स्मरण» बीपीको आर्थिक सहयोगमा समीक्षा
र, त्यही पैसाबाट समीक्षाको प्रकाशन प्रारम्भ भयो, २४ फागुन ०१६ सालबाट ।
मेरो पत्रकारिता जीवन १ वैशाख ०१४ देखि सुरु भएको हो । रंगनाथ शर्माको हालखबर दैनिकको प्रधान सम्पादक भएर ४ वैशाखमा पहिलोपटक ‘सुठोको समस्या’ शीर्षकमा सम्पादकीय लेखेको सम्झिन्छु । त्यतिबेला गोपालदास श्रेष्ठले कमनर र मणिन्द्रराज श्रेष्ठले मदरल्यान्ड अंग्रेजी दैनिक प्रकाशित गर्थे । मणिराज उपाध्यायको दैनिक समाज र पशुपतिदेव पाण्डेको नयाँ समाज दैनिक पनि प्रकाशित भइरहेका थिए । कल्पना दैनिक तारिणीप्रसाद कोइरालाको सम्पादकत्वमा प्रकाशित हुन्थ्यो । केआई सिंहका नाममा पनि एउटा साप्ताहिक पत्रिका निस्किन्थ्यो, जसको सम्पादक शिवहरिसिंह प्रधान ‘पागल’ थिए । नेपाल समाचार पत्र र समय दैनिक पत्रिका पनि प्रकाशित भइरहेका थिए ।
त्यतिबेलाका पत्रपत्रिकाले प्रेस ट्रस्ट अफ इन्डियाले प्रकाशित गर्ने समाचार बुलेटिनलाई आधार मानेर विदेशी समाचार तयार गर्थे । अन्य कुनै स्रोत थिएन । मुलुकभित्रका समाचार भने हिँड्दा–डुल्दा र उच्चपदस्थ व्यक्तिहरूले गरेका कुराकानी सुनेकै भरमा बनाउनुपथ्र्यो । त्यतिबेलाको समय, त्यो जमाना ! सरकारी उच्चपदस्थ कर्मचारीहरू पत्रकार र पत्रिका भनेपछि बढी नै डराउँथे । कतै केही प्रकाशित भयो भने जागिर नै जान्छ भन्ने त्रास थियो । त्यतिबेलाका पत्रिकामा सबैभन्दा धेरै साढे दुई सयजति कल्पना छापिन्थ्यो भने दुई सय प्रति हालखबर ।
०१६ सालको दसैँमा बीपी कोइरालाको हातबाट टीका थापौँ भनेर त्रिपुरेश्वरस्थित तीन नम्बर गेस्ट हाउस पुगेको थिएँ । मुलुकको निर्वाचित प्रथम प्रधानमन्त्रीको हातबाट टीका थाप्ने रहर जागेकाले पनि सायद त्यसो गरेको हुँला । फेरि उनीप्रति आस्था र श्रद्धा पनि उत्तिकै थियो । तर, बीपीले आफूहरूले दसैँको टीका घरपरिवारबाहेक कसैलाई नलगाइदिने बताएपछि त्यहीँबाट सरासर नारायणहिटी दरबार गएँ र राजा महेन्द्रको हातबाट टीका थापेर स्वस्ति गरी फर्किएँ ।
४ माघ ०१६ को कुरा हो । बीपीका स्वकीय सचिव कुमारमणि दीक्षित मलाई लिन गाडी लिएर प्युखास्थित घरमै पुगे । बीपीले मलाई भेट्न खोजेका रहेछन् । म १ सय ३ डिग्री ज्वरो आएर लडेको थिएँ र जान नसक्ने बताएँ । तर, उनले मान्दै मानेनन् । मलाई कुमारमणि र मेरी श्रीमतीले झ्याइँकुटी पारेर गाडीमा पुर्याए । हामी सीधै जनसेवा सिनेमा हल पुग्यौँ । बीपी अन्तर्राष्ट्रिय बाल दिवस (त्यतिबेला ४ माघमा मनाइन्थ्यो)को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रहेछन् । म गाडीबाट समेत झर्न नसकेपछि कुमारमणि नै भित्र गएर बीपीलाई लिएर आए । कार्यक्रमकै बीचमा बीपी बाहिर आएर मेरो त्यो अवस्था देखेपछि कुमारमणिलाई झपारे । ‘तुरुन्त उहाँलाई घर लैजाऊ’ भन्दै मलाई फर्काइदिए ।
त्यतिबेला ममा एउटा दैनिक पत्रिका प्रकाशित गर्ने हुटहुटी चलेको थियो । त्यसको नाम जुराउने र आर्थिक सहयोग जुटाउने क्रममा निकै दु:ख खेपेँ । पत्रिका प्रकाशनका लागि राजदरबारदेखि नयाँ सडकसम्म धेरैपटक चक्कर लगाएँ । झन्डै पाँच सय मानिसलाई यसको नाम र आर्थिक सहयोगका लागि गरेको पुकारा जीवनमा बिर्सिनै नसकिने क्षण हो । नयाँ सडकमा जम्मा हुने मानिसहरूकै बीचबाट आएका धेरै नाममध्येको समीक्षा पनि एक थियो ।
त्यही समीक्षा दैनिक आफ्नै सम्पादकत्वमा प्रकाशित गर्ने सोचले बीपीलाई भेट्न एक नम्बर गेस्टहाउस पुगेँ । बीपीले जनसेवा सिनेमा हलको प्रसंग निकाले । लगत्तैको आफ्नो चीन भ्रमणको विषयलाई लिएर मसँग कुराकानी गर्न चाहेका रहेछन् । पछिल्लो भेटमा उनीसँग गम्भीर कुराकानी भयो । आफूले जानेबुझेका र सुनेका कुरा बीपीलाई बताएँ । त्यही भेटमा मैले आफ् नो दुखेसो पनि बिसाएँ, “सान्दाजु † म एउटा दैनिक पत्रिका निकाल्न चाहन्छु । यहाँले आर्थिक सहयोग गरिदिनुपर्यो ।”
बीपी ज्यादै खुसी भए । नेपाली कांग्रेसले प्रकाशित गर्दै आएको र तारिणीप्रसाद कोइराला सम्पादक रहेको कल्पना दैनिकको सम्पादक भएर काम गर्न भने । त्यो प्रस्ताव यसअघि पनि पटकपटक तारिणीप्रसादले मसमक्ष राखेका थिए । तर, मैले पार्टी पत्रकारिताभन्दा स्वतन्त्र पत्रिका निकाल्ने कुरा गरेर उनको अनुरोध अस्वीकार गरेको थिएँ । बीपीलाई पनि सोही कुरा दोहोर्याएँ ।
बीपीले सोधे, “त्यसो भए नयाँ पत्रिका प्रकाशित गर्न कति खर्च लाग्छ त ?” कागज र प्रिन्टिङ खर्च जोड्दा मासिक ६ सय रुपियाँ लाग्ने बताएँ । त्यसपछि उनले दोस्रो प्रश्न सोधेनन् । यत्तिकैमा कृष्णप्रसाद भट्टराईलगायतका नेताहरू बीपीलाई भेट्न आइपुगे । बीपीले मलाई पल्लो कोठामा गएर एकछिन बस्न भने । झन्डै १० मिनेटपछि उनी एउटा खाम लिएर आए । ‘पहिलो तीन महिनाका लागि एडभान्स’ भन्दै त्यो खाम मलाई थमाइदिए । खाम खोलेर हेरेको २ हजार १ सय ५० रुपियाँ रहेछ । भनेभन्दा ३ सय ५० रुपियाँ बढी । र, त्यही पैसाबाट समीक्षाको प्रकाशन प्रारम्भ भयो, २४ फागुन ०१६ सालबाट ।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...