मेरा गुरु सर्वपल्ली राधाकृष्णन्
बिहारमा गएर पढाउनेबारे घर सल्लाह हुँदा पिताजीले ‘भारतका नेपालीले जे जति गरे पनि यहाँ उनीहरूलाई उन्नति गर्न दिइँदैन, आफ्नो जायदाद, परिवार सबै नेपालमा रहेकाले बरू उतै गएर केही गर्ने हो कि !’ भन्ने कुरा गर्नुभयो ।
बनारसमा पीएचडी गर्दै थिएँ, काशी हिन्दु विश्वविद्यालयका चान्सलर (कुलपति) एवं अक्सफोर्ड विश्वविद्यालयका स्कलर डा सर्वपल्ली राधाकृष्णन्, जो पछि भारतका राष्ट्रपतिसमेत भए, ले आफ्ना पियनमार्फत मलाई बोलाउन पठाए । म दौडिँदै उनको घरमा पुगेँ । उनी मेरा शिक्षक थिए । त्यसैले उनका बारेमा मलाई र मेराबारेमा उनलाई धेरै कुराको जानकारी थियो । उनको आग्रह थियो, ‘तिमी राम्रो तस्बिर खिच्छौ । मेरो पनि एउटा तस्बिर लिइदेऊ न ! लागेको खर्च दिउँला ।’ खासमा पण्डित जवाहरलाल नेहरुले उनलाई भारतको संविधान परिषद्को सदस्यमा मनोनीत गरेका थिए । त्यसको फारममा टाँस्नका लागि तस्बिर चाहिएको रहेछ । त्यही प्रयोजनका निम्ति तस्बिर खिचिदिन उनले मलाई बोलाउन पठाएका रहेछन् ।
दोस्रो दिन नै तस्बिर खिचेर दिएँ । उनी आफ्नो तस्बिर हेरेर आफैँ दंग पर्दै र मेरो पिठ्यूँमा धाप मार्दै ‘स्याबास्, स्याबास्’ भने । म ज्यादै प्रफुल्ल भएँ । तस्बिरको पारिश्रमिक माग्ने त आँटै गरिनँ । त्यस्तै दुई सातापछि फेरि मलाई लिन पठाए । घरमा पुग्छु त, बिहार राज्यको गया सहरस्थित एक डिग्री कलेजका निम्ति स्नातक कक्षामा दर्शनशास्त्र पढाउने शिक्षक आवश्यकता परेको सूचना अमृत बजार पत्रिकामा छापिएको रहेछ । त्यही विज्ञापनको कटिङ र मेरो नाममा उनले त्यस कलेजलाई लेखेको सिफारिस पत्र दिएर ‘के गर्छौ ? जान्छौ !’ भनेर सोधे । मैले तत्काल कुनै निर्णय गर्न सकिनँ ।
त्यो सन् १९४७ को प्रसंग हो ।
बिहारमा गएर पढाउनेबारे घर सल्लाह हुँदा पिताजीले ‘भारतका नेपालीले जे जति गरे पनि यहाँ उनीहरूलाई उन्नति गर्न दिइँदैन, आफ्नो जायदाद, परिवार सबै नेपालमा रहेकाले बरू उतै गएर केही गर्ने हो कि !’ भन्ने कुरा गर्नुभयो । मलाई पनि त्यो कुरा मनासिबै लाग्यो ।
यसैबीच, काहिँला काकाका छोराको व्रतबन्धमा उत्तर प्रदेशको बलरामपुर गएका बेला मेरा सानोकान्छा काका हरमणिले मेरा पिताजीको नैतिक पतनसम्बन्धी एउटा घटना सुनाउनुभयो । म त ज्यादै आश्चर्यमा परेँ । पिताजीले हामी सन्तानलाई बिस्तारै माया मार्न थाल्नुभएको पनि त्यही कारण रहेछ ।
मैले थाहा पाएँ, शंकरशमशेरकी छोरीको विवाहमा तस्बिर खिचेबापत मलाई उनले दुई सय रुपियाँ पारिश्रमिक दिएका थिए । त्यो रकमबाट मैले आमा र आफ्नी जहानका निम्ति भनेर केही कपडा कोसेलीस्वरूप बम्बईबाट ल्याइदिएको थिएँ । पिताजीले ती कपडा त आफूले अवैध रूपमा श्रीमती बनाएर वीरगन्जमा राखेकी एक आईमाईलाई पो लगेर दिनुभएछ । हामीलाई भने ‘वीरगन्जमा सिलाइ सस्तो पर्छ’ भन्ने बहाना बनाई कपडा लिएर जानुभएको थियो ।
मलाई पिताजीप्रति रिस पनि उठ्यो । र, सोचेँ, त्यो आईमाई को रहेछ, पत्ता लगाउँछु र परिवारलाई सम्भावित विखण्डनबाट जोगाउँछु । निकै टाढाको नाता पर्ने ती महिलाका बारेमा सबै कुरा पत्ता लाग्यो । तर, पिताजीबाट ती महिलालाई छुटाउन सकिएन । मुटुका रोगी पिताजी उनीबाट टाढा हुनै नसक्ने अवस्था देखेपछि निराश हुनुबाहेक मेरो हात केही लागेन ।
त्यतिबेला वीरगन्जको त्रि–जुद्ध हाई स्कुलमा हेडमास्टरको पद खाली थियो । अमरेशचन्द्र भट्टाचार्य भन्ने एक बंगाली युवक त्यस स्कुलका कामु प्रधानाध्यापक थिए । तत्कालीन शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरसँग पिताजीको राम्रै चिनजान र मित्रता थियो । उहाँलाई सोझै चिट्ठी लेख्न भनेँ । पिताजीले चिट्ठी लेख्नुभयो– ‘छोराले एमए पास गरेको छ । मिल्छ भने कतै झुन्ड्याइदिनु पर्यो । त्रि–जुद्ध हाई स्कुलको हेडमास्टरको पद पनि खाली रहेछ । जो निगाह !’ सात दिनपछि सरकारी नियुक्ति नै पाएँ ।
पहिलो दिन स्कुल पुग्छु त, विद्यार्थी किताब कापी होइन, हातमा कालो मोसो लिएर आएका छन् । कामु प्रधानाध्यापकको मुखमा दल्न रे ! किनभने, त्यसो गर्दा विद्यार्थीलाई रमाइलो हुन्छ रे ! कामु प्रधानाध्यापक भट्टाचार्य पनि कतिखेर विद्यार्थीले कालो मोसो दल्ने हुन् भन्ने त्रासमा विद्यार्थी आइनपुग्दै वा विद्यार्थीको आँखा छलेर आफ्नो अफिस छिर्दा रहेछन् ।
शिक्षकहरू पनि उस्तै अनुशासनहीन । समयको कुनै पर्वाह छैन । हल्लिँदै टाइम–बेटाइममा पुगेका छन् । अनुशासनहीनता विद्यार्थी र शिक्षक दुवैमा थियो । शिक्षकहरू स्कुलमा पढाउनेभन्दा ट्युसन पढाउनमा जोड दिन्थे । सम्पन्न परिवारका विद्यार्थीहरू पनि विद्यालयको पढाइभन्दा ट्युसन पढ्नमै जोड गर्थे । खास गरी उपल्लो कक्षाका परीक्षामा आउने प्रश्नहरू ट्युसन पढाउने शिक्षकले पहिले नै बताइदिँदा रहेछन् । त्यस कारण पनि विद्यार्थीहरूमा स्कुलमा पढ्नभन्दा ट्युसन पढ्ने मोह जागेको रहेछ ।
नेपालमा रहेका औँलामा गन्न सकिने स्कुलको यस्तो हालत देख्दा दिक्क लाग्यो । गुरु सर्वपल्लीको अनुरोधसमेत अस्वीकार गरेर आएकाले यत्तिकै हरेस खाने कुरा पनि थिएन ।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...