स्मरण» त्यो दरबारी कौडा खाल
राणा परिवारकै पनि बाबुआमा खेलेको खालमा छोराछोरी सहभागी हुँदैनथे ।

राणाकालमा बाह्रमासे जुवाको चलन थिएन । दसैँ–तिहारजस्ता चाडपर्वका अतिरिक्त महाराज फेरिएको वा महाराजको घरमा कुनै हर्षबढाइँ भएका बेलामा जुवा फुक्थ्यो । बाजागाजा र झ्याली पिटेर चोकचोकमा जुवा फुकेको सन्देश बाँडिन्थ्यो ।
राणाहरू आफ्नो समूहमा जुवा खेल्न पाउँदा आनन्दित हुन्थे । वर्षमा एक–दुईपटक फुक्ने जुवामा आममानिस पनि उत्तिकै रमाइलो गर्थे । ठाउँठाउँमा जम्मा भएर गच्छे अनुसार जुवा खेल्थे । जुवा बडो बिचित्रको चीज थियो । जित्नेले हर्षबढाइँ गरेर खुसी साटासाट गर्थे भने हार्ने रानीपोखरीमा गएर आत्महत्या गर्नेसम्मको तहमा ओर्लिन्थे ।
मलाई सानो हुँदा बुबाले बडाकाजी रत्नमान सिंहको घरमा पुगेर जुवा खेलेको सम्झना छ । डबल र मोहरका सिक्काको झोला मलाई बोक्न लगाई बुबा बडाकाजीको घरमा गएर जुवा खेल्नुभएको थियो ।
विसं २००३ मा मैले भव्य दरबारी जुवा (कौडा)को खाल हेर्ने अवसर पाएको थिएँ । प्रत्येक वर्ष दसैँ–तिहारका अवसरमा महाराजका तर्फबाट आयोजना गरिने जुवा त्यस वर्ष चिफसाहेब मोहनशमशेरले आयोजना गरेका थिए । श्री ३ पद्मशमशेर जुवा खेल्दैनथे, त्यसप्रति लगाव पनि राख्दैनथे । अघिल्लो दिन नै मोहनशमशेरको आदेशमा सरदार भूपध्वज कार्कीले मलाई जुवाको हिसाब राख्न सिकाइदिएका थिए ।
मोहनशमशेरले सिंहदरबारको विशाल बैठक कक्षमा आयोजना गरेको त्यस जुवामा चिफसाहेब, लाठसाहेब, दक्षिण, पूर्व र उत्तरतर्फका कमान्डिङ जनरललगायत राजा साहेबज्यूहरू, बडागुरुज्यू तथा अन्य खास गण्यमान्यको उपस्थिति थियो । बैठक कक्षमा चारवटा खाल थिए ।
राणा परिवारकै पनि बाबुआमा खेलेको खालमा छोराछोरी सहभागी हुँदैनथे । उनीहरूका लागि तल्लो बैठकमा छुट्टै खालको व्यवस्था हुन्थ्यो । माथिल्लो ठूलो खालनजिकै महिलाहरूका लागि च्याँखे थाप्न छुट्टै खालको व्यवस्था गरिएको थियो । त्यसको हिसाब सुब्बा तेजबहादुर श्रेष्ठले राखेका थिए । उनी त्यो हिसाब ल्याएर हामीलाई टिपाउँथे । रानी/महारानीहरूलाई च्याँखे थाप्ने मात्र छुट थियो, कौडा हान्न पाउँदैनथे । अर्थात् महिलाहरूलाई कौडा हान्न बन्देज थियो ।
उमेर समूह र मर्यादाक्रम अनुसार बेग्लाबेग्लै खालमा जुवा सञ्चालन भइरहेको थियो । त्यस वर्षको ठूलो खालमा मोहनशमशेर, केशरशमशेर, सिंहशमशेर र कृष्णशमशेर सहभागी थिए । त्यस खेलमा मोहनशमशेर पन्जा दाउ लिएर खेलेका थिए भने कृष्णशमशेरले छक्का । केशरशमशेरको चौका दाउ थियो भने सिंहशमशेर तिया दाउमा कौडा फालिरहेका थिए ।
नियमत: चौका दाउबाट कौडा हान्न सुरु भयो । च्याँखे थाप्नेहरू पनि उल्लेख्य संख्यामा थिए । रोलक्रमका उच्चपदस्थ रानी/महारानीका अतिरिक्त अरूहरू च्याँखे थापेर रमाइरहेका थिए । च्याँखे थाप्नेमा च्यान्टा गुरुज्यूका अतिरिक्त ऋषिराम भण्डारी नामूद मानिन्थे । त्यस दिनको खालमा छक्का दाउ यति पर्यो कि बयान गरिसाध्यै भएन ।
डबलका सिक्काको लेनदेनमा जुवा चलेको थियो । तसर्थ, खेल्दा खेल्दै कसले कति हार्यो भन्ने थाहा भएन । दाउ परेका हिसाबले कृष्णशमशेरले जितेकामा भने शंका थिएन । हिसाब निकाल्ने काममा सरदार भूपध्वज र म खटिएका थियौँ । रमाइलो के भने जुवा खेलिरहँदा कसले कति जित्यो र कसले कति हार्यो भन्ने कुरा तत्काल स्वयं जुवाडेलाई पनि थाहापत्तो हुँदैनथ्यो । खाल बन्द भएपछि मात्र अन्तिम नतिजा थाहा हुन्थ्यो ।
खेलमा प्रयोग भएका सिक्का झोलामा राखेर हिसाब बुझ्न आएका कृष्णशमशेरले अञ्जुलीका अञ्जुली सिक्का जितौरीका रूपमा भूपध्वजलाई दिएको देख्दा मैले पनि आश गरेँ । तर, उनी पुलुक्क मलाई हेरेर फिस्स हाँसे अनि हिँडे ।
सँगै हिसाब राख्नेमध्ये एक जनालाई अञ्जुलीका अञ्जुली जितौरी दिएर मलाई किन निराश पारेका होलान् भन्ने मनमा लागिरह्यो । वास्तवमा सार्वजनिक अड्डामा काम गर्ने भएकाले भूपध्वजलाई जितौरी दिन कसैलाई सोधपुछ गर्नुपर्ने रहेनछ । तर, म मोहनशमशेरको निजी सचिवालयमा काम गर्ने हुनाले श्री ३ लाई नसोधी जितौरी दिन पनि नपाइने नियम रहेछ । त्यसैले म जितौरीबाट वञ्चित भएको रहेछु ।
त्यस वर्षको जुवामा सबैभन्दा बढी हार्ने केशरशमशेर थिए । सिंहशमशेर र मोहनशमशेरले पनि धेरै हारेका थिए । अन्त्यमा हिसाब निकाल्दा त्यस वर्षको जुवामा जर्नेल कृष्णशमशेरले १ लाख १३ हजार रुपियाँ मारेका रहेछन् । त्यसको हरहिसाब गरेर गारथमा जानकारी पठाइयो । हार्नेले गारथमै पैसा जम्मा गरे भने जित्नेले त्यहीँबाट आफ्नो हिस्सा लिए ।
प्रस्तुति: ईश्वरी ज्ञवाली