राणाजीको त्यो रजगज, त्यो अवसान
श्रीसम्पत्ति बिस्तारै सकिँदै गएपछि मोहनशमशेरका आर्थिक अभावका दिन सुरु भएका थिए । उनी लामो समय रोगले थलिए । स्याहारसुसार र हेरचाह गर्ने छोराछोरी र श्रीमती कोही नभएपछि उनमा पीडाको झलक देखिन थालेको थियो । कुनै समय मुलुकको शासनसत्ता र आर्थिक दृष्टिले पनि राज्यसम्पत्तिमा रजगज गरेका मोहनशमशेरको अवसान भने ज्यादै दु:खद रह्यो ।

जीवनमा मास्टर्स डिग्री पढ्ने मेरो ठूलो धोको थियो । तर, जागिर खाएर त्यो सम्भव थिएन । तसर्थ, जागिरबाट बिदा लिएर पढ्ने इच्छा गरी ००७ सालमा मोहनशमशेरलाई नै बिन्तीपत्र चढाएँ । त्यत्रो सेवा गरेकाले अवश्य पनि बिदा स्वीकृत गरिदेलान् भन्ने आशा थियो । तर, उनले त ठाडै इन्कार गरिदिए । उनले ‘पढ्ने इच्छा भए जागिरबाट राजीनामा दिएर जाने’ भनेर मेरो बिन्तीपत्रको पुछारमा लेखेर फर्काइदिए । त्यो पत्र उनकै छोरा विजयशमशेरले मलाई ल्याएर दिए । त्यो देखेपछि चुप लाग्नु सिवाय मेराअगाडि अर्को कुनै उपाय थिएन ।
तर, ००७ सालको जनआन्दोलन सुरु हुन लाग्दा नलाग्दै राणा शासन क्षीण हुँदै गइरहेको लख मैले पनि काटेँ । अब शक्ति क्षीण हुन लागेको र शासनसत्ताबाट बाहिरिने दिन नजिकिँदै गइरहेको आभास मोहनशमशेरलाई पनि भएको होला भन्ठानेर फेरि दोस्रोपटक आफैँ उपस्थित भएर दुई हात जोडी बिन्ती बिसाएँ, ‘एमए पढ्ने ठूलो धोको छ, दुई वर्षको बिदा पाए महाराजको ठूलो गुन लाग्ने थियो !’ उनले राजनीतिक जवाफ फर्काए, ‘अब लक्ष्मी निवास टाढा भयो र ?’
प्रजातन्त्रवादीको पक्षमा लागेर सिंहदरबार पस्ने सोच मैले पनि बनाएको आशंका उनको मनमा परेको रहेछ । दरबारकै मानिसले उनलाई त्यो कुरा सुनाएको हुनुपर्छ । त्यसैले उनले लक्ष्मी निवाससँगैका केही बंगला खालि भएकाले त्यहीँ आएर बस्न भने । उनको भित्री मनमा मैले उनलाई नछाडुँ भन्ने रहेछ । तर, मैले त पढ्ने दृढ निश्चय गरिसकेको थिएँ ।
केही गरी पनि महाराजलाई मनाउन नसकेपछि अन्त्यमा अफिस पुगेर आफ्नो जिम्मेवारीका कागजपत्र, फाइल र ताल्चा–साँचो तेजबहादुर श्रेष्ठलाई जिम्मा लगाएर बिदा भएँ । तर, मन फर्की पो हाल्छ कि † भनेर दरबारमा स्वस्ति गर्न जाने क्रम भने केही समय चलिरह्यो । बिदा नपाउने लगभग निश्चित भएपछि अन्त्यमा बिन्तीपत्रको भाषामा राजीनामा लेखेर बुझाएँ र जागिर नै छोडिदिएँ । यसबीचमा राजा त्रिभुवनका नाममा पढ्नका लागि छात्रवृत्ति मिलाइदिन भनेर अनुरोधपत्र जाहेर गर्ने काम भने गरेँ । अन्तत: एमए पढ्ने उद्देश्यले भारतको लखनउतर्फ लागेँ । ४५ रुपियाँको टिकट काटी हवाई जहाजमा
पटना हुँदै लखनउ पुगेँ र लखनउ विश्वविद्यालयमा पढाइ थालेँ ।
समयको खेल न हो । यता मुलुकमा जनआन्दोलन सफल भएर राणाशासनबाट मुलुक मुक्त भयो । मोहनशमशेरले भने दिल्ली सम्झौताको परिणामस्वरूप प्रजातान्त्रिक शासन व्यवस्थामा पनि प्रधानमन्त्रीजस्तो उच्च पदमा आसीन हुने मौका पाए । तर, नेपाली कांग्रेसका नेता तथा तत्कालीन सरकारका गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँगको मतभेदले मोहनशमशेर लामो समय मुलुकको शासनसत्तामा आसीन रहन सकेनन् । छोटो समयमै प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर आफ्नो बाँकी जीवन भारतमा व्यतित गर्ने अठोट गरी त्यसतर्फ लागे ।
दानसिंह विष्टको प्रमुख आतिथ्य स्वीकार गरेर उतै बस्ने उद्देश्यले भारतको मसुरी पुगेका मोहनशमशेर त्यहाँको हावापानी र वातावरण आफू सुहाउँदो नपाएपछि लखनउ झरेका थिए । न्यु हैदरावादको खजुरगाउँ प्यालेसमा उनकी छोरीको घर थियो । उनलाई हामी खजुरी महारानीका नामले सम्बोधन गथ्र्यौं । उनैको निवासमा मोहनशमशेर बसेको कुरा उनको साथ लागेर त्यहाँ पुगेका मित्र नन्ददेव भट्टराईबाट मैले थाहा पाएँ ।
लामो समय कारिन्दा भएर काम गरेकाले मोहनशमशेरको दर्शनार्थ जानु आफ्नो कर्तव्य सम्झेँ र उनलाई भेट्न खजुरगाउँ प्यालेस पुगेँ । मलाई देख्नासाथ उनी आश्चर्यमा परे । मेरा बारेमा उनलाई अनेक कुरा लगाइएको रहेछ । अवसर कुम्ल्याउनु कुम्ल्याएर अप्ठ्यारो पर्दा राणाविरोधी क्याम्पतर्फ लागेको भनेर मेराविरुद्ध मोहनशमशेरको कान फुकिएको रहेछ । तर, मैले आफ्ना कुरा विस्तारमा बताएपछि उनले ‘ए...कुरा त्यसो पो ...’ भन्दै टाउको हल्लाए । यथार्थ उनीसमक्ष राख्न पाउँदा मलाई पनि आनन्द लाग्यो ।
बेंग्लोरमै बाँकी जीवन बिताउने उद्देश्यले मोहनशमशेर लखनउबाट सीधै उता लागे । तर दुर्भाग्य ! यसैबीच उनका छोरा विजयशमशेरको नेपाली राजदूतका रूपमा दिल्लीमा पदमा बहाल रहेकै अवस्थामा करेन्ट लागेर निधन भयो । त्यो दु:ख त छँदै थियो, बेंग्लोरमा बस्दाबस्दै मोहनशमशेरकी श्रीमतीको पनि त्यहीँ निधन भयो । मैले छोरा विजयशमशेर र महारानीको निधनमा हार्दिक समवेदना लेखेर पठाएँ । मोहनशमशेरले पनि दुवै समवेदनाको जवाफ फर्काएका थिए । अर्को घटना पनि भयो, चर्खारी महारानीका रूपमा प्रख्यात मोहनशमशेरकी अर्की छोरीले अचानक बेंग्लोरमै आत्महत्या गरिन् ।
जो कसैको निधन पनि दु:खद नै हुन्छ । तर, केही मान्छेको निधन भने ज्यादै कारुणिक र हृदयविदारक हुँदो रहेछ । चिफसाहेब हुँदै श्री ३ बनेका मोहनशमशेर राणाको निधन त्यस्तै कारुणिक र हृदयविदारक थियो । आफ्नो जमानामा खुब मोजमज्जा र ऐसआराम फर्माएका उनको जीवनको उत्तरार्ध अस्वाभाविक दु:खमा बित्यो । मुलुकबाट लिएर गएको र छोराछोरीले व्यापार व्यवसाय गरेर जोडेको श्रीसम्पत्ति बिस्तारै सकिँदै गएपछि मोहनशमशेरका आर्थिक अभावका दिन सुरु भएका थिए । उनी लामो समय रोगले थलिए । स्याहारसुसार र हेरचाह गर्ने छोराछोरी र श्रीमती कोही नभएपछि उनमा पीडाको झलक देखिन थालेको थियो । कुनै समय मुलुकको शासनसत्ता र आर्थिक दृष्टिले पनि राज्यसम्पत्तिमा रजगज गरेका मोहनशमशेरको अवसान भने ज्यादै दु:खद रह्यो । परिवारका अधिकांश सदस्य गुमाएपछि एक्लो बन्न पुगेका उनको निधनमा आँसु चुहाउने परिवारका सदस्य पनि नगण्य थिए । नेपाली शासकमा त्यस किसिमको मृत्यु विरलैले भोगेका छन् । मोहनशमशेर त्यसैका अपवाद हुन् ।
(प्रस्तुति : ईश्वरी ज्ञवाली )