‘भारत छोडो’ आन्दोलनमा
आन्दोलनमा यसरी गोली लागेर ढलेका ती स–साना युवा विद्यार्थी सम्झँदा आफू गोली लाग्नबाट बचेकामा खुसीभन्दा पनि पछुतो लाग्छ । सोच्छु, कलिला ती बालकले त्यो पीडा र बेदना कसरी झेले होलान् ?
महात्मा गान्धीलाई मैले प्रत्यक्ष रूपमा देखेको र भाषण सुनेको सन् १९४१ मा हो । त्यतिबेला उनी बनारसमा काशी हिन्दु विश्वविद्यालयका विद्यार्थीलाई सम्बोधन गर्न आएका थिए ।
म सानैदेखि उनको सादा जीवन र उच्च विचारले प्रभावित थिएँ । उनको आत्मकथा पढेपछि उनीप्रतिको आस्था र विश्वास अझ चुलिएको थियो । उनी आउने थाहा पाउनासाथ भूपालशमशेर राणाकहाँ क्यामरा माग्न पुगेको सम्झिन्छु । तर, उनले क्यामरा दिन आनाकानी गरेपछि महात्मा गान्धीको तस्बिर खिच्नबाट वञ्चित भएँ ।
मैले महात्मा गान्धीलाई भेटेको दोस्रो वर्ष अर्थात् विसं १९९९ मा उनले समुच्चा भारतमा स्वतन्त्रता आन्दोलनको आह्वान गरेका थिए । सोही वर्षको २५ साउनका दिन अंग्रेज शासकका विरुद्ध ‘अंग्रेजाेँ भारत छोडो’ आन्दोलनको शंखनाद गरे । तर, अखिल भारतीय कांग्रेस कमिटीको बम्बई बैठकमा उक्त आन्दोलनको घोषणा गर्ने क्रममै गान्धी र जवाहरलाल नेहरू थुप्रै शुभेच्छुकसहित पक्राउ परे ।
गान्धी गिरफ्तारीमा परे पनि उनले आह्वान गरेको आन्दोलनको ज्वारभाटाले सिंगो भारतलाई आफ्नो लपेटामा कसिसकेको रहेछ । जयप्रकाश नारायणजस्ता समाजवादी नेतादेखि लालबहादुर शास्त्रीसम्मका व्यक्तिहरू पनि भूमिगत ढंगले त्यस आन्दोलनमा सरिक भएका थिए । सतारा, मेदिनीपुरजस्ता जिल्लामा त स्वतन्त्र सरकार नै गठन गरेर अंग्रेजहरूलाई चुनौती दिने काम पनि भएको थियो ।
गान्धी, नेहरूलगायत नेताहरूलाई पक्राउ गरी अहमदावाद जेलमा ल्याएर थुनेपछि २५ साउनदेखि बनारसमा पनि त्यस आन्दोलनको रापताप देखिन थाल्यो । भारतमा रहेका के स्वदेशी, के विदेशी– सबै महात्मा गान्धीका विचार र सन्देशले प्रभावित थिए । नेपाली विद्यार्थीका अतिरिक्त मनमोहन अधिकारी र गोपालप्रसाद भट्टराई (कृष्णप्रसाद भट्टराईका दाजु) जस्ता केही व्यक्ति त्यस आन्दोलनमा होमिएका थिए । अधिकारी र भट्टराईलाई त गाजिपुर रेल्वे स्टेसनबाट गिरफ्तार गरी बनारसमा ल्याएर थुनिएको थियो । जेलमा बस्ने क्रममा अधिकारी कम्युनिस्टतर्फको मेसमा परेछन् भने भट्टराई कांग्रेसतर्फको । परिणाम, उनीहरू जेलबाट रिहा भएर बाहिर निस्कँदा एक कम्युनिस्ट नेता भए भने अर्का कट्टर कांग्रेस समर्थक ।
आन्दोलन सुरु भएको झन्डै डेढ महिना म पनि सरिक भएँ । काशी हिन्दु विश्वविद्यालयका विद्यार्थीले निकालेको साइकल जुलुस होस् वा न्यायालय–थाना आदिमा झन्डा फहराउने अभियानमा । २५ साउनमा काशी हिन्दु विश्वविद्यालयको बिडला छात्रवासमा जम्मा भएर ‘इन्कलाब जिन्दावाद !, अंग्रेजोँ भारत छोडो ! र, पुलिस हमारी भाइ है !’ नारा तय गरेर जुलुस निस्किएको थियो ।
त्यस्तो जुलुसको अग्रभागमा उभिनु खतरापूर्ण हुन्थ्यो । म सहपाठी सीताराम चतुर्वेदीका साथ साइकल लिएर जुलुसको पछिल्तिर थिएँ । विद्यार्थी नेता अहमद खादमीले ‘लेफ्ट मुडो और जुलुस मुभ करो’ भन्नासाथ पछाडि रहेका हामी अग्रपंक्तिमा पर्यौँ । भेलुपुरको चौबाटोमा तीनवटा मेसिन गन तेस्र्याएर लाठी र घोडसवार गरी झन्डै दुई सय प्रहरी तैनाथ थिए । जुलुसलाई त्यसभन्दा अगाडि बढ्न दिइएन । केही बेर त्यहीँ नारा–जुलुस गरेर हामी फर्कियौँ ।
विद्यार्थीहरू आन्दोलनको कडा रूप लिएर सडकमा उत्रिए २९ साउनमा । काशी हिन्दु विश्वविद्यालय र क्वीन्स कलेजका विद्यार्थीहरूको संयुक्त जुलुस कचहरी (न्यायालय)मा झन्डा फहराउने उद्देश्यले अगाडि बढ्यो । त्यस क्रममा जुलुसले टेलिफोन बुथका साथै तारहरू चुँडाल्दै उपद्रो मच्चाएको थियो । त्यस जुलुसमा बालबालिका पनि सहभागी थिए । न्यायालयको कम्पाउन्डनिर विद्यार्थीको जुलुस पुगेको के थियो, कलिलो एक बालक कम्मरमा झन्डा बाँधेर न्यायालयको छतमा चढ्न अग्रसर भइहाल्यो । प्रहरी कमिस्नर डब्लूडब्लू फिन्ले नम्र स्वभावका अधिकारी थिए । उनले न्यायालयको छतमा नचढ्न र फहराइरहेको ब्रिटिस झन्डा झिक्ने काम नगर्न पहिलोपटक अनुरोध गरे । भीडले अनुरोध अस्वीकार गरेपछि उनले चेतावनी दिँदै ‘यदि त्यस्तो दुस्साहस गरे आफूहरू गोली चलाउन बाध्य हुने’ फर्मान पनि जारी गरे ।
विद्यार्थीहरू कहाँ मान्नेवाला थिए र † त्यो कलिलो विद्यार्थी छतमा चढिहाल्यो । कम्मरमा बाँधेको झन्डा खोल्न मात्र के लागेको थियो, प्रहरीले गोली चलाइहाल्यो । कलिलो विद्यार्थी छतबाट चरा खसेजस्तै भुइँमा बजारियो । तत्कालै अर्को युवक तयार भयो र भुइँमा रगतपच्छे भएको त्यस बालकको कम्मरबाट झन्डा झिकी छतमा चढ्यो । उसलाई पनि प्रहरीले त्यसरी नै गोली बर्सायो । दुवै त्यहीँ ठहरै भए ।
अर्को दिन दशाश्वमेघ घाटमा विशाल सभाको आयोजना गरिएको थियो । त्यस सभामा सहभागी हुने क्रममा घाटसँगै रहेको गहना पसलको अगाडि रहेको एउटा फल्याकमा हामी तीन जना विद्यार्थी लहरै उभिएका थियौँ । दर्शकदीर्घामा बसेर भाषण सुनिरहेको एउटा बालक हामी उभिएको फल्याकमा चढ्यो र आँखा तानी तानी विभिन्न स्थानबाट त्यहाँ जम्मा हुन आइरहेका जुलुस हेर्न थाल्यो । यहीबीचमा प्रहरीले अन्धाधुन्ध गोली चलाउन पुग्यो । त्यो बालक आफन्ततर्फ जाने उद्देश्यले त्यस फल्याकबाट झर्न मात्र के आँटेको थियो, उसको टाउको गोलीले छेड्यो ।
त्यसअघि त्यस्तै जुलुसमा सहभागी हुँदा गदौलिया भन्ने स्थानमा प्रहरीको गोली लाग्नबाट म धन्न जोगिएको थिएँ । ‘अंग्रेजोँ भारत छोडो’ आन्दोलनमा यसरी गोली लागेर ढलेका ती स–साना युवा विद्यार्थी सम्झँदा आफू गोली लाग्नबाट बचेकामा खुसीभन्दा पनि पछुतो लाग्छ । सोच्छु, कलिला ती बालकले त्यो पीडा र बेदना कसरी झेले होलान् ? कलिला नानीहरूलाई जुलुस/हडताल आदिमा सहभागी गराउनु अपराध होइन र ?
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...