बीपीविरुद्ध राणा सरकारलाई बिन्तीपत्र
बीपीका पिता कृष्णप्रसादले नेपालीको असली रूप दर्साउने ‘पार्सल’ चन्द्रशमशेरका नाममा उनको दबारमा पठाउँदा मेरा पिताजी दरबारमै काम गर्नुहुन्थ्यो ।
बीपी कोइरालाप्रति ममा जुन श्रद्धा थियो, अद्यापि छ र त्यो दीर्घकालसम्म रहिरहन्छ होला । राजनीतिक रूपमा उनीसँग नजिक हुन नसके पनि उनका विचार र व्यवहारले म सधैँ प्रभावित रहेँ । विचार र सिद्धान्तले अलग रहे पनि बीपीले मप्रति कहिल्यै कुभलो र अहित चिताएनन् । बनारसमा नेपाल विद्यार्थी संघ स्थापना गरेर त्यसको अध्यक्ष हुन होस् वा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन– उनले गरेका हरेक आग्रह अस्वीकार गर्दा पनि उनी मलाई सहयोग गर्न कहिल्यै हिचकिचाएनन् । मैले उनको आग्रह र अपेक्षा पूरा गर्न सकिनँ होला तर उनले मलाई आजीवन माया गरिरहे ।
भारत प्रवासमा मात्रै मैले उनलाई चारपटक भेटेको छु । प्रत्येक भेट महत्त्वपूर्ण र ऐतिहासिक रहे । उनीसँग दर्शन तथा राजनीतिका कुरा गर्दा समय बितेको पत्तै हुँदैनथ्यो । उनीसँगका प्रत्येक भेट डेढ–दुई घन्टाभन्दा कमका रहेनन् ।
जेठ २००३ को कुरा हो । बनारसमा आफ्नै घरको मूल ढोकाको देब्रेपट्टि रहेको पिँढीमा बाबुछोरा कुराकानी गरेर बसिरहेका थियौँ । गेटमा एउटा रिक्सा आएर रोकियो । त्यस रिक्साबाट बीपी कोइराला र ईश्वर बराल ओर्लिएको देखेँ । मेरा आँखा पिताजीको अनुहारमा परे । उहाँले अनुहार खुम्च्याउँदै निधारमा डोरा पारेको प्रस्टै देखिन्थ्यो । दुवै जना गेटभित्र पस्दा नपस्दै पिताजी उठेर आफ्नो कोठातिर लाग्नुभयो ।
मैले गेटसम्मै पुगेर उनीहरूको स्वागत गरेँ र ल्याएर पिँढीको सतरन्जामा बसालेँ । बीपीले आफूसँगै आएका व्यक्तिको परिचय दिँदै भने, ‘उहाँ लीलानटेश्वर बराल । अहिले तपाईंकै विश्वविद्यालयमा पढिरहनुभएको छ ।’ ईश्वर बरालको खास नाम लीलानटेश्वर बराल रहेछ र उनी बनारस हिन्दु विश्वविद्यालयमा पढ्न आएका रहेछन् भन्ने बुझ्न मलाई गाह्रो भएन ।
हामीबीच झन्डै डेढ घन्टा दर्शन र राजनीतिबारे छलफल भयो । उनले नै भनेर थाहा पाएँ, त्यतिबेला बनारसमा अध्ययनरत विद्यार्थीमध्ये सबैभन्दा जेठो मै रहेछु । कुराकानीको अन्त्यमा बीपीले ‘हामी कांग्रेसीहरू नेपाली विद्यार्थीहरूको संगठन गर्न लागेका छौँ, तपाईं त्यस प्रस्तावित संगठनको सभापति भइदिनुपर्यो’ भने । म त अलमलमा परेँ । एकाएक त्यस्तो प्रस्ताव आउँछ भन्ने अपेक्षा नै गरेको थिइनँ ।
मैले बीपीलाई महात्मा गान्धी र जवाहरलाल नेहरु आदिको प्रसंग कोट्याउँदै नैतिकवान् राजनीतिप्रति श्रद्धा र झुकाव रहे पनि विद्यार्थी राजनीतिमा हाम फाल्ने कुनै सोच नभएको प्रस्ट बताएँ । त्यति बेला म बीपी र उनको पार्टीप्रति आफ्नो पारिवारिक कारणले पनि अलिक पूर्वाग्रही थिएँ जस्तो लाग्छ ।
कुराकानीपछि बडो सौहार्द र मित्रवत् वातावरणमै हामी छुट्टियौँ । गेटसम्मै पुगेर मैले उनीहरूलाई बिदा गरेँ । फर्केर पिँढीमा बसेको मात्र के थिएँ, पिताजी कोठाबाट निस्केर आउनुभयो र एकाएक ‘के कुरा गरे ?’ भनेर सोध्नुभयो । मैले बीपी र आफूबीच भएका सबै कुरा भनेँ । उहाँ त रिसले आगो हुनुभयो र ‘एउटा बिन्तीपत्र लेख्’ भन्न थाल्नुभयो ।
उहाँ भन्दै जानुभयो र म लेख्दै गएँ : ‘सरकार ! आज बिहान साढे ८ बजेतिर सेवक भिक्षु आफ्नै घर–दैलोमा बसिरहेका बेला विश्वेश्वरप्रसाद कोइराला भन्ने विराटनगरका कृष्णप्रसाद कोइरालाका कान्छीपट्टिका जेठा छोरा र लीलानटेश्वर बराल भन्ने (जसलाई सेवक भिक्षुकले चिनेको छैन) आएर विद्यार्थी नेता भइदिन आग्रह गर्दै गाथ–गादी ताक्ने कुरा गरेर गए । सोही व्यहोरा दयासागर करुणानिधिका गाथ पाउमा जाहेर गरौँ भनेर यो बिन्ती चढाएँ । सरकारको जो हुकुम !’
बिन्तीपत्र लेखेपछि पुछारमा मलाई नै सही गर्न लगाउनुभयो ।
त्यति बेला श्री ३ पद्मशमशेर राणा राजकीय शासनसत्तामा भए पनि मुलुक मोहनशमशेरकै कमान्डमा सञ्चालित थियो । पद्मशमशेर त निमित्त नायक मात्र थिए । सायद त्यो कुरा पिताजीलाई पनि थाहा थियो । उहाँले उक्त बिन्तीपत्र पट्याएर खाममा राख्नुभयो र मोहनशमशेरको नाम र ठेगाना लेख्नुभयो ।
अरू बेला पोस्ट अफिसमा गएर चिट्ठी खसालेर आउने जिम्मा मेरो हुन्थ्यो । तर, यसपटक उहाँ आफैँ पोस्ट अफिस जानुभयो र त्यो चिट्ठी रजिस्ट्री गरेर पठाइदिनुभयो ।
बीपीका पिता कृष्णप्रसादले नेपालीको असली रूप दर्साउने ‘पार्सल’ चन्द्रशमशेरका नाममा उनको दबारमा पठाउँदा मेरा पिताजी दरबारमै काम गर्नुहुन्थ्यो । त्यतिबेलादेखि नै मेरा पिताजी बीपी र त्यो परिवारप्रति पूर्वाग्रही हुनुहुन्थ्यो । सायद त्यसैको बदलास्वरूप यो काम गर्नुभएको होला ।
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...