हीराको औँठी दिएर फूलको माला
'मै मदनमणि दीक्षित भी वह फूलकी माला लेना चाहता हुँ । मेरे पास पैसे तो नही हैँ, ये हीरे की रिङ देकर मिल सकता है तो माला दिजिए ।’
बनारसको विश्वनाथ गल्लीमा रहेको विश्वनाथ सनातन धर्म हाई स्कुलमा ९ कक्षामा पढ्थेँ । वार्षिक परीक्षापछिको परिणामले आफैँलाई आश्चर्यचकित तुल्यायो । म त ९ कक्षामा प्रथम भएछु । खुसीले उफ्रिँदै घर पुगेँ र पिताजीलाई सुनाएँ ।
पिताजीले उल्टै झपार्नुभयो, ‘तँजस्तो नपढ्ने लठुवा त प्रथम भइस् भने त्यो स्कुलको पढाइ कस्तो होला ? भोलिदेखि तँ त्यो स्कुल जानु पर्दैन, घरमै मास्टर राखेर पढाउँछु ।’ मानौँ, प्रथम हुनु नै मेरो अपराध थियो । मलाई स्कुल जानै बन्द गरिदिनुभयो ।
पिताजीले मेरो पढाइ सुधार्न भनेर बंगाली विद्वान् वनमाली बनर्जीको जिम्मा लगाउनुभयो । उनी भारतको विहार राज्यको गंगा नदी किनारमा रहेको मोकामा बस्तीका बासिन्दा थिए । तत्कालीन अफगानिस्तानको क्वेटा सहरको एक विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका उनले अंग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थिए ।
विसं १९९० भन्दा केही समयअघि क्वेटा सहरलाई केन्द्रविन्दु बनाएर आएको विनाशकारी भूकम्पमा परेर बनर्जीको परिवारका १२ जना सदस्यले घरमै ज्यान गुमाउँदा उनी भाग्यवश विश्वविद्यालयमा पढाइरहेकाले बाँचेका रहेछन् । त्यसपछि जीवनदेखि वैराग्य लागेर बनारसतर्फ आएको उनी बताउँथे ।
बनर्जी चन्द्रशमशेरकी कान्छी श्रीमतीका भाइ भूपालशमशेरकी विधवा छोरी गुनुरानीको घर–कम्पाउन्डमा रहेको गाईगोठमाथि बनाइएको टिनको टहरामा बस्थे । गुनुरानीको शिक्षादीक्षाका निम्ति बनर्जीलाई त्यहाँ ल्याइएको थियो । उनी विद्या दान गरेबापत शुल्क लिनु हुँदैन भन्ने मान्यताका पक्षपाती थिए । मलाई पढाएबापत पिताजीले पारिश्रमिक दिन खोज्दा पनि शुल्क लिनै मानेनन् ।
विद्यालय मात्र होइन, क्याम्पस स्तरको मेरो पढाइमा पनि उनको ठूलो योगदान रह्यो । दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रका साथै महात्मा गान्धी, जवाहरलाल नेहरू र सुवासचन्द्र बोसका बारेमा पनि मैले बनर्जीबाट धेरै कुरा जान्ने मौका पाएको थिएँ ।
त्यसो त मावलीघरमा बस्दा र आफ्नै घरमा सरेपछि दैनिक आज र अमृत बजार पत्रिका पढेर म बोसको समर्थक र प्रशंसक बन्न पुगेको थिएँ । अमृत बजार पत्रिकाले बोसलाई प्रचण्ड राष्ट्रवादी छविका नेताका रूपमा चित्रित गर्दै उनका बारेमा केही न केही खुराक पस्किरहेको हुन्थ्यो ।
बोसप्रति बनारसका विद्यार्थी समुदायमा बेग्लै आकर्षण थियो । कुनै सभा/सम्मेलनमा उनी आउने चर्चा सुन्नासाथ विद्यार्थीहरू तँछाडमछाड गरेर पुग्थे । विसं १९९५ को हिउँद महिनामा बनारसको मैदागिन मैदानमा भएको एउटा त्यस्तै सभामा कमलप्रसाद उपाध्यायको साथ लागेर पुगेको थिएँ । मैले बोसलाई पहिलोपटक प्रत्यक्ष देखेको त्यहीँ हो ।
भारतीय स्वतन्त्रता संग्रामका पक्षमा त्यो सभा आयोजना गरिएको थियो । मञ्चमा सभापतिका अतिरिक्त मुख्य वक्ताका रूपमा सुवासचन्द्र बोस र उद्घोषकबाहेक चौथो व्यक्ति थिएन । मञ्च पूरा खाली थियो । तर, श्रोता र दर्शक दीर्घामा भने थामिनसक्नु घुइँचो थियो । बेलुका त्यस्तै ६ बजेको हुँदो हो, बोस कार्यक्रम स्थलमा प्रवेश गरे ।
मानिसहरू उनलाई फूलका माला र गुच्छा दिन तँछाडमछाड गर्दै थिए । उनलाई छुन मात्र पाए पनि गति परिन्थ्यो भन्ने ढंगले मानिसहरू दौडादौड र ठेलमठेल गरेको दृश्य गजबको थियो । मानिसहरूले फूलका मालाले उनको अनुहार मात्र होइन, शरीर नै पूरा छोपिदिए । पछि उनलाई लगाइदिएका माला र फूलका गुच्छा मञ्चमा खात लगाएर राखियो । उनले झन्डै दुई घन्टा भाषण गरे । दर्शकको ताली त कति हो कति † उनका राष्ट्रवादी र ब्रिटिसविरोधी भावना सुन्नासाथ मानिसहरू तालीको गडगडाहटका साथ उफ्रिहाल्थे ।
बेलुकाको ८ बजेको हुँदो हो । भाषण समाप्त भएपछि उद्घोषकले बोसलाई पहिर्याएका फूलका माला लिलाम गरिने र त्यसबापत प्राप्त रकम र जिन्सी सामान पार्टीका नाममा राखिने उद्घोष गरे । उद्घोषकले यति कुरा भन्दा नभन्दै मानिसहरू हात उठाएर आफ्नो नाम टिपाउने र रकम बोलकबोल गरी माला लिएर फर्किनेको ताँती नै लाग्यो ।
आखिरीतिर जस्तो लाग्छ, मेरो मनमा पनि के कुरा खेल्यो, जुरुक्क उठेर कुर्लिएँ, ‘मै मदनमणि दीक्षित भी वह फूलकी माला लेना चाहता हुँ । मेरे पास पैसे तो नही हैँ, ये हीरे की रिङ देकर मिल सकता है तो माला दिजिए ।’ उद्घोषकले मेरो नाम रजिस्टरमा टिपे र मलाई माला दिएर पठाए । त्यो पाएपछि म गदगद भएँ । यो त्यही हीराको औँठी थियो, जो विवाहको भोलिपल्ट दुलही फर्काएर आउँदा ससुराले लगाइदिएको चिनो थियो ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...