जब मोहनशमशेरको होस उड्यो
बैठकेले उनका गोडा धोएर गम्छाले खुट्टा मुसारिरहेका बेला आपत्कालीन अवस्थामा प्रयोग गरिने गोप्य बाटो हुँदै उनका छोरा विजयशमशेर हुर्रिंदै त्यहाँ आइपुगे । वातावरणमा सन्नाटा छायो । म पनि अलि पछाडि सरेँ ।

२१ कात्तिक २००७, बिहान ९ बजेको हुँदो हो । घरबाट सिंहदरबार पुगेर मोहनशमशेरका नाममा आएका चिट्ठीपत्रको जवाफ तयार गरेँ र भान्सामा जाने तयारीमा रहेका उनका अगाडि पुगेँ । मोहनशमशेरका बैठके उनको एउटा गोडा धोएर मलमलको गम्छाले पुछी अर्को गोडा धुने तरखरमा थिए । उनी आफ्नो एउटा गोडा अर्को गोडामाथि चढाएर पत्रको जवाफ पढ्दै पुछारमा ‘भलो चाहने मोहनशमशेर’ लेख्दै थिए ।
त्यति बेला जनता आफ्ना पीरमर्का चिट्ठीमार्फत श्री ३ मा जाहेर गर्थे । आफूलाई सम्बोधन गरी पत्रमार्फत सोधिएका प्रश्न र पिरमर्काबारे श्री ३ का तर्फबाट प्राय: मैले नै जवाफ तयार गरी सही गराउँथेँ । त्यस दिन पनि त्यस्तै जवाफमा सही गराउन मोहनशमशेरको भान्साकोठामा पुगेको थिएँ । उनी गुनासा–पत्रको सुनुवाइ र जवाफी पत्रमा सही अक्सर खाना खानुअघि गोडा धोइदिने समयमा गर्थे ।
अरू दिनभन्दा २० कात्तिकमा अलि बढी नै चिट्ठी आएका थिए । तिनको जवाफ तयार गरी २१ कात्तिकका दिन त्यहाँ पुग्दा उनी प्रफुल्ल मुद्रामा सही गरिरहेका थिए । खासमा धेरै पत्र आएको दिन उनी खुसी हुन्थे । बैठकेले उनका गोडा धोएर गम्छाले खुट्टा मुसारिरहेका बेला आपत् कालीन अवस्थामा प्रयोग गरिने गोप्य बाटो हुँदै उनका छोरा विजयशमशेर हुर्रिंदै त्यहाँ आइपुगे । वातावरणमा सन्नाटा छायो । म पनि अलि पछाडि सरेँ । विजयशमशेरले पिताका कानमा केही फुसफुसाए ।
मोहनशमशेरको होस उड्यो, उनी खङ्ग्रङ्ग भए । उनको उज्यालो अनुहार अँध्यारोमा परिणत भयो र असिनपसिन हुँदै बाबुछोरा नै बैठक कक्षतर्फ हुर्रिए । बैठकमा तारन्तार टेलिफोनको घन्टी बजिरहेको थियो । केही समयपछि मोहनशमशेर आफैँले फोन उठाए । उनी झन् लल्याकलुलुक भए । के गर्ने, कसो गर्ने भन्ने भावमा यताउति गर्न थाले । यो सब दृश्य ढोकाबाहिरबाट टुलुटुलु हेर्नु सिवाय मैले गर्ने केही थिएन त्यहाँ । उनको हाउभाउबाट मुलुकमा केही अनिष्ट आइपरेको संकेत त मिल्थ्यो तर के भएको हो भन्ने यकिन भएन ।
केही छिनमा कक्षमा चिफ साहेब, जनरलहरू, लाठ साहेब, सल्लाहकार तथा उच्च तहका राणाजीहरूको प्रवेश हुन थाल्यो । म उभिएर उनीहरूलाई हेरिरहेको थिएँ कि बैठके आएर भने, “बाजे अब तपाईंको काम आज हुँदैन । तपाईं गए हुन्छ रे ! महाराजबाट हुकुम भएको ।”
म सरासर आफ्नो कक्षमा फर्किएँ र सुब्बा तेजबहादुर श्रेष्ठको कानमा सुटुक्क सबै वृत्तान्त सुनाएँ । उनी श्री ३ को बैठक कक्षतर्फ लागे । उनका लागि बैठक कक्ष सधैँ खुला थियो । उनी सहज ढंगले त्यहाँ आवतजावत गर्न सक्थे र श्री ३ सँग दोहोरो कुराकानी गर्न सक्ने सामथ्र्य राख्थे । सबै कुराको जानकारी लिएर जब उनी फर्किए, त्यस घटनाका बारेमा मैले पनि थाहा पाएँ । वास्तवमा २१ कात्तिकको बिहान राजा त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिन पुगेका रहेछन् ।
विजयशमशेर हुर्हुराउँदै आउनुको कारण पनि त्यही रहेछ । मोहनशमशेरको बैठकमा तारन्तार बजेको टेलिफोन भारतीय दूतावासबाट गरिएको रहेछ, राजा त्रिभुवन सपरिवार दूतावासमा प्रवेश गरेको जानकारी दिन । २० कात्तिकमा राजा त्रिभुवनले मोहनशमशेरसमक्ष सपरिवार वनभोज र सिकारका लागि नागार्जुन जान चाहेकाले लिखित अनुमति मागेका थिए । र, मोहनशमशेरले इजाजत दिएका पनि थिए । २१ कात्तिकका दिन एकादशी तिथि थियो तर मोहनशमशेरलाई भने हेक्का रहेनछ । किनभने, हेक्का भएको भए धार्मिक स्वभावका मोहनशमशेरले सिकार खेल्नका लागि मागेको अनुमतिपत्रमा सही गर्दैनथे ।
सिकार खेल्ने अनुमति माग्न सिंहदरबार जानुअघि राजा त्रिभुवन भारतीय दूतावास पुगेर फर्किएका रहेछन् । २० कात्तिकमै राजा भारतीय दूतावास पुगी शरण मागेको र त्यसका लागि सहयोग गर्न दूतावासलाई वचनबद्ध गराएपछि भोलिपल्ट उनी दुवै महारानी, युवराज महेन्द्र, अधिराजकुमार हिमालय, बसुन्धरा, नातिहरू नवयुवराज वीरेन्द्र तथा छोरी र नातिनी (शाहज्यादी)हरूसित भारतीय दूतावास छिरेका रहेछन् । दूतावासले पनि बाहिरी वातावरण बुझ्न राजदूतका निजी सचिवलाई गेटमै रहेको पोखरीमा माछा मार्ने बल्छी समातेर बस्न लगाएको र त्यहाँ राजा त्रिभुवनको सवारी भएपछि गेट खोल्न लगाई भित्र लगेका रहेछन् ।
राजनीतिक रूपमा पाकेको त्यस किसिमको खिचडीबारे राणा शासक बेखबर रहनु त्यति बेला ज्यादै अनौठो थियो । यो त्यही घटना थियो, जसले निरंकुश राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र ल्याउनका लागि निर्णायक भूमिका निर्वाह गर्यो ।
प्रस्तुति: ईश्वरी ज्ञवाली