ललिता निवासको राष्ट्रिय झन्डा
०१५ सालमा सुवर्णशमशेरको सरकारका पालादेखि फरफराएको त्यो झन्डा मुलुक पञ्चायती व्यवस्था हुँदै प्रजातन्त्र र गणतन्त्रमा प्रवेश गर्दाको साक्षीका रूपमा त्यहाँ अझै निरन्तर छ ।

हिरण्यशमशेर राणाको गजबको बानी थियो । ललिता निवासमा हरेक दिन बिहान ब्राह्मणहरू जम्मा गरेर नित्य पूजापाठ लगाउँथे र तिनलाई दान–दक्षिणा गरेपछि मात्र भोजन गर्थे । विसं ००७ को परिवर्तनपछि जब आफ्ना छोरा सुवर्णशमशेर अर्थमन्त्री भए, हिरण्यशमशेरले ब्राह् मणहरूद्वारा संकल्प गराउँदा ‘ललिता निवासमा राष्ट्रिय झन्डा यसरी नै सधैँ फरफराइरहोस्’ भन्ने वाक्यांश थप्न लगाए । त्यसपछि मृत्युपर्यन्त त्यस्तो संकल्प निरन्तर लिइरहे ।
ललिता निवासमा पुग्दा एउटा अचम्मको दृश्य सधैँ देख्न पाइन्थ्यो । घरमा आएर दु:ख देखाउनेहरूलाई उनीहरू सहयोग गर्थे । हिरण्यशमशेर दम्पत्ती जहाँ बसे पनि त्यहीँ हात घुसाएर पैसा झिक्थे र दु:खीहरूलाई सहयोग गर्थे । अर्थात्, पैसा भनेको ढुकुटी र सेफमा मात्र राख्नुपर्छ भन्ने मान्यता उनीहरूमा कम थियो । सायद, सत्ताविरोधी राणाहरूलाई काठमाडौँबाहिर धपाउँदा सिंहदरबारमा बोलाएर सीधै घर पनि जान नदिई चार भञ्ज्याङ काट्न लगाइएकाले हिरण्यशमशेरको परिवार पनि झस्किएको थियो । तसर्थ, नगद र बहुमूल्य जिन्सी उनीहरू सहज पहुँच हुने स्थानमा राख्न रुचाउँथे । ललिता निवासमा पुग्दा म आफैँले पनि त्यस्तो दृश्य धेरैपटक देखेको थिएँ ।
मंसिर २०१७ को कुरा हो । सुवर्णशमशेरको ललिता निवास रंगरोगन र सिंगारपटार गरेर चिटिक्क पारिएको थियो । पुराना फर्निचरसमेत बदलिएको थियो । घर–आँगन मात्र होइन, त्यसले चर्चेको झन्डै सम्पूर्ण घर–कम्पाउन्ड नै झकिझकाउ भएको थियो । एक किसिमले भन्दा दुलही सिँगारिएजस्तो बनेको थियो । र, अर्थमन्त्री निवास भएकाले राष्ट्रिय झन्डा पनि फरफराइरहेको थियो । त्यस बेला सुवर्णशमशेरको घर त्यसरी सिँगारिएको घटनालाई राजनीतिक व्यक्तिहरूले फरक ढंगले पनि व्याख्या गरे । तर, उनका माहिला छोरा काञ्चशमशेरको विवाहको तयारीका निम्ति यो सब गरिएको कुरा कमैलाई मात्र थाहा थियो ।
पेरिस भ्रमणका क्रममा राजा महेन्द्रले सुवर्णशमशेरलाई सोधेका रहेछन्, ‘मैले कुनै कदम चालेँ भने तिम्रो साथ रहन्छ नि ?’ भनेर । उनले त्यस विषयमा कुनै जवाफ नदिएपछि राजालाई लागेछ– मौनम् स्वीकृति लक्षणम् । यहीबीच आफ्ना छोराको विवाहको तयारी गरिरहेका सुवर्णशमशेरलाई राजा महेन्द्रको सन्देश आएछ, ‘अब नेपाली कांग्रेसको सरकार धेरै दिन चल्दैन । तिमी मलाई साथ दिन तयार छौ ?’ सुवर्णशमशेरले यस प्रश्नको जवाफ फर्काउन जरुरी ठानेनन् र छोराको विवाहका निम्ति गरिएको सम्पूर्ण तयारी बीचैमा छोडी सपरिवार कलकत्तातर्फ लागे ।
यसबीचमा उनले आफ्ना नेता बीपी कोइराला र गणेशमान सिंहसँग पनि यसबारेमा सल्लाह–मसविरा गरेका रहेछन् । बीपीलाई लागेको रहेछ, बेलायतकी महारानी एलिजाबेथ भ्रमणको पूर्वसन्ध्यामा राजाले त्यस्तो कुनै कदम चाल्ने छैनन् । तसर्थ, आत्तिने कुनै कुरा छैन । तर दुर्भाग्य ! बीपीको सोचविपरीत राजा महेन्द्रले एलिजाबेथ भ्रमणको पूर्वसन्ध्यामै १ पुस ०१७ मा नेपाली कांग्रेसको दुईतिहाइ बहुमतको सरकार कू गरे र आफ्नै नेतृत्वमा सरकार बनाए ।
लखनउबाट एमए पूरा गरी फर्केपछि म सरकारी सेवामा प्रवेश गरी गृह मन्त्रालयमा उपसचिव भएर काम गरिरहेकाले राजनीतिका यस्ता कुरा हामीसँग पनि आइपुग्थे । तर, राजनीतिक विषयमा कर्मचारीलाई बोल्न र व्यवहार गर्न त्यति बेला पूर्णत: प्रतिबन्धजस्तै थियो । फेरि मैले यी सब कुरा थाहा पाउनुमा मेरी श्रीमतीलाई सुवर्णशमशेरका बुबा हिरण्यशमशेर आफ्नै नातिनीसरह माया गर्थे र उसको बाल्यकाल ललिता निवासमै खेलेर हुर्केको थियो । त्यस दरबारमा मेरा बूढाससुरा हर्षनाथ भण्डारी हिरण्यशमशेरसँग ज्यादै नजिक थिए भने ससुरा मणिराम जुद्धशमशेरको खास मान्छे भनेर चिनिन्थे । तसर्थ, पुरानै चिनाजान र मन्त्रालयसँगको कामकाजका सिलसिलामा मेरो पनि सुवर्णशमशेरसँग बेलाबेला भेटघाट र भलाकुसारी चल्थ्यो । त्यही सिलसिलामा यो सब जानकारी
पाएको थिएँ ।
नेपाली राजनीतिका धेरै उहापोह बेहोरेको र प्रत्यक्ष साक्षी बनेको सुवर्णशमशेरको ललिता निवासको एउटा गजबको संयोग छ । २ जेठ ०१५ सालदेखि आजपर्यन्त त्यहाँ राष्ट्रिय झन्डा फरफराइरहेको छ । राजनीतिक उतारचढावका विभिन्न दृश्यको प्रत्यक्ष साक्षी हो त्यो झन्डा ।
मुलुकमा पहिलो आमनिर्वाचन गराउने उद्देश्यले २ जेठ ०१५ मा गठित सुवर्णशमशेरको सरकारका पालादेखि टाँगिएको त्यो झन्डा राजाले नेपाली कांग्रेसको सरकार अपदस्थ गर्दा पनि झिकिएन । राणा शासनकालमै निर्णय गरिएकाले राजा महेन्द्रको पालामा सामान्य मुआब्जा दिएर अधिग्रहण गरिएको थियो सुवर्णशमशेरको त्यो भवन । ०१३ सालमा स्थापना भएर विभिन्न घरमा भाडामा बस्दै आएको नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय ०१७ सालको राजाको कदमलगत्तै त्यहीँ सारिएपछि त्यो झन्डा झिक्नुपर्ने आवश्यकता नै परेन ।
०१५ सालमा सुवर्णशमशेरको सरकारका पालादेखि फरफराएको त्यो झन्डा मुलुक पञ्चायती व्यवस्था हुँदै प्रजातन्त्र र गणतन्त्रमा प्रवेश गर्दाको साक्षीका रूपमा त्यहाँ अझै निरन्तर छ ।
( प्रस्तुति : ईश्वरी ज्ञवाली )