स्मरण : मनमौजी मोहनशमशेर
मोहनशमशेर बाथरुम बस्दा प्रशस्त समय खर्च गर्थे । बाथरुमबाट निस्केपछि सके एक हजारपटक, नभए एक सय आठपटक त कुल्ला नै गर्थे । त्यो पनि टुटी नै मुखमा लगाएर ।
चिफसाहेब हुँदै श्री ३ को गद्दीमा विराजमान हुँदाका ६ वर्ष मोहनशमशेरसँग मैले ज्यादै नजिक भएर काम गरेँ । त्यसैले, उनका आनीबानीसँग म काफी परिचित थिएँ । उनी सखारै उठ्थे । अफिसियल कारिन्दाहरूलाई घरमै डाकेर काम लगाउँथे । निजी सचिवालयका कर्मचारी आलोपालो बिहानै उनको निवासमा पुग्नै पथ्र्याे ।
मोहनशमशेर बाथरुम बस्दा प्रशस्त समय खर्च गर्थे । बिहान होस् वा दिउँसो, बाथरुमबाट निस्केपछि सके एक हजारपटक, नभए एक सय आठपटक त कुल्ला नै गर्थे । त्यो पनि टुटी नै मुखमा लगाएर । कुल्ला गर्दा बोल्नुपर्यो भने त्यो पाइप जुठो भएको मान्थे र बैठके लगाएर चाँदीको करुवामा भरिएको पानीले चोखो गर्न लगाउँथे । उनी दिनमा कम्तीमा दुईपटक स्नान गर्थे । जे गर्दा पनि हात धुने उनको अनौठो स्वभाव थियो । कतिपय उनलाई ‘पानीबौलाहा’ पनि भन्थे ।
पौने इन्चको धारा खोलेर झन्डै एक घन्टा नुहाउनमै खर्चन्थे । त्यसरी नित्यकर्म, स्नान आदि गर्दा पनि विदेशी पत्रपत्रिका पढ्न लगाएर सुन्थे । अंग्रेजी पत्रिका पायोनियरमा उनको विशेष लगाव थियो । निजी सचिवालयका कर्मचारीले बीबीसी, अलइन्डिया रेडियो सुनेर तयार पारेका रिपोर्ट पनि त्यति बेलै सुन्थे । गुप्तचर विभागका रिपोर्ट उनीसँगै रहने बैठकेहरूले मात्र सुनाउँथे । रेडियो रिपोर्ट र दरबारसँग सम्बन्धित चिट्ठीपत्र तेजबहादुर श्रेष्ठ, दीपराज मानन्धर र मैले आलोपालो गरेर सुनाउँथ्यौँ ।
उनको बाथरुम र स्नानघरको माथिपट्टि केही खुला ठाउँ छोडिएको थियो । हामी चर्को स्वरले बाहिरबाट चिट् ठीपत्र भट्याएर सुनाउँथ्यौँ । चिट् ठीपत्रमा केही ‘डिक्टेट’ गर्नुपर्ने भयो भने भित्रबाट चिच्याएर ‘त्यसमा यो थप, ऊ थप’ भन्थे । उनले बोलेको कुरा भने कमै बुझिन्थ्यो । किनभने, दाँत असमयमै झरेकाले उनले नक्कली दाँत प्रयोग गरेका थिए र स्नान आदि गर्दा ती दाँत फुकालेर राख्थे । तसर्थ, बोली नबुझी दोहोर्याएर सोधियो भने नराम्रोसँग झपार्थे ।
स्नान गरिसकेपछि बाहिर आएर लामो सेतो तौलियाले झन्डै १५ मिनेट जनै र विभिन्न अंगप्रत्यंग पुछ्थे । त्यसपछि डिट्ठा हर्कमान तामाङले बन्दोबस्त गरेर राखिदिएका सफा भोटो–सुरुवाल लगाउँथे । त्यसपछि भण्डारे आएर आजको खानामा के तयार गर्ने सरकार भनेर सोध्थिन् । उनी ‘खानेकुरा के के छ’ भनेर सोध्थे । भण्डारेले ‘यो यो कुरा छ’ भनेपछि खानेकुराको टुंगो लगाउँथे ।
स्नानपछिको एक घन्टा त उनी पूजा गरेरै बिताउँथे । विशेष पर्वमा तुलसीपत्रमा श्रीखण्ड चन्दनले राम नाम लेख्ने गर्थे । सिंहदरबार परिसरभित्रै बिहानको केही समय हिँड्थे । त्यति बेला पनि उनको पछिपछि लागेर अफिसियल काम निरन्तर चल्थ्यो । त्यसरी हिँड्दा गाईगोठ, घोडाका तबेला आदि हेरेर केही नपुग र सरसफाइमा कमी देखे भने ठाउँको ठाउँ हप्कीदप्की गर्थे । गोठाला र सइसहरू त्राहिमाम् देखिन्थे । भोजन गर्ने बेला पत्नीको लङ हुँदै जान्थे । त्यसो गर्नुको खास कारण भने खुट्टा ढोगाउनु हुन्थ्यो । उनकी पत्नी पतिलाई नढोगी पानीसम्म पिउँदिनथिइन् ।
मोहनशमशेरकी पत्नी सुशील, राम्रो पार्सी पहिरन गर्ने, हिँड्दा हंसगामिनी लक्षणकी थिइन् । धार्मिक भावनाले ओतप्रोत उनी दु:खी–गरिबलाई केही दिउँm, राम्रो गरिदिउँm भन्ने चाहना राख्थिन् । तर, मोहनशमशेर उनका कुरा पटक्कै सुन्दैनथे । मैले एकपटक एक जनाका लागि जागिरको बिन्ती चढाउँदा ‘महारानी साहेबको पनि यसलाई बक्से हुन्छ भन्ने विचार छ’ भनेको के थिएँ, मोहनशमशेरले उफ्रिएर मेरो सातो नै लिए । त्यसपछि मैले कहिल्यै महारानीको नाम लिइनँ ।
मोहनशमशेर एक छाक मात्र खाना खान्थे । त्यसैले बिहानको खानाका परिकार भव्य हुन्थ्यो । खानामा मासु प्राय: छुटाउँदैनथे । चराचुरुंगीको मासुप्रति उनको विशेष चाख थियो । ठूलो पिर्कालाई कपडाले बेरिएको हुन्थ्यो । त्यहीँ पलेँटी कसेर बस्थे र अग्लो अर्को पिर्कामा सजाएर राखिएको व्यञ्जन सधवा ब्राह्मणीले पस्केर दिन्थिन् । खाना खाँदै गर्दा पनि महाराज राजकाजको विषयमा कर्मचारीका अतिरिक्त छोराहरूसँग सल्लाह/मसविरा गरिरहेका हुन्थे । मांसहार गरेको बेलुकी हर्लिक्सजस्तै शक्तिवद्र्धक कोको दूधमा घोलेर पिउँथे ।
एक दिन खाना खाइरहेका बेला चिट्ठी पढ्ने क्रममा बिन्तीपत्र प्रेषकले डाक्टरको रिपोर्ट संकलन गरी पठाएको रहेछ । त्यसमा अर्थराइटिस भन्ने शब्द थियो । महाराजले त्यो कस्तो रोग हो भनेर पत्रवाचक मलाई सोधे । म अकमक्क परेँ । मलाई त्यो शब्दको ज्ञान थिएन । उनले मलाई ज्यादै हप्काए । उनका अगाडि मुन्टो निहुराउनुको विकल्प थिएन । तसर्थ, उनका अगाडि लेखिएको मात्र होइन, अर्थ र आशय बुझेर पढ्नुपर्ने हुन्थ्यो । उनले सोधेको कुरा फ्याट्ट जवाफ दिन जान्ने ढंगले प्रस्तुत हुनुपथ्र्यो । नभए हप्काइहाल्थे ।
मोहनशमशेर अत्यन्त धर्मभीरु थिए । ज्योतिषीको सल्लाहबेगर कुनै काम गर्दैनथे । सिंहदरबार सर्ने साइत होस् कि कुन कोठालाई कुन रूपमा प्रयोग गर्ने, कुर्सी–टेबुल कुन दिशातर्फ फर्काउने आदि सबै ज्योतिषीको सल्लाहमा गर्थे । पूजाकोठा जमिन छोएर निर्माण गरिएको हुनुपर्छ भन्ने ज्योतिषीहरूको रायसल्लाह पाएपछि उनले सिंहदरबारभित्रै भिन्दै कोठा निर्माण गर्न लगाएका थिए ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
25.12°C










.jpg&w=400&height=300)

