पुष्पलालको चटकी रूप
खाना खाने बेलामा एक–एक कचौरा झोलसहित मासुका एक–दुई पिस राखेर टक्र् यायौँ । पुष्पलालले त ‘राँगोको सिंगो टाउको खाने मलाई दुई चौटा मासु के दिएको !’ भनेर कचौरा नै पर सारिदिए ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ व्यवहार कुशल व्यक्ति थिएनन् । उनीसँगका मेरा सम्झना त्यति सुखद रहेनन् । बारा, रौतहट, सप्तरीतिर किसानहरूलाई संगठित गर्न जाने सिलसिलामा उनी हाम्रो घरमा पनि कैयौँपटक बास बसेका छन् । अभाव र गरिबीबाट गुज्रिरहेको हाम्रो परिवारमा उनको आगमनले कहिल्यै खुसी र उत्साह ल्याएन, बरू तनाव र दु:ख नै दियो ।
उनीसँगका केही तीता सम्झना छन् । जस्तो कि, उनी संगठनकै कामका सिलसिलामा तराई झर्ने क्रममा शैलेन्द्रकुमार उपाध्यायका साथ ००८ सालको सुरुमा हाम्रो घर पुगेका थिए । मेरी पत्नी ६ महिनाकी सुत्केरी थिइन् । गरिबी यति चर्को थियो कि आमा र श्रीमतीका गहना बेचेर घर–व्यवहार चलिरहेको थियो ।
बिस्तराको के कुरा गर्ने ! चारपाइ र खाटमा तन्ना बिछ् याएरै गुजारा चलिरहेको थियो । अब पाहुना आएपछि मानमनितो त गर्नैपर्यो । शैलेन्द्रकुमार र म तन्ना ओढेर सुत्यौँ । छोरीको बिस्तरामाथि तन्ना ओछ्याएर पुष्पलाललाई सुत्ने व्यवस्था मिलायौँ । भोलिपल्ट बिहान बिदा भएर जाने बेलामा पुष्पलालको कटु वचन सुन्नुपर्यो । ‘के हो दीक्षितजी ! गन्हाउने बिस्तरा र त्यो पनि मूर्दा बेर्नेजस्तो डफलोमा सुत्ने व्यवस्था मिलाउनुभएछ’ भने । म नाजवाफ भएँ र मुन्टो निहुर्याएर उनलाई बिदा गरेँ । आफ् नी ६ महिनाकी छोरी सुत्ने बिस्तरालाई मूर्दा बेर्ने डफलोसँग तुलना गरेकामा नराम्रो पनि लाग्यो ।
यस्तै दोस्रोपटक उनी हाम्रो घरमा पुग्दा पनि नराम्रै वचन लगाए । आठ–दस जनाको परिवार थियो । मीठो–मसिनो खान त कहाँ पुग्थ्यो र ! खालि पेट भर्ने कुरा हुन्थ्यो । सोचेँ, नेता आएका छन्, एक सेर मासु ल्याएर पकाउनु पर्यो । वीरगन्जको मीनाबजार गएर एक सेर कुखुराको मासु किनेर ल्याएँ । खाना खाने बेलामा एक–एक कचौरा झोलसहित मासुका एक–दुई पिस राखेर टक्र् यायौँ । पुष्पलालले त ‘राँगोको सिंगो टाउको खाने मलाई दुई चौटा मासु के दिएको !’ भनेर कचौरा नै पर सारिदिए । तैपनि, मैले कुनै प्रतिक्रिया जनाइनँ । उनी चुठ्न बाहिर निस्किँदा अम्खरा लिएरै गएँ ।
वास्तवमा व्यावहारिक जीवनमा उनका यस किसिमका कमजोरी थुपै्र थिए । तर, यस्ता कमजोरीलाई उछालेर नेपालको कम्युनिस्ट आन्दोलनमा उनको योगदानलाई कम आँक्न भने मिल्दैन । नेपालको कम्युनिस्ट आन्दोलनमा उनको योगदान उच्च र महान् छ ।
जहानियाँ राणा शासनकालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्नु आफैँमा ठूलो चुनौतीको कुरा थियो । त्यस्तो चुनौती आत्मसात् गरी राणाशासनविरुद्ध आन्दोलनको मैदानमा उत्रिएका थिए पुष्पलाल । उनीप्रतिको आकर्षण जनतामा चर्कै थियो ।
विभिन्न जनवर्गीय संगठन, नेपाल कम्युनिस्ट पार्टी र नेपाल प्रजा परिषद्का कार्यकर्ताको संयुक्त भेलाद्वारा २३ मंसिर ००८ मा जातीय जनतान्त्रिक संयुक्त मोर्चा स्थापना भएको थियो । नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ पनि त्यस भेलामा सहभागी हुन वीरगन्ज र पाल्पाका कार्यकर्तासँगै थानकोटबाट मिसिएर लहरीमा नारा–जुलुस गर्दै हामीसँगसँगै काठमाडौँ आएका थिए र त्यस भेलामा सहभागी भएका थिए । भेला सम्पन्न भएपछि उनी कता भूमिगत भए, हामीले पत्तै पाएनौँ ।
काठमाडौँको भुरुङखेलमा सम्पन्न संयुक्त मोर्चाको भेलाले अध्यक्षमा टंकप्रसाद आचार्यलाई निर्वाचित गरेको थियो भने सचिवमा शैलेन्द्रकुमार उपाध्यायलाई । त्यस मोर्चाको खास उद्देश्य मातृका सरकारविरुद्ध आन्दोलन गर्नु थियो । र, त्यसैको आयोजनामा पाकशालामा आमसभा हुँदै थियो ।
४ पुस ००८ को त्यो घटना सम्झिन्छु । त्यस दिन जातीय जनतान्त्रिक संयुक्त मोर्चाका तर्फबाट संस्कृत पाकशालाको मैदानमा खुला आमसभा आयोजना गरिएको थियो । सोही कार्यक्रममा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ पहिलोपटक सार्वजनिक हुने कार्यक्रम थियो । उनलाई हेर्न आएका मानिसहरूको घुइँचो वास्तवमा ज्यादै ठूलो थियो । त्यतिबेला पनि झन्डै २०–२५ हजारको संख्यामा मानिसहरू उनलाई हेर्न र उनको भाषण सुन्न भनेर त्यहाँ उपस्थित भएका थिए ।
आमसभामा प्रमुख अतिथि टंकप्रसाद आचार्य थिए । सभापतित्व मैले नै गरेको थिएँ । तर, कार्यक्रमको प्रमुख आकर्षणका रूपमा भने पुष्पलाल श्रेष्ठ रहेका थिए । यो उनको पहिलो खुला आमसभा थियो ।
उद्घोषक शैलेन्द्रकुमार उपाध्यायले पुष्पलालको आगमनबारे ज्यादै कौतूहल ढंगले उद्घोष गरिरहेका थिए । झन्डै आधा घन्टा उनले त्यो आमसभालाई उत्साहित गरिरहे । ‘घरबाट हिँडिसक्नुभयो’, ‘अबको २० मिनेमा आइपुग्ने खबर प्राप्त भएको छ’, पुष्पलाल आइपुग्नुभयो’ भन्दै मानिसहरूलाई उत्साहित पारिरहेका थिए ।
ठाउँठाउँमा च्यातिएको रातो स्वेटर, घुँडासम्मको नीलो मोजा र सैनिक कलरको पाइन्ट लगाएका पुष्पलाललाई फुत्त मञ्चमा ल्याइयो । मानिसहरू अवाक् भए । उनी कतैबाट आएका थिएनन् । पहिले नै चटकीको रूपमा सिँगारेर उनलाई मञ्चको तल लुकाएर राखिएको थियो ।
मानिसहरूले तालीको गडगडाहटले उनको स्वागत गरे । ‘ आऊ मातृका, यहाँ आऊ ! जनताका अगाडि आऊ’ भन्ने ढंगले मातृका सरकारलाई ललकार्दै उनले झन्डै आधा घन्टा भाषण गरे । उनको भाषण सुन्दा जनता ज्यादै उत्साहित हुन्थे र तालीले स्वागत गर्थे । उनीप्रति ज्यादै ठूलो विश्वास र आस्था रहेको त्यहाँ बजेका तालीका गडगडाहटले पनि पुष्टि गर्थे ।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...