स्मरण» जिउँदो भाइलाई श्रद्धाञ्जली
‘राम राम’ भन्दै कुप्रो परेर एकै ठाउँमा गुजुल्टो परेर बसेको त्यो दृश्य ज्यादै कारुणिक र हृदयविदारक थियो ।
२६ कात्तिक २००७ बिहान ८ बजेको समाचार सुन्न अल इन्डिया रेडियो खोलेको मात्र के थिएँ, हिन्दी सेवाको मुख्य समाचार आयो, ‘राजा त्रिभुवनले काठमाडौँस्थित भारतीय दूतावासमा शरण लिएकाले उनलाई लिन भारतीय सैनिक सेवाको विमान काठमाडौँतर्फ उड्न लागेको ।’ देशैभरि चलेको प्रजातान्त्रिक आन्दोलनको विवरण दिँदै वीरगन्ज मोर्चामा सञ्चालित आन्दोलनलाई पनि त्यस समाचारमा विशेष प्राथमिकता दिइएको थियो ।
ससुराली गाउँ पिपरा बिर्तामा पत्नीलाई छोड्न गएका बखत सुनेको त्यो समाचारले उत्सुक र कतिखेर वीरगन्ज पुगौँ भन्ने कौतूहल जगाइदियो । समाचारको पूरा विवरण पनि नसुनी बाटो लाग्ने कुरा गर्दा ससुराले रोक्नुभयो । त्यहाँबाट वीरगन्जको दूरी ११ कोस रहेकाले हिँडेर जान सम्भव थिएन । म साढे ११ बजे दरभंगाबाट घोडासहन रेल्वे स्टेसनमा आउने रेल कुर्न पुगेँ । रेल्वे स्टेसनमा रक्सौलतर्फ जान रेल चढ्दै थिएँ, ढोकैमा धनुषचन्द्र गौतमलाई देखेँ । उनी त्यहीँ झर्न लागेका रहेछन् । बिहान आफूले सुनेको समाचार सुनाएपछि उनी पनि सँगै रक्सौल जान उत्सुक देखिए । हामी राजनीतिक गफ गर्दै रक्सौलतर्फ लाग्यौँ ।
पिताजी मलाई खोज्दै आउनुभयो । उहाँ पनि भर्खरै मात्र बनारसबाट वीरगन्ज आइपुग्नुभएको रहेछ । पिताजी नेपाली कांग्रेसको कट्टर विरोधी हुनुहुन्थ्यो । कोठामा पुगेपछि उहाँले राजा त्रिभुवन र कांग्रेसको कदमलाई लिएर निकै आलोचना गर्नुभयो । मैले राजा त्रिभुवनको कदमको पक्षमा वकालत गर्न थालेपछि त्यहाँ त वाक्युद्ध नै चल्यो । साँझको खाना खान होटल जाने कुरा भएपछि हाम्रो वाक्युद्ध थामियो ।
बाटोभरि राजा त्रिभुवनको कदमको चर्चा सुनिन्थ्यो । तिहारको जुवा फुके पनि अघिल्ला वर्षहरूमा जस्तो लहरै पेटीमा देखिने जुवाका खाल त्यहाँ थिएनन् । मानिसहरू सडकका चोकचोकमा झुन्डझुन्ड बनाएर राजनीतिक गफगाफमै मस्त थिए । हामी डेरा फर्किएर राजनीतिक सवालमै केन्द्रित भइरहेका थियौँ, दक्षिणतर्फबाट चर्को स्वरमा विमान उडेको आवाज आयो । हाम्रै डेराको छत छोएजसरी विमान जोडले कराउँदै मुरली श्रीपुरतर्फ गइरहेको आभास भयो ।
विमानको त्यो आवाजले हामीलाई स्तब्ध तुल्यायो । यसो झ्यालमा गएर हेर्छौं त, कागजका टुक्रा आकाशबाट भुइँतर्फ झरिरहेका देखिए । बाँसको भर्याङ चढेर कौसीमा पुग्दा रातो कागजमा छापिएका पर्चाको एउटा मुठो नै खसालिएको रहेछ । पर्चा पढ्दै गएँ । सुवर्णशमशेर जबराको हस्ताक्षरमा जारी पर्चामा जहाँनिया शासनविरुद्ध कांग्रेसको मुक्तिसेना अघि बढिसकेको र राजा त्रिभुवनले पनि त्यो अभियानलाई समर्थन गरेको कुरा उल्लेख थियो । पिताजीले ती कुरा सुन्न सक्नुभएन । उहाँले तुरुन्तै आदेशको शैलीमा ती पर्चा लगेर आगोमा डढाउन लगाउनुभयो । पिताजीको आज्ञा मान्नुको विकल्प थिएन । पर्चाको मुठै लगेर चुल्होमा डढाएँ ।
२७ कात्तिकको बिहान सबेरै उठेर हामी बाबुछोरा चिया पिउन होटलमा पुग्दा ट्रकका ट्रक आएका सशस्त्र नीला पोसाकधारीले वीरगन्ज बजार कब्जा गरेका थिए । हामी छक्क परेर हेरिरह् यौँ । चियापसले एकोहोरो फतफताए, ‘वीरगन्जका बडाहाकिम सोमशमशेरलाई बन्दी बनाई कांग्रेसका सेनाले रक्सौल पुर्याएको र रेल्वे स्टेसन पनि उनीहरूकै कब्जामा पुगेको हल्ला छ ।’ पसलेले यति कुरा सुनाउँदा नसुनाउँदै वीरगन्ज रेल्वे स्टेसनतिर भटटट चार राउन्ड गोली चलेको आवाज सुनियो ।
गोलीको आवाज सुनेपछि मेरा पिताजी ज्यादै हतास हुनुभयो । किनभने, उहाँका सगोत्री भाइ पद्मनाथ आचार्य त्यस रेल्वे स्टेसनका इन्चार्ज थिए । हामी उनको अवस्था बुझ्न होटलबाट सरासर उनको क्वार्टरतर्फ लाग्यौँ । त्यहाँ त पूर्वतर्फ रहेको मालअड्डाको भुइँमा मुक्तिसेनाका जवान खाल्डो खनेर लम्पसार परेर बन्दुक ताकिरहेका देखिन्थे ।
पछाडिको ढोकाबाट पद्मनाथको क्वार्टरमा प्रवेश गर्यौँ । उनी खुट्टावाल खाट ठड्याएर आफ्नी पत्नी
र केटाकेटीका साथ ज्यादै डराएको अवस्थामा बसेका थिए । ‘राम राम’ भन्दै कुप्रो परेर एकै ठाउँमा गुजुल्टो परेर बसेको त्यो दृश्य ज्यादै कारुणिक र हृदयविदारक थियो ।
मेरा ससुराले गोलीविहीन जर्मन मर्जर पेस्तोल मलाई दिनुभएको थियो । त्यही पेस्तोल लिएर आन्दोलनमा होमिएको भाइ महेशमणिले सहादत प्राप्त गरेको हल्ला फैलियो । भाइलाई कसैले उल्टो झुन्ड् याएर मारेको हल्ला चलाए भने कसैले चाहिँ जुलुसमा सरिक हुने क्रममा मारिएको भने । जति नै खोजखबर गरे पनि पत्ता नलागेपछि धनुषचन्द्र गौतम, शैलेन्द्रकुमार उपाध्याय र म सिर्सिया नदी किनारमा पुगेर देशका निम्ति ज्यान अर्पेकामा श्रद्धाञ्जली अर्पण गर्यौँ । दुई अँजुली पानी लिएर सूर्यतर्फ फर्किएर अर्पण गर्यौँ । श्रद्धाका दुई थोपा आँसु पनि चुहायौँ । मुक्तिसेनाको कब्जाबाट नौ दिनमै नेपाली सेनाले वीरगन्ज पुन: कब्जा गरेपछि थाहा पायौँ, भाइ त डंकन अस्पतालमा उपचाररत रहेछ ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...