मुस्कुराएको तस्विर खिच्दा आत्महत्या
उनले जीवनमा कहिल्यै पनि नमुस्कुराउने कसम खाएको बताइन् । मलाई बडो अनौठो लाग्यो ।
तस्बिर खिच्नु सुरुमा मेरो सोख थियो । बिस्तारै पेसा बन्यो । आर्थिक गर्जो टार्न मैले तस्बिर खिच्ने र घरमै धुलाउने गरेँ । बाल्यकालदेखिकै सोखका कारण विभिन्न सेकेन्ड ह्यान्ड क्यामरा किनेर तस्बिर खिच्थेँ । लेखन पत्रकारितातर्फ नलागेको भए सायद फोटो पत्रकारका रूपमा मेरो चिनारी बन्थ्यो होला ।
मैले पहिलोपटक किनेको क्यामरा कोडाक ब्राउनी हो, जसमा एक रोल फिल्म राख्दा आठवटासम्म तस्बिर खिच्न मिल्थ्यो । त्यतिबेला त्यो क्यामेरा पाँच रुपियाँमा किनेको थिएँ । त्यसमा करिब सयवटा रिल प्रयोग गरेँ हुँला तर सद्दे तस्बिर भने तीनवटा मात्र निस्के । त्यसपछि १३ रुपियाँ खर्चेर इन्साइन फुल भ्यु नामक क्यामरा किनेँ । दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा दुई महिनाअघि किनेको त्यस क्यामराबाट पाँच सयजति तस्बिर खिचेँ । त्यसबेलाका ती तस्बिर अहिले पनि मसँग सुरक्षित छन् ।
त्यसपछि बिसा–४.५ क्यामराप्रति रुचि बढ्यो र ७५ रुपियाँ खर्चेर त्यो पनि किनेँ । त्यसले पहिलोपटक मेरा मातापिताको तस्बिर खिचेँ । परिवारको ग्रुप फोटो खिच्दा मेरी श्रीमतीलाई पनि पछाडि राख्न खोज्दा ‘बुहारीलाई राखेर पनि तस्बिर खिच्छन् !’ भनेर पिताजीले हकार्नुभयो । त्यो पहिलो पारिवारिक तस्बिरमा मेरी श्रीमती अटाइनन् ।
चन्द्रशमशेरकी कान्छी श्रीमतीतर्फका कान्छा छोरा मदनशमशेरले विसं १९९० को महाभूकम्प जाँदा खिचेको धरहराको तस्बिर ज्यादै प्रख्यात थियो । दुई टुक्रा भएको धरहरा जमिनमा नखस्दैको क्षणलाई उनले आफ् नो क्यामरामा कैद गरेका थिए । नेपालको फोटोग्राफी क्षेत्रमा त्यस किसिमको तस्बिर बिरलै खिचिन्छन् । त्यो तस्बिर देखेपछि म पनि तस्बिर खिच्ने उपक्रममा पूर्णत: पेसेवरजस्तो भएँ ।
पोट्रेट तस्बिरमा मेरो विशेष रुचि थियो । कस्तासम्म घटना बेहोरेको छु भने कुनै कुमारी केटीको विवाह भएन भने राम्रो तस्बिर खिचाएर केटा पक्षकहाँ पठाउनुपर्दा पनि तस्बिर खिच्न मेरो घरसम्मै आउँथे । त्यही सिलसिलामा वीरगन्जका रामअवतार सोनारले आफ् नी छोरीको तस्बिर धेरै ठाउँबाट अस्वीकृत भएपछि मकहाँ आएको बताएका थिए । छोरी गहुँगोरी तर तस्बिर सबै काला निस्किए भन्ने उनको गुनासो थियो । मैले तस्बिर खिचेर पठाएको महिना दिनमै उनको विवाह भएछ । पछि रामअवतार खुसी भएर मलाई धन्यवाद दिन आएका थिए ।
नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर यादवप्रसाद पन्तकी निजी सेक्रेटरी असाध्यै राम्री थिइन् । एक दिन उनी मेरो घरमा तस्बिर खिचाउन आइन् । मैले टेबलमा उनको दाहिने हात टेकाएर त्यसमाथि चिउँडो राख्न लगाई तस्बिर लिएँ । मैले खिचेका असाध्यै राम्रा तस्बिरमध्ये उनको पनि एक भयो । मकहाँ आउने अन्य ग्राहकलाई लोभ्याउने पोस्टर नै बन्यो उनको तस्बिर । एक दिन म पन्तलाई भेट्न राष्ट्र बैंक पुगेको थिएँ, उनकी सेक्रेटरीले आफ्ना तस्बिर देखाएर ग्राहक तानेकामा आपत्ति जनाउँदै ‘म के लोभ्याउने वस्तु हुँ !’ भनेर झपारिन् पनि ।
त्यस्तै, शिवहरिसिंह प्रधान ‘पागल’ले नेपाल : हु इज हु भन्ने पुस्तकका लागि राजनीतिक नेताहरूको तस्बिर मागे । मैले सम्बन्धित पार्टीका शीर्ष नेताको चिट्ठी ल्याए मात्र ती तस्बिर उपलब्ध गराउने बताएँ । उनले चिट्ठी लिएरै कम्युनिस्ट पार्टीलगायत भूमिगत थुप्रै नेताका तस्बिर लिएर गए । पछि थाहा पाएँ, ती त उनले दरबार र सोभियत संघका निम्ति खरिद गरेका रहेछन् । चिट्ठी पनि नक्कली ल्याएका रहेछन् ।
फोटोग्राफी क्षेत्रमा लागेर मेरा लागि ज्यादै दु:खद क्षण विराटनगरको घटना बन्यो । प्रसंग ०२१ सालको हो । विराटनगरमा रहेकी मेरी भान्जी सरलाले आफ्नी सहपाठीको तस्बिर खिचिदिनुपर्यो भनेर काठमाडौँ ल्याइन् । त्यतिबेला म प्युखाटोलमा बस्थेँ । तस्बिर खिच्दा उनको अनुहारमा न कुनै कान्ति, न त मुस्कुराहट नै थियो । यस्तो अवस्थामा युवतीको तस्बिर राम्रो नआउने ठम्याएर मुस्कुराउन आग्रह गरेँ । उनले जीवनमा कहिल्यै पनि नमुस्कुराउने कसम खाएको बताइन् । मलाई बडो अनौठो लाग्यो । खुबै जिज्ञासा राख्दा पनि उनले आफ् नो कुरा बताइनन् । ‘यस्तो अवस्थामा खिचेको तस्बिर राम्रो आउँदैन’ भन्दै उनलाई फिर्ता पठाएँ र अरू कुनै दिन आउन भनेँ ।
विराटनगरबाट तस्बिर खिच्नकै लागि बारम्बार काठमाडौँ आउन सम्भव थिएन । तसर्थ, आएका बेला एउटा तस्बिर खिचेर फर्किने जिद्दी उनीहरूले गरे । र, दुई दिनपछि फेरि आए । यसपटक फर्काउनु उपयुक्त लागेन । उनलाई कुर्सीमा बसालेर क्यामरा तयार गरी म साइडमा उभिएँ र उनलाई हँसाउन अनेक किसिमका किस्सा र परिकथा सुनाउन थालेँ । यसैबीच उनको अनुहार केही उज्यालो र मुस्कुराएजस्तो भयो । मैले बटन दबाइहालेँ ।
भोलिपल्ट धुलाएर हेर्दा मुस्कुराएको उनको सुन्दर तस्बिर निस्कियो । मलाई पनि खुसी लाग्यो । तस्बिर दिएर उनीहरूलाई बिदा गरेँ । उनीहरू विराटनगर पुगेपछि भान्जीबाटै थाहा पाएँ, आफ्नै काकाबाबु पर्ने व्यक्तिबाट बलात्कृत भएपछि ती युवतीले जीवनमा कहिल्यै खुसी र मुस्कान आफ्नो अनुहारमा नल्याउने प्रतिज्ञा गरेकी रहिछन् ।
दुर्भाग्य ! काठमाडौँबाट बिदा भएको करिब एक सातापछि भान्जी सरलाबाट खबर पाएँ, उनकी ती सहेलीले त आत्महत्या गरिछन् । र, आत्महत्या गर्नुको कारण त्यही मुस्कुराएको तस्बिर बनेछ ।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...