स्मरण» सात लाख भारुका गरगहना
मैले शंकरशमशेरको स्वीकृति लिएर ती गहनाको तस्बिर खिचेँ । गहनाका डिब्बा पनि मेरो साथमै रहे । मलाई उकुसमुकुस भयो, कतै यी गहना हराए भने मेरो के हाल होला भनेर ।
श्री ३ चन्द्रशमशेरले कान्छीपट्टिका जेठा छोरा विष्णुशमशेरलाई गाईको परिकार खाएको दोषमा देश निकाला गरेपछि शंकरशमशेर श्री ३ को रोलक्रम (छोरातर्फ)मा परेका थिए । त्यसपछि उनलाई आफ्नो ग्रह–गोचर आदि कुन अवस्थामा छन् र राजयोग छ/छैन भन्ने हेर्न मन लागेछ । मलाई ५० रुपियाँ दिएर भने, “यो टिप्पन लगेर देखाएर ल्याऊ ∕ फलाना व्यक्तिको हो भनेर नभन्नू । खालि यत्ति भन्नू शबाट नाम उठ्छ ।” मैले पनि अह्राएबमोजिम गरेँ । चिना हेर्ने क्रममा ज्योतिषीले नाम पत्ता लगाउने अनेक प्रयत्न गरे तर मैले खुलाइनँ । अन्त्यमा ज्योतिषीले भने, “यो चिनावाल व्यक्तिमा राजग्रहको योग छ । ५० रुपियाँमा सबै कुरा बताउन सक्दिनँ, सम्बन्धित व्यक्तिलाई नै पठाइदेऊ ।”
त्यसपछि नै हो म शंकरशमशेरसँग नजिक भएको । उनले मलाई असाध्यै माया गर्न थालेका थिए । चन्द्रशमशेरको निधनपछि उनी आमासँगै बनारसमा बस्न थाले र उनको घरमा मेरो आवतजावत बढेर गयो ।
सन् १९४६ को कुरा हो । शंकरशमशेरले आफ्नी छोरी मैयारानीको विवाह रतलाम राज्यका युवराज (कश्मीरका तत्कालीन युवराज, हाल भारतीय कांग्रेसका नेता कर्ण सिंहका भाइ पर्ने)सँग गर्ने निधो गरेपछि मेरा पिताजीलाई चिट्ठी लेखे, ‘ मदनले स्नातकोत्तर उत्तीर्ण गरिसकेको छ । उसलाई विवाहपछि छोरीको प्राइभेट सेक्रेटरी नियुक्त गर्नेबारे मेरो इच्छा सोधी पठाउनू ।’ मलाई ‘प्राइभेट सेक्रेटरी हुनु भनेको उप–पति हुनुसरह हो’ भन्ने लागेकाले त्यो प्रस्ताव ठाडै अस्वीकार गरिदिएँ । तर, यति हुँदा पनि उनी मप्रति पूर्वाग्रही देखिएनन्, छोरीको विवाहका निम्ति बनारसबाट बम्बई जाने प्रबन्ध मिलाउने जिम्मेवारी दिए ।
बेलुकाको भीटी एक्सप्रेस र बिहानको बम्बई मेलका फस्र्टक्लाससहितका पाँचवटा डिब्बा रिजर्भ भयो । बनारस रेल्वे स्टेसनमा बम्बई मेलमा चढ्दै गर्दा मैले शंकरशमशेरलाई स्वस्ति गरेँ । उनले मेरा पिताजीलाई सोधे, “मदन बम्बई जाँदैन र ?” पिताले ‘लुगाफाटो केही बोकेको छैन, कसरी जाला र !’ भन्ने आशयको कुरा गरेपछि शंकरशमशेरले छेड हाने, “बम्बईमा उसलाई मिल्ने लुगाफाटो नपाइएला र !” त्यसपछि बेलुका ६ बजे बनारसका प्रसिद्ध साडी व्यापारी चन्द्रप्रकाशसँगै म पनि भीटी एक्सप्रेस चढेर बम्बई जान बाध्य भएँ ।
शंकरशमशेरले बैंक हिसाब–किताब र सेयर कारोबार हेर्नका लागि आडवाणी थरका एक भारतीय नागरिकलाई नियुक्त गरेका थिए । छोरीको विवाहमा उनलाई पनि बम्बई बोलाएका थिए । विवाहका लागि बम्बईमा किनमेल र बजार आवतजावत गर्ने भनेर ४० वटा ट्याक्सी २४ सै घन्टाका लागि रिजर्भ गरिएको थियो ।
२४ डिसेम्बर १९४६ मा माइतीका तर्फबाट छोरीलाई दिने गहना खरिद गर्न नानुभाइ ज्वेलर्समा जाँदा एउटा घटना भयो । शंकरशमशेर अघिल्लो गाडीमा आडवाणीकी श्रीमतीसँगै ड्राइभरको पछाडिपट्टिको सिटमा बसेका थिए भने आडवाणी ड्राइभरसँगैको सिटमा । मेरा पिताजी, माहिला काका भरतमणि र म पछाडिको गाडीमा गइरहेका थियौँ । उनीहरू चढेको गाडीको ऐनाबाट हेर्छौं त शंकरशमशेर आडवाणीकी श्रीमतीसँग जिस्किरहेका थिए । उसको शरीर छोएर छिल्लिरहेको दृश्य हामीले पछाडिको गाडीबाट देख्यौँ । तर, धनका लोभी आडवाणी भने नदेखेझैँ गरिरहेका थिए ।
नानुभाइ ज्वेलर्स पुगेर गहना छान्ने काम शंकरशमशेर आफैँले गरे । घाँटीमा लगाउने भिल्लीको सेट, हीराका औँठी र अन्य जवाहरात उनले मन पराए । त्यसपछि ती गहनाको मोलमोलाइ मेरा माहिला काकाले गर्नुभयो र सात लाख भारतीय रुपियाँ तिरियो ।
मैले शंकरशमशेरको स्वीकृति लिएर ती गहनाको तस्बिर खिचेँ । गहनाका डिब्बा पनि मेरो साथमै रहे । मलाई उकुसमुकुस भयो, कतै यी गहना हराए भने मेरो के हाल होला भनेर । दिनभरि शंकरशमशेरलाई कतै देखिनँ । बेलुका ४ बजेतिर उनीसँग जम्काभेट भयो । मैले आफूसँग रहेका गहनाको प्रसंग उठाएँ । विवाहको हूलमूलमा उनले ती गहना मेरो साथमा रहेको नै बिर्सिसकेका रहेछन् । उनले ठट्टा गरे, “गहना लिएर भागेनौ त ?”
माइती पक्षकालाई बस्ने र विवाह उत्सव मेरिन ड्राइभ समुद्री किनारमा रहेको विकानेर राजाको दरबारमा व्यवस्था गरिएको थियो । होटल ताजले जन्तीका लागि भोजको जिम्मा पाएको थियो । सिंगो भारतका एकसे एक व्यक्ति आमन्त्रित थिए । कश्मीर राज्यका राजा हरि सिंह र उनका छोरा कर्ण सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
फ्रेन्च ब्रान्डी र ब्रिटिस ह्वीस्की त्यस विवाह उत्सवका मुख्य पेय थिए । शास्त्रीय गायनको धुनमा मानिसहरू मदिराले लठ्ठ थिए । कतिपय निम्तालु कार्यक्रमस्थलमै लडेका देखिन्थे । मदिराले झुमेकी एक बेलायती महिलालाई शौचालयसम्म पुर्याउने काम म आफैँले गरेको थिएँ ।
त्यही क्रममा हलतर्फ फर्कंदा एक जना ‘दुलहीका आफन्तजन कता छन् ?’ भन्दै चिच्याउँदै आइरहेको देखेँ । के परेछ भनेर मैले उसलाई शंकरशमशेर छेउ पुर्याएँ, उसले त ‘दुई जना केटाको बन्दोबस्त गर्नुपर्यो, युवराज छटपटाइरहेका छन्’ भन्न थाल्यो । शंकरशमशेरले उसका कुरा बुझिहाले । किनभने, उनी पनि महिलाभन्दा पुरुषलाई नै मन पराउँथे । तुरुन्तै आफ्ना ड्राइभरलाई भनेर दुई जना केटाको साथ लगाएर पठाए ।
मैले यस विवाहका बारेमा मेरा पिताजीले शंकरशमशेरलाई भनेको सम्झिन्छु, ‘केटो समलिंगी जस्तो छ, डंकन भन्ने बम्बईका नामुद डाक्टरले उपचार गरिरहेकाले विवाहका बारेमा सोच्ने हो कि !’
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...