स्मरण» यसरी भएँ कम्युनिस्ट
कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको खुसीयालीमा मैले २००८ सालको असार महिनामा वीरगन्जमा शैलेन्द्रकुमार र धनुषचन्द्रलाई सानो भोज दिने उद्देश्यले डेरामा निम्तो गरेको थिएँ ।
एमए पास गरेको म र भर्खर ८ कक्षामा पढ्दै गरेको मेरो भाइ महेशमणि । हामीबीच माक्र्सवाद–लेनिनवादमा आधारित कम्युनिस्ट पार्टीबारे छलफल हुँदा उसका कुराले म प्रभावित हुने र मेरा कुरा उसले बुझ्ने अवस्था नै थिएन । तर पनि, ऊ मलाई कम्युनिस्ट पार्टीको सदस्य बनाएरै छाड्नेमा दृढ संकल्पित थियो । मलाई जसरी पनि मनाएर कम्युनिस्ट पार्टीमा प्रवेश गराउन चाहन्थ्यो । आफ्ना कुराले मनाउन नसकेपछि पुष्पलालद्वारा जारी पर्चा दिएर पनि मनाउने प्रयास गथ्र्यो ।
तर, मेरा पिताजीलाई यो कुरा कहिल्यै मन परेन । भाइ कम्युनिस्ट पार्टीमा लागेको थाहा पाएपछि त उहाँले भाइलाई मात्र होइन, उसकी श्रीमतीलाई पनि अंशबाट बेदखल गर्ने कुरा गर्नुभयो । यस विषयमा पिताजीसँग मेरो झगडा नै पर्यो । मैले व्यक्तिको स्वतन्त्रताको कदर गर्नुपर्ने र दोषै नभएकी श्रीमती सजायको कसरी भागीदार बन्छे भनेर उसको बचाउ गरेको थिएँ ।
यत्तिकैमा नेपाली कांग्रेसले आह्वान गरेको २००७ सालको क्रान्तिमा वीरगन्ज मोर्चामा सरिक हुने क्रममा एपिन्डीसाइटले सताएपछि ऊ डंकन अस्पतालमा भर्ना भएको रहेछ । यो कुरा थाहा पाएपछि शैलेन्द्रकुमार उपाध्याय, धनुषचन्द्र गौतमसहित हामी त्यहाँ पुग्दा उसको अपरेसनसमेत भइसकेको थियो ।
बिरामी भेटेर उनीहरू फर्किए । तर, म राती कुरुवा बस्ने उद्देश्यले त्यहीँ बसेँ । बिरामी भएर आराम गरिरहेका बखत पनि ऊ मलाई कम्युनिस्ट बनाउने ध्याउन्नमा लागेको थियो । उसले मेरा लागि भनेर कम्युनिस्ट म्यानीफेस्टो, वेज–लेबर एन्ड क्यापिटल र टू ट्याक्टिस् अफ सोसियल डेमोक्रेसी इन द डे मो क्र्याटिक रिभोलुसन भन्ने तीन पुस्तक मगाएर राखिदिएको रहेछ ।
१२ पुस ००७ को त्यस राती ९ बजेदेखि पढ्न सुरु गरेका ती पुस्तक मैले बिहान त्यस्तै ३ बज्दा नबज्दै पढिसकेँ । बिहान दायाँबायाँ केही नसोची नेपाल कम्युनिस्ट पार्टीको सदस्यताका निम्ति दरखास्त लेखेँ र ‘तिम्रो पार्टीको जिम्मेवार व्यक्ति को छ यहाँ, तिनलाई दिनू’ भनेर महेशको हातमा थमाइदिएँ । उसले मेरो त्यो दरखास्त पार्टी हेडक्वार्टर भारतको कलकत्ता पठाइदिएछ ।
त्यसो त द्वन्द्वात्मक भौतिकवादबारे म पहिलेदेखि नै जानकार थिएँ । वेदान्त दर्शन, तर्कशास्त्र आदिको अध्ययनका साथै द्वन्द्वात्मक भौतिकवादको पनि मैले राम्रैसँग अध्ययन गरेको थिएँ ।
विश्वविद्यालय पढ्दा नै कार्ल माक्र्सबारे सामान्य जानकारी प्राप्त गरेको थिएँ । २००७ पुसको एक दिन भूमिगत रूपले पुष्पलाल वीरगन्ज आएका बेला भूमिगत रूपमै निरञ्जनगोविन्द वैद्यले लगेर भेट गराए । माक्र्सवादबारे पुष्पलालसँग मेरो लामै चर्चा भयो । मैले श्रीकृष्ण (भागवत् गीताका प्रेरक) निकै क्रान्तिकारी र प्रगतिशील रहेको तर्क गरेँ । पुष्पलालले मेरा कुरा सुने मात्र, कुनै जवाफ फर्काएनन् । तर, कलकत्ता हेडक्वार्टर पुगेर ‘श्रीकृष्णभक्तलाई कम्युनिस्ट पार्टीको सदस्यता दिनु हुँदैन’ भनेर पार्टी सदस्यता रोक्ने काम गरे । तर, धनुषचन्द्र र शैलेन्द्रकुमार आदिको जोडबलले २ जेठ ००८ मा मैले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेँ ।
कम्युनिस्ट हुनुभन्दा भइसकेपछिका घटना रमाइला हुँदा रहेछन् । कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको खुसीयालीमा मैले २००८ सालको असार महिनामा वीरगन्जमा शैलेन्द्रकुमार र धनुषचन्द्रलाई सानो भोज दिने उद्देश्यले डेरामा निम्तो गरेको थिएँ ।
लोकल रक्सी आधा बोतल, एक किलो कुखुराको मासु, भुटेको भटमास, चिउरा, लसुन–प्याजका टुक्रा, मुला–कांक्रो यस्तै यस्तै जम्मा गरिएको थियो । दुईवटा गिलासमा रक्सी राखेर शैलेन्द्र र धनुषचन्द्रलाई टक्र्याएँ, म मासु–चिउरा लिएर बसेँ । शैलेन्द्रले मलाई हप्काए, ‘रक्सी नखाने व्यक्ति कसरी असल कम्युनिस्ट हुन सक्छ ?’ त्यसपछि उनैले मासु–चिउराको मेरो प्लेटमा तीन थोपाजति रक्सी छर्किए । मैले रक्सी छर्किएको त्यो मासु–चिउरा खाएँ र असली कम्युनिस्ट भएको साबित गरेँ ।
रक्सी पिएर असल कम्युनिस्टको परिचय दिने क्रम त्यत्तिमै रोकिएन । अर्कोपटक त्यसै गरी रक्सी खाँदा कारबाहीको भागीदार पनि बनेँ ।
२००८ सालको पुस महिनाको कुरा हो । काठमाडौँको भुरुङखेलमा राष्ट्रिय जनतान्त्रिक संयुक्त मोर्चाको अधिवेशन आयोजना गरिएको थियो । अधिवेशन सञ्चालनका निम्ति टंकप्रसाद आचार्य, म र पुष्पलाल श्रेष्ठ रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।
त्यस सम्मेलनमा संगठनको नाम जातीय राख्ने कि राष्ट्रिय र लालसलाम भन्ने कि नमस्कार भन्ने एजेन्डाविहीन विषयमा दुई दिन बहस/छलफल भयो ।
बिनासन्दर्भ यसरी सम्मेलन लम्बिएपछि दिक्क लागेर पुस महिनाको जाडो छल्न एक दिन बेलुका शैलेन्द्र, धनुषचन्द्र र म नयाँसडकस्थित न्यु होटलमा गएर खाजा खाने क्रममा शैलेन्द्रले फेरि त्यही रक्सीको कुरा निकाले । मैले पनि डेढ–दुई पेग रक्सी तन्काइदिएँ । त्यसपछि त के थियो, तोरीका फूल देख्न थालेँ । जसोतसो ट्याक्सी चढेर अधिवेशन चलिरहेको हलमा फर्कियौँ । अधिवेशनमा भाग लिन महिलाहरूको पनि उल्लेख्य सहभागिता थियो । तिनैमध्येकी एक ईश्वरीदेवीको पिँडौलामा मेरो टाउको ब्रजिन पुगेछ ।
शैलेन्द्र आएर मलाई लिएर कोठामा गए र दुवै गालामा दुई चड्कन हिर्काए । रक्सीले छोड्यो तर शैलेन्द्रको कुराले थप रन्थनिएँ । ती महिलाले त मेराविरुद्ध पुष्पलाल श्रेष्ठसमक्ष उजुरी हाल्ने कुरा गरिछन् । पुष्पलाल पनि के कम, त्यहाँ त केही गरेनन्, राजविराजको प्रान्तीय सम्मेलनमा भाग लिन जाने क्रममा यसै दोषमा आत्मालोचना गर्न लगाएर सजायको भागीदार बनाए ।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...