चन्द्रशमशेरलाई चक्मा
चन्द्रशमशेरले सिंहदरबारको बरन्डामा निस्किएर भनेका थिए, ‘ए डिठ्ठा, तैँले त मेरो आँखामा पनि छारो हालिस् है ! अब तँलाई म त्यत्तिकै कहाँ छाड्छु र ? कारबाहीको भागिदार बन्न तयार भएर बस् ।’

राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालाको कुरा हो । त्यस समयमा जुम्लाका एक जना डिठ्ठा न्याय सेवामा प्रसिद्ध थिए । उनलाई उनको नामले भन्दा पनि जुम्ली डिठ्ठाको सम्बोधनले बोलाइने भएकाले हामीले उनलाई पनि त्यही रूपमा बुझ्यौँ र चिन्यौँ । जुम्लाबाट काठमाडौँ खाल्डोमा झरेर नाम कमाउने थोरै व्यक्तिमा उनी पर्थे । कुस्त सम्पत्ति र न्याय सेवामा धाक/रवाफ जमाएकाले उनको नाम त्यतिबेला ज्यादै चर्चित थियो । उनी हाम्रै टोलछिमेक क्षेत्रपाटी, धोबीचौरमा बस्थे ।
उनका छोरा चेतबहादुर सिंह उमेरमा ठूला भए पनि उनीसँगै खेली हुर्केकाले साथीजस्तै थियौँ हामी । घरायसी कुराका अतिरिक्त न्याय, प्रशासन र मुलुकको राजनीतिका बारेमा पनि हामी बरोबर कुराकानी गथ्र्यौं । उनी यस्ता कुरा सुनाउन पाउँदा रमाइलो मान्थे र मच्ची मच्ची सुनाउँथे । हामी पनि उनका कुरा सुन्दा दंग पथ्र्यौं । उनले आफ्ना बाबुका बारेमा सुनाएको एउटा घटना गजबको छ, जो त्यस समयको न्याय प्रशासन बुझाउन सघाउ पुग्नेछ ।
चन्द्रशमशेरको शासनकालको अन्तिमतिर तिनै डिठ्ठाविरुद्ध घूस खाएर असाध्यै बदनाम भएको र रकम लिएर निर्णय गराउने गरेको गुनासो र पोल दरबारमा लगाइएको रहेछ । सायद दरबारको कुनै गुटको फेरो समाएकाले होला, डिठ्ठा पनि निर्धक्क देखिन्थे । र, उनको रोवरवाफ टोलछिमेकमा पनि राम्रो थियो । सान र रवाफका साथ उनी कार्यालय जाने र कार्यालय समयपछि घर फर्कने गर्थे ।
उनका विरुद्धमा प्रशस्त पोल र गुनासाका उजुरी दरबारमा परेपछि चन्द्रशमशेरले उनका बारेमा छानबिन सुरु गरेछन् । नगद लिएरै निर्णय गर्छन् या नगद लिएर जाने व्यक्तिलाई प्रभावमा पार्न खोज्ने भनेर हप्काएर पठाउँछन् भन्ने बुझ्न महाराज चन्द्रशमशेर स्वयंले केही मान्छेलाई नगद दिई उनको घरमा पठाएका रहेछन् । डिठ्ठाकी श्रीमती पनि ज्यादै चलाख थिइन् । सधैँ सजधज गरेर बस्थिन् । कपडा पनि अचम्म अचम्मका लगाउँथिन् । ४० हातको त धोती नै बेर्थिन् । पुस–माघ महिनाको जाडोमा चन्द्रशमशेरका मान्छे उनको घरमा पुग्दा डिठ्ठा दम्पती ठूलो बोर्सीमा कोइला बालेर आगो तापिरहेका थिए ।
त्यही समयमा चन्द्रशमशेरका मानिस डिठ्ठाका सम्मुख पुगेर ‘डिठ्ठा साहेब ! हाम्रो यति काम गरिदिनु पर्यो’ भनेर बिन्ती गरेछन् । उनले ‘मुख हेर्न केही ल्याएका पनि छौ कि खाली मुख बजाइरहेका छौ’ भनेर सोधेछन् । उनीहरूले ‘हजुरका अगाडि खाली हात किन आउँथ्यौँ र केही यसो सम्झिएका छौँ’ भनेर चन्द्रशमशेरले पठाएको मोहरको थैली हातमा थमाएछन् । डिठ्ठाले ‘कोसेली सम्हाल’ भन्दै त्यो थैली श्रीमतीका हातमा थमाउँदै उनीहरूका कुरा सुन्न थालेछन् । यसैबीच घरमा चलमल र केही आवाज आएजस्तो लागेर डिठ्ठाकी श्रीमती सतर्क भइछन् । र, कुराकानी अन्त्य गर्दै डिठ्ठाले ‘तिमीहरूको काम भयो भन्ठान...’ भन्न के भ्याएका थिए, सिट्ठी बजिहालेछ । मानिसहरू ग्वारग्वार्ती जम्मा हुन थालिहाले । आठपहरिया र गुप्तचरका मानिसहरूलाई उनले नचिन्ने कुरै भएन, एकाएक उनीहरू त्यसरी आएको देखेपछि डिठ्ठाको सातोपुत्लो नै उडेछ ।
आठपहरिया र गुप्तचरका मानिसले डिठ्ठाको घरलाई घेरेर खानतलासी सुरु गरे । तर, जति नै खानतलासी गर्दा पनि घूसस्वरूप केही समयअघि मात्र दिएको मोहरको थैली भने भेट्टाउन सकेनछन् । डिठ्ठाका श्रीमान्/श्रीमतीको जीउ पूरै खानतलासी गर्दा र घर पूरै टकटक्याउँदा पनि मोहरको थैली भेट्टाउन नसकेपछि अँध्यारो मुख लगाएर उनीहरू फर्केछन् । चन्द्रशमशेरका अगाडि पुगेर उनीहरूले सारा वृत्तान्त सुनाउँदा उनीसमेत छक्क परेछन् । डिठ्ठाकी श्रीमतीले त्यो घूस थैलीको व्यवस्थापन बडो चतुर्याईंका साथ गरेकी रहिछन् । थैलीको मोहरजति भुंग्रोको पिँधमा हालिछन् र थैलीचाहिँ त्यही आगोमा डढाउन भ्याइसकेकी रहिछन् ।
हरेक दिन जसो सिंहदरबारमा हुने सलामीको अवसर पारेर त्यस घटनाको भोलिपल्ट चन्द्रशमशेरले सिंहदरबारको बरन्डामा निस्किएर भनेका थिए, ‘ए डिठ्ठा, तैँले त मेरो आँखामा पनि छारो हालिस् है ! अब तँलाई म त्यत्तिकै कहाँ छाड्छु र ? कारबाहीको भागिदार बन्न तयार भएर बस् ।’ यस्तो धम्की दिएलगत्तै चन्द्रशमशेरले डिठ्ठालाई जागिरबाटै निष्कासन गरेको हल्ला हामीले पनि सुनेका थियौँ ।
जतिसुकै कडा नियम–कानुन र शासन व्यवस्था भए पनि सातिर कर्मचारीका अगाडि कसैको केही लाग्दो रहेनछ । त्यसैको जिउँदोजाग्दो उदाहरण हो यो ।
(प्रस्तुति : ईश्वरी ज्ञवाली)