स्मरण» त्रि–जुद्ध हाई स्कुल छाड्ने बाध्यता
शिक्षकहरूमा विभाजन ल्याउन नसके पनि किशोरेन्द्रविक्रम शाहले सोमनाथ झामार्फत विद्यार्थीबीचमा फाटो ल्याए ।
त्रि –जुद्ध हाई स्कुल, वीरगन्जको हेडमास्टर भएर जाँदा म २५ वर्षको थिएँ । ९ र १० कक्षालाई अंग्रेजी पढाउँथेँ । सरकारी जागिर भएकाले माल अड्डाबाट मासिक ९० रुपियाँ तलब दिइन्थ्यो भने स्कुलले त्यसमा ५५ रुपियाँ थपिदिन्थ्यो । यसरी मासिक १ सय ४५ रुपियाँ तलब बुझ्थेँ ।
वीरगन्जको तेलगोदाम टोलमा एउटा सानो टिनको छाप्रो बनाएर सुरु भएको त्यो स्कुल काठमाडौँको दरबार हाई स्कुलभन्दा कुनै मानेमा कम थिएन । वीरगन्जका व्यापारी दाजुभाइ ठाकुरराम र रघुवीररामले स्कुललाई त्यस अवस्थासम्म पुर्याएका थिए । जहानियाँ राणा शासनको समय भएकाले साहेबज्यू र राणाजीहरूको हैकम मोफसलमा पनि उत्तिकै थियो । त्यतिबेला विद्यालय सञ्चालक समितिको अध्यक्षमा वीरगन्जका बडाहाकिम सोमशमशेर जबरा थिए भने सचिवमा माहिला साहेबज्यू किशोरेन्द्रविक्रम शाह ।
नियुक्ति लिएर पुग्नासाथ मलाई त्यस स्कुलको अनुशासन र पढाइले धेरै सतायो । कसरी हुन्छ विद्यार्थी र शिक्षकमा अनुशासन कायम गर्ने र पढाइमा अब्बल बनाउने भन्नेमै म केन्द्रित भएँ । जीवनेश्वर मिश्र, भगवानदास द्विवेदी, सोमनाथ झा र मुकुटधारी लालदास गरी चार शिक्षक थिए । शिक्षकहरूको पारिश्रमिक ८० देखि ९० रुपियाँ थियो । त्यति तलबमा उनीहरूलाई स्कुलमा राख्न कठिनाइ देखेँ र कार्यभार सम्हालेको १३औँ दिनमै शिक्षकको तलब २५ प्रतिशतले वृद्धि गर्न सञ्चालक समितिमा प्रस्ताव लगेँ । विद्यालय शिक्षामा सुधार नगरी विद्यार्थीको शैक्षिक स्तर र अनुशासन कायम गर्न सकिँदैन भन्ने सोचेरै मैले यो प्रस्ताव लगेको थिएँ । शिक्षकहरूले ट्युसनभन्दा विद्यालयको पढाइप्रति ध्यान दिऊन् भन्ने मेरो सोच थियो ।
सञ्चालक समितिका अध्यक्ष राणाको घरमा बसेको बैठकले मेरो प्रस्ताव पारित गर्यो । तर, महिनाको अन्त्यमा तलब दिने बेलामा सचिवले पूरा तलब निकासा दिएनन् । शिक्षकहरूको प्रतिनिधिमण्डलले अध्यक्ष र उपाध्यक्ष पशुपति घोषको घरसम्मै पुगेर त्यसको जानकारी गरायो । शिक्षकहरूले बढेको रकम नदिएसम्म तलब बुझ्न इन्कार गरेपछि सचिव शाह बढतलब दिन बाध्य भए ।
हेडमास्टर भएर त्यहाँ पुगेको महिना दिन मात्र भएको थियो, उनै शाह विद्यालयमा आए र पढाइरहेको कक्षा कोठामा निरीक्षणको शैलीमा पसे । उनी त्यसरी कक्षा कोठामा प्रवेश गर्दा शिक्षकले कुर्सी छोडिदिएर विद्यार्थीसँगै गएर बस्नुपर्ने प्रचलन रहेछ । मैले त्यस्तो केही गरिनँ । उनले मलाई एकछिन घुरेर हेरे तर मैले वास्ता गरिनँ । खुरुखुरु पढाइरहेँ । कक्षा सकेर अफिस कोठामा पुग्दा उनी त मेरो कुर्सीमा गजधम्म बसेका रहेछन् । मलाई यो कुरा सैह्य भएन । मैले सीधै भनेँ, ‘आइन्दा हेडमास्टरको स्वीकृति लिएर मात्र स्कुल आउनु होला । अर्को कुरा, हेडमास्टरको कुर्सीमा यसरी बस्ने अधिकार तपाईंलाई छैन । उठिहाल्नूस् र गइहाल्नूस् ।’ उनी रातोपिरो भए । तर, मलाई तथानाम भन्न पनि छुटाएनन् । अन्त्यमा ‘ पख’, ‘देखौला’ भन्दै स्कुलबाट बाहिरिए ।
प्रतिशोध लिनका लागि सचिव शाहले भारतको मुजफ्फरपुरका कामेश्वर झालाई चिट्ठी लेखेर शिक्षक नियुक्त गरे र स्कुलमा मेराविरुद्ध विद्यार्थीहरू उचालेर जाइलाग्न खोजे । शिक्षकहरूमा विभाजन ल्याउन नसके पनि शाहले झामार्फत विद्यार्थीबीचमा फाटो ल्याए ।
विसं २००५ को १० कक्षाको टेस्ट परीक्षा सुरु हुँदै थियो । म भाइको उपचारका लागि दरभंगा गएको थिएँ । झाले शिक्षकहरूको सहयोगमा बनाएका प्रश्नपत्र मिल्क्याएछन् र आफूले ट्युसन पढाएका विद्यार्थीको सल्लाह र सुझावमा प्रश्नपत्र बनाई मुजफ्फरपुर गएर छपाएछन् । यो कुरा थाहा पाएपछि म दरभंगाबाट वीरगन्ज आएँ र शिक्षकहरूको सल्लाहमा नौ विषयका प्रश्नपत्र तुरुन्तै तयार गरी दरभंगामै छपाएर ल्याएँ । तर, हामीले झालाई थाहा दिएका थिएनौँ । उनी आफूले ट्युसन पढाएका विद्यार्थीको रोहबरमा बनाएका प्रश्नपत्रका आधारमा परीक्षा हुने भयो भनेर दंग थिए । तर, शिक्षकहरूले बनाएका प्रश्नपत्रका आधारमा परीक्षा समाप्त भएपछि उनले बखेडा झिके ।
सञ्चालक समितिको बैठक बोलाएरै यस विषयमा रडाको मच्चाइयो । दुईथरी प्रश्नपत्र छाप्नुको कारण र विवादबारे छलफल भयो । झा र मैले आ–आफ्ना कुरा राख्यौँ । सधैँ प्रश्नपत्र छाप्ने छापाखानाले ‘के कति कारणले यसपटक प्रश्नपत्र छपाउन आउनुभएन ?’ भनी लेखेको चिट्ठी पनि प्रमाणका रूपमा पेस गरेँ । सञ्चालक समिति बैठक राणा–शाह एकातिर र अरू अर्कोतर्फ भएर सकियो । घोष भने तटस्थ बसे ।
दोहोरो प्रश्नपत्रको घटना यत्तिमै टुंगिएन । सचिव किशोरेन्द्रविक्रम शाहले शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेर राणासम्म पुर्याए । मृगेन्द्रशमशेर मप्रति त्यति सकारात्मक थिएनन् । किनभने, दोहोरो प्रश्नपत्रको घटनापूर्व मलाई काठमाडौँको महावीर स्कुलमा सरुवा गरेर त्यहाँ चलेको राणाविरोधी आन्दोलन मेरै नेतृत्वमा दबाइयोस् भन्ने उनी चाहन्थे । मैले त्यस्तो कुरामा फस्न इन्कार गरेपछि उनी मप्रति रुष्ट भएका थिए ।
शिक्षा डाइरेक्टरले इन्स्पेक्टर अफ स्कुल्स नेत्रविक्रम थापालाई यस घटनाको सत्यतथ्य बुझ्न वीरगन्ज पठाए । उनले वीरगन्जको रेल्वे स्टेसनमा सबै वस्तुस्थिति बुझे । उनले यस घटनाबाट बचे पनि प्रजातन्त्रका पक्षमा नेपाली कांग्रेसले आह्वान गरेको आन्दोलन विद्यालयमा प्रवेश गराएर फसाउने षड्यन्त्र भइरहेको जानकारी दिए । थापासँगको कुराकानीपछि मैले दायाँबायाँ केही सोचिनँ । सरासर टेलिफोन अफिस गएँ र शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरलाई फोन गरेर आफू स्कुलबाट अलग भएको जानकारी गराएँ । विसं ००६ को शिवरात्रिका दिन लिखित राजीनामा दिएँ र त्रि–जुद्ध हाई स्कुलबाट सदाका लागि बिदा भएँ ।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...