स्मरण» दोहोरो खाताविरुद्धको त्यो आन्दोलन
वीरगन्जका व्यापारीले चलाइरहेको दोहोरो खाताको विरोधमा सञ्चालित आन्दोलनको छानबिनका लागि भारतीय दूतावासकै कर्मचारीलाई पठाइनु त्यहाँका राजनीतिक दल मात्र होइन, नेपालीभाषी व्यापारीहरूका निम्ति पनि सह्य कुरा थिएन ।
विसं ००७ मा जहानियाँ शासनको अन्त्यपछि वीरगन्जका हिन्दीभाषी व्यापारीविरुद्ध ठूलो आन्दोलन भयो । खास गरी ती व्यापारीले वीरगन्ज र रक्सौलमा दोहोरो खाता सञ्चालन गरी व्यापार गरिरहेको विरोधमा त्यो आन्दोलन भएको थियो ।
रक्सौलका लागि बिनाभन्सार उपलब्ध भारतीय सामान उनीहरू वीरगन्ज ल्याएर चर्को मूल्य असुल्थे । अनुगमन र निरीक्षण हुँदा भने रक्सौलकै मूल्य देखाउँथे । यसरी वीरगन्जका व्यापारीले सञ्चालन गरेको दोहोरो खाताको विरोधमा हामी आन्दोलनमा उत्रिएका थियौँ ।
सुरुसुरुमा नेपाली कांग्रेस, नेपाल प्रजा परिषद्, नेपाल कम्युनिस्ट पार्टी र केआई सिंहका कार्यकर्ताले छुट्टाछुट्टै रूपमा त्यस्तो आन्दोलन सञ्चालन गर्यौँ । तर, ती आन्दोलन प्रभावकारी रूपमा सञ्चालन हुन सकेनन् । कस्तोसम्म देखियो भने श्रमिक दिवस (मे १)को अवसर पारेर कम्युनिस्ट पार्टीले आह्वान गरेको कार्यक्रममा म र श्यामप्रसाद कुर्सी–टेबुल बोकेर पुग्दा तेस्रो व्यक्ति त्यहाँ उपस्थित थिएन । कार्यक्रम त सञ्चालन गर्नैपर्यो । श्यामप्रसादलाई सभापतिको आसनमा राखेर झन्डै आधा घन्टा मैले भाषण गरेँ । हामी दुई जनासिवाय तेस्रो व्यक्ति कोही आएन । सभापतिको आसनबाट श्यामप्रसादले समापन मन्तव्य दिए र कार्यक्रम विसर्जन गरी टेबुल–कुर्सी बोकेर हामी फर्कियौँ ।
यस घटनापछि त्यहाँ क्रियाशील कम्युनिस्टहरूले प्रजा परिषद्को झन्डामा आफ्नो आन्दोलन अगाडि बढाउने निर्णय गरे । र, वीरगन्जका हिन्दीभाषी व्यापारीविरुद्ध संयुक्त रूपमा सडकमा उत्रिने निर्णय भयो । संयुक्त आन्दोलन यति विशाल र प्रभावकारी रूपमा अगाडि बढ्यो कि छोटो समयमै सरकार झुक्न बाध्य भयो र सत्यतथ्य बुझ्न काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव विल्फ्रेडको नेतृत्वमा जाँचबुझ कमिसन गठन भयो ।
वीरगन्जका व्यापारीले चलाइरहेको दोहोरो खाताको विरोधमा सञ्चालित आन्दोलनको छानबिनका लागि भारतीय दूतावासकै कर्मचारीलाई पठाइनु त्यहाँका राजनीतिक दल मात्र होइन, नेपालीभाषी व्यापारीहरूका निम्ति पनि सह्य कुरा थिएन । ‘विल्फ्रेड फिर्ता जाऊ, हाम्रो आन्दोलन जारी छ’ भन्ने नारा लाग्न थाल्यो । आन्दोलन झन् चर्कियो ।
संयुक्त आन्दोलनको नेतृत्व दुई महिनाअघि मात्र भारतीय जेलबाट रिहा भएर त्यतिबेला वीरगन्जमा रहेका नेपाली कांग्रेसका नेता तथा साहित्यकार केदारमान व्यथितले गरिरहेका थिए । आन्दोलनका क्रममा नारा–जुलुस गर्दै सधैँझैँ २० जेठ ००८ का दिन पनि हामी रेलवे स्टेसनतर्फ अगाडि बढिरहेका थियौँ । त्यति नै बेला गृहमन्त्री बीपी कोइरालाको फोन आएको खबर लिएर टेलिफोन अफिसका कर्मचारी व्यथितलाई लिन सडकमै आए । व्यथितले मलाई पनि सँगै लिएर गए । उनले बीपी कोइरालासँग लामो कुराकानी गरे । दुई जनाबीच के कुराकानी भयो, मैले सुनिनँ । तर, फर्किने बेलामा व्यथितले यतिचाहिँ भने, ‘अब प्रशासन कडा रूपमा प्रस्तुत हुने रे, व्यापक दमन र धरपकडको योजना पनि छ रे !’
भोलिपल्ट अर्थात् २१ जेठ ००८ का दिन बिहान ८ बजे वीरगन्ज अमिनीका सुब्बा ‘लेफ्टिनेन्ट’ दलबलसहित मेरो डेरामा पुगे । सीधै पेस्तोल झिकेर कञ्चटमा तेस्र्याउँदै सोधे, ‘मदनमणि दीक्षित भन्ने तपाईं नै होइन ?’ मैले ‘पेस्तोलबाट गोली फुत्केला, तल झार्नू’ भन्दै ‘चिनेर पनि किन बुझ पचाउनुभएको ?’ भन्दै प्रतिप्रश्न गरेँ । उनले मलाई पक्राउ गर्ने आदेश भएको कुरा गरे । र, पक्राउ गरी वीरगन्ज रेलवे स्टेसनको पश्चिमतर्फ रहेको पुलिस ब्यारेकमा लिएर गए ।
मलाई ब्यारेक पुर्याउँदा तेजबहादुर अमात्यका अतिरिक्त उनकै दाजु भक्तबहादुर, पशुपति घोष, खेमबहादुर पराजुली, रामजनम तिवारी र भूपेन्द्रलाल श्रेष्ठलाई त्यसअघि नै पक्राउ गरी त्यहाँ ल्याइएको रहेछ । एक दिन हामीलाई त्यहाँ राखेपछि अर्को दिन वीरगन्जको गहवा टोलमा रहेको जेल चलान गरियो ।
मैले साथीहरूसँग केदारमान व्यथितबारे जिज्ञासा राखेँ । उनी त २० जेठकै बेलुकी रक्सौलतर्फ रवाना भएका रहेछन् । मैले गृहमन्त्री बीपी कोइरालासँग उनले गरेको टेलिफोन संवाद सम्झिएँ । आन्दोलन बीचमै छोडी उनी रक्सौलतर्फ रवाना भएको कारण बुझ्न मलाई कठिन भएन ।
६ दिन हामीलाई वीरगन्ज जेलमा राखियो । सातौँ दिन सेनाको साथ लगाएर वीरगन्जदेखि अमलेखगन्जसम्म रेल र त्यहाँबाट बसमा चढाइ भीमफेदी पुर्याइयो । त्यहाँबाट हामीलाई बोकाएर लैजाने कुरा गरे । ‘मानिस भएर मानिसको पिठ्यूँ–काँधमा बोकिएर हिँड्ने कुरा मलाई स्वीकार्य छैन’ भनेपछि हामीलाई हिँडाएर काठमाडौँ ल्याइयो र त्रिपुरेश्वरको १ नम्बर गेस्टहाउसमा लगियो ।
हामीलाई थुन्न भनेर ल्याइएको त्यो गेस्टहाउसको कोठाका झ्याल–ढोकाका सिसा सबै फुटेका थिए । भुइँभरि यत्रतत्र सिसाका टुक्रा असरल्ल अवस्थामा देखिन्थे । ती सबै पन्छाएर हामीलाई त्यहाँ थुन्ने प्रबन्ध मिलाइयो । पछि थाहा पायौँ, भरतशमशेर नेतृत्वको जत्थाले गृहमन्त्री बीपी कोइरालालाई आक्रमण गर्ने क्रममा गेस्टहाउसका कोठाको त्यो हालत भएको रहेछ ।
हामीलाई त्रिपुरेश्वरस्थित गेस्टहाउसमा थुनेको एक महिनापछि वीरगन्जमा सञ्चालित दोहोरो खाता प्रथा अवैध भएको जनाउँदै सरकारले त्यसको खारेजीको घोषणा गर्यो । ३४ दिन थुनामा राखेर हामीलाई पनि रिहा गरियो ।
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...