेर पुगेँ । दरबार हाई स्कुलको शिक्षक भएका नाताले दरबारमा मेरा बुबाको राम्रै चिनाजान थियो । चिफ साहेबका ढोकेले हामीलाई सहजै प्रवेश दिए । बुबापछि मैले पनि स्वस्ति गरेँ ।
चिफ साहेबले मलाई वास्ता गर्ने कुरै भएन । केही समय भलाकुसारी गरेपछि बुबाले ‘सचिवालयका निम्ति मानिस खोजिबक्सेको थाहा पाएर छोरा लिएर हजुरको सम्मुख हाजिर भएको हुँ’ भन्नुभयो । त्यसपछि मैले दोस्रोपटक स्वस्ति गरेँ । मोहनशमशेरले अंग्रेजीमा फर्माए, ‘द हर्स इज नोन बाई द फोडर ही इट्स ।’
उनले ‘भोलिपल्ट छोरालाई पठाइदिनू’ भनेर बुबालाई बिदा गरेछन् । म दोस्रो दिन कापी–कलम लिएर दरबारमा पुग्दा मोहनशमशेर बगैँचामा उपरखुट्टी लगाएर बसेका थिए । मैले दर्शन गरेपछि उनले बैठके डाकेर अंग्रेजी पत्रिका पायोनियर मगाए र त्यसको सम्पादकीय पढ्न लगाए । त्यसपछि उनका ज्वाइँ संग्राम सिंह, जो त्यति बेलै अक्सफोर्ड विश्वविद्यालयका स्नातक रहेछन्, ले ससुरालाई सम्बोधन गरेर लेखेको झन्डै चार पृष्ठ लामो हस्तलिखित पत्र पढ्न लगाए । अनि ‘मैले जे–जे भन्छु कापीमा टिप, कत्तिको शुद्ध र स्पिलिङ मिलाएर टिप्दा रहेछौ चेक गर्छु’ भन्दै बीचबीचमा अंग्रेजी शब्द मिसाएर नेपालीमा बुँदा टिपाए । यसरी झन्डै चार घन्टासम्म मेरो लिखित र अन्तर्वार्ता भयो । वास्तवमा मोहनशमशेरको अंग्रेजी भाषाप्रतिको दख्खल बेजोडको थियो ।
जाँच त लिए तर त्यसको झन्डै दुई महिनासम्म पनि लक्ष्मी निवासबाट कुनै जवाफ आएन । मेरो बीए प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित भयो । १४ जना विद्यार्थीमा सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण भएँ । एक दिन बुबा मेरो बीए प्रथम वर्षको परीक्षाफलको एक प्रति मार्कसिट बोकेर ‘यसो मुख सुँघेर आउँछु’ भन्दै लक्ष्मी निवासतर्फ लाग्नुभयो । मेरो प्राप्तांक देखेर मोहनशमशेरले कुनै आश्चर्य प्रकट गरेनछन्, ‘अँ’ ‘अँ’ भनेर मुन्टो मात्र हल्लाएछन् ।
त्यसको १५ दिनपछि मोहनशमशेरका सेक्रेटरी तेजबहादुर श्रेष्ठको एउटा चिट्ठी लिएर आठपहरिया हाम्रो घरमा आए । ‘तपार्इंका छोराको योग्यता चिफ साहेबलाई सन्तोषजनक लाग्यो । त्यसैले समरजंग कम्पनीको सुबेदार पद बक्स भएको छ, आफ्नो राय चिफ साहेबलाई जाहेर गर्नू’ भन्ने बेहोरा उक्त चिट्ठीमा थियो ।
बुबा अति खुसी हुनुभयो तर मेरो अनुहार भने ज्यादै नराम्रोसँग खुम्चियो । साथीभाइहरूका अगाडि मुख देखाउन पनि मुस्किल हुने भयो, बीए पढ्दै गरेकाले सुबेदार हुन गयो भनेर साथीभाइबीच गिल्लाको पात्र बन्छु भन्ने लागेर मेरो अनुहार त्यस्तो भएको थियो । बुबाले जसै पत्रवाहकलाई ‘आफैँ दरबारमा हाजिर हुने’ जानकारी गराएर बिदा गर्नुभयो, मैले आफ्नो कुरा आमामार्फत बुबालाई सुनाएँ, ‘मेरो भाग्य समरजंगको सुवेदार पदमै अल्झिने लेखेको रहेछ कि क्या हो ।’ बुबाले धेरै सम्झाउनुभयो, ‘राणाहरूले दिएको कुरा लत्याइस् भने पछिसम्मै दागा धर्छन्, अफिसमा काम गर्ने हो, पद र खान्गीसँग वास्ता नगर । ’ तर, मेरो अनुहार चम्किलो भएन ।
बुबा लक्ष्मी निवास जानुभयो र मेरा कुरा ज्यादै अप्ठ्यारो मानी मानी सुनाउनुभयो । चिफ साहेबले ‘छोराले कुरा बुझेनछ, सुवेदार पदमा धेरै उठ्ती हुने र तिर्जा उठ्तीपुठ्तीबाट वार्षिक झन्डै चार हजार रुपियाँ अतिरिक्त आम्दानी हुने भएकाले त्यो पद दिएको’ भनेछन् । वास्तवमा त्यसैलाई सरदारी खान्गी भन्दा रहेछन् । बुबा खुसी हुँदै कृतज्ञता जाहेर गरेर फर्किनुभयो र सबै कुरा मलाई सुनाउनुभयो ।
भोलिपल्ट म लक्ष्मी निवास पुगेर तेजबहादुर श्रेष्ठलाई आफ्नो गुनासो पोखेँ, ‘साथीभाइको मुखेन्जी सुवेदार पद मलाई अलि ठीक लागेन । चिफ साहेबको जो मर्जी ।’ उनले मेरा कुरा चिफ साहेबलाई सुनाए र जवाफ लिएर फर्किए, ‘तपाईंलाई सुरुमै चाँद–तोडा, कल्की–पगरी लगाउने जागिर बक्स भएको छ । त्यो भनेको खरिदार पद हो ।’ मेरो खुसीको सीमा रहेन । चिफ साहेबबाट किताबी सुब्बालाई हुकुम भयो, ‘मेरातर्फको आठ सय रुपियाँ नगदी र केही जग्गा भएको खरिदारको पदमा यिनलाई मिलाई आजै महाराजकहाँ लगेर सदर गराउनू ।’
पद्मशमशेरको दरबार लगेर मेरो परिचय गराइयो । मैले दाम राखेर स्वस्ति गरेँ । यसरी पाएको थिएँ मैले चिफ साहेब मोहनशमशेरको सचिवालयमा प्रवेश । जुन सचिवालयमा फत्तेध्वज जोशी, तेजबहादुर श्रेष्ठ, र तुलसीलाल अमात्य आदि काम गर्थे । त्यसैले २९ चैत ००२ मा चिफ साहेब मोहनशमशेरको सचिवालयमा जागिर पाउँदाको क्षण धेरै अर्थपूर्ण छ मेरा लागि । त्यस दिन श्री ३ महाराज पद्मशमशेरको दरबारमा मेरो परिचय यसरी गराइएको थियो, ‘चारपासे होइन, बीए उत्तीर्ण पनि गरेको छैन, बीएमा पढ्दैछ ।’
(रिमाल २०३० सालमा अवकाश प्राप्त नेपाल सरकारका सचिव हुन् ।)