स्मरण: भारत भ्रमणसँगै सम्पत्ति जफत
नेहरु र मोहनशमशेरबीचको वार्ता एक किसिमले असफल भए पनि भारत सरकारले भ्रमण टोलीलाई औपचारिक रूपमा दिने आतिथ्य र सम्मानमा भने कुनै कमी राखेन ।

भारत स्वतन्त्र हुनु र मोहनशमशेर राणा श्री ३ हुनु एउटै वर्ष परेको थियो । श्री ३ पद्मशमशेरको राजीनामा पत्र लिएर डम्बरशमशेर थापा भारतको राँचीबाट आएसँगै काठमाडौँमा सिन्दुरजात्रा निकालिएको थियो । विसं २००४ मा धुमधामका साथ मोहनशमशेरको राज्याभिषेक भयो ।
उनको राज्याभिषेकसँग मुलुकभित्र र बाहिर राणाविरोधी आन्दोलन उत्कर्षमा पुगिरहेको थियो । राणा शासकहरू ब्रिटिसकालीन भारतसँग गरिएजस्तो समझदारी र एकता गरेरै अगाडि बढ्नुपर्ने सोचमा थिए । तर, चिनियाँ प्रभाव तिम्बतसम्म विस्तार भएकामा रुष्ट भारत नेपाललाई आफ्नो प्रभावमा राखेर अघि बढ्ने सोचमा रहेको उसका गतिविधिले प्रस्ट पार्थे ।
भारत स्वतन्त्र भएपछि प्रधानमन्त्री जवाहरलाल नेहरुले मोहनशमशेरलाई भारतको राजकीय भ्रमणको निम्तो पठाए । तर, त्यो निम्तोमा मोहनशमशेरलाई १९ तोपको मात्र सलामी दिने प्रसंग उल्लेख रहेछ । ‘प्रधानमन्त्रीलाई दिइने १९ तोपको सलामी लिएर श्री ३ ले भारत भ्रमण नगर्ने’ भन्दै मोहनशमशेरले सार्वजनिक अभिव्यक्ति नै दिए । उता नेहरु जसरी पनि उनलाई भारत झिकाएर ‘केही कुरा सम्झाउने’ पक्षमा रहेछन् । पछि नेहरुलाई उद्धृत गर्दै भारतीय पक्षले भन्यो, ‘सलामी मे क्या बखेडा निकाल रहे हो, जितना तोप मागते है दे दो, तोप मे क्या है !’ त्यसपछि मोहनशमशेरलाई २१ तोपकै सलामी दिने लिखित पत्र आयो । बल्ल उनी भारत भ्रमणमा जाने टुंगो लाग्यो ।
त्यतिखेर म मोहनशमशेरको सचिवालयमा खरिदार थिएँ । मभन्दा माथि मीरसुब्बा, सुब्बागायत थिए । तसर्थ, म भ्रमणमा जाने कुनै गुन्जायस थिएन । भ्रमणको तयारीका लागि हामी अहोरात्र खटियौँ । त्यही सिलसिलामा खर्च अड्डाका सुब्बा रामजी भट्टले मोहनशमशेरलाई भेटेर फर्किने क्रममा मलाई ‘बधाई छ है रिमालजी ! तपाईं पनि महाराजको भ्रमण टोलीमा पर्नुभएछ !’ भनेर धाप मारे ।
लगत्तै श्री ३ बाट पनि खबर प्राप्त भयो । केशरशमशेरको कार्यालयबाट मेरा नाममा ‘लखनउबाट छोटी लाइनको ट्रेन परिवर्तन गरी बडी लाइनवाला ट्रेनमा महाराजलाई दिल्लीसम्म पुर्याउने व्यवस्था मिलाउनू’ भन्ने बेहोराको सनत जारी भयो । २१ माघ ००६ मा गारथ अड्डाका लप्टन चित्रध्वज खड्कालाई लिएर म त्यो व्यवस्था मिलाउन लखनउ गएँ ।
चन्द्रशमशेर बेलायत भ्रमणमा जाँदा प्रयोग गरेको दक्षिणकालीको बाटो कुलेखानी हुँदै रक्सौलबाट विशेष रेल लिएर मोहनशमशेरको टोली लखनउ पुग्यो । लखनउमा रेल परिवर्तन गरी दिल्लीतर्फ लागेको हाम्रो भ्रमण टोलीलाई कनाट प्लेसको विशेष प्लेटफर्ममा स्वागत गर्न नेहरु आफैँ आइपुगेका थिए । त्यहाँ २१ तोपको सलामी दिइयो । त्यहाँबाट मोहनशमशेरसहित हामी केही पाहुनालाई हैदरावाद हाउस
लगेर राखियो ।
इस्ट इन्डिया कम्पनीसँग गरेका पुराना सन्धि/सम्झौता अमान्य भएकाले केही नयाँ सन्धि/सम्झौता गर्ने उद्देश्यले पनि नेहरुले मोहनशमशेरलाई त्यस भ्रमणको निम्तो दिएका रहेछन् । त्यो कुरा हैदरावाद हाउसमा नेहरुसँगको मोहनशमशेरको विशेष भेटघाटपछि खुलेको थियो । मोहनशमशेरले भारतको प्रधानमन्त्री सहायता कोषमा एक लाख रुपियाँ चन्दा पनि दिए ।
हैदरावाद हाउसमै दुई देशका बीच औपचारिक वार्ता सम्पन्न भयो । शान्ति तथा मैत्री सन्धि गर्नेबारे विचारविमर्श भयो र दुई देशका बीच नेपालमै त्यसमा हस्ताक्षर गरेर टुंग्याउने सहमति पनि बन्यो । मोहनशमशेरले भारतमा बसेका नेपालीहरूले राणाविरोधी गतिविधि चर्काइरहेकाले त्यसको नियन्त्रणका लागि भारत सरकारले विशेष पहल गरिदिनुपर्ने माग गरे । तर, नेहरु त्यसमा सकारात्मक देखिएनन् । त्यसपछि मोहनशमशेरको अनुहार अँध्यारो भयो । अझ नेहरुले ‘अब नेपालमा परम्परागत तरिकाले शासन व्यवस्था चल्न असम्भव रहेकाले सबैभन्दा पहिले एउटा गतिलो संविधान निर्माण गर्नूस्’ भन्ने सुझाव दिँदै ‘संविधान निर्माणका लागि उपयुक्त जनशक्ति पठाइदिने’ पनि भने । मोहनशमशेर रिसले आगो भए । त्यस वार्तामा मोहनशमशेरका अतिरिक्त जनरल विजयशमशेर, केशरशमशेर, भारतका लागि नेपाली राजदूत सिंहशमशेरसमेत सहभागी थिए ।
नेहरु र मोहनशमशेरबीचको वार्ता एक किसिमले असफल भए पनि भारत सरकारले भ्रमण टोलीलाई औपचारिक रूपमा दिने आतिथ्य र सम्मानमा भने कुनै कमी राखेन । इरवीन स्टेडियममा भव्य सैनिक सम्मान दिइएको थियो । उच्च तहका भारतीय नेताहरू उनलाई भेट्न आएका थिए । सरदार बल्लभभाइ पटेल त मोहनशमशेरलाई भेट्न हैदरावाद हाउसमै पटक–पटक आएका थिए र घन्टौँ वार्ता गरी फर्केका थिए ।
त्यही क्रममा भारतमा निर्वासित जीवन बिताइरहेका विद्रोही राणाहरू महावीरशमशेर, सुवर्णशमशेर र हिरण्यशमशेरका तर्फबाट एउटा खुलापत्र बुझाउने काम पनि भयो । उनीहरू स्वयं उपस्थित भएनन् । तर, उनीहरूका तर्फबाट बुझाइएको पत्रमा ‘पुरानो तरिकाले अब शासन चल्न सक्दैन, तसर्थ नयाँ शासन व्यवस्थाका लागि समयमै विचार पुर्याइयोस्’ भन्ने लेखिएको थियो । ‘त्यस दिशामा कदम नचाले अनर्थ हुन सक्ने’ चेतावनीयुक्त त्यो पत्र पढेर सुनाउँदा मोहनशमशेरको रिस थामिनसक्नु देखिएको थियो । ‘म देखाउँछु तिनीहरूलाई’ भन्दै मोहनशमशेरले लामो हुँकार भरेका थिए ।
भ्रमणकै दौरान मोहनशमशेरले देहरादुन पुगेर काका जुद्धशमशेरलाई पनि भेटे । देहरादुनबाट हामी विशेष रेल चढी नेपाल फर्कियौँ । अमलेखगन्ज झरेका के थियौँ, तुरुन्त बबरशमशेरलाई फोन मिलाउन उर्दी दिए । बल्लतल्ल लाइन मिल्यो । उनले त्यहीँबाट फर्मान जारी गरे, ‘सरकारको विरोधमा लागेका राणाहरू महावीरशमशेर, सुवर्णशमशेर र हिरण्यशमशेरहरूको सम्पूर्ण सम्पत्ति जफत गर्नका लागि तुरुन्त प्रारम्भिक कार्य मिलाउनू ।’ भारत भ्रमणबाट काठमाडौँ फर्किनासाथ मोहनशमशेरले गरेको पहिलो काम, ती राणाहरूको सम्पत्ति जफत गरिएको पत्रमा हस्ताक्षर थियो ।
प्रस्तुति: ईश्वरी ज्ञवाली