स्मरण» ‘कू’को पूर्वाभ्यास
बीपीले भाषण सुरु गरे । राजाले पोखरादेखि नेपालगन्जसम्म पुगेर कांग्रेसको सरकारविरुद्ध बोलेका कुराको खण्डन गर्दै थिए, यत्तिकैमा एकाएक नौ–दस जनाको सशस्त्र सैनिक टोली मञ्चपछाडि आएर उभियो ।
राजा महेन्द्र नेपाली कांग्रेसको सरकार बनेदेखि नै उसका काम–कारबाहीलाई लिएर सन्तुष्ट थिएनन् । निर्वाचन भएको झन्डै चार महिनापछि कांग्रेसलाई सरकार बनाउन आह्वान गरे भने सरकार निर्माणको ६ महिना पूरा हुँदा नहुँदै काम गर्ने शैलीबाट आफू असन्तुष्ट रहेको जनाउ पनि दिइरहेका थिए । माघ ०१६ मा त उनले नेपालगन्ज पुगेर सरकारको कडै आलोचना गरे ।
अर्कोतिर राष्ट्रिय गोरखा परिषद्बाहेक सबैजसो राजनीतिक पार्टीहरू नेपाली कांग्रेस र त्यस पार्टीको नेतृत्वमा निर्माण भएको सरकारका विरुद्धमा सडकमा उत्रिरहेका थिए । असोज ०१७ देखि त सरकारविरुद्ध सडक तातिरहेको थियो ।
नेपाली कांग्रेसले यी सबै कुराको चिरफार गर्ने र वास्तविकता जनतालाई अवगत गराउने उद्देश्यले २३ मंसिर ०१७ का दिन काठमाडौँको लैनचौरस्थित खुला चौरमा विशेष किसिमको आमसभाको आयोजना गर्यो । त्यसलाई प्रधानमन्त्री बीपी कोइरालाले विशेष रूपमा सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएपछि त मानिसहरूमा निकै नै चासो र उत्सुकता बढेको थियो । सायद त्यसैको परिणाम त्यो आमसभा हेर्न पुगेका मानिसहरूको भीड र घुइँचो थामिनसक्नु भएको ।
राजा र पार्टीहरूका बारेमा बीपीले कुनै नयाँ कुरा खुलासा गर्छन् कि भनेर म पनि उत्सुक थिएँ । त्यसैले सभाको दर्शक/श्रोता बनेर म पनि त्यहाँ पुगेको थिएँ । अहिले दुग्ध विकास संस्थानको कार्यालय रहेको एक कुनामा बसेर त्यो आमसभा नियालिरहेको थिएँ ।
बीपीले भाषण सुरु गरे । राजाले पोखरादेखि नेपालगन्जसम्म पुगेर कांग्रेसको सरकारविरुद्ध बोलेका कुराको खण्डन गर्दै थिए, यत्तिकैमा एकाएक नौ–दस जनाको सशस्त्र सैनिक टोली मञ्चपछाडि आएर उभियो । एक किसिमले आतंकको माहौल सिर्जना भयो । किनभने, प्रजातन्त्रको आगमनपछिका कुनै पनि आमसभामा त्यसरी हतियारसहित सैनिक टोली कार्यक्रममा उपस्थित भएको जनताले देखेका थिएनन् ।
बीपीले ‘केही भएको छैन’ भनेर सम्झाउने प्रयास गर्दै आफ्नो भाषण जारी नै राखे । तर, मानिसहरू डरले तितरबितर भए । त्यस्तै चार मिनेटको अन्तरालमा जब सैनिक बालाजुतर्फ ओरालो लागे, मानिसहरू फेरि आमसभामा फर्किए । र, निश्चित समयपछि त्यो आमसभा सम्पन्न भयो ।
त्यस घटनापछि मानिसहरूले विभिन्न किसिमका अड्कल काट्न थाले । मेरो मनमा पनि एक किसिमको चिसो पस्यो । तराईतिरका एक ज्योतिषीले बीपी कोइराला प्रधानमन्त्रीको शपथ लिन जाँदा माइकको तारमा अल्झिएर लड्न खोज्दाको दृश्यलाई लिएर १ पुस ०१७ का दिन सरकारको आयु समाप्त हुने घोषणा हालखबरको कार्यालयमै आएर गरेको प्रसंग सम्झिएँ ।
नेकपाका तत्कालीन पोलिटब्युरो सदस्य सैयद कमर शाहले ती ज्योतिषीका बारेमा कुराकानी गरेको भोलिपल्टै ती ज्योतिषी मलाई भेट्न कार्यालयमै टुप्लुक्क आइपुगेका थिए । भलै, ती ज्योतिषीले राजा महेन्द्रलाई पनि १ पुसको साइतमा कदम उठाउनु उपयुक्त हुने सल्लाह दिएर पत्रिकाको कार्यालयमा आइपुगेको कुरा भने पछि मात्र थाहा पाएँ । अफिसमा रहेको ‘बुक अफ कोटेसन’ पुस्तिकामा मैले ती ज्योतिषीले भनेका कुरा आफूले सपनामा देखेको भनी टिपिराखेको थिएँ ।
लैनचौरको त्यो आमसभामा सैनिक टोलीको उपस्थितिपछि ‘सरकारको आयु र समयावधिलाई लिएर’ कुरा उठ्न थाले । त्यो आमसभाको भोलिपल्टका पत्रपत्रिकाले ‘सैनिक टोलीको मार्चपास किन र केका लागि, राजा सक्रिय हुन खोजेकै हुन् कि !’ भन्ने किसिमका टीका–टिप्पणी र समाचार/आलेख प्रकाशित गरे । बीपीले २४ मंसिरको बेलुका त्रिपुरेश्वरस्थित गेस्टहाउसको बगैँचामा पत्रकार सम्मेलन नै गरेर ‘सेना आफ्नो गन्तव्यतर्फ जाने क्रममा संयोगले त्यहाँ पुगेको’ बताउँदै ‘प्रजातन्त्रलाई संकटमा पार्ने काम राजा होइन, प्रतिपक्षी राजनीतिक पार्टीका काम–कारबाहीले भइरहेको जिकिर गरे । तर, भित्रभित्र भने त्यस घटनाले बीपीलाई पनि चिन्तित तुल्याएको रहेछ ।
२४ मंसिरकै बेलुका निश्चित केही पत्रकारलाई आफ्नो बैठक कोठामा डाकेर बीपीले अन्तरंग कुराकानी गरे । त्यस बैठकमा रमेशनाथ पाण्डे पनि थिए । त्यस क्रममा मैले बीपीलाई सोधेको थिएँ, ‘सान्दाजु ! सैनिक टोली त्यसरी आमसभामा रेकी गर्ने शैलीमा उपस्थित हुनु संयोग मात्र थियो र ?’ उनले भनेका थिए, ‘हिजो त केही भएन तर राजा महेन्द्रको मनमा के कुरा खेलिरहेको छ, त्यो भन्न सकिने कुरा रहेनछ । कतिखेर उनले के कदम चाल्छन्, ठेगान छैन ।’
२३ मंसिरका दिन राजा महेन्द्रले नेपाली कांग्रेसको आमसभामा त्यो सशस्त्र सैनिक टोलीलाई सोचे/सम्झेर पठाएका थिए कि लहडमा, त्यो त अझै खुलेको छैन । तर, उनको त्यो दुस्साहसिक र गम्भीर कदम नेपाली कांग्रेस पार्टी र उसको सरकारलाई भित्रैदेखि तरंगित पार्ने र छाम्ने प्रयत्न थियो भन्ने कुराचाहिँ
घामजत्तिकै छर्लंग छ ।
बीपीले भनेजस्तै राजा महेन्द्रका मनमा के कुरा खेलेको थियो, त्यो त थाहा भएन । तर, प्रजातन्त्रलाई सिध्याएर आफ्नो नेतृत्वमा शासनसत्ता सञ्चालन गर्ने सोख भने उनमा जागेको रहेछ । जो उनले २८ मंसिरमा सुवर्णशमशेर जबरालाई कलकत्ता पठाएर १ पुस ०१७ का दिन प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेरै लागू गरेका थिए ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...