तुलसी गिरीमार्फत चिनियाँ सहयोग
नेपालमा चिनियाँ प्रभाव र चलखेल बढाउन तुलसी गिरीको ठूलो हात छ ।
राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएपछि तुलसी गिरी र विश्वबन्धु थापाको चकचकी बढ्यो । राजा पनि तिनीहरूसँग बच्नुपर्ने अवस्था थियो । किनभने, तिनीहरूले कहीँ लगेर फसाउन सक्थे । नेपाली कांग्रेसमा त यिनीहरूले उधुम नै मच्चाएका थिए । बीपी कोइरालालाई प्रभावमा पारेर पार्टीभित्र अनेक चलखेल र गुटबन्दी चलाएका थिए ।
तुलसी गिरीसँगको मेरो पहिलो भेट रोचक छ । जतिबेला म वीरगन्जमा पढाउँथेँ, काठमाडौँ आउने क्रममा एक व्यापारी मित्रले एक सय रुपियाँ दिएर सुटको कपडा ल्याइदिन आग्रह गरे । मैले उनको आग्रह टाल्न सकिनँ । जब मैले काठमाडौँबाट लगेर त्यो कपडा दिएँ, उनले दरभंगामा रहेका तुलसी गिरीसमक्ष पुर्याइदिन भने । बल्ल चाल पाएँ, त्यो सुटको कपडा त तुलसी गिरीले मगाएका रहेछन् । एमबीबीएस उत्तीर्ण गरेको खुसीयालीमा उनले सुटको कपडा मगाएको कुरा मसँगको त्यही भेटमा भनेका थिए । त्यसपछि मेरा मामाका छोरा र उनले पटनामा संयुक्त रूपमा औषधि पसल सञ्चालन गर्दा दोस्रोपटक उनीसँग भेट भएको थियो ।
१ पुस ०१७ को कदमपछि राजा महेन्द्रले आफ्नो नेतृत्वमा बनाएको सरकारमा सुरुमा परराष्ट्र र रक्षा मन्त्रालयको जिम्मेवारी गिरीलाई सुम्पिएका थिए । त्यतिबेला जनकपुरका गिरी थरका एक व्यापारीले चामल निकासी गर्ने क्रममा गरेको भ्रष्टाचार खुब चर्चामा आएको थियो । त्यसको समाचार लेख्ने क्रममा मैले ती व्यापारीलाई तुलसी गिरीका नातेदार भनेर उल्लेख गरेँ । गिरीले मलाई भेटेरै त्यस समाचारप्रति आपत्ति जनाए, ‘गिरी थरको कुनै व्यक्तिले भ्रष्टाचार गरेकामा मेरो नाम किन मुछ्नुपर्यो ? के हरेक गिरी थरका व्यक्ति मेरा नातेदार नै पर्छन् र ?’ तर, यतिका बाबजुद पनि व्यक्तिगत रूपमा गिरी र मेराबीच राम्रै सम्बन्ध थियो । मीठो बोल्थे, भेटघाट हुँदा राम्रै व्यवहार गर्थे ।
०१६ मा प्रधानमन्त्री बीपी कोइरालाको निमन्त्रणमा चिनियाँ समकक्षी चाउएनलाई नेपाल भ्रमणमा आएका थिए । कोइराला र चाउएनलाइबीच पोखरामा लामो संवाद भयो । त्यही कुराकानीमा हो, सगरमाथाबारेको विवाद टुंग्याइएको । काठमाडौँ फर्किएर भ्रमण टोलीसँगै आएका चिनियाँ उच्च सैनिक अधिकृत मार्सल चेन यीको उपस्थितिमा पत्रकार सम्मेलन भयो । र, सगरमाथाको चुचुरोको केही वर्गफिटबारे निर्णय हुन बाँकी रहे पनि धेरै कुरा मिलिसकेको र त्यसबारेको विवाद संवादमार्फत टुंग्याउने सहमति भएको कोइरालाले जानकारी गराए ।
तर, दुर्भाग्य ! बीपी कोइरालाको सरकार अपदस्थ गरेपछि राजा महेन्द्रले सगरमाथाको चुचुरोको केही वर्गफिट होइन, सम्पूर्ण उत्तरी मोहडा चिनियाँ भूभागमा पर्ने उद्घोष गरिदिए । आफ्नो राजनीतिक अभियानमा चिनियाँ समर्थन बटुल्ने यो रणनीतिक प्रयास थियो, जसमा उनी सफल पनि रहे ।
वास्तवमा नेपालमा चिनियाँ प्रभाव र चलखेल बढाउन तुलसी गिरीको ठूलो हात छ । १ पुसको घटनापछि परराष्ट्र, रक्षा र राजदरबारसम्बन्धी मन्त्रालयको जिम्मेवारी पाएका गिरीले ०२३ तिर जब आफू सबै पदबाट मुक्त भए, मसँग गरेको कुराकानीले पनि धेरै कुरा प्रस्ट पार्छ । ०१९ मा जतिबेला गिरी मन्त्रिपरिषद् को उपाध्यक्ष भए, चिनियाँ राजदूत चाङ सी चीले नेपालमा एउटा पत्रिकालाई आर्थिक सहयोग गर्न चाहेको कुरा गरेका रहेछन् । गिरीले टंकप्रसाद आचार्य र मणिराज उपाध्यायसँग कुरा गर्न सल्लाह दिएपछि चिनियाँ राजदूतले उनीहरूलाई भेटे । तर, दुवै जनाले आर्थिक सहयोग लिन इन्कार गरेपछि तुलसी गिरीकै सल्लाहमा चिनियाँ राजदूत गोविन्द वियोगीलाई भेट्न पुगेका थिए ।
वास्तवमा त्यतिबेला नेपालमा भारत, सोभियत संघ, अमेरिका आदि देशका समर्थन र सहयोगमा पत्रपत्रिका प्रकाशित हुन्थे । त्यो कुरा चीनले पनि राम्रोसँग बुझेको थियो । राजा महेन्द्रले प्रजातान्त्रिक सरकार अपदस्थ गरी आफ्नै नेतृत्वमा शासन सञ्चालन गर्न सुरु गरेपछि चीनले आफ्ना राजदूत चाङ सी चीमार्फत नेपालमा आफ्नो प्रभाव बढाउने प्रयास स्वरूप यो सब गतिविधि गरिरहेको थियो ।
चिनियाँ आर्थिक सहयोगमा गोविन्द वियोगीको सम्पादकत्वमा मातृभूमि प्रत्रिका प्रकाशित हुन थालेपछि मैले वियोगीलाई चिनियाँ लगानीबारेमा धेरैपटक सोधेको थिएँ । तर, हरेकपटक उनी आलटाले जवाफ दिएर पन्छिन्थे र ‘तुलसी गिरीसँग यसबारेमा कुरा गरेर तपाईंलाई जवाफ दिन्छु’ भन्थे । तर, उनले कहिल्यै जवाफ दिएनन् । अहिले त उनी पनि यस धरतीमा छैनन् । नेपाली पत्रकारिताको इतिहासमा वियोगी त्यस्ता व्यक्ति हुन्, जो समाचार नलेखीकनै सम्पादक भएका थिए र आजीवन सम्पादक नै रहेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठले तत्कालीन मन्त्रिपरिषद् उपाध्यक्ष तुलसी गिरीले टंकप्रसाद आचार्यमार्फत मणिराज उपाध्यायलाई राखेको चिनियाँ प्रस्तावको गुह्य कुरै नबुझी ममाथि टिप्पणी गरेका थिए । उनले मेरो नामै किटेर दरभंगाबाट प्रकाशित हुने स्वतन्त्र कम्युनिस्ट बुलेटिनमा लेखेका थिए, ‘मदनमणि दीक्षितले तुलसी गिरीबाट गैँडाछाप नोट लिएर समीक्षा चलाइरहेको छ ।’
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...